अर्को अवतार

- कुसुम ज्ञवाली

धुपको धुवाँले रंगमगिने थुम्को विस्फोटनको धुवाँले ग्रस्त बनेको छ । युद्धको विभिषिका भित्र पिपलडाँडा व्यारेक आज अन्तिम युद्ध लडिरहेको छ । वादल लागेको थिएन तैपनि "सपोर्ट फोर्स" लिएर आएको हेलिकप्टर बस्न सकेन डाडाँमा । सुरक्षाकर्मीसँग गोलि सकिएको आभाष पाउनासाथ "लङ रेञ्ज"बाट "क्लिएर" गरी डाडाँको मन्दिरमा ठूलो विस्फोटन गरेर कब्जा जमाए कमरेडहरुले ।
"भत्काइदिउFm यो मन्दिर पनि ! " भाइस कमण्डरले उनका कमाण्डरलाई सोधे ।
"चीनमा पनि यस्ता मन्दिरहरु भत्काइएका थिए, भत्काए हुन्छ, कमरेड ।" राजनैतिक व्युरोका कमिसारले भने ।
आदेश पाउने वित्तीकै कामरेडहरुले मन्दिर भित्रको मूर्ति उखेलेर टुक्राटुक्रा पारी भिरबाट लडाइ दिए ।
"यहाँ हाम्रा सुप्रिम कमाण्डरको शालिक राख्नु पर्छ यहाँ ।" छापामार महिलाले प्रस्ताव राखिन ।
कुरा सबैलाई मनासिव लाग्यो । एकहप्ता भित्र कमरेडहरु बाटो लाग्दासम्म उनीहरुले त्यहाँ सर्वोच्च नेताको शालिक स्थापना गरिसकेका थिए ।

मन्दिर महिना दिन सम्म बन्द रहृयो । क्रमशः मान्छेको आवत जावत मन्दिरमा बढ्दै गयो । बिस्फोटक पदार्थहरु त्यता देखा नपरे पनि मन्दिरको ढोका बन्दनै थियो अर्को महिना पनि ।
बैशाख पूणिर्मामा सधैं झै मेला लाग्यो । पूजाको ठेक्का पाएका तल्ला गाउँका पूजेरी बाजेले मूर्ति फेरिएको थाहा त पाए तर बोल्न भने सकेनन । पूजा यथावत चल्यो । निरीह पशु त्यसैगरी रेटिए । भाकल गरियो । कुखुरा र बोकाहरु काटिए । रूद्री चण्डी पाठ गरियो । अचेल त्यही कमरेडको जुँगा भएको मूर्तिले धानेको छ यावत सम्पूर्ण अन्धविश्वासका श्रृङ्खलाहरू ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु