ध्यान कवितामा ध्यानमग्न हुँदा

- छविरमण सिलवाल

‘घामको वर्षा’ ध्यानकवितासंग्रह पढदा मनमा केहि तरङ्गहरु उत्पन्न भए । मानव–जीवन र यो दृश्यमान जगतप्रतिको सम्यक दृष्टि फैलाउदै लेखिएका यी कविताहरुले मानव–जीवन प्रतिको यथार्थ वोध गराएको छ । यसका साथ साथै यो जान्दै पनि मानिसहरुको अहम कम भएको पाइदैन । भाइवन्धुत्वको प्रेममा कमि आइरहेको छ । लेखकको चिन्ताको विषय यो पनि हो । लेखकका यी कविताहरु मानव वाँच्नको लागि प्रेरणा दिने मुल आधारहरु हुन भन्दा पनि फरक पर्दैन ।
कस्तो नियति
मरेपछि उसलाई
जुम्राले पनि छोड्यो ....।
पृ.१०६
शिर्षक विनाका १०८ वटा यस्ता कविताहरु रहेका छन् यस संग्रहमा । गीत, मुक्तक, गजल, कविता, हाईकु लगायत नेपाली साहित्यमा प्रयोग भैरहेका विधाहरु भन्दा पृथक विधाको रुपमा रहेका यी ध्यान कविताहरु ध्यान दर्शनमा आधारित रहेका छन् । हाल नेपाली साहित्यमा यी विधाहरु नभए पनि चीन, जापान र कोरियालगायत विभिन्न मुलुकहरुमा यस्ता ध्यानदर्शनमा आधारित कविताहरु पुरानै हुन् । पढ्दा आफ्नै जीवनका शास्वत सत्यको नजिकै गएजस्तो लाग्ने मनमा अनेकौ तरङ्गहरु पैदा गर्ने यी कविताहरुलाई कवि÷साहित्यकार कृष्ण प्रसाईले यस्ता कविताहरु लेख्न शुरुवात गराएका हुन । नेपाली, अग्रेजी र कोरियाली तिनै भाषामा रहेका यी कविताहरु नेपाली साहित्यक्षेत्रमा विल्कुलै नयाँ स्वादमा देखापरेका छन् । कविताहरु छोटा तर शाश्वत सत्यसंग नजिक रहेका कविताहरु पढ्दा लाग्छ म आफ्नो जीवन पढिरहेछु । यहि जीवनसंग गाँसिएका सत्यसंग साक्षात्कार गरिरहेको छु । हेरौ अर्को कविताः–
बाँचुन्जेल पैसा गनिरहन्थ्यो
मरेपछि हेरेको
उसको कफनमा गोजी थिएन ।
पृ.३
ध्यानकविता लेखनको बारेमा कवि कृष्ण प्रसाईको भनाई यसो भन्छन्ः–‘आफूलाई चिन्ने, आफूलाई आफैजस्तो गरेर बुभ्ने र आफूलाई जीवनको शाश्वत सत्यसँग अनुभूत गर्ने दर्शनलाई नै ध्यानकविताको दर्शनले साँधेको हुन्छ । जीवन भोगाईका पछिल्ला दिनहरुमा संसारभर छरिएर रहेको नेपालको मौलिक दर्शन ध्यानचेतनालाई विभिन्न बिधामा पढ्दा मैले निकालेको निष्कर्ष पनि यहि हो ।’ प्रसाईको यो पुस्तक पहिलो भने होइन । कविता, कथा, नियात्रा गरि पाँच ओटा संग्रहहरु पहिले प्रकाशित भैसकेका छन् । साहित्य साधनामा निरन्तर लागिरहेका प्रसाई साहित्यका विविध विधाहरुसंगै रमाई रहेका छन् । साहित्यमा नविनताहरुको खोजी गरेर पाठकहरुलाई संधै नयाँ नयाँ स्वादहरुमा सिर्जनाहरु पस्कन सफल प्रसाईको यो पुस्तक ‘घामको वर्षा’ले पनि यहि अनुभूति गराउँछ । जीवनजगत, प्रकृति, युगिन परिवेश आदिसंग सम्वद्ध विविध खाले वस्तुसत्यलाई टपक्क टिपेर अनुभूतिमय तुल्याएर रोचक शैलिमा व्यक्त भएका यी कविताहरुले नेपाली वाङ्मयमा एउटा आयाम थप्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
यस संग्रहको भूमिकामा अशेष मल्ल लेख्नुहुन्छः–‘यी कविताहरु अनुभूतिका त्यस्त अभिव्यक्ति लाग्यो, जसलाई सायद सिउरिन परेन आडम्वरी शब्दहरु । अनुभूत सत्य जब तत्क्षण झर्छ, शब्दमा अनि बन्छ कविता । जस्तो कि यी कविताहरु । मैले त पढेँ,आफै पनि कवि भएर पढें । पढ्दै जाँदा लाग्यो, के मेरै अभिव्यक्ति त हैनन् ? मेरै अनुभूति त हैनन् ? हर पाठकलाई यसरी एकाकारको स्थितिमा लिएर जान्छन् यी कविताहरुले अनि सोच्न बाध्य हुन्छन् हरेक पाठक–के यी अनुभूति मेरै त हैनन् ?’
आगोसंग डराउँथ्यो ऊ
जीवनको अन्तेम पल
अग्निस्नान गरेर
आगो मै बिलायोे
यस्तै शास्वत सत्य कुराहरुलाई कविताको रुपमा प्रस्तुत पुस्तक ‘घामको–वर्षा’ संग्रहलाई डोको इन्टरनेसनल, हङ्कङले प्रकाशनमा ल्याएको हो । र यसको मुल्य रु.१५१ रहेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 21 भाद्र, 2066

लेखकका अन्य रचनाहरु