टाउको पचासलाखको

- डा. कविताराम श्रेष्ठ

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्न सक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीबेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।

खोलाको बालुवा खोस्रेर परिवार पाल्नुपर्ने उसलाई यो समाचारले उत्ति उत्साहित बनाएन । सित्तैं पाइने खोलाको बालुवासम्म लुकीलुकी चोरेर बेच्नुपर्ने देशमा कसरी यत्ति ठूलो राशि पाइने व्यवसाय ऊ जस्तो सुकुम्वासीको लागि हुनसक्थ्यो ? पेट्रोलको भाउमा केही राहत भयो रे तर उसले वास्तै गरेन किनभने ऊ पेट्रोलको उपभोक्ता थिएन । टेलीफोनको महशुलमा पनि केही राहतको व्यवस्था भयो रे त्यसमा पनि उसले कुनै वास्ता राखेन किनभने ऊ त्यसको पनि उपभोक्ता थिएन । नजीकै ठूलै नहर बन्यो रे, बिजुली पनि नजीकै टोलमा आयो रे, सडक पनि यतै आयो रे तर ती सबैमा उसलाई चासो भएन किनभने ती कुनैको पनि ऊ उपभोक्ता थिएन । त्यस्ता कुनैपनि अवसरहरूमा उसको चाख हुँदैन किनभने ऊ जस्तो निमुखाको लागि केही हुन्छ भन्ने उसलाई विश्वासै छैन । समाज र वस्तीबाटै टाढा ऊ बसेको छ खोलाको बगरमा । बस् बालुवा छ कि ऊ । आँखा छलेर खोलाबाट बालुवा चोर्न पाए उसको जीवनको सवैभन्दा ठूलो उपलब्धि भइहाल्ने । यो पचास लाख सम्मको अवसर पनि ऊ जस्तो निमुखाको लागि हुनै सक्दैन भन्दै उसले त्यो खबरलाई पनि अवज्ञा गर्यो ।

एकै छिनमा एकहूल निमुखाहरू हातमा खुकुरी उठाउँदै यतै दौडदै आएका देखिए । ऊ आतङ्कति भयो- 'मार्छन् कि क्या हो बजियाहरूले !' ऊ बालुवाको डीलमा छलियो । त्यो हूल उसको छेउबाटै गयो तर त्यसले उसलाई मिचेन । हूलमा एउटाले भन्दैथ्यो- 'शहरमा बम पड्काए रे आतङ्ककारीले तिनलाई भाग्न नपाउँदै छिनाउन पर्छ ।'

अर्कोले भन्दैथ्यो- 'कस्सो दुइचारवटा काटेपछि एउटा न एउटा पचास लाखे नपर्ला ?

उसले सोच्यो- 'हूलमा पसेपछि कस्सो भाग नपाइएला ? यो बालुवा बोक्ने जस्तो पुलिसको आँखी हुने जोखिमको काम गरिराख्नु पर्छ र ? काटमारको कुरो परेकोले पहुँचवालाहरूले यसमा अवश्यै प्रतिस्पर्धा गर्ने छैनन् । निमुखाहरूको लागि यत्रो अवसर आएको रहेछ, मैले मात्र किन छोड्ने ?

ऊ जुरुक्क उठ्यो र छाप्रोभित्र पसेर खुकुरी झिक्यो । उसले हावामा एकपल्ट सनसनी खुकुरी नचायो । स्वास्नीले आतङ्कपूर्ण विस्फारित आँखाले उसलाई हेरी । उसले सफाइ दियो- 'धन्दा नमान् बुढी अव हाम्रो दिन आएछ ।'

ऊ हावामा खुकुरी नचाउँदै खुकुरी दलकै भीडमा बिलायो ।

भीड आतङ्ककारीको खोजमा शहरतिर जाँदैथ्यो । अन्यमनस्क उसकी स्वास्नीले टाढा बिलाउँदै गरेको भीडलाई हेरी । पश्चिमतिर ढल्कँदै गएको घामको टलकमा असंख्य खुकुरीहरू हावामा चमकचमक चम्किरहका थिए ।

'अब के हुने हो ? त्यो आइमाई आतङ्कति भावले थाप्लोमा हात राख्दै उतै नियालिरही । शहरभने पचासलाखे खबरले ढुक्क थियो ।

साभार: रचना द्वैमासिक,काठमाण्डौं

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु