महाकवि देवकोटाको पत्नी मोह

- नरेन्द्रराज प्रसाई

महाकवि देवकोटाको बिहे किशोरावस्थामा नै भएको थियो । त्यति बेला उनी सङ्कोच मानीमानी पत्नीप्रेममा हुर्केका थिए । उनकी पत्नी उज्याली थिइन् कोमलाङ्गी थिइन् र हेर्दा पनि बिछट्टै राम्री थिइन् । उनले मनदेवीलाई बिहे गरेपछि धुमधामैले प्रेम गरे । त्यसैले उनले विवाहप्रेमको महत्व दर्शाएर 'मुनामदन' लेखे । यौनाकाशमा हुर्किरहेको बेला पनि यस संसारमा आफ्नी पत्नीभन्दा असल र सुन्दरी नारी उनी कोही देख्तैनथे । पत्नीबिना उनी एकछिन पनि घरमा बस्तैन थिए । कतिसम्म भने उनकी पत्नी मनदेवीले नै उनको कपाल दिनदिनै कोरिदिनुपथ्र्यो र उनलाई दिनदिनै लुगा लगाइदिनुपथ्र्यो । मनदेवीले नै देवकोटाको छालाको जुत्ता पालिस लगाएर टल्काइदिनुपथ्र्यो र मोजाजुत्ता पनि उनैले नै लगाइदिनुपथ्र्यो ।
महाकवि देवकोटा आफ्नो निवासबाहिर निस्कने बेलामा उनकी पत्नी मनदेवीले उनको बिदाइको साइत गरिदिनुपथ्र्यो । उनी बाहिर निस्कँदा सधैँ उनकी पत्नी उनका अगिअगि घरको मूलदैलोबाहिरसम्म निस्कनुपथ्र्यो; अनि मात्रै देवकोटा आफ्नो साइत ठान्थे । हिँड्ने बेलामा उनी पत्नीसँग छुट्टिन मान्दैनथे; भनौँ देवकोटा आफ्नी पत्नी छाड्न चाहँदैन थिए । उनी चेतनामा रहुन्जेल पत्नीका प्रेमकै पुजारी हुन्थे । हरेक दिन घरबाहिर निस्केर पत्नीसँग बिदा हुने बेला देवकोटा आफ्नी पत्नीसँग निक्कै बेरसम्म आँखा जुधाइरहन चाहन्थे । कहिलेकाहीँ त समयले फट्का मारेको पनि उनले बिस्रन्थे । त्यसैले उनकी पत्नीले जबरजस्ती उनलाई बिदा गर्थिन् । वास्तवमा देवकोटा आफ्नी पत्नीको मुख हेरेर कहिल्यै अघाउँदैनथे । यसै विषयमा नित्यराज पाण्डेले पनि लेखेका छन् 'ल जानुहोस् मैले ढोका बन्द गरेँ' भनेर मनदेवी आफ्नो घरभित्र पसेपछि मात्र देवकोटा लुरुलुरु आफ्नो काममा हिँड्ने गर्थे ।
महाकवि देवकोटा घरबाट बाहिर जाने बेला मनदेवीलाई अँगालो मार्थे र धीत मरुन्जेल चुम्बन गर्थे । वास्तवमा त्यस घडी मनदेवी उनकी विश्वपे्रम थिइन् । यसै सिलसिलामा देवकोटा दम्पतीकी कान्छी छोरी मुनाले भनिन् 'मेरा बुबा बाहिर निस्कने बेलामा मेरी आमाको गालामा चुम्बन गरेको मैले धेरै चोटि देखें । मेरा बुबा घरमा पस्ता पनि पहिला मेरी आमाका गालामा चुम्बन गर्नुहुन्थ्यो । उहाँहरुको जस्तो पे्रम मैले कसैको देखेको थिइनँ ।'
महाकवि देवकोटा आफ्नी पत्नीलाई आदर पनि गर्थे । त्यति बेला उनी आफ्नी पत्नीलाई उनका सम्पूर्ण सृजना बुझ्ने कोटिकी अग्रणी मान्थे । त्यसैले उनी जे लेख्थे त्यसको प्रथम पाठक मनदेवी देवकोटा हुन्थिन् । देवकोटाले भावनामा ज्यादै डुबेर लेखेका कविता उपर उनकी पत्नीले त्यसलाई सच्याउन रायसल्लाह पनि दिन्थिन् । देवकोटाकी पत्नी पनि गहिरो रुपमा आफ्ना पतिको कविता सुनेर रमाउने गर्थिन् । मनदेवीले 'मुनामदन' पनि देवकोटाकै मुखबाट दर्जनौँ पटक सुनेकी थिइन् ।
महाकवि देवकोटाको पत्नीप्रेम जारी भएका बखत उनका आँखा छाती र मस्तिष्कमा बेजोडको चट्याङ पर्यो । त्यसपछि उनी कहिले आफ्नी पत्नीबाट बिच्के र कहिले नजिक पुगे । उनी कहिले पत्नीको विद्रोहमा लागे र कहिले पुनः प्रेममा नै पनि लागे । उनले नचाहेर पनि कहिले उनी पत्नीको विरहमा भौँतारिए । उनकी पत्नी मनदेवी देवकोटालाई धेरैले विविध लान्छना लगाए । त्यस बेहोराले पनि देवकोटा मर्दैबाँच्तै गरे ।
महाकवि देवकोटाकी पत्नी मनदेवीका बारे कुरा नकाट्ने मान्छे पनि प्रायः देखिँदैनथे । कतिलाई चाहिँ मनदेवीको रुपको डाहा थियो । कतिलाई चाहिँ मनदेवीले महाकवि देवकोटालाई माया नगरेको भन्ने विषयको पनि पीर थियो । अनि कसैकसैलाई देवकोटा परिवारलाई नै तहसनहस पार्नु पनि थियो । यसै सिलसिलामा एउटा बौद्धिक जगत् कुर्लेर मनदेवीप्रति आक्रामक भएको थियो । त्यति बेलाका यी कुरा कति सही थिए र कति गलत थिए भन्ने कुराको सग्लो साक्षी पनि केवल मनदेवी नै मात्र थिइन् । घटनाको बेहोरा जेजस्तो भए तापनि तारानाथ शर्माले पनि त्यो लहरामा लहरिँदै कलम चोपे 'अनि भर्खरै त हो नि कविकी पत्नीले दहीका कहताराभित्र कविको रगतपसिनाका चाँदीका मोहरहरु लुकाएर धर्मगुण्डालाई पोस्न लागेको । व्यथित थियो कविको ह्दय छियाछिया थियो कविको छाती र बल्केको थियो कविको टाउको ।' यही कुरामा अडेर बालकृष्ण समले पनि बयान दिए 'कविप्रसादकहाँ लान भनी श्रीमतीले राखेकी दहीको कतारोमा हात पसारेर झिक्ता उस बेलाको रुपियाँ देवकोटाले फेला पार्नुभएको कुरा साँचो हो ।' यसै विषयमा देवकोटा दम्पतीका छोरा पद्मप्रसादले भनेका छन् 'के भयो त ! त्यति पैसाले नै मात्र हाम्रो घरमा गरिबी पसेको हो त' वास्तवमा त्यस समय मनदेवी दहीपैसा र कविप्रसाद बौद्धिक र पारिवारिक वृत्तमा छाएको एउटा चर्चित प्रसङ्ग थियो ।
त्यति बेलाका देख्नेसुन्नेले भनेअनुसार ूहरिकीर्तनले धेरैको घरबार बिगार्यो । वास्तवमा हरिकीर्तन पनि कस्तो थियो भने त्यहाँ जाने नारीहरु आफ्ना घरका सबै जरुरी काम छाडेर पनि पुग्थे । उनीहरुलाई आफ्ना लोग्ने र छोराछोरीको भोकतिर्खा अनि कामधामको पनि एक रत्तिको महत्व चिन्ता र लेखाजोखा हुँदैनथ्यो । उनीहरुका लागि लोग्ने घर र परिवारभन्दा पनि ठूलो हरिकीर्तन नै थियो । उनीहरुको सपना विपना र संसार नै हरिकीर्तनभित्रै हुन्थ्यो ।
महाकवि देवकोटा आफ्नो दाजुभाइसँग छुट्टिएर मैतीदेवी सरेको अर्को वर्ष अर्थात् १९९७ सालदेखि उनकी पत्नी मनदेवी पनि हरिकीर्तनमा लागिन् । उनलाई त्यस ठाउँमा पुर्याउँने काम उनैकी विधवा दिदीको थियो । उनकी दिदी पनि कविप्रसाद गौतमकी भक्त थिइन् । त्यसैले दिदीको प्रोत्साहन पाएर मनदेवी देवकोटा पनि गौतमको नजिकै पुगिन् । त्यसपछि बाँचुन्जेलसम्म उनको दिनचर्या पनि त्यतै आबद्ध भइरह्यो ।
महाकवि देवकोटाको घर लथालिङ्ग भएको बेहोरा उनको परिवारजनका लागि तीतो सत्य थियो । त्यसैले उनको परिवारलाई बलियो पार्न उनका जेठा दाजु लेखनाथ देवकोटा पनि कस्सिएर लागेका थिए । सोही अनुरुप उनले आफ्नो भाइलाई एकपटक सम्झाउँदै बुझाउँदै भनेका थिए 'साइँला ! यो आइमाईबाट तेरो घर चल्दैन । तँ फेरि अर्की बिहे गर् । घरबारलाई मिला ।' तर उनी आफ्ना दाजुको भक्त भए तापनि उनले आफ्नी पत्नीको छातीमा झिर रोप्न चाहेनन् । उनले आफ्नी पत्नीप्रतिको मोह त्याग्न सकॆनन् । अनि उनले आफ्नी पत्नीलाई आफूबाट टाढा पार्न पनि चाहॆनन् । जसले जे आरोप लगाए तापनि उनको जीवनमा मनदेवी नै एउटी धडकन थिइन् ।
महाकवि देवकोटाले आफ्नी पत्नीलाई मनैदखि माया गर्थे । तर मान्छेका भड्काउका कारण उनले आफ्नी पत्नीप्रतिको समर्पण थेग्न सक्ने अवस्था पनि सजिलो थिएन । त्यसैले उनको मन यस विषयमा कहिलेकाहीँ केही असन्तुलित पनि भयॊ । परिणमस्वरुप पतिपत्नीमाझको भावनामा आन्तरिक सङ्घर्षको क्रमशः सुरुवात हुन पनि थाल्यो । त्यसैले देवकोटा अर्को बिहे गर्न पनि भौँतारिएका थिए । उनी केटी खोज्न अनुरोध गर्दै एक पटक आफ्नी दिदी लोकपि्रयादेवी समक्ष पनि पुगे । कमल दीक्षितका अनुसार देवकोटाले आफ्नी दिदीसमक्ष भनेछन् 'काइँल्दी ! मलाई तपाईंकी भान्जी मागिदिनुहोस् म बिहे गर्छु ।' त्यसपछि लोकपि्रयादेवीले कमल दीक्षितकी आमा विद्यादेवीसँग भनिछिन् 'नानी ! तपाईंकी मिठ्ठू छोरी मेरा भाइले मागेको छ दिनुहुन्छ' यसै परिवेशमा कमल दीक्षित फेरि भन्छन् 'हाम्री आमा आफ्नी सासू सौतेनी ग्रहबाट पीडित भएको देखेर नै भुक्तभोगी हुनुहुन्थ्यो ।' त्यही भैसकेकाले 'हुन्न सौतामाथि छोरी दिन्नँ' भनिदिनुभएछ आमाले र कुरा टुङ्गिएछ । नत्र ??'
महाकवि देवकोटाको बिहेका विषयमा उनकी दिदी लोकपि्रयादेवीले भनेजस्तो केटी नपाएपछि आफ्नो भाइलाई अर्की नल्याउनेबारे सम्झाउँदै बुझाउँदै गरिन् । उनले 'साइँलीलाई नै अर्जापेर राख्नुपर्छ भाइ' भनेपछि देवकोटाले उपपत्नी नल्याउने हिसाबमा आफूलाई सम्हालेका थिए । अनि फेरि उनी आफ्नी पत्नीप्रति नै वफादार हुन थाले ।

[email protected]

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 श्रावण, 2066

लेखकका अन्य रचनाहरु