सीमान्तकृत आवाज

- सुरेश प्राञ्जली

कविताको शक्ति र कविको साहस कति हुँदोरहेछ भन्ने कुरा धेरैले भेउ पाएकै हुनुपर्छ, दोस्रो जनआन्दोलनताका । देशको पुरानो राज्यव्यवस्था ढल्दै गर्दा, अर्जुन पराजुली, श्रवण मुकारुङ लगायतका कविताले उक्त परिवर्तनका लागि कुनै न कुनै रूपबाट भूमिका निर्वाह गरे । उक्त समय र परिदृष्य एउटा अघोषित जवाफ हो, कवितालाई अमूर्त विधा मान्नेहरूका लागि ।

झण्डै त्यस्तै, आम पाठकमा परिवर्तनजन्य हुटहुटी जगाउन सक्ने खालको उर्जा कवि नवराज सुब्बाको पछिल्लो कविता संगालो 'बीच बाटोमा ब्यूँझेर' मा पनि पाउन सकिन्छ, धेरथोर । हरेकले बाँच्ने जीवन र समयको एउटा त्रासद प्रवाहलाइ कविताको माध्यमबाट उतार्न खोजेका छन्, उनले । मूलभूत रूपमा आर्थिक चपेटाले पिल्सिएकन सुकुम्बासी र कमलरी अनि राज्यको मूलप्रवाहबाट पाखा पारिएका भनिएका राउटे र सतारहरूको पीडालाई जस्ताको तस्तै कवितामा उतार्न खोजेका छन्, उनले । परिवर्तनको नयाँ गति सँगसँगै वहन अप्रत्यक्ष रूपले आमन्त्रण गरेका छन्, कविले ।

मलाइ
माघीसँग डर लाग्छ आमा !
मलाइ यो माघमा
तिम्रो न्यानो काख छाडेर
महाजनको घरमा
जान पटक्कै मन छैन !
भोक लाग्नुको अपराधमा
आङ ढाक्न खोज्नुको सजायस्वरूप
जानुपर्‍यो मैले परायाघर
अब तिम्रा दूधले मेरा पेट भरिएनन् आमा !
तिम्रा मायाले मात्र अब मेरा लाज छोपिएनन् बा !
पापी पेट र पापी शरीरकै लागि
म आज बेचिनुपर्‍यो अर्काको घरमा
यो झुप्रो छाडेर त्यो दरबार जान बन्दै मन छैन
मलाइ !
तर
मेरा बाआमा नै
बिदा गर्दैछन् मलाइ
म के गरौँ के नगरौँ !
लाग्छ, म चर्न जाँदैछु पेट भर्न
रहर बेच्दैछु लाज ढाक्न
मलाइ आफ्नै घरबाट लखेट्न
किन आउँछ यो माघी हरसाल ?
म दुःखी कम्लहरी
अब दुःखमै मर्छु होला !
जाने बेलामा
यत्ति त भनिदेऊ आमा !
मलाई सुत्ने बेलामा
त्यहाँ कसले कथा सुनाउँछ ?
(कमलरी)

त्यस्तै, 'राउटेको मन' शीर्षकको कविताले परिवर्तनको मूलधार भन्दा टाढै रहेको एउटा सीमान्तकृत जातिको युगिन परिभाषा निर्माण गर्न अग्रसर देखिन्छ : :

समयसितै चिप्लिदै गुड्ने
तिम्रो गाडी
भो मलाइ चाहिएन
गति कतै पन्छाएर
हावामा उड्ने
तिम्रो जहाज पनि
भो ! मलाइ चाहिएन,
मलाइ
कम्प्युटरमा च्याटिङ गर्दै
भासिनु छैन मुगलानमा
मलाई त मेरो माटो
मेरो जङ्गल, मेरो बाँदर
अनि यिनै तरुलभ्यागुर नै
मीठो छ,
नच्याऊ मेरो नाङ्गोपन
ढाक्न नखोज रङ्गीन कपडाले
मैले छोप्नु छैन लाज
नचिथोर मलाइ
र मेरो संसारलाइ !
यत्तिकै छाडिदेऊ
तिमी वा अरू कोही
बन्नुपरेको छैन मलाइ
मलाइ म नै रहन देऊ
मलाइ ममै रम्न देऊ
बिन्ती मलाइ नमास त्रि्रा प्रेमले
सक्छौ भने बरु थप तिरस्कार
मेरो जङ्गल मलाई नै छाडिदेऊ
मलाइ जङ्गलमै रम्न देऊ
तिमीले ठानेका मेरा दुःखमै
मलाइ छाडिदेऊ
जसरी म अहिलेसम्म बाँचे
बिन्ती मलाइ त्यसरी नै
हाँस्न र बाँच्न देऊ ।

अनि 'सतारको सम्बोधन' मा पनि उस्तै पीडा ओकलेको छ :

भूगोल जोड्ने
मेची पुल तरेर
बिछोड हुँदा पनि
कसैका मायाले रोकेनन्
नदीमाथि कोरेका सीमाले
कतै छेकेनन्
म सतार !
गएँ आफैँलाइ बिर्सेर
जब आफ्नो माटामा
आफैँ बिरानो भएपछि
मेरो हिँड्ने बाटो नै
परदेश लागेपछि
अस्तित्व खोसिएपछि
नाता-नागरिकता नभेटेर
चपाइएपछि/धपाइएपछि
म आदिवासी !
ताराझैँ झरेँ
मेचीनदी तरेँ !

यी तीन कवितालाई सङ्ग्रहको 'माष्टर पिस' नै मान्न सकिन्छ । यिनै कविताका कारण सुब्बाका कविता अन्य कविता ओझेलमा परे भनियो भने पनि अनौठो नहोला । यस सङ्ग्रहका केही कविता सौन्दर्यचेतनाको बलियो आवरणमा लपेटिएको पनि पाइन्छ । 'धूपी' शीर्षकको कविता यसको दृष्टान्त हो :

फूलबारीमा
खै ! के राख्नु धूपी !
न यो कहिल्यै फुल्छ
न कुनै फल लाग्छ ।

कतै भने कविताको विषयवस्तु स्वयं बहकिएर क्लिष्टतातर्फ उन्मुख भएको हो कि जस्तो पनि लाग्छ । प्रस्तुत कविताको बाँकी अँशमा तारा खस्नुसँग र दुःख लाग्नुसँग भन्दा पनि काव्यिक सम्बन्ध अन्यत्रै मोडिन पुगेको छ ।

हरबिहान
यही धरतीमा
खस्छन् ताराहरू
तर यसैमा दुःख लाग्छ?

कवितामा उनले आफ्नो बेग्लैखाले शैलीलाइ स्थापित गर्न खोजेका छन्, अति स्वभाविकतामा अस्वभाविकता मिसाएर । कतै-कतै वस्तुलाई नै टपक्क टिपेर राखिदिएका छन्, कविताका हरफहरूमा, जुन पाठकसँग आफै बोल्छ । विषयलाइ भन्दा वस्तलाइ महत्व दिइएको छ । यस्तोखाले लेखनलाइ कवि टिएस इलियटको भाषा सापट लिएर 'अब्जेक्टिव कोरिलेटिभ' भन्न पनि सकिन्छ ।

पहाड छाती ठोक्छ नशामा
घरीघरी ठोक्किन्छ भोकका भित्तामा
बिसाएर पीरका भारी बजाउँदै मुर्चुङ्गा
(मेरो पहाड)

'आमाको तिर्सना' शीर्षकको कवितालाइ पुन: पँक्तिकरण गर्ने हो भने तिनलाइ निबन्ध भन्न पनि सकिन्छ, जसमा कविताको भन्दा पनि निबन्धकै 'फ्लेभर' बढी पाइन्छ । कवि कवितामा बग्न खोज्दाखोज्दै पनि पर्याप्त मात्रामा सफल भएका छैनन् यहाँ :

घाँटी सुकेको आवाज कोक्रामा सुनेर
तीनधारे पधेँराबाट आएर डोको बिसाउदै
हतारहतार मेरी आमा तिमीले
चुल्हो छोएर हातमा थुःथु: गर्दै मलाई
'आम्बी' भन्दै काखमा लियौ
तिम्रो काख र छातीमा टाँस्यौ
मैले संसार पाएँथेँ
एकैछिनमा सबै दुःख, डर सबै भुलेँथेँ !
शिरमा उन्यूका पात सिउरेर
तिम्रो पैतालाको धूलो निधारमा दलिदियौ
र हामी चिप्लेटी डाँडा काटेर
गोधूलि साँझमा
मावल पनि गयौँ ।

प्रस्तुत हरफहरूलाइ अप्राकृतिक वा वनावटी 'स्ट्रेस' नदिइकनै वाचन गर्ने हो भने यसलाइ कविता भन्न मिल्लाजस्तो लाग्दैन । यसलाई कुनै यस्तै भाव बोकेको निबन्धको बीचमा लगेर मिसाइदिने हो भने पनि उक्त निबन्धको लयमा गतिरोध आउने छैन ।

अनि 'क्रान्तिको मूल्य', 'अखबार', 'नया नेपाल', 'कठघरामा उभिएर' आदि कविताले परिवर्तनप्रतिको उनको अन्तर्चेतनालाई मजबूत तुल्याउका छन् । 'सुकुम्बासी' शीर्षकको उनको अर्को कविताले त जस्तै मै हुँ भन्ने कठोर मन भएको पाठकलाई पनि एकपटक पगालेरै छाड्छ :

डढेलाले खाएको एउटा डाँडामा
ठिङ्ग उभिएको डरलाग्दो ठुटो भेटेँ
उसका पातहरू सबै डढेका थिए
हाँगाहरू सबै पिल्सिएका
फलहरू अचकल्टा पाकेका
आगाले पनि निल्न नसकेको
डढेको एउटा रूखको ठुटो भेटेँ !

उसले भन्यो
चुल्होमा बल्न म
हरेक दिन बन्चराले
चिरिदैछु,, काटिँदैछु र खिइँदैछु
न कुनै आकार छ मेरा न आधार नै
छ न कुनै रङ्ग, न ढङ्ग नै जीवनको ।

'२०६३ सालको आयातन' मा जनआन्दोलनक्रममा जनताले भोगेका पीडालाइ कविताको भाषामा दुरुस्तै र प्रभावकारी रूपले भन्ने आँट गरेर आफ्नो समयलाइ उतार्न खोजेका छन् :

यही सालमा
कुनै दिन सम्झौता भयो
तराइ बल्यो
पहाड बल्भिmयो

सुब्बाका कविताले कतै-कतै दार्शनिक र अस्तित्वगत चेतना पनि प्रवाह गरेका छन् । 'अस्तित्वबोध' शीर्षकको उनको कविता यसैको दृष्टान्त हो । पुरानो समय र आधुनिकताबीचको अन्तर्द्वन्द्व पनि स्पष्ट देख्न सकिन्छ, उनका कतिपय कवितामा । 'जालहारी र माछा', 'नदी निदाएको बेला', 'झुसिलकीरा' जस्ता कवितामा पर्यावरण क्षयप्रति कवि अलि बढी नै सचेत भएका हुन् कि जस्तो लाग्छ । यिनीहरूलाइ पर्यावरणीय दृष्टिबाट पनि हेर्न सकिन्छ, 'इको-पोइट्री' को नमूनाको रूपमा :

मलाई माफ गर ए माछाहरू !
म तिमीहरूलाइ जालमा पारेर
बजारमा बेच्नेछु ।
(जालहारी र माछा)

झुसिलकीरा छिट्टै पुतली हुनेछ
यसलाई नकुल्च, नमार !
वसन्त डाक्न जाँदैछ ऊ
सहिद हिँड्ने बाटो भएर ।
(झुसिलकीरा)

कवि सुब्बाका कतिपय लामा कविता पढ्दा नुन नपुगे जस्ता लाग्न सक्छ । त्यतातिर भने उति ध्यान पुगेको देखिदैन, कविको । कविता सरल हुनुपर्छ भन्ने कुरा राम्रैसँग बुझेका पनि छन्, कविले । कवितामा प्रयोग भएका जातीय शव्दका कारण कतिपय कविता सलल बग्न नसकेको जस्तो पनि लाग्छ, उकाध ठाउँमा । 'आएँ गुरुजी आएँ' शीर्षकको कविताको यो छोटो अंशलाइ दृष्टान्तका रूपमा लिन सकिन्छ :
म आँखाले भ्याउन्जेल मेरो हाङपाङ
मेरो साँवागाउँ र तागेरा निङ्वाफूमा
पछ्याउँदै उँभो... बग्छु !

जहाँ 'हाङपाङ', 'निङ्वाफूमा' लगायतका शव्दले कविताको एकनासे गति नै भङ्ग गरिदिएका छन् ।

प्रकृति, राजनीति, समयचेतना, राष्ट्रप्रेमजस्ता भावलाइ कवितामा समेट्न भ्याएका छन्, उनले । एकातर्फजनताका अधिकारका पक्षमा मनग्य आवाज उठाएका छन् भने अर्कातर्फ 'नोस्टाल्जिया' -अतितस्मृति) उनका कविताको विशेषता नै हो कि जस्तो पनि लाग्छ :

उहिले सानामा रुँदाखेरि
'लौ हाँस-हाँस मेरो बाबु' भन्थिन् आमा
आज म आत्मर्समर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हाँसिदेऊ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि...ङ्ग... उभिएको छु ।

विम्व र प्रतीकको कुशल संयोजन उनको कवितामा पाइन्छ, यसैको प्रयोगबाट समाजका विद्यमान कुसँस्कार, कुरीति, अन्धता, प्रताडनाको मूलजरो छिनाउने प्रयास गरेका छन् उनले । 'सडकवत्ती', 'घाम', 'पर्खाल' जस्ता छोटा-मीठा र खारिएका कविताले गजबले तान्छन् । नयाँ कविताको स्वाद चाख्न पल्किएका पाठकका लागि एउटा स्वादिलो खुराक पक्कै हुनेछ, यो उनको कविता सङ्ग्रह ।

साभार- 'नागरिक' दैनिक




प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 9 श्रावण, 2066

लेखकका अन्य रचनाहरु