एक सगरको दुई तारा हेर्दा

- विवश पोखरेल

जीवन एउटा यात्रा रहेछ । थाहा छैन, यो यात्रामा कहिले कहाँ कोसँग भेट हुन्छ, र कतिन्जेलसम्म निकटता रहन्छ उसँग, र फेरि टुट्छ सान्निध्यता । तर सान्निध्यता टुटे पनि सम्बन्ध र आत्मीयता आकाश र आकाशसँग टाँसिएको नीलो रङ भएर बाँच्दोरहेछ मन र मुटुभित्र । त्यो रङ जसलाई मेटाउन चाहेर पनि मेटाउन सकिन्न रहेछ, बिर्सन चाहेर पनि बिर्सन सकिन्न रहेछ । अथाह साहित्य सागरको एउटा किनारामा भेट भएको हो उमेशसँग मेरो । दुबै साहित्यको एउटा डुङ्गा चढेर तर्न चाहन्थ्यौं त्यो अथाह सागर र पुग्न चाहन्थ्यौं पारि गन्तव्यको अर्को किनारा । अथवा भनौं त्यो शीतल सागर तर्न सकेनौं भने पनि त्यो सागरको शीतलतामा रुझेर आनन्दित र तृप्त हुन चाहन्थ्यौं हामी ।

उमेशसँग भेट हुँदा साहित्यिक अभिरुचिको एउटा अङ्कुर प्रस्फुटित हुँदै थियो उनीभित्र । सम्भावनाका भुल्काहरू उम्रिँदै थिए । साहित्य त्यो महासागर थियो ? वाणी प्रकाशन, साहित्यिक समारोहको एउटा किनारा । जहा“ उमेश राई ‘अकिञ्चन’ एउटा उत्साह बोकेर आउँथे आफ्ना अनुभूतिका तरङ्ग पोख्न, र बग्थे शब्द, भाव, विचार र अनुभूतिमा निरन्तर निरन्तर । उनलाई थाहा थियो त्यसभित्र हराउनुको आनन्द र सन्तुष्टि । आखिर साहित्य भनेको जीवनकै वृत्तचित्र हो, सुख, दुःख आँशु हाँसोको अपूर्व सङ्गम । भोगाइका सग्ला विम्ब प्रतिबिम्ब उनका कवितामा हुन्थ्यो, गीतमा हुन्थ्यो, गजलमा हुन्थ्यो । विशेषतः जीवनका घाम-छायाहरू सरल र सहज रूपमा आरोह-अवरोह गर्थे उनका सिर्जनामा । सम्भवतः त्यही साहित्यिक अभिरुचिको समानता र प्रभावले नै उनीसँग निकट बनायो मलाई । जमघटहरूमा, गोष्ठीहरूमा आफूभित्र अङ्कुरित साहित्यिक प्रतिभालाई क्रमशः विस्तार गरे उनले । र उमेश राई ‘अकिञ्चन’ एउटा मेहनती र सिर्जनशील नाममा रुपान्तरित भयो । एकाएक अध्ययनको क्रममा विराटनगरको उर्वर माटोबाट हराए उनी र पनि यो माटोबाट पल्लवित यी स्रष्टा आफ्ना सिर्जनशील प्रवाहमा त्यतिकै जागरुक रहे, देशका विभिन्न पत्रपत्रिकामा निरन्तर आइरहे उनी कवितामा, गीतमा, गजलमा, निबन्धमा ।

अहिले मलाई खुशी लागेको छ आफूलाई मनपर्ने कवि उमेश राई ‘अकिञ्चन’ आफ्ना अनुज आशीष साम्पाङ्ग ‘महेश’सँगै अहिले ‘एक सागर दुई तारा ‘नामक सङ्ग्रहमा उदाएका छन् । यस कृतिभित्र दुई दाजुभाइका चौरासीवटा गीत गजलहरू समावेश छन् । जसमध्ये उमेशका एक्काइस गीत, र अठारवटा गजल, आशीषका बाइस गीत र तेइस गजल रहेका छन् । जीवनका विविध विषयवस्तुलाई यी दुई दाजुभाइले उनेका छन् आफ्ना सिर्जनामा । सामाजिक साँस्कृतिक दृश्य-परिदृश्यका सेरोफेरोमा केन्द्रित छन् यी स्रष्टाद्वयका सिर्जनाहरू । जहाँ हाक्पारे, चण्डीनाच जस्ता हाम्रा संस्कृति रीतिरिवाजका कुराहरू छन् । अभाव गरीबी र बेरोजगारीका कारणले नचाहेर पनि विदेश भासिनु परेको अभागी छोराहरूको पीडा छ । प्रेमका तीता-मीठा अनुभूति रोमाञ्चकता, मायालुसँगको बिछोड, आमाको प्रगाढ माया आदि छताछुल्ल भएर पोखिएका छन् गीत गजलमा । देशमा बढ्दै गएको अशान्ति, फोहरी राजनीतिक खेल आदिलाई आफ्ना अनुभूति र भावमा सरल र सहज तरिकाले समेटेका छन् यी स्रष्टाले । विषयवस्तुको विविधता सङ्ग्रहमा पाइन्छ ।

गजल विधा अहिले नेपाली साहित्यमा सर्वाधिक लेखिने विधा भएको छ । युवा पुस्ताहरू गजल लेखनमा सक्रिय भएर लागेका छन् । तर गजल लेखनले संख्यात्मक रूपमा जति प्रगति गरेको छ, गुणात्मक रूपमा यसको प्रगति हुनसकेको छैन । जुनसुकै रचनाको भावपक्ष मुटु हो, जसले सिर्जनालाई कालजयी र जीवन्त बनाउँछ । तसर्थ संख्यात्मकभन्दा पनि गुणात्मक सिर्जना अहिलेको आवश्यकता हो । यही गजल विधाको सिर्जनशील प्रवाहमा मिसिन आएका छन् उमेश र आशीष । यिनका सबै गजलहरू समानस्तर र समान ओजका नभए तापनि केही गजलभने उत्कृष्ट छन्, जसका भाव र कला पक्ष सबल समृद्ध छ । दृष्टान्त यस गजललाई लिन सकिन्छ :

मुटुभित्र लेखिएको एउटा नाम छ यति बेला
चिसो चिसो मौसमको सुन्दर घाम छ यति बेला ।
-उमेश,पृष्ठ (२५)

त्यसरी नै बेरोजगारी र अभावका पीडालाई गजलकारले यसरी व्यक्त गरेका छन्, जसमा विसङ्गतिको तिक्त बिम्व बेरोजगारी र अभावसँगै टाँसिएर आएको छ :-

भोको छु र अचेल भात खोज्दैछु
आशीर्वादको टीका लाउने हात खोज्दैछु ।
-उमेश, पृष्ठ (२६)

नसम्झ साथी कुनै काममा छु
विज्ञापनपछि दर्खास्तको लाममा छु ।
- उमेश,पृष्ठ ( ३०)

पुर्पुरोमा प्रवासी छाप लाएर आइयो
शीतल निवास, बबरमहल धाएर आइयो ।
हुट्टटि्याउँले आकाश थाम्ने गर्‍यो घृष्टता
ऋणसँगै विषको पोका खाएर आइयो ।
-आशीष,पृष्ठ (६९)

मुलुकमा लोकतन्त्र गणतन्त्र आएको छ तर पनि अझै हिंसा यथावत छ । अशान्ति यथावत छ । सधैंको बन्द हडताल र जुलुसले आक्रान्त छन् नेपाली जनता, त्यसैले दिक्क भएर कवि लेख्छन् :-

जहिले पनि जुलुस र जाम शहरमा
लाग्छ यही मात्र काम शहरमा ।
- उमेश,पृष्ठ (३४)

नेपाली राजनीति पनि साँच्चै बुझिनसक्नु छ, उनी राजनीतिलाई यस्तो देख्छन् :, वास्तवमा यो अहिलेको कटु यथार्थ हो ।

झुटै-झुटको खेती भो राजनीति
नाङ्ले पसलको पेटी भो राजनीति ।
- उमेश,पृष्ठ (३९)

‘जननी जन्मभूभिश्च स्वर्गदपी गरियसी’ सबैलाई आफ्नो जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ । जहाँ भए पनि कवि आफ्नो गाउँ, ठाउँ, र जन्मभूमिलाई बिर्सन सक्दैनन् । उनी लेख्छन् -

मेरो मनमा तिम्रो लागि ठाउँ छ एउटा
हृदयमा तिम्रै केवल नाउँ छ एउटा ।
शहरको खुशियाली दिन त सक्दिनँ
तर पनि जन्मभूमि गाउँ छ एउटा ।
-आशीष,पृष्ठ(८३)

जसरी यी युवा स्रष्टाले गजलमा विविध विषयवस्तु समेटेका छन् गीतमा पनि त्यसरी नै तिनै विषयवस्तुलाई अटाएका छन् । तर गजलका तुलनामा नेपाली गीती इतिहास पुरानो छ । विशेषतः गीत बढी गेयात्मक र लयात्मक हुनेहुँदा गीत बढी लोकप्रिय छ । गीत शब्दमा मात्र नभएर स्वर र संगीतमा समेत बज्ने गरेकाले यो बढी लोकप्रिय भएको हो । त्यसो त गजल पनि स्वर र संगीतमा बज्ने विधा हो तथापि भारत र पाकिस्तानमाझै गजल गायनको विकास अझै नेपालमा हुन बाँकी छ । यी कविद्वयका गीत प्रसङ्गका कुरा गर्दा अधिकांश गीतहरू प्रेम विषयसँग सम्बन्धित छन् जस्तो देशप्रेम, मातृप्रेम, मायालुप्रतिको प्रेम आदि । सबै गीत लयात्मक र गेयात्मक छ्न्, जसलाई सहजै गाउन सकिन्छ । गीत सरल छन् । विदेसिनुको पीडा जसरी गजलमा अभिव्यक्त भएको छ, गीतमा पनि त्यसरी नै अभिव्यक्त भएका छन् जस्तोः-

माटो छोडी भाग्य खोज्दै कहाँ कहाँ पुग्छ मान्छे
धेरै पर पुगेपछि देश सम्झी दुख्छ मान्छे ।
-उमेश पृष्ठ (७)

गोर्खा भर्ती जान भनी अरुण तर्दैछु
सानु तिम्रो आँखाबाट ओझेल पर्दैछु ।
-उमेश,पृष्ठ(१६)

आफ्नी आमाप्रतिको श्रद्धा र स्नेहलाई पनि त्यत्तिकै मार्मिक ढङ्गले अभिव्यक्त गरेका छन् दाजुभाइले ।

सबैभन्दा ठूलो भन्नु आमा तिम्रो माया रैछ
संसारमा भाग्य भन्नु आमा तिम्रो छाया रैछ ।
-उमेश,पृष्ठ(१)

हजुर हुँदासम्म फूलजस्तो संसार थियो
शोकाकुल बनाएर निभ्यो ममताको दियो ।
आशीष, पृष्ठ(४३)

सङ्ग्रहभित्रका रचनाहरूमा निराशाका स्वरहरू मात्र छैनन्, विद्रोह साहस र चेतनाका स्वरहरू पनि मुखरित भएका छन् । दृष्टान्तका रूपमा यी रचनालाई लिन सकिन्छ ।

जति दुःख परे पनि म त होइन रुने मान्छे
जति पटक लडे पनि म त होइन हार्ने मान्छे ।
-उमेश,पृष्ठ (१९)

धेरैपछि मैले एउटा कुरा गर्नु छ,
नगरेको काम हामीले पूरा गर्नु छ ।
-आशीष, पृष्ठ-५८

समग्रमा यी स्रष्टाद्वय रचित कृति एक सगर दुई तारा पाठकको साहित्यिक तिर्खा मेट्न सफल छन् । केही रचनाहरू गुणात्मक दृष्टिले केही दुर्बल लागे तापनि प्रथम कृति भएकाले क्षम्य मान्नुपर्छ । विशेषत साहित्य सागरको शीतल किनारामा भेटिएर सिर्जनाका प्रबल सम्भावनासहित गीत र गजलको सरोवरसम्म आइपुगेका मेरा प्रिय कवि भाइ उमेश राई अकिञ्चनलाई फेरि अर्को कविता सरोवरमा भेट्ने अपेक्षा राखेको छु । लेखनमा मैले विश्वास गरेको भाइलाई कवितामा हेर्ने मन छ, म त्यो दिनको प्रतीक्षामा छु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 29 आसाढ, 2066

लेखकका अन्य रचनाहरु