स्वप्नग्राम

- किशोर पहाडी

गाई चराइरहेका वीरमान अचानक टोलाउन थाले । घाँस काटिरहेकी मगर्नी बुढीका हातहरू टक्क रोकिए । खोपी खेलिरहेका चङ्खे, चाउरे, घैँटे र मनेहरू खेल्न छोडेर एक-अर्कालाई हेर्न थाले । जगत् साहू जुरुक्क उठे । पसलबाहिर आए । मकै भुट्दै गरेकी जगत् साहूकी स्वास्नीले मकै भुट्न छोडेर सोधी, "किन ? के भयो ?"
"ऊ त्यहाँ हेर न ।" "के? " भन्दै स्वास्नीले हेरी । ऊ पनि हेरेको हेर्‍यै भई । गाउँमा दसफुटे चौडा सडक एउटा आइरहेको थियो- सललल... गर्दै, र्सपजस्तै बग्दै । त्यो सडक पहाडको छेउछेउ आइरहेको थियो । त्यो सडक पहाडभित्र पसेर सुरुङहुँदै आइरहेको थियो ।सबै छक्क परे । ट्वाल्ल परिरहे । हेर्दाहेर्दै सडक गाउँमै आयो- गाउँसम्मै । अब त्यो गाउँ गाउँ रहेन । गाउँ नै अर्कै भएको आभास भयो । वीरमान, जगत् साहू, मगर्नी बूढी सबै खुशी भए ।
खुशीहुँदै जगत् साहूले भन्यो- "गाउँमा अब सडकसँगै के-के आउने हो ?"
उसकी स्वास्नीले पीर मान्दै भनी, "भीरपाखामा हिँडिरहेको बानी । सडकमा हिँड्न जानिने हो वा होइन ।" उनीहरूको कुरासँगै बसेर छोरो चाहिनेले सुनिरहेको थियो । उसले भन्यो, "केही पीर नगर्नोस्, आमा सडक त्यसै आएको हो र हाम्रो गाउँमा - अब चुनाव आइरहेछ- त्यसको लागि आएको हो । चुनाव सिद्धिएपछि यो सडक हराउँछ । तपाईंले भीरपाखामै हिँड्नु पर्नेछ ।"
नभन्दै एक छिनपछि त्यही सडकमा एउटा ठूलो मोटर आयो । वीरमानले चिन्यो- मोटरबाट दिगम्बर निस्के । दिगम्बर- त्यो गाउँको प्रतिनिधि । दिगम्बरले वीरमानलाई नमस्ते गरे, मगर्नी बुढीलाई ढोगे । जगत् साहूको हालखवर सोधे । गाउँ नै उज्यालो भएझैँ आभास भयो । दिगम्बरको अनुहार पनि उज्यालो भयो ।
उज्यालिएको उज्यालिएकै अचानक गाउँबाट दिगम्बर हराए । दिगम्बरजस्तै देख्दादेख्दै त्यो सडक पनि सललल... बग्दै भाग्यो । सर्पजस्तै बग्दै गाउँबाट भाग्यो । पहाडको छेउछेउबाट भाग्यो । पहाडभित्र पसेर सुरुङ हुँदै भाग्यो ।
वीरमान, मगर्नी बूढी, चङ्खे, चाउरे, जगत् साहू सबै फेरि टोल्हाएको टोल्हाएकै भए ।"ज्या, सपनाजस्तै पो भयो त ।" गाउँ फेरि एकपल्ट निराश, हताश र दुःखित भयो ।


प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 25 आसाढ, 2066

लेखकका अन्य रचनाहरु