जब विकल दाइले रोक्नुभयो

- मन्जुल

"एबाबु भन् त तँ दार्जीलिङ जान्छस् कि जाँदैनस् ?" २०२३ सालमा झापामा देशव्यापी रूपमा मनाइएको नेपाली साहित्य सम्मेलनमा भाग लिन गएका बेला, मौका पारेर काठमाडौँमा बस्  ने केही साहित्यकारहरू दार्जीलिङ हान्निए । त्यसरी दार्जीलिङ जानेमा रोचक घिमिरे दाइ र भैरव अर्याल दाइ पनि पर्नुभएछ । विडम्बना भनौँ कि के भनौँ, घनिष्ट साथीभित्रका उहाँहरूले रमेश विकल दाइलाई तिमी पनि जान्छौ कि भनेर एक वचनसम्म सोध्नु भएनछ । भारी रिस उठेछ रमेश विकल दाइलाई । त्यसैले उहाँले पनि रोचक घिमिरे दाइ र भैरव अर्याल दाइसँगसँगै नगएर आफू अलग्गै जाने विचार गर्नुभएछ । म उहाँले माया गरेको भाइ, मलाई साथमा लाने विचारले उहाँले मलाई माथिको प्रश्न गर्नुभएको रहेछ ।
प्रश्न त मैले सुनेँ । मलाई नै सोधेको प्रश्न मैले नै नसुन्ने कसरी ! तर, उहाँले कुन तोडमा कुन मनसायले मलाई त्यो प्रश्न गर्नुभएको थियो भन्ने कुराचाहिँ त्यसबेला मलाई पटक्कै थाहा भएको थिएन ।
"मसँग पैसा छैन दाइ ।" मैले विनम्रतापूर्वक उत्तर दिएँ ।"
"भन् न तँलाई दार्जीलिङ जान मन छ कि छैन ?" उहाँले फेरि सोध्नुभयो ।
"मसँग पैसा छैन दाइ ।" मैले फेरि पनि विनम्रतापूर्वक उत्तर दिएँ ।"
"तँलाई मैले पैसा छ कि छैन भनेर सोधेँ कि तँलाई दार्जीलिङ जान मन छ कि छैन भनेर सोधेँ ?" यसपालिचाहिँ उहाँले मलाई प्रश्न मात्र गर्नुभएन, आफ्नो मीठो झोक पनि देखाउनुभयो ।
म उहाँलाई साह्रै आदर गर्थें । एक किसिमले भन्ने हो भने उहाँ मेरो संरक्षक नै हुनुहुन्थ्यो काठमाडौँको । माया पनि गर्ने मलाई, मलाई मनपर्ने हिसाबले मैले लेख्ने साहित्यमा अगाडि बढ्न बाटो पनि देखाउने । म उहाँको कुरा काटेर बोल्न सक्दिनथेँ । म उहाँको छाया टेकेर हिँड्न सक्दिनथेँ । उहाँले दमन गरेर थिचेको कारणले होइन, उहाँले माया गरेर अँगालोमा बोकेका कारणले ।
"जान मन छ ।" मैले नडराई भनेँ ।
"हो, त्यस्तो उत्तर खोजेको मैले बुझिस् ।" उहाँ मुसुक्क मुस्कुराउनुभयो, "त्यो भैरे र रोचक दार्जीलिङ जाने रे ! मलाई एक शब्द पनि सोध्या होइन, बुझिस् । तिनीहरू जाऊन् तिनीहरूका पाराले, हामी जान्छौँ हाम्रो पाराले, बुझिस् कि बुझिनस् ?"
बल्ल पो थाहा पाएँ मैले दाजुले किन मलाई त्यसरी र्‍याखर्‍याख पार्नुभएको रहेछ भन्ने । म फुच्चे के बुझौँ, कसरी बुझौँ आफूभन्दा ठूलाठूला दाइहरूका कुरा !
झापामा भाग लिन जाने हामी सबैलाई सम्मेलनका आयोजकहरूले झापादेखि आ-आफ्ना ठाउँहरूसम्म पुग्ने भाडा दिएका थिए । काठमाडौँबाट जाने सबैलाई काठमाडौँसम्मको भाडा दिएका थिए । भन्नै परेन मलाई पनि दिएका थिए ।
तर, रमेश विकल दाजु र म पनि दार्जीलिङ जाने भएपछि उहाँले मलाई झापाबाट सिलगुडी जाने र फेरि सिलगुडीबाट झापा फर्किने पैसा दिँदै भन्नुभयो, "केही गरी तँ र म छुट्यौँ भने पनि तैँले अलपत्र पर्नु पर्दैन । यहाँबाट सिलगुडी जाने र त्यहाँबाट यहाँसम्म र्फकने पैसा तँसँग भइहाल्छ । यहाँबाट काठमाडौँसम्म जाने पैसा तँलाई यिनीहरूले दिएकै छन् ।"
त्यसो त मसँग सम्मेलन गर्नेहरूले काठमाडौँ र्फकने पैसा नदिएको भए पनि काठमाडौँ र्फकने पैसा मसँग पहिल्यै थियो । त्यसैले दाजुले दिएको पैसा लिन मैले त्यति उत्साह देखाइनँ ।
"ली न, मैले ली भनेपछि तैँले लिनुपर्छ । म दाजु हुँ तेरो, होइन र ? मैले जसो गर् भन्छु तैँले त्यसै गर्नुपर्छ बुझिस् ।"
दाजुले दिएको पैसा मैले लिएँ ।
सिलगुडी जाने बेलामा फेरि रमेश विकल दाजुले नै पैसा तिर्नुभयो । मैले पैसा दिन खोज्दा चुप लाग्, अहिले राखी राख् भन्नुभयो ।
हामी दार्जीलिङ गयौँ । सिलगुडीदेखिको भाडा उहाँले नै तिर्नुभयो । दार्जीलिङको राम्रै होटलमा बसियो दाजुभाइ । राम्रै खाना खाइयो । खाजा-नास्ता पनि खाइन्थ्यो मजाले । कहिले यता हेर्न गइयो, कहिले उता हेर्न गइयो । कहिले यता घुम्न गइयो, कहिले उता घुम्न गइयो । सारा पैसा दाजुले नै तिर्नुभयो । मलाई छिरिक्क गर्न पनि दिनुभएन ।
दार्जीलिङ बसेर, घुमेर आइयो । र्फकंदाको सारा भाडा पनि दाजुले नै तिर्नुभयो । मैले पैसा निकाल्न खोजे गाली गरिहाल्नुहुन्थ्यो । चुपचाप, एकदम आज्ञाकारी भएर बसेँ ।
र्फकंदा हामी एक हूल थियौँ । सरासर फर्कियौँ जनकपुर । हामी रोचक दाइकामा बस्यौँ कि जगदीश घिमिरेकामा बस्  यौँ पक्का थाहा भएन । तर, जेहोस् हामी यी दुई ठाउँमध्ये एक ठाउँ बस्यौँ ।
यी दुवै ठाउँमा हामीलाई पाहुना हुन जुथ्र्याे पैसासैसा तिर्न पर्दैनथ्यो ।
एकदिन हो वा दुईदिन हामी जनकपुरमा बस्यौँ । घुम्यौँ जानकी मन्दिर । घुम्यौँ बजार यताउता ।
भैरव दाइ र म थियौँ । हामी घुमिरहेथ्यौँ बजारमा । हामीलाई अलि गर्मीगर्मी लागेझैँ भएछ क्यार ! हामी दुईले कहीँ बसेर बियर पिउने विचार गर्‍यौँ । अचेल कस्तो छ थाहा छैन तर त्यतिबेला जनकपुरमा जहाँ पायो, त्यहीँ बसेर मात्ने खालको पेय पदार्थ पिउन मनाही थियो । अनुमति प्राप्त कुनै एउटा दोकानमा बसेर भैरव दाइ र म मजाले बियर पिउने सुरसार गर्दै थियौँ ।
हामीले बियर मगायौँ । ग्लासमा राख्यौँ र पिउन सुरु गर्‍यौँ । पैसा मैले तिर्ने सर्त थियो । म भैरव दाइलाई, रोचक दाइलाई त्यत्तिकै माया र आदर गर्थंे जति रमेश विकल दाइलाई ।
हामीले एक-एकपल्ट बियर पिएपछि कता-कताबाट अचानक रमेश विकल दाइ टुप्लुक्क त्यहीँ आइपुग्नुभयो ।
"तैँले के गर्न लागेको ?" रमेश विकल दाइले मलाई सोध्नुभयो ।
"बियर खान लागेको ।" मैले अलि अप्ठ्यारो मानीमानी जवाफ दिएँ ।
"आफूले मान गर्नुपर्ने दाइसँग बसेर बियर खान तँलाई अप्ठ्यारो लागेन ?"
म नाजवाफ भएँ । मैले के जवाफ
फर्काउने ?
"ओठ निचोर्दा दूध आउने भाइसँग बसेर जाँड खान तँलाई लाज लागेन ए भैरे ? खाँदो होस् त आफूजस्  तैहरूसँग बसेर खाँदो होस् ।"
भैरव दाइ चुइक्क पनि बोल्न सक्नुभएन ।
रमेश दाइले सिसी र ग्लासको सबै बियर पोखिदिनुभयो ।
"हिँड् मसँग ।"
म चुपचाप रमेश विकल दाइको पछिपछि लागेँ । दोकानमा भैरव दाइ मन्दिरको भैरवजस्  तै एक्लै रहनुभयो ।
पैसा मैले तिर्छु भनेको थिएँ । भित्रभित्र एकदमै माया लाग्यो भैरव दाइको ।
यसो हेर्दा कसैकसैले रमेश विकल दाइलाई भन्लान्, कस्  तो लेखक जो अर्काको जीवनको स्  वतन्त्रतामा हस्  तक्षेप गर्छ । तर, सोच्छु, पुगनपुग २० वर्षको रहेछु म त्यतिबेला । यदि त्यहीबेलादेखि मेरो त्यस्  तो स्  वाद बसेको भए अवश्य पनि बियरले मात्र मेरो धीत मर्ने थिएन होला । म रम, हि्वस्  की, जिन एन्ड टनिक, लोकल, फोरेन, सितन भुटन अनि थरीथरीका स्  वादिष्ट परिकारतिर लाग्थेँ होला । यिनीहरूसँगै गाँसिएर अर्को रको रन्... त्यसपछि अर्को रको रा हुँदै पतनको गहिराइको गर्तमा पुग्थेँ होला । म हुन्थेँ हुँला महाको ढाँट, म हुन्थेँ हुँला महाको ढोँगी, म हुन्थेँ हुँला महाको महत्त्वाकांक्षी कुपुत्र, देशको भार, मासुको डल्लो । कहाँ हुन्थेँ होला र अहिलेको जस्  तो मञ्जुल ! जनकपुरको त्यसबेलाको मातुँ-मातुँ लाग्ने त्यो अँध्यारो-अँध्यारो कुनाबाट बाहिरको सचेत खुला घाम र उज्यालोमा निकालेर त्यसबेला मेरो संरक्षक रमेश विकल दाइले जे गर्नुभयो, ठीकै गर्नुभयो । म अहिलेको मञ्जुल हुन पाएँ । किताब किन्नु, पढ्नु, संगीत सुन्नु, कहिलेकाहीँ गाउनु, देश-दुनियाँ बुझ्न घुम्नु, दुःखी मानिसहरूको हितमा जुझ्नु, ममा यसभन्दा अर्को खासै कुनै लत छैन ।
त्यसबेला त्यसरी मेरो संरक्षक रमेश विकल दाइले जे गर्नुभयो, ठीकै गर्नुभयो । मेरो महान् संरक्षक, मेरो प्यारो दाइ रमेश विकल !
त्यसपछि हामी सबै काठमाडौँ आयौँ । बाटाको सबै खर्च रमेश विकल दाइले नै तिर्नुभयो । मसँग भएको पैसा त सबै गोजीको गोजीमै थियो ।
त्यसबेला म नेपाल राष्ट्र ब्यांकको ब्यांकिङ् कार्यालयमा काम गर्थें । तलब राम्रै थियो । खान-बस्  न पुग्थ्यो । ठीकैले, म एक्लोलाई । तलब बुझेपछि एकदिन म खुरुखुरु आरुबारीतिर लागेँ, रमेश विकल दाइको घरतिर ।
आफ्नो अगाडि मलाई देखेर खूब खुसी हुनुभयो रमेश विकल दाइ । उहाँ एकदमै खुसी हुनुहुन्थ्यो म यसरी झट्ट झट्ट पुग्दा ।
"एई ! यसलाई पनि खाना बसाल ।" भाउजूलाई अह्राउनुभयो उहाँले ।
"बाबु आएपछि बसाइहाल्छु नि ! तपाईंले भनिरहन पर्छ र !" भाउजूको उत्तर त्यत्तिकै ममताले भरिएको हुन्थ्यो ।
पहिला-पहिला म एक्लै, अलि पछि रामेश र म खूब गयौँ रमेश विकल दाइको त्यो आरुबारीको घरमा । खूब खायौँ खाना त्यहाँ । त्यही हार्दिकता, त्यही आत्मीयता हुन्थ्यो सधँ ।
"आओ न तिमीहरू ! तिमीहरू यसरी आउँदा कस्तो खुसी लाग्छ ।" अनि, उहाँ देखाउनुहुन्थ्यो आफूले बनाएका चित्रहरू, उहाँ देखाउनुहुन्थ्यो आफूले बजाउने बाजाहरू, उहाँ सुनाउनुहुन्थ्यो कथाहरू । कहिले गम्भीर हुँदै, रिसाउँदै, कहिले धरधरी रुँदै ।
खाना खाइसकेपछि हामीहरू गफ गर्दै-गर्दै ऊबेला आरुबारीदेखि चाबहिलसम्म नै हिँड्थ्यौँ पैदल । यसरी हिँड्न खूब मजा लाग्थ्यो हाम्रो दाइलाई । यस्ता हिँडाइबाट खूब सिकेँ मैले गरिब दुःखीहरूको पक्षमा लागेर सशक्त रूपमा जुझ्नुपर्ने कला ।
उहाँ श्यामप्रसाद दाइसँग मिलेर भूमिगत रूपमा गरेका सुन्दर र साहसिला संघर्षका बारेमा बताइरहँदा एकदमै आनन्द अनुभूत गर्नुहुन्थ्यो । यस्ता कुराहरू बताइरहँदा उहाँ एउटा मीठो आनन्दलोकमा पुग्नुहुन्थ्यो ।
रमेश विकल दाइ जनताको त्यस्तो पक्षपाती लेखक हुनुहुन्थ्यो, जो कहिल्यै पनि सरकारको पक्षमा रहन चाहनुभएन, कम्युनिस्टकै सरकार आए पनि । जतिसुकै आलोचित हुन परे पनि उहाँले खुलेआम भन्नुभएको थियो यो कुरा ।
उहाँबाट सिकेर आज म पनि त्यस्तै भएको छु । आमजनताको पक्षधर हुनुभन्दा बाहेक म होइन अरू कसैको पनि कलमको नोकर । यद्यपि, भइरहेका विचारहरूमा भोट हाल्ने अवश्य नै एउटा समूह भने छ मसँग ।
राष्ट्र ब्यांकको ब्यांकिङ् कार्यालयको तलब बुझेर एउटा उद्देश्यले आरुबारी गएको मलाई रमेश दाइले सोध्नुभयो, "सञ्चै छ तँलाई ।"
"सञ्चै छ ।" मैले खुसी हुँदै भनेँ । अझ अगाडि भनेँ, "दार्जीलिङ जाँदा दाजुको धेरै पैसा खर्च भयो । मेरो भागमा कति पर्‍यो, त्यो तिर्न आएको ।"
"ओहो ! गज्जब गरेछ यसले त ! भाइ हुनु त यस्तै भाइ हुनु राम्रो । अँ भन् त साँवा मात्र ल्याइस् कि ब्याज पनि ।"
अनि गज्जबले हाँस्नुभयो ।
"दाइले आफ्नो सानो भाइका लागि खर्च गरेको पैसा पनि ऋण तिरेजस्तो तिर्छन् त ? बाबु पनि कस्तो  ! पिट्नुहोला दाइले अहिले, त्यस्तो कुरा नगर्नू ।" भाउजूले भन्नुभयो ।
पिट्नु भन्ने शब्द र रमेश विकल दाइ । कतै केही सुहाउँदैनथ्यो । बाबा भए पनि ममतापूर्ण आमाको माया थियो उहाँको छातीमा । पिट्नुु त भाउजूले त्यसै भनिदिनुभएको थियो प्रसंगवश ।
मसँग रमेश विकल दाइले पैसा लिन मान्दै मान्नुभएन । पैसा बचेको छ भने राम्रा किताब किन्, पुग्छ भने पेन्ट किन्, जुत्ता किन् भनेर मलाई मायाले भन्नुभयो । मेरो गोजीमा राम्रै रकम थियो । जेजति थियो मसँग गोजीमै थियो । गोजीको एक पैसा पनि बाहिर निस्केन ।
दाजु र म खाना खाइसकेपछि घरबाट निस्िकयौँ । अनि गफ गर्दै-गर्दै लाग्यौँ चाबहिलतिर । हामी सँगसँगै हिँडिरहेको थियो आरुबारी, आरुबारीको आकाश र आरुबारीको माया पनि ।

नेपाल पत्रीकाबाट

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 12 आसाढ, 2066

लेखकका अन्य रचनाहरु