जाडो

- विवश वस्ती

पुसको अन्तिम हप्तादेखि जाडो असाध्यै चम्कियो। झन् पानी परेको हुँदा नजिकैको पहाडको टुप्पोमा हिउँ पर्न थालेको थियो। र, जाडो तिखारिएर बढेको थियो।
'यसपालि पनि सिरक किन्नु भएन' हर्कबहादुरको जेठो छोराले राति सुत्ने बेलामा कुरा उठायो र ओठ कपाउँदै ऊतिर टाँसिन थाल्यो।
'आच्छु' ओछ्यानबाटै छोरी कराई।
अगेनामा आगो अघि नै निभिसकेको थियो। भुङ्ग्रो मात्र छ, अब। त्यसले त्यति ताप छर्दैन। एउटा सामान्य सिरक ओढेर सुतेकोछ, हर्कबहादुरको परिवार। जसले जाडोसित प्रतिकार गर्ने सामर्थ्य बोकेको छैन।
जाडो शुरु नहुँदै हर्कबहादुरले यसपालि चाहिं जाडो छेक्ने दुइटा गतिलो सिरक किन्ने कुरा घरभित्र उठाएको थियो।
'बा। मलाई त असाध्यै जाडो भयो' कान्छो छोरा रुँलाझैं गरी बोल्यो। उता जेठो छोराले थप्यो– 'तपाई पनि गफ मात्रै गर्नु हुन्छ, यसपालि सिरक किन्छु भन्नु भएको होइन?'
छोरीले पनि ओठ कपाई– 'मलाई पनि जाडो भो'
उसले तत्काल असन्तुष्ट छोराछोरीलाई चित्त बुझाउने कुनै बाटो देखेन। बरु एउटा उपाय सुल्झायो र भन्न थाल्यो– 'म तिमेरुका निम्ति भोलि दुइटा सिरक किनेर ल्याउनेछु। अति नै न्यानो गमक्क।'
'न्यानो?' छोराले उत्सुक हुँदै सोध्यो।
'हो, न्यानो। जाडोको नामोनिसाना रहेने छैन। न्यानो, तातो, राम्रो, र गमक्क' हर्कबहादुर सिरकको न्यानोपनले पसिना आउने अभिनय गर्दै निधार पुछिरहेको थियो। उसको अभिनय हेर्न व्यस्त छोराछोरीहरु जाडोलाई बिर्सेर भोलि घरमा भित्रिने सिरसकको न्यानोपनलाई सम्झिरहेका थिए। तर जाडो भने झन् झन् चम्किरहेको थियो।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 आसाढ, 2066

लेखकका अन्य रचनाहरु