लघु संस्मरण, लघु लिपिमा शङ्कर दाइ

- नगेन्द्र शर्मा

अभूतपूर्व लेखनकला, वैचारिक प्रखरता र विभिन्नताका धनी, कथावस्तु विनाका कथाका पनि जन्मदाता । नेपालीमा हाइकुका प्रथम प्रयोक्तासमेत रहेका शङ्करदाइ 'इम्प्रेसनिज्म्' जस्ता नौला साहित्यिक धाराहरूको स्वाद हामीलाई चखाउने प्रथम व्यक्ति पनि थिए । कुरैकुरामा एकदिन मैले उनलाई सोधेको थिएँ, "दाइका प्रेरक साहित्यिक गुरुहरू लरेन्स डुरेल र सारोयानमध्ये कुन चाहिँ हुन् ?"

"मलाई त्यस्तो दम्भ गर्न मन त लाग्दैन, तर कहिलेकाहीँ म स्वयम् शङ्कर सारोयान र लरेन्स लामिछानेमध्ये कुन चाहिँ बढी हुँ, ठम्याउनै सक्दिनँ !"

यो उत्तर पनि मलाई अति 'एब्स्ट्र्याक्ट' (Abstract) जस्तो नै लाग्यो । अर्थात्, मैले केही बुझेँ पनि, बुझिनँ पनि । उनका निबन्धहरूले अत्यन्त प्रभावित भएर मैले उनलाई 'निबन्ध शिरोमणि' मानेको पनि धेरै भयो ।

तर अचम्म, 'दि काठमान्डु पोष्‍ट' अङ्ग्रेजी दैनिकमा सन् १९९७ देखि पछिका दुई वर्षमा हरेक साता छापिने मेरा करिब ३०० जति स्मृतिप्रधान रचनाहरूमध्ये एउटैमा पनि शङ्कर कसरी परेनन् होला, के भएर छुटे होला, म स्वयम् पनि भन्न सक्दिनँ । जब कि तिनमा कुने बेला यस्ता व्यक्ति पनि परे, जसलाई आजीवन समेत भेटेको थिइनँ- जस्ते निराद सिंह चौधरी ।

शङ्कर लामिछानेसँग मेरो पहिलो भेट करफोकको एक साहित्यिक जमघटमा भएको थियो, सन् १९५२ सालतिर । त्यस जमघटमा सबैभनदा केटौले, 'स्मार्ट' र जाँगरिला देखिने काठमान्डुका प्रतिनिधि उनै थिए ।

म जब कलकत्ता छोडेर काठमाडौँ आएँ, शङ्कर दाइको विवाह रत्‍ना राइसँग भइसकेको रहेछ । काठमाडौको एक बाहुन युवकले राइ युवतीसँग बिहे गर्नु भनेको तिनताकको नेपाली समाजमा एउटा ठूलो विद्रोह, एउटा सामाजिक क्रान्ति गर्नु सरह नै थियो । फेरि रत्‍ना, जसलाई म दार्जिलिङदेखि नै चिन्थेँ र जो काठमाडौँमा आयोजित नेपाल भारत छात्र सम्मेलनमा हामीसँगै प्रतिनिधि भएर आएकी थिइन्, उनैसँग शङ्कर दाइको विवाह भएको सुन्दा विद्रोहीको रूपमा उनीप्रति जागेको आदर भावमा आत्मीय नाता कुटुम्बपना पनि थपिएको थियो ।

काठमाडौँमा मेरा दिदी-बहिनी कुनै नभएकाले मैले रत्‍ना दिदी र यांगजि (शेर्पा) बहिनीको हातबाट भाइटीका थाप्ने प्रक्रिया पनि सुरू गरेँ । यांगजि र रत्‍नाले एकै ठाउँ, शङ्कर दाइकै डेरामा हामीलाई भाइटीका लगाइदिने गर्थे । हुँदाहुँदा यस सहरमा मेरो दोस्रो घर (सेकेण्ड होम) पनि त्यहीँ हुनगयो । यसरी जीवनका १५-२० हिउँद-वर्षासँसँगै रुझेर, भिजेर, रमेर र गमेर शङ्कर दाइसँग बिताएँ । व्यावहारिक जीवनमा लगायत साहित्यिक र वैचारिक यात्रामा समेत अनेक सहयोग र अगुवाइ मैले उनैबाट पाएँ । भनूँ नै भने कथा, कविता, नाटक आदि विधाबाट निबन्धतिरै कलम चलाउन पनि मलाई सबैभन्दा धेरै प्रेरित उनैले गरे ।

यांगजि बहिनी र म दुवैको जागिर खुस्केपछि हामीले साझेदारीमा एउटा 'स्ट्रक्चरल' (Structural) कम्पनी स्थापना गर्‍यौँ । त्यसको 'न्वारान' श,कर दाइले नै गरिदिएका थिए । त्यो अत्यन्त नौलो नाउँ थियो 'स्ट्रक्टो नेपाल' ।

अझ एकपल्ट मैले प्रेस राख्‍नलाग्दा पनि दाइसँगै सल्लाह मागेँ ।
"कतै प्रेस हेर्नुभएको छ ?" - उनको प्रश्‍न थियो ।

"छैन ।"

"त्यसो भए एकछिन पर्खौँ । वीरगञ्जमा एउटा प्रेस बिकाउ छ रे । त्यो मेरै साथीको हो । ऊ अहिले आउँदै पनि छ । राम्रो रहेछ र दाम-काम मिल्यो भने त्यही लिउँला, हुन्न ?"

"हुन्छ, तर वीरगञ्जबाट यहाँ ल्याउन पो गाह्रो पर्ला ।"

म अनकनाए जस्तो लागेर होला, दाइले भने, "अरे के ठूलो कुरा छ ? हामी दुवै सँगै जाउँला, रमाइलो पनि गरौँला, प्रेस पनि ल्याउँला । पशुपतिको जात्रा सिद्राको व्यापार ।" गट्टट् हाँसोको फोहोरा छुट्यो ।
र म पनि हाँसेँ ।

त्यसै गर्‍यौँ पनि । उनी मसँग वीरगञ्जसम्म गए मात्र होइन, ३-४ दिन सँगै बसे, प्रेसबारे जानकारी भएका व्यक्तिहरूबाट मेसिन जाँच्न लगाए, चित्त बुझेपछि खरिद गराए । आफैँले ट्रक पनि बन्दोबस्त गरे, प्रेस लाद्‌न लगाए र मसँग त्यसै ट्रकमा काठमाडौँ आए । फेरि मेरो पुतलीसडकस्थित 'रामझुपडी'को भुईँतल्लामा त्यो प्रेस जडान गर्न सबै व्यवस्था समेत मिलाइदिए ।

तर जीवनको उत्तरार्द्ध कालमा उनी दोस्रो घरजम गरी पाटनतिर बस्न गएछन् । त्यसपछि हामी एक-अर्काबाट टाढिँदै जानु स्वाभाविक थियो । यही क्रम केही वर्ष जारी नै रहेको थियो मैले उनको दर्शन धेरैपछि एकैचोटि वीर अस्पतालको आइ.सी.यू. मा मात्र पाएँ र त्यही अन्तिम भेट पनि हुन गयो ।
सङ्कर स्मृति घर

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 8 आसाढ, 2066

लेखकका अन्य रचनाहरु