दृष्टि

- भारती गौतम

भत्भति पोल्ने घामको राप रमाइलो
हात्तीको सुँड जस्तै बर्सिने बरसात रमाइलो
पूणिर्माको उज्यालो रात अनि
कलिलो सुनौलो प्रभात रमाइलो
औंसीको निस्पट्ट अँध्यारो रमाइलो
कटक्क हातमा बिझाउने तुसारो रमाइलो
जता हेर्‍यो जहाँ हेर्‍यो परिवेश नै रमाइलो
पात झरेको नाङ्गो रुख रमाइलो
प्रियतमाले कुल्चिएको गह्रौँ मन रमाइलो
चौतारी रमाइलो, त्यहाँ पुग्ने
उकाली अझै रमाइलो
परि देशमा चहारेको सपना रमाइलो
यथार्थमा चहर्‍याएको विपना रमाइलो
जीवन रमाइलो, मृत्यु पनि रमाइलो
दृश्य त निराकार निर्विकल्प हुँदोरहेछ
दृश्य होइन दृष्टि रमाइलो चाहिनेरहेछ
रमाइलो दृष्टि अनन्त हुन्छ अरे
रमाइलो दृष्टि अमर र अखण्ड पनि हुन्छ अरे

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु