दिव्यलक्ष्मी पोखरेलको 'आमाको स्नेह' कविता–सङ्ग्रहको समीक्षा

- सारदा पराजुली

“छोरो जन्म्यो गदगद भएँ धन्य बन्दै म हाँसेँ
बोकेँ आफ्नै हृदय टुकुरो हर्षको स्वास फ्याँकेँ”
जब नारीहरूले आमा बन्ने अवसर पाउँछन्, तब सारा कुरा बिर्सिएर आफ्ना सन्तानलाई स्नेहिलो ममताले छोपेर न्यानो स्पर्श छर्दछन्। तिनै नारीहरू सन्तानका खातिर रूप – यौवन, भोक–प्यास मेटाएर आफूलाई समर्पण गर्दछन्। रात–दिन तिनै सन्तानको सेवा टहलमा जुटेकी आमाको ममतालाई 'आमाको स्नेहु (कविता सङ्ग्रह)मा दिव्यलक्ष्मीले समेटेकी छिन्। मातृत्व पे्रमलाई यस सङ्ग्रहले विशेष रूपमा चित्रण गरेको छ। आफ्ना सन्तानको रेखदेखमा रत्तिभर कन्जुस्याइँ नगरी लागिपरेकी आमाको ममतामयी काखलाई लत्याएर रूप र यौवनको पछि लाग्ने आजका सन्तानलाई सचेत पनि गराएकी छिन्।
“हट्टा कट्टा कतिदिन हुनन् पुष्ट यी हाड छाला
गल्छन् हड्डी दिनदिन यसै चाउरिन्छन् नि गाला”
साँच्चै कविताका श्लोकहरूमा भनेझैँ धन–सम्पत्ति र रूप –यौवन आफ्ना बसमा हुँदैन। त्यसैले उमेर छ भनेर सारा कर्तव्य भुली मोज–मस्तिमै जीवन बिताउँन खोज्नु कर्तव्य बोध नगर्नु हो। प्रत्येक सन्तान अभिभावकप्रति कर्तव्यपरायण हुनुपर्छ नत्र ती आमाबुबाको आँसुले हामीलाई सराप्नेछ। कविता पढ्दै जाँदा लाग्छ आमाको वर्णन कतै सौन्दर्यकी खानीका रूपमा कतै ईश्वरीय रूपमा त कतै ममतामयी छहारीका रूपमा गरिएको छ। लाखौँको सम्पत्ति भन्दा पनि आमाको ममता मूल्यवान् हुने हुनाले आमालाई करले होइन भित्रिहृदयबाट श्रद्दा गर्नु पर्छ भन्ने आसय कवितामा पाइन्छ। आमाको बात्सल्यलाई नबुझेका सन्ततिको आँखा खोलिदिएका छन् दिव्यालक्ष्मीका कविताले। बृद्धआमा बुबालाई बोझका रूपमा हेर्ने सन्तानलाई उनका कविताले आमा बुबाप्रति स्नेह जगाएको छ।
औपचारिक शिक्षाको अभावमा पनि छन्द–शिल्पीलेझैँ छन्दोबद्ध कविता सिर्जना गरेर दिव्यलक्ष्मीले नेपाली सहित्यमा ठूलो गुन लगाएकी छिन्। जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ दिव्यलक्ष्मीले स्वअध्ययन गरेर आफ्नो पढ्ने रहर पूरा गरी छाडिन्। छोरीलाई शिक्षा दिनुहुन्न, बरु घरधन्दामा लगाउनु पर्छ भन्ने सामाजिक परिपाटीका कारण उनले शिक्षा आर्जन गर्न पाइनन्। पढ्ने, लेख्ने र भाका हालीहाली कविता वाचन गर्ने रहरलाई मनमा गुम्स्याएर पराइ घरकी लक्ष्मी बन्न पुग्नु पर्‍यो उनले। माइती घरमा त पढ्न पाइनन् भने पराइ घरमा त पढ्ने कुरा सोच्ने पनि फुर्सद भएन उनलाई। घरधन्दा र मेलो पात गर्दागर्दै उनले धेरै वसन्त पार गरिन्। यसै क्रममा उनले दुई सन्तानलाई धर्ती देखाइ सकेकी थिइन्। घरधन्दा र छोराछोरीको सेवा टहल गरेर मात्र उनको मन मानेन। उनीभित्र बेला बेला भावनाहरू भरिएर आउथ्यो। त्यसको निकास दिन उनलाई निकै गाह्रो पर्थ्यो किनभने उनलाई ती भावना शव्दमा उतार्न आउँदैनथ्यो। भावावेगले छटपटाएको मन अमूर्त (धर्काको सहयोगले) रूपमा पोखिए पछि केही हल्का हुन्थ्यो। दिनहरू बित्दै जाँदा दिव्यलक्ष्मी पोख्रेलको परिवार काठमाडौँ आयो। काठमाडौँमा पुस्तक पसल गरेर आर्थिक स्रोत जुटाउने क्रममा उनी पत्रपत्रिकाको हेडलाइन बिनाअर्थ सार्न थालिन्। यसले उनीभित्रको अतृप्त इच्छा पूरा गर्न केही सहयोग भने अवश्यै गर्‍यो। अझ छोराछारीसँगै कखरा सिक्दा सिक्दै उनले रामायण, महाभारत र धर्मिक किताबसम्म पढ्न थालिन्। यसले उनलाई अझै हौसला दियो। जसका कारण उनी काव्यसाधनामा लाग्न थालिन्। तिनै काव्यहरूलाई परिष्कार र परिमार्जन गरी दिव्यलक्ष्मीले 'आमाको स्नेह' कविता सङ्ग्रह नामक कृति हालै प्रकासित गरेकी छिन्।
अज्ञानताको कालो पर्दा उघारेर सुनौलो संसार हेर्न खोज्ने उनको महान्तालाई हामीले मान्नै पर्छ। धेरै नारीहरूले सम्पूर्ण सुविधा पाएर पनि टेलिभिजन हेरेर निस्त्रि्कय जीवन बिताइरहेका हुन्छन्। उनीहरूलाई किताब र पत्रपत्रिका हेर्न भन्दा टेलिभिजन हेर्नमै रस भिजेको हुन्छ। उनीहरू बाहिरी आडम्बरले समाजमा प्रतिष्ठा बनाउन चाहन्छन्। तर दिव्यलक्ष्मीको विचार उनीहरूसँग मेल खाँदैन। उनी सादा जीवन र उच्च विचारलाई महत्वपूर्ण ठान्छिन्। उनी बाहिरी आवरणलाई ज्ञानका तुलानामा गौण मान्छिन्। त्यसैले ज्ञानको तिर्खा मेट्ने अभिलाषालाई पूरा गर्न हर्दम लागिरहन्छिन्। उनको यो तत्परताका कारण उनी आज ठूल्ठूला साहित्यिक समारोहमा उपस्थित भएर सुरिलो स्वरमा कविता पाठ गर्छिन्। उनका कविताको रसमा भिजेर स्रोताहरू आनन्दको महसुस गर्दछन्। उनको अथक प्रयासका कारण उनले समाजमा आफ्नै पहिचान बनाइसकेकी छन्।
उनले कवितामा नारीले श्रीमान् मरे पछि उपेक्षित जीवन जिउनु परेको मर्मस्पर्शी कुरालाई उठाएकी छिन्। नारीलाई आफ्ना श्रीमान्को मृत्युले विक्षिप्त पारिरहेको अवस्थामा उनको मृत्युको आरोप लगाउने प्रचलन र शृङ्गार खोसेर रूपविहीन बनाउने परम्पराको विरोध गरेकी छिन्। पुरातन सोचाइ भएका मानिसहरूद्वारा निर्मित कालो कानुनले नारीलाई उपेक्षा गरेको हुनाले त्यो कानुन च्यातेर नयाँ बनाउनु पर्छ भन्ने मनसाय उनको रहेको छ। कवितामा भनिएको छ–
“नारीका अधिकार हुन् सब कुरा धागो र टीका चुरा
लोग्ने स्वर्ग हुँदा गरिन्छ किन ती शृङ्गारमा बन्चित”
लेखिकाले उक्त कविता सङ्ग्रहमा सङ्ग्रहित 'विवेक र बालक' र 'माइतीलाई चिठी' लघुकाव्यका रूपमा समावेश गरेकी छिन्। उनले सडक बालबालिकाको आवाजलाई उठाएकी छिन् 'विवेक र बालक' लघुकाव्यमा। शिक्षा–दीक्षा र भोक–प्यास सहेर सडकमा जीवन बिताउँन विवश सडक बालबालिकाका मर्मप्रति सबैको ध्यान आकर्षण गरेकी छिन्। माइतीलाई चिठी शीर्षकको लघुकाव्यभित्र सन्चो–बिसन्चोको कुरादेखि लिएर आफूले पढेर केही जानेको खुसीको खवर माइतीमा पठाएको कुरा छ। साथै प्रत्येक आमाबुबासँग छोरीलाई शिक्षादीक्षा दिन अनुनय गरेकी छिन्।
समग्रमा हेर्दा साधारण लेखपढ्कै भरमा काव्यिक कृति प्रकाशित गर्न सक्नु उनको परिश्रमको प्राप्ति हो। उनले कवितामर्फत् शिक्षा पाउनु नारीको पनि नैसर्गिक अधिकार भएकाले नारीलाई लेखपढ्को वातावरण मिलाई दिन अनुरोध गरेकी छिन्। पृथ्वीको सौन्दर्यको वर्णन, सामाजिक बेमेल, उत्पीडन, यथार्थ घटनालाई कलात्मक ढङ्गले सिँगारेर रसिलो र कसिलो बनाउने उनको कल्पनालाई चानचुने मान्नसकिन्न। आमाको ममता, देशप्रेम, नारीवेदना, गरिब दुःखीका पीडालाई टपक्कै टिपेर छन्दोबद्ध कविता रचना गर्दै युद्धले जर्जर भएको मातृभूमिलाई मुक्त पार्न सहिदहरूले देखाएको साहसी कदम र नेपालीहरूको एकतालाई कवितामा समेटेकी छिन् । गरिब दु:खीको पसिनामा मस्ती गर्न पल्केका शोषकवर्गका चरित्रप्रति उनका कविताहरू आक्रोस पोख्छन्। धन सम्पत्तिको मोहमा विदेशमा पलायन हुने नेपालीलाई स्वदेशप्रतिको कर्तव्य सम्झेर फर्की आउन आग्रह गर्छिन्। सरल र सहज भाषामा रचित उनको 'आमाको स्नेह' कविता सङ्ग्रहले पाठकलाई क्रियाशील बन्न पे्ररणा जगाएको छ। उनका कविता पढ्दा लाग्छ मान्छेले चाह्यो भने असम्भव पनि सम्भव बन्दो रहेछ।

समाप्त

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 17 जेठ, 2066

लेखकका अन्य रचनाहरु