‘हिउँको तन्ना’ भित्रका बजगाई

- छविरमण सिलवाल

नेपालमा हाइकुको प्रचलन शकर लामिछानेले प्रचलनमा ल्याए पनि लामो समयसम्म सुषुप्तजस्तै रह्यो । यसको शास्त्र जान्ने मान्छेको अभावमा यो विधा नेपाली साहित्यमा अगाडि बढ्न सकेन् । एक्काइसौ शताब्दीको प्रारम्भदेखि नेपालमा पनि हाइकुको बाढीँ नै आयो । आज संयमित भएर साधनारत हुन सकेमा यो विधाले पनि नेपाली साहित्यमा विशेष स्थान लिने छ भन्ने विश्वास गर्न सकिन्छ । जापानी प्रणेता माचुओ बासोको जत्तिकै प्रबल हाइकु नेपाली साहित्यमा पनि रचना भइरहेका छन् । हेरौ माचुओको एउटा हाइकु:-
पुरानो ताल
भ्यागुतो हामफाल्दा
जल आवाज ।
यसै गरी शंकर लामिछानेको पनि एउटा हाइकु हेरौ:-
माकुरा जाल
झोलिएको ओसले
तन्किदै गयो ।
यसरी मौलाउदै गएको हाइकु विधामा पनि थुप्रै नेपाली साहित्यानुरागीहरु रमाएका छन् । ५-७-५ को परिधिभित्र रहेर १७ ओटा अक्षरहरुमा भनेको कुरा ट्वाक्क भन्न सक्ने कला हो यो हाइकु । यस्तै एउटा कृण्ण बँजगाईको हाइकु हेरौ:-
पातको तन्ना
ओच्छ्याई रुखहरु
शर्दिमा सुते ।
यो विधा नेपालमा औलामा गन्न सकिने व्यक्त्तिहरु मात्र राम्र हाइकुकारका रुपमा कलम चलाइरहेका छन् । यो विधाले तीव्रगति लिएको पनि महसुस गरिएको छ । दिनप्रतिदिन नयाँ-नयाँ हाइकुकारहरुको जन्म भइरहे पनि गुणात्मकताको कमी भने महसुस भइरहेको छ । यो विधा जापानवाट आयातित भएको हो । छोटा भएकै कारणबाट पढ्न सजिलो हुन्छ नै गहिरो भाव विम्व प्रयोग हुने हुनाले पनि विधि नपुर्याई लेख्ने हाइकुले कुनै अर्थ पनि राख्दैनन् । यसरी नेपाली हाइकुकै कुरा गर्दा कृण्ण बजगाईको पनि नाम जोडिन्छ । डायरपोरिक साहित्यमा ख्याति कमाइसकेका कृण्णको जन्मथलो नेपाल भए पनि विदेशलाई कर्मथलो बनाएर नेपाली भाषा, साहित्यलाई पनि सँगसँगै लगेका छन उनले । लघुकथा, कविता, कथा, नियात्रा आदि विधामा कलम चलाए पनि हाइकु विधामा उनी सबल रहेको प्रमाण उनको हालै बजारमा आएको संग्रह ‘हिउँको तन्ना’ ले प्रमाणित गर्दछ ।
‘हिउँको तन्ना’ भित्र बजगाईले २६ खण्डमा विभाजित गरेर २०६ ओटा हाइकु संग्रहित गरेका छन् । उनका हरेक हाइकुहरु १७ अक्षरे संरचनाको नियममा नियमबद्ध बन्न सफल छन् । विषय र भावगतताले हाइकुका विशिष्टता झल्काएका छन् । जीवनदेखि जगतसम्मका र युद्धदेखि शान्तिसम्मका विषयहरुलाई समेट्न सफल देखिन्छन बजगाई । हाइकुमा प्रणय, प्रकृति, ऋतु र ऋतुजन्य शब्द हुनुपर्छ भन्ने शास्त्रीय मान्यता रहे पनि नयाँ पुस्ताका हाइजिनहरुले यसलाई मान्यता दिएको पाइँदैन । तर बजगाईका हाइकुहरु यी शास्त्रीय मान्यता अनुरुप नै देखिन्छन् । अर्को कुरा देश, काल परिस्थि र पाठकको परिवर्तन स्वादअनुसारको हाइकु पस्कन खप्पिस देखिएका छन् बजगाई । जापानि हाइजिनहरु नयाँ-नयाँ ठाउँको यात्रा गरेर पाठकहरुलाई आफुले देखेका भोगेका कुराहरुलाई रोचक ढंगमा प्रस्तुत गर्छन र पाठकहरुलाई कस्तो प्रकारको मन पर्छ त्यस्तै प्रकारले पस्कन्छन् । बजगाईको स्रगह ‘हिउँको तन्ना’ ले पनि त्यहि गरेको छ, नयाँ स्वादसँग परिचित गराउन सफल देखिन्छ ।
हाइकुका आकार, वजन र त्यसको ओजले उनलाई पचासको दशकमा नै आकर्षण गरेको थियो । थोरै शब्द खेलाए धेरै कुरा भन्न खोज्नु निश्चय पनि सजिलो काम भने होइन, तैपनि उनले कठिन कार्यको थालनि गरेर फाटफुट पत्रपत्रिकामा छपाउदै गए । प्रवासको बसाइले केही अवरोध ल्याए पनि काव्य-सिर्जनामा कहिल्यै पछि हटेनन् ।
बजगाईको हाइकुसंग्रह नेपाली पाठकले पढ्न पाउनु नेपाली साहित्यमा गौरवको विषय मान्नु पर्छ ।

साभार : विक्ली पोष्ट, २०६६ बैशाख २७

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 14 जेठ, 2066

लेखकका अन्य रचनाहरु