सालिक

- डा. मधु माधुर्य

समय कलकल बगिरहेछ
सालिक चुपचाप उभिरहेछ

विभत्स मौनता...
सैद्धान्तिक अश्लीलता...
पाइलामुनि छ धूलो
'जाबो' धूलो ?
पाइला सार्ने वित्तिकै ?
तामेरलान को आत्मा झैँ
उठिहाल्छ धूलो !
उडेर बस्न सक्छ शिरमा
'जाबो' धूलो !

हलचल छ बन्द
धूलोमाथिको बबृर छैन बन्द
सिद्धान्तको रेबिज लागेको
दिमाग छ मन्द
'जाबो' धूलोलाई
"उठाउन दिन हुन्न"
एकै पाइला पनि सार्नै हुन्न

समय कलकल बगिरहेछ
आँधी-वतास चलिरहेछ
आउँछन् बटुवा र घाँस फ्याँक्छन्
आउँछन् अन्धा र फूल फ्याँक्छन्
सालिक पुरिएको धूलोमाथि -
पहेँलो घाँस...
ओइलाएका फूल...
निलो आकाश...

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु