बच्चा चोर्ने आइमाई

- टेकब कोइराला

रेल आज पनि खचाखच भरिएको छ। जनकपुर–जयनगर रेल सेवा। नेपालको पहिलो र एकमात्र रेल सेवा। यसले बेग्लै किसिमको इतिहास रचिसकेको छ। जुगौंदेखि जनकपुर–जयनगर हजारौं लाखौंपटक ओहोरदोहोर गरेर आफैमा कीर्तिमानी काम गरेको मात्र होइन, यसको अनेकन गुणहरु छन्। यात्रुहरुको सुविधाका लागि गुड्दागुड्दै पनि ओर्लेर 'पाँचमिनेट' गरेर फेरि चढ्न सकिने गरी रफ्तारलाई नियमन गरिदिन्छ। शिशा–पर्दा खोल्ने र बन्द गर्ने झण्झट छैन। चारैतर्फ खुल्ला भएकोले हावा सजिलोसंग 'पास' हुन्छ। वर्षामा पानी पनि 'पास' हुन्छ। टाढैदेखि सजिलै चिन्नको लागि डिब्बाको बोक्राभरि अमूर्त चित्रहरु पोतिएका छन्। चित्रकारहरु तिनै यात्रुहरु हुन्। जसले पान थुकेर, सिँगान पुछेर, उल्टी लत्पत्याएर, नास्ता खाइसकेपछि हात त्यहीं भित्तामा पुछपाछ गरेर आदि अनेक तरिकाबाट श्रमदान गरेकै छन्। रंग लगाउने खर्च जोगाइदिएकै छन्। रेलसेवाबाट कोही बञ्चित हुन नपरोस् भन्ने यो रेलको मुख्य 'मोट्टो' हो झैं लाग्छ। ठाउँ होस् या नहोस् सबैलाई सोहोरेर हिँड्छ। धेरैजसा यात्रुहरु बाठा छन्, जो अभ्यस्त छन्। उनीहरु यात्रालाई 'कम्फर्टेवल' बनाउन चाहन्छन्। 'कम्फर्टेवल' बनाउन सिट बाहेकका स्थानहरु पहिले नै ओगटिहाल्नुपर्छ। भुँई, भित्ता, सिटमुनि, सिटमाथि, झ्याल, ढोका, छत यी ठाउँहरु बडो मुस्किलले मात्र पाइन्छ। यस्ता ठाउँमा बस्न पाए टाढाटाढासम्म दृश्यावलोकन गर्न सकिन्छ। सिकारु यात्रुहरु चाहीं 'सिट' ओगट्छन्, जसले झन बढी सास्ती पाउँछन्। यो रेल मान्छे र माल दुवैको वाहक हो। झोला–झ्याम्टा, पोका–पुन्तुरा, थुन्से, टोकरी, साइकल, हाँस–कुखुरा, सुँगुर–बाख्रा यी यावत जीव–निर्जीव वस्तुहरुले पनि यात्रामा साथ दिइरहेकै हुन्छन्। कोलाहलमय जात्रा झैं लाग्छ, यो रेलयात्रा।
त्यसदिन जयनगरबाट हिँडेको रेल जनकपुर आइपुग्नै लाग्दा अचानक भयंकर आवाजमा पड्क्यो 'धडाम्म.....!' डिब्बाहरु उचालिएर थेचारिएझैं भयो। झ्याल, ढोका, डण्डी, छततिर 'कम्फर्टेवल' मानेर बसेका यात्रुहरु सबै भुँइमा पोखिए। कोही ऐया–आत्था गरिरहेछन्, कोही बेहोस भए, कोही आ–आफ्नो सामानको अवस्था बुझ्नपट्टि लागे। कोही घाइते आफन्तलाई बचाउने मेसोमा लागे। आमै र बाबै, च्याहाँ र चित्कार यत्रतत्र सुनिन थाल्यो। भागदौड मच्चियो। यस क्रममा कोही लड्दैछन्, कोही फेरि उठेर दौडदैछन्। वातावरण सन्त्रस्त बन्यो। के भएको हो कसैले ठम्याउन सकिरहेका थिएनन्। 'बम पड्क्यो, बम!' कोही कराउँदैछ। 'फिर भि फट्सक्ता है, भागो, भागो ...!' अर्को चिच्याउँदै दगुर्‍यो। 'मरलौं गे माई...!' (म मरेँ आमा ...!) दगुर्न नसकेका घाइतेहरु छटपटाउँदै कोकोहोलो मच्चाउदै थिए। 'बचाओ....! बचाओ...!' कोही घाइतेहरुले गुहार मागिरहेका थिए।
सिलिण्डर बम पड्केको डिब्बाभन्दा पछिल्लो डिब्बामा बसेर आएकी मरनीदेवीको पनि टाउको ठोक्किएछ। मसार्दैछे। टुटुल्को नै उठेछ नि। सिटहरुको बिच खोल्सोमा बसेकी थिई। लगाएको कपडा आधा शरीरमा, आधाजसो भुँइमा पसि्ररहेको थियो। बिष्फोटको आवाजले भित्र बसेका यात्रुहरु पनि ज्यान जोगाउनतर्फ लागे। भागदौड मच्चियो। भागदौड र तँछाडमछाडमा मरनीदेवीलाई झन बढी घच्च लाग्यो। धोती गएर उप्किएको टिना पातामा अल्भि्कएछ। तान्दा च्यातिएर दुइटा धोती बन्यो। चप्पलको त ठेगानै छैन। धुलोले गर्दा आँफैलाई नचिन्ने भइसकेकी छ। पोको ल्याएकी थिई, क–कसले फुटबल खेल्यो, कहाँ पुग्यो खोज्ने होशै भएन। सबै भागदौडमा लागेकोले ऊ पनि त्यसै गर्न लागी। भूईंमा कैयौं यात्रुहरुको दूदर्शा देखेर ऊ आत्तिई। धन्न आफू सकुशल भएकोमा आफूलाई भाग्यमानी ठानी। एकमन त खुशी पनि भई। रेलबाट ओर्लनासाथ फटाफट भाग्न लागी।
मरनीदेवी अहिले त्यसै त्यसै बेपर्वाहसंग भागिरहेकी छ, तर्केको भैंसी झैं। ऊ एउटा दोबाटोमा पुगेर पूर्वतर्फको बाटो लागी। मानिसहरुको चहलपहल छ। तर त्यहीं पर भएको त्यत्रो घटनाको बारेमा बेखवरझैं देखिन्छन् ती मानिसहरु। सबै आ–आफ्नै धन्दा ध्याउन्नमा छन्। 'कसैलाई भनिदिन पाए उद्धारकार्यमा जमघट हुन्थे कि।' उसलाई मनमनै खसखस लागेको थियो। 'आ....! अपरिचित ठाउँमा....अपरिचित मान्छे ....., एकछिनपछि त थाहा पाइहाल्लान नि।' उसले घटनाको बारेमा फुकिहिँड्न उचित ठानिन। '....मुक्ति मोर्चाले सिलिण्डर बम पड्काएको रे ...!' बजार छेउ पुग्दै गर्दा कसैले आपसमा कुरा गरेको सुनी उसले। कुन्नी के मुक्ति मोर्चा भन्थ्यो ठम्याउन सकिन। जे होस् यी मानिसहरुलाई पनि घटनाको बारेमा थाहा त रहेछ। उसले मनमनै पक्का ठहराई। तैपनि ती मानिसहरुमा कुनै संवेदना छैन, सदाशयता छैन। दूर्घटनाका पीडितहरुलाई उद्धार गर्नुपर्ने भावना कसैको अनुहारमा पनि बिम्वित देखिएन। उसलाई अचम्म लाग्यो। मन अमिल्याई एकछिन्। आफ्नो रफ्तार अझ तिब्र पारी। अर्को दोबाटो पार गरी। मरनीदेवी मुलबाटो पहिल्याउने ध्याउन्नमा छे। उसले चिनेको बाटो पहिल्याउन उसलाई गाह्रो परिरहेको छ। ऊ अन्दाजकै भरमा दौडिरहेकी छे।
मरनीदेवी धुस्रैफुस्रै बहुलाही झैं देखिन्छे। विहान कोरेको कपाल अहिले जगल्टाजस्तो भइसक्यो। शरीरको कपडा असरल्लै छ। त्यही पनि अघि रेलमा च्यातिएर अर्धानो भइसक्यो। पसिना र धुलोको मिश्रणले उसको अनुहार बिरुप भएको छ। सरसामानको पोको उतै छुट्यो। उसले बल्ल पोको सम्झी। 'पोकोभन्दा त ज्यानै ठूलो...' उसले आफैलाई सान्त्वना दिई। अव त एकछिन हिँडेरै पनि पुगिहालिन्छ, त्यसैले रिक्सा चढ्न आवश्यक पनि ठानिन उसले। अपरिचित बाटोहरु धेरै हिँडिसकेपछि ग्रामीण बस्ती आइपुग्यो। सडकको दुवै किनारामा मसिना झुपडीहरु। यहाँ भने मानिसहरु छिटोछिटो भागदौड गरिरहेको देखी मरनीदेवीले। 'अघिको घटनाको पीडितहरु होलान्' उसले मनमनै अड्कल काटी। 'घाइते आफन्त ल्याएछन् क्यारे, त्यसैको चहलपहल होला।'
अगाडि अलि पर मान्छेको बाक्लै भिडभाड देखी मरनीदेवीले। कोही लाठीमुंग्री उजाइरहेका थिए। कोही कसैलाई चुटिरहेका थिए। 'हान्... हान्...!, मार... मार....!' सबैजसोले यस्तै आवाज निकालिरहेका थिए। ऊ भिडको नजिकै पुगी। भिडले दुई तीन जना मगन्तेजस्ता, बहुलाईजस्ता आइमाइहरुलाई कुट्दै थिए। 'आइग लगाऊ, झरका क मारु एकरा...!' (आगो लगाइदे, जलाएर मारिदे यिनीहरुलाई...) भिडबाट आवाज आयो। मरणासन्न मगन्तेजस्ताहरुलाई आगोमा पोल्ने सुर गर्दै थियो भिडले। कोही आगो ल्याउँदै थिए, कोही पराल जम्मा गर्दैथिए। मरनीदेवीले अघिको भन्दा झन ठूलो दूर्दान्त घटना घटिरहेको अड्कल काटी।
बाघ देखेर भाग्न लागेको मृगको पाठो झैं भई मरनीदेवी। 'हुलमुलमा जिउ जोगाउनु.....' उसले बुढापाकाको कथनी सम्झी। दगुर्न खोज्छे। गोडाहरु लटपटिएर पटक्कै दगुर्न सकिरहेकी छैन। भिडको केही मान्छेहरुले उसको यस्तो अस्वाभाविक क्रियाकलाप नियाँलिरहेको थियो। भिडको ध्यान उसैतर्फ तानियो। अव त्यो भिड उसैतर्फ खनिन थाल्यो। 'ए... ई सेहो बच्चा चोर जका लगैछै...... पकरु .... पकरु....!' (ए... यो पनि बच्चा चोर्नी जस्तो छ.... समात्... समात्..!) भिड झन उत्तेजित हुँदै उसको पछि पछि आउँदैछ। ऊ झन बेतोडले भाग्दैछे। मलाई किन लखेट्दैछन्, उसले कारण बुझ्न सकिरहेकी छैन। अघि च्यातिएको धोती फुस्किएर भुईँमा लत्रिदै गयो। अपरिचित आइमाई, त्यही माथि यस्तो गतिछाडा लवाईले गर्दा भिडले पनि 'बच्चा अपहरण गर्ने आइमाइ नै हो' भन्ने ठान्यो। आखिर बलवान बाघको अगाडि मृगको पाठोको के जोर चल्थ्यो। मानसिक र शारीरिक थकाईले शिथिल बनिसकेकी मरनीदेवीलाई भिडले झ्याप्पै समात्यो। दुईचार थप्पड हिर्कायो।
'हमरा किया मार रहलछी?' (मलाई किन कुटेको?) पिटाइ खानपर्नाको कारण बुझ्न खोजेकी छे, तर भिडले उसको कुरा सुनैकै छैन।
'तों ही छी ना बच्चा चोर्नी?' (तैं हैन बच्चा चोर्नी? लौ खा!') भिडले लात्तीले र मुड्कीले हान्न थाल्यो।
'हम बच्चा चोर्नी नईं छी ... हम बच्चा चोर्नी नईं छी।' (म बच्चा चोर्नी होइन... म बच्चा चोर्नी होइन) मरनीदेवी रुँदै हात जोडिरहेकी छ।
'रुको ...!' (पख्) भिडको नाइकेजस्तोले एक्कासी आदेश दियो। भिडले कुट्न छोड्यो।
'ई त अप्पने भाषामें बाजै छै, ई बच्चा चोर्नी नईं भ सकै छै।' (यो त हाम्रै भाषामा बोलिरहेकी छे, बच्चा चोर्नी होइनहोला) नाइके फेरि बोल्यो।
'पुछही त ई के छै!' (यो को रहिछे सोध त) अर्को उपनाइके जस्तोले बोल्यो।
'ए माई! कत स आवि रहल छी?' (ए आमा! कहाँबाट आयौ?) नाइकेले केर्न थाल्यो।
'हम मधुबनी स आवि रहल छी।' (म मधुवनीबाट आएको) मरनीदेवी अत्तालिँदै बोली।
'कत जाएके अछि?' (अनि कता जाने त?) भिडबाट अर्को कसैले सोध्यो। भिड त्यसै त्यसै सनसनाउँदै तिखातिखा आँखाले उसलाई हेरिरहेछन्।
'हम बेटी स भेंट करैला जाइत छी, ओकर मरद नोकरीके लेल मलासीमे गेलछै, दू तीन महिना स कौनो खवर नईं अछि, किछ खवर भेटल कि नईं सेहि पता करै के लेल समधी के पास जा पडतै सोचि क जा रहलछलहुँ। हम कोनो चोर वोर नईं छी। हमरा छोइडदिअ।' म छोरी भेट्न जान लागेको। उसको श्रीमान नोकरी गर्न मलेसिया गएका, दुई तीन महिनादेखि कुनै खवर आएको छैन रे। केही खवर आयो कि सम्धीहरुलाई सोधौं भनेर जान लागेकी। म कुनै चोर सोर होइन, मलाई छोडिदेऊ) थरथराउँदै मरनीदेवीले बेलिबिस्तार लगाई।
'कत छै बेटी के घर?' (कहाँ हो छोरीको घर?)
'पोर्ताहा मे छै।' (पोर्ताहामा।)
'समधीके नाम कि छै?' (सम्धिको नाम के हो नी?)
'जदोलाल महतो।'
भिडमा केही खलबल भयो। छलफल गरेझैं पनि गरे। जदोलाल नामको व्यक्ति पोर्ताहामा छ भन्ने भिडले ठम्याएपछि उसलाई छाडिदियो। मरनीदेवीले राहतको सास फेरी। ऊ खोच्याउँदै छोरीको घर खोज्दै गई। पछाडि परालको चिता दन्किरहेकै थियो। परालको चितामा जिउँदै जलेर मर्नबाट जोगिएकोले फेरि एकपल्ट खुशी भई मरनीदेवी।


प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 13 जेठ, 2066

लेखकका अन्य रचनाहरु