हिउँको तन्नामा बसेर बजगाईंलाई चियाउँदा

- मोदनाथ अधिकारी

हाइकु विधा नेपाली साहित्यको आगन्तुक विधा हो । जापानीहरुको मौलिक विधाका रुपमा यसलाई चिनिन्छ । यो कहिले नेपाल भित्रियो, यसको वर्चश्व कस्तो छ त्यो इतिहासवेत्ता साहित्यका मर्मज्ञहरुले पर्गेल्ने कुरा हो । सामान्य पाठक तथा हाइकुलाई माया गर्ने हाइकुप्रेमिका हिसाबले आफुले पढेको हाइकुसंङ्गह ‘हिउँको तन्ना’ को बारे केही अक्षर कोरौ कि भनेर तम्सेको हुँ ।

‘हिउँको तन्ना’ हाइकुकार कृष्ण बजगाईंको सङ्ग्रह हो । यसलाई अन्तराष्ट्रिय नेपाली समाजले बजारमा ल्याएको छ । यसभित्र हाइकुहरुलाई समुहीकृत गरी २६ खण्डमा विभाजन गरिएको छ । त्यसमध्ये पच्चीस खण्डसम्म आठ-आठ र छब्वीसौ खण्डमा ६ वटा हाइकु गरी जम्मा २०६ वटा हाइकु यसमा संग्रहित भएका छन् ।

यसको शिर्षक ‘हिउँको तन्ना’ रहेको छ । जुन प्रतीकात्मक छ । शीर्षकीकरण गर्ने शैली लेखकपिच्छे फरकफरक हुन्छ । कोहीले रचनामा प्रयुक्त्त वाक्य, वाक्यांशलाई कोहीले भावनालाई शीर्षक बनाउँछन् । हाइकुकार बजगाँईले हाइकुस‌ङ्ग्रहको पहिलो हाइकुको पहिले हरफलाई कृतिको शीर्षक सान्दर्भिक देखिन्छ ।

संरचनागत रुपबाट हेर्दा ५+७+५=१७ अक्षरे संरचनाको नियममा नियमबद्ध बन्न समग्र रचना सफल छन् । यसको बनोट जित सबल छ बुनोटले उतिनै सफलता पाएको छ । यसको प्रमुख कारण भनेको विषय र भावगत बैविध्यता नै हो । संग्रहभित्रका हाइकुमा जीवनदेखि जगतसम्म, बूदेदेखि सागरसम्म, युद्धदेखि शान्तिसम्मका विषयहरुले प्रश्रय पाएका छन् ।
युद्ध र मृत्यु विषय हाइकु:
क्षुद्र लडाइ
जीवन मरणको
बाँच्नका लागि (पृ.१)

त्यसो त यिनि प्रणयका हाइकुकार होइनन् भनको होइन । यिनि प्रणयमूलक हाइकुमा पनि उत्तिकै जमेका छन् । प्रणय विषयक हाइकुको एक दृष्टान्त :

शितको थोपा
कर्कलाको पातमा
प्रवित्र माया (पृ.१)

विषयले जति ब्यापकता पाएको छ, भाव उति नै गहिराइमा पुगेको छ । प्रणय, प्रकृति र विश्वपरिबेश नै मूल भावका रुपमा प्रस्तुत भएको यस संग्रह ‘हिउँको तन्ना’ शीर्षक नै प्रकृतिमूलक बनेर देखिएको छ । प्रकृतिलाई समेट्ने क्रममा हिउँ, बर, पिपल, शित, कर्कलाको पात, शारदी घाम…. जस्ता शव्दहरु यसमा आएका छन् ।
प्रकृतिक भाव्यजना मिश्रित हाइकु:

तल भञ्ज्याङ
माथि साँगुरी डाडाँ
साँघुरो बाटो (पृ.१३)

बेशर्मी रुख
लहराले बेर्दैछ
ठिङ्ग उभिन्छ (पृ.४३)

प्रकृति र परम्परा मात्र होइन प्रविधि प्रयोगको नमूनामा पनि यिनका हाइकु संङ्ग्रहमा संङ्ग्रहित भएका छन् :
केही होइन
मिस्ड कल मात्र हो
फोन गर्नु ल । (पृ ३५)

भाषिक प्रयोगका सन्दर्भमा जनजीब्रोका बोलीदेखि लिएर नेपाली भाषामा आएर हालीगुहाली चलाएका र सामान्य वर्गले पनि प्रयोग गर्ने मिस्डकल, जेब्राक्रसिग क्याक्टसजस्ता अंग्रेजी शब्दको प्रयोग पनि यिनले गरेका छन् । तर्ततरी, तन्तनीजस्ता अनुकरणात्मक शब्दले हाइकुलाई मौलिक नेपाली रचनासरह बनाएको छ भने आँधिबेहेरी, लुकामारी, घुम्टो, लोटा… आदि जस्ता ठेट नेपाली शब्द प्रयोगले रचना मीठासपूर्ण बन्न पुगेको छ । समग्रमा भाषा प्रयोगका सन्दर्भमा पनि खोट लगाउने ठाँउ छैन ।

केही शब्दहरु यिनी बढी लेपासिएका छन् । शब्दका पुनराबृत्ति गर्ने रोगले यिनलाई नराम्ररी गाँजेको रहेछ । सबल हाइकुकार भन्नका लागी यस्ता कुराहरुले यिनलाई तघारो हालेको नकार्न सकिँदैन । यिनले सबभन्दा बढी ‘सूर्य’ शब्दलाई प्रयोग गरेका छन् । यस शब्दलाई पन्द्रभन्दा बढी पटक आवृत्ति गरेका हाइकुकार बजगाइँले सूर्यलाई जनाउने शब्द घामको प्रयोगमा पनि पुनरावृत्ति गरी सूर्यप्रति किन मरिहत्ते गरेका हुन् त्यो थाहा हुन सकेन । तर, शब्दवृत्तिको प्रवृत्तिमा भने यिनले सोच्नुपर्ने देखिन्छ । यिनले आवृत्ति गरेका अन्य शब्दहरुमा फूल, हिउँ आदि रहेका छन् ।

यिनले रचनाधर्मितामा शब्दाआवृत्तिको रोग लागेता पनि विषय छनौट, भाव प्रस्तुति भाषा प्रयोगका दृष्टिले भने यिनी सबल छन् । संरचनागत रुपमा पनि यिनी सबल छन् । त्यसैले ‘हिउँको तन्ना’ सबल हाइकु संग्रह र कृष्ण बजगाईं सबल हाइकुकार बनेर नेपाली साहित्यमा उदाएका छन् । हिउँको तन्नामा बसेर कृष्ण बजगाईंलाई चियाउँदा नेपाली हाइकु परम्परामा एउटा इँटा थपिएको कुरालाई नकार्न मिल्दैन ।

साभार: सौर्य साप्ताहिक बैशाख १४, २०६६




प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 27 बैशाख, 2066

लेखकका अन्य रचनाहरु