संग्रहालय

- नरेश शाक्य

 

संग्रहालय भित्र कैद छन्
नेपाली गौरवका गाथाहरू
सगरमाथाका
उँचाईहरू
पृथ्वीका एकीकरणका प्रयासहरू
बहादुरका राज्यविस्तारका
योजनाहरू
नालापानीका बलिदानका कथाहरू
संग्रहालय, मात्र सङ्ग्रहालयमा कैद छन्

परिप्रेक्षमा, हिजो छ आज छैन
किंवदन्ती
सबै एकादेशका कथाहरु
आज त
अतिक्रमणका घाउहरू सहेर बस्नु
मौन छु,
हस्तक्षेपका नीला डामहरु
टुलुटुलु
हेरेर बस्नु
बाध्य छु,
अपमानित मुटुभरि
डायरीका पानाहरू,
किन मेरो
कलमले हिजो आज
विद्रोह वोक्दैन
किन मेरो कविताले
विरोधका स्वरहरू
उचाल्दैनन्
नपुंसकताको पीडाले
संधे लज्जित
मेरो गौरव
मेरो पुरूष ।

बिश्वास लाग्दैन मालाई
अतितका ती गौरवमय पानाहरू
साहसिक विजय यात्राका
घटनाहरू
नुहेका छन्
झुकेका छन्
लाचार
फर्फराएका झण्डाहरू
विवशताका
ध्वजापताकाहरू,
म भीमसेनले जस्तो
आत्महत्या पनि त गर्न सक्दिन
म पलायन पनि
त हुन सक्दिन
बलभद्र जस्तो
सबथोक सहेर बस्न
लाचार छु
विवश छु
वाध्य
छु ।

म एउटा दरिद्र देश
सँधै पराधीन
आश्रित
परमुखापेक्षी

निरीह
मानचित्रमा विश्वको ।
       २३।३।२०६०

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु