'हिउँको तन्ना'मा बस्दा

- होमनाथ सुबेदी

हाइकु जापानबाट नेपाल र नेपाली डायास्पोरामा आयात भएको छ। साहित्य जहिले पनि नवीनतम वस्तु, विम्ब र शैलीको प्रयोगमा जिउँछ। नेपाली काव्य वा कविताको फाँटमा गजलले पहिले संघर्ष गर्‍यो र ऐले काव्य वा कविताको एक दरिलो विधाको रुपमा यसले नेपाली साहित्यमा अधिकार जमाएको छ। त्यस्तै हाइकुले नेपालीमा प्रवेश गरेको पनि करीब ९० वर्ष भैसक्यो। यो वालक अब यसका भाइहरू तान्का, चोका, मन्डो आदिको प्रवेशले तीमध्येमा बलियो जेठो बन्ने अवसर पाउँदै गएको छ। नेपालीमा हाइकुको उमेर एक सय हुँदा यसले पनि विस्तार गरी चोका महाकाव्य प्रशस्त दिन सकोस्। यसको उत्थानमा कदम चाल्ने शंकर लामिछाने, क्षेत्रप्रताप अधिकारी, रामकुमार पाण्डे, विष्णुवहादुर सिंह, प्रेम छोटा, अभि सुवदी, चेतनाथ धमला, पोषण चापागाईं, शान्तिनारायण श्रेष्ठ, पुस्कर लोहनी र स्वयम् कृष्ण बजगाईंको अनवरत सेवाले सिर्जना र स्रष्टाहरू अझै फैलाओस्।
हाइकुमा तीन हरफ १७ अक्षर हुन्छन्। पहिलो हरफमा ५, दोश्रोमा ७ र तेश्रोमा ५ अक्षर हुन्छन्। जापानी कविताको शास्त्रीय शैलीमा सबभन्दा सानो एकाइमा लेखिने कविता हो यो। नेपालीमा विष्णुवहादुर सिंहको 'मौन वतास' हाइकु संग्रह, 'फूलको वर्षा' तान्का संग्रह र 'मैनवत्ती' चोका संग्रह प्रकाशित छन्। नेपालीमा यो क्रमबद्ध प्रकाशनले यस क्षेत्रका अध्येतालाई यौटा सटिक दिशा निर्देश गर्दछ। यसै क्रममा कृष्ण बजगाईंको यो कृति यौटा दरिलो स्तम्भको रुपमा प्रस्तुत छ।
यो 'हिउँको तन्ना'ले नेपालका तथा डायास्पोराका समसामयिक वस्तु र कलाको नवीनतम प्रयोग डायास्पोराको नेपाली साहित्यमा प्रस्तुत गरेको छ। यसका दुई पक्ष छन्। ती हुन्– वस्तु पक्ष र कला पक्ष।
वस्तुपक्ष
वस्तु पक्षमा आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, दैवी, मनोवैज्ञानिक, विवाह, यौन, भाषा र साहित्य, नारी स्वतन्त्रता, डायास्पोरा, र जीवन वोधका विषय समेटिएका छन्।
आर्थिक,

यी हाइकुकारलाई नेपालको आर्थिक अव्यवस्था र जनजीवनको अव्यवस्थाको चित्रण गर्न मन पर्दछ। त्यसको ज्वलन्त उदारण हो यो :
लोडसेडिङ
कमाउ धन्दा सुरु
माफियातन्त्र।
यसले विजुलीको लोडसेडिङ्गले पारेको नेपालको जनजीवनमा पारेको नराम्रो असरको मूर्तरुप माफियातन्त्रसित आरोपित गरी देखाउन खोजिएको छ।

शोषण

नेपाल वा कुनै पनि अर्थव्यवस्थामा अङ्कुश विनाको मालिक वा उद्योगपति वा नेता अर्काको बाली खानमा रमाउँछ। अर्कामाथि शोषण गरेर ऊ आफूलाई उन्मत्त साँढे , ठूलो प्रभु संझन्छः
उन्मत्त साँढे
असन बजारमा
हरियो खोज्छ।
राजनैतिक शक्ति समाजका सबै शक्तिभन्दा प्रखर प्रवल शक्ति हो। यस्तो शक्तिको बारेमा चिन्तन नगरी कवि कसरी मौन रहन सक्थे? नेपाल मात्र हैन विश्वको युद्ध र शान्तिको चित्र नै प्रस्तुत गरेको छ यसलेः
मानवीयता
बन्दुकको नालमा
आजादी कहाँ?
आजको मूल प्रश्नलाई कविले 'एरेष्ट' गरेका छन् यहाँ। विश्वमा भैरहेका युद्ध र तिनबाट मुक्ति हो। बन्दुकको भरमा एक व्यक्तिले अर्को व्यक्तिमाथि शाशन गर्न खोज्नु र यौटा राष्ट्रले अर्को राष्ट्रमाथि आधिपत्य जमाउन खोज्नु आजको समसामयिक विश्वराजनीतिको दुर्योग हो। 'अहम्' आवश्यक हो, स्वाभिमानको रक्षा मानवीय अस्तित्वको रक्षा हो। तर अहङ्कार गर्दै ठूला राष्ट्रले साना राष्ट्रमा गरिएको हस्तक्षेपले कुन राष्ट्र वा व्यक्तिको मौलिक हकको सुरक्षा हुन सक्छ? मिथमा हिरण्याक्षले पृथ्वीलाई मान्द्रो बेरेर खाए जस्तै बन्दुकका नालीले नै मानवीयता निलेर भित्रै थुनेमा आजादी कहाँ? कविको यो हाइकुले आज राष्ट्र र व्यक्तिलाई आफ्नो मानवीय हकको सुरक्षा र मानवीय लुप्त गौरवको पुनर्प्राप्तिको लागि प्रतिरोध युद्धमा होमिन आह्वान गरेको छ। यो हाइकुको सानो टुक्रो तानाशाहको लागि 'एटमबम'को रुपमा उपस्थित छ।

समसामयिक वस्तुको हाइकु हो योः
तराई जल्छ
न पहाडमा शान्ति
म शरणार्थी।
नेपालको आज संघीय गणतन्त्रको राजनैतिक विधान बनाउने सन्दर्भमा मधेश एक प्रदेशको चलिरहेको आन्दोलन र अशान्तिलाई संकेत गरी लेखिएको हाइकु हो यो। दुबैतिर आगो लागेपछि 'म' ((नेपाली) कहाँ जाने शरणार्थी भैन? म जस्तै के तिमी तपाईहरू होइन? शान्त राष्ट्रको सपना कहाँ? यो कुरालाई यसले इङ्गित गरेको छ।

ऐतिहासिक :
ऐतिहासिक तथ्यहरूलाई पनि यसले छोडेको छैन। यौटा नमूनाः

मास्न खोजेछ
छिन्ताङको सुन्तला
३६ सालमा।

सामाजिक विवाह संस्थामा राजनीतिको दुस्प्रभावलाई यो हाइकुले आँखा खोलेको छ :
केटी १५ कि
प्रगतिशिल विहे
विदुर केटा।

साँस्कृतिकः
वैवाहिक वन्धन तीन जन्मको लागि हो भन्ने परम्परामा दाम्पत्य जीवनको सङ्गतिले त यो धारणा सुनमा सुगन्ध हुन्छ। अन्यथा यो एक आजन्म कैद बन्दछ। तैपनि सहेर बसेका हुन्छन्। नेपाली संस्कृतिको झलक हो :
रङ्गीन चुरा
रातो टिका र पोते
आजन्म कैद।
दैवी प्रकोप
कोशीको पानी
दैवको उपहार
ताण्डव नृत्य।

मनोवैज्ञानिक
मनोवैज्ञानिक दृष्टिले पनि यी हाइकुको स्थान उच्च रहेको छ। मान्छेलाई मान्छेले सीधा अगाडिबाट हेर्छन्। तदनुरुप मनको प्रतिबिम्ब सामान्य स्तरको कविताले गर्छ। मनोविज्ञानको विशिष्ट मान्छेले विशिष्ट प्रक्रियाले मान्छेलाई हेर्छ। त्यो अवलोकन अगाडिबाट भन्दा पछाडिबाट हुन्छ। यस्तो हेराईमा भेटिएको मनोवैज्ञानिक सत्य के हो भने मान्छे जहिले पनि निषिद्धप्रति आकर्षित हुन्छ। जुन नगर्नु भन्यो त्यही कुरामा उसको मन लागिरहन्छ। यस्तो मनोविज्ञानसम्मत मानवीय चरित्रको चित्रण कृष्णका हाइकुले गरेका छन्। यौटा नमुना :

मान्छेको जात
जीउँदो होस् या मुर्दा
आगो झोस्दछ।

यौन, श्रृङ्गारिक वा विवाह

रोमान्सेली भाषामा व्यक्त गरिएको मान्छेको चुस्ने, पिउने, कजाउने, लुट्ने, जित्ने र प्रभुत्व जमाउने मानवीय मूल वृत्तिहरूको उद्घाटन गर्दछ यो हाइकुले।
चुमेर छाड्यौ
मान्छेका नाड्गा देह
कामुक सूर्य।
हाइकुको ऋतु, समय र धर्ती आकाश, ग्रहगणको अलङ्कार, बिम्बको उपयोग गरी ध्वन्यार्थ दिन यी हाइकुहरू अत्यन्त सफल छन्। त्यस्तै प्रेम र डिभोर्सको सन्दर्भ नुन छर्नु जस्तो बिम्वका माध्यमले यसरी व्यक्त गरिएको छः
हाम्रो मायामा
परेछ हिमपात
नुन छरौं कि?
साहित्यको भाषा वेद, वाइबलको र ऐनकानुनको जस्तो नभएर यस्तो रसिलो हुनुपर्छ भन्न पनि यो विप्रलम्भ श्रृङ्गारिक हाइकुले आधार दिन्छ :
निरस रात
हिउँजस्तो तन्नामा
पर्खदै बित्यो।
रोमान्सेली हाइकुका केही अरु उल्लेखनीय नमुनामध्ये यो तलको हाइकु अति राम्रो व्यङ्ग्य, प्रकृतिसित मानवीय श्रृङ्कार रसको जडान अनुपम भएको मैले पाएँ।
बेशर्मी सूर्य
रातसँग सुतेछ
पख! तँलाईं।
यस्ता रोमान्स, श्रृङ्गार, प्रणय, विवाह र यौन सन्दर्भका उदाहरण धेरै छन्।

नारी स्वतन्त्रता
नारी स्वतन्त्रताको बारेमा परवश नारी चित्र उतारेर नारीको स्वतन्त्रता संग्रामको संकेत गर्छन् यी हाइकुले :

नजरबन्द
बसे जिन्दगीभर
पत्नी भएर।
डायास्पोरिक धारणा
डायास्पोरिक प्रश्नहरुलाई पनि गागरमा सागर भर्ने काम यसका कविले गरेका छन्।
झुटो कुराले
निर्वासित भएछ
परम सत्य।
साहित्यमा निर्वासनको धेरै अर्थ हुन्छ। आर्थिक विपन्नता र शोषणले सिर्जेको निर्वासन बढी यर्थार्थ हुन्छ। शोषक, फटाहा र असत्य व्यवस्थाको पीडाले निर्वासित बनाएको छ मान्छेलाई। परम सत्यलाई पनि यसले निर्वार्सित गराएको छ। समाज र आफ्नो देशबाट सत्य र सहृदयी नेपालीहरु निर्वासित भएर नेपाली परदेश लागेका छन् जसलाई हामी नेपाली डायास्पोरा भन्दछौं। परम् सत्य स्वयम् आफै हो जसको निष्काशन वा निर्वासन अपरम्पार सत्यको निर्वासन हो। असत्य र अत्याचारले सत्यको निर्वासन भावना आजको वस्तु अनुकुल कविले उपयोग गरेका छन्।
नेपाली डायास्पोरामा सिर्जना गरिएको साहित्यको यौटा ठूलो उद्देश्य हो –नेपाली भाषाको सेवा। नेपाली डायास्पोरामा नेपालीको पहिचानको सबभन्दा ठूलो साधन नै नेपाली भाषा ठहरिएको छ र यसको अध्ययन अध्यापन, शिक्षण तथा साहित्य लेखन र संगठनको ऐले हुरी नै आएको छ। सबै नेपालीले आआफ्नो स्थानबाट सथासक्य योगदान गरेका छन्। तर पनि सबभन्दा बढी पढिने डायास्पोराका साहित्यकार भनेर साहित्य सन्ध्याका अध्यक्ष राम विनयले भने जस्तै कृष्ण बजगाईंले पनि यो हाइकुमा होमनाथ सुवेदी नाम डायास्पोरामा भाषा प्रेमी भनेर जानिन्छ भनी लेखेका छन्। यानी होमनाथ र नेपाली भाषा प्रेम पर्याय भएको उनको यो हाइकुले इङ्गित गरेको छ।
डायोस्पोरामा
होमनाथ सुवेदी
भाषाका प्रेमी।
यसरी भाषा साहित्यमा डायास्पोराबाट डायास्पेरामा मात्र हैन नेपालमै पनि शब्दबारुद प्रोल्लास र ल्किष्ट कविता मोहन कोइलालाई उनका हाइकुमा समेट्न छोडेका छैनन्।
डायास्पोराको साहित्य भनेको नेपालको मात्र भक्तिको स्तोस्त्र लेख्ने मात्र हैन अपितु लेखक बसेको विदेशको देश पनि लेख्दछन। यी कविको हाइकुमा बेल्जियमको हिरा जस्ता प्रयोगहरु देखिन्छन् :
कालीको नाक
बेल्जियमको हिरा
घरै झलल।

डायास्पोरामा आउनु र बस्नु यौटा अक्करे भीर विदेश हो, त्यहाँको समस्या डरलाग्दा बाटा हुन्। अनि विदेशको युरोप र अमेरिकामा डलरको मह र सुखसुविधाको घार छ :
अक्करे भीर
डरलाग्दो बाटोमा
मौरीको घार।
यसरी बजगाईंका हाइकुमा डायास्पोराको साहित्यका विशेषता अन्तनिहित देखिन्छन्।

जीवन बोध
विसङ्गत जीवनको चित्रण यो कवितामा छ :
वसन्ती रंग
उषाको किरणमा
किन हरायो?
सङ्गति खोज्न त्यसको पछाडि पाठक वा व्यक्ति स्वयम् पुग्न सक्नुपर्छ अनि मात्र हाइकु पढ्नेले हाइकुको मजा लिन सक्छ अन्यथा न हाइकुको मजा न जीवनको मजा वा सार पाउँछ मान्छेले।
कसरी बज्यो
शहनाईको धुन
थाहै नपाई।
'हिउँको तन्ना' हाइकु संग्रहले आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक, दैवी, मनोवैज्ञानिक, विवाह, यौन, नारी स्वतन्त्रता, डायास्पोरा, भाषा र साहित्य, र जीवन वोधका विषयमा शूक्ष्मतम आलोक प्रक्षेप गरेको छ।

कलापक्ष
कला पक्षमा दुई कुरा खास छन् –यौटा संचनात्मक सीपको कुरो दोश्रो बिम्ब।
संरचना
हाइकुको संरचनामा ५, ७, ५ को नियम पालन यसमा गरिएको छ। कतिपय कविहरु नियमबाट मुक्त हुन चाहन्छन् त्यो विवादमा उहाँ मुछिनुभएको छैन। शान्ति नारायण श्रेष्ठले जस्तो अत्यानुप्रास मिलाउनेतिर पनि उहाँ लाग्नु भएको छैन। यो विधा जापानबाट आयात गरिएको र वर्णको आधारशीलामा यसका ईंटा राखिने हुँदा जस्ताको तस्तै स्वर व्यञ्जन व्यवस्थापन न हुन सक्छ। त्यसैले हाइकुलाई नेपाली पारा र शैलीमा ढालेर लोकप्रिय बनाउनुपर्छ। यसमा कविको कुशलता यसमा देखिएको छ।
कहाँ कहिले र कसरीको त्रिकोणात्मक सूत्रमा हाइकुलाई बाध्नुपर्छ। त्यो यसमा यथासम्भव पालन गरिएको छ। ती तीन हुन् –
हरफ १ उठान वस्तुको
हरफ २ पहिलो हरफको प्रतिक्रिया दिने
हरफ ३ समग्रतामा जिज्ञासा भावमा रुपान्तरण गर्ने अर्थ दिने यौटा नयाँभाव विस्तार गर्ने

हाइकु लेखन शिल्पको तीन ओदाने कलामा बजगाईं पोख्त छन्। उनको यौटा हाइकुको नमुनाः
लजाउँदछे
त्यसै छुँदा हावाले
नवमञ्जरी।
यो हाइकुमा 'लजाउनु' वस्तु हो, किन भन्दा वा हेतु वा के हो? भन्दा गाउँखाने कथा जस्तै अर्थ रहस्यभित्र लुकेको छ? जुन त्यहीं कविले तेश्रो हरफमा प्रस्तुत गरेका छन् –नवमञ्जरी। यसरी हाइकु ओदान जस्तै तीन खुट्टालाई उनिएको छ। दुई खुट्टे लड्न सकछ चार खुट्टे पनि लड्न सक्छ तर तीन खुट्टे हाइकु कहिल्यै लड्न सकदैन र यसले छेडेको वाग्वाणको निसाना अति तीव्र गतिको र लक्ष्य वेधक सटिक व्यञ्जनामा टिकेको हुन्छ। त्यसैले हाइकु लेख्दा पहिलो हरफमा वस्तु के हो त्यसको उठान भनौं वीज राप्नु दोश्रो हरफमा त्यसको हेतु वा कारण दिनु जसले पहिलो हरफ र तेश्रो हरफको सेतुको काम गर्दछ। तेश्रो हरफले रहस्यको उद्घाटन गर्नु यानि उत्तर दिनु वा परिणाम घोषणा गर्नुपर्दछ।

हाइकुको ओदानका तीन खुट्टा हुन्छन् भन्ने मत छ मानियो त्यसमा विशेषभाव विर्सन हुदैन। त्यसलाई बजगाईंका हाइकुले पालन गरेका छन्। त्यसको अर्को उदाहरण :
विना कसुर
किन छोप्यौ त घुम्टो
विहेको रात।

उक्त हाइकु कहाँ? के? कहिले? यिनी तीन खुट्टाले टेकेको छ र विशेष भाव 'लाज'को सुरक्षा गरेको छ।
त्रिकोणमात्र हैन ऋतुको आधार हाइकुको विशेषता हो। यौटा नमुना :
शारदी घाम
भोगटेको अचार
प्रशव पीडा।

यो हाइकु ऋतुले बनेको छ। शरदको घामको प्रयोग त्यसमा भोगटेको अचार खाँदा हुँने अमिलोपन तर त्यसको अविस्मरणीय स्वादसित 'प्रसव पीडा'लाई अनुवन्धित गरिएको छ।

अर्को कुरा गाउँखाने कथा जस्तै गरी बजगाईंका हाइकुहरु लेखिएका छन्। जस्तै–
वरको बोट
पिपलको छहारी
लगन गाँठो।
यो हाइकु पढ्दा पहिला दुई हरफ पढी के प्रश्न लगायो भने गाउखाने कथा हुन्छ। त्यसको उत्तर हो– लगन गाँठो। अर्को :

छाड्यौ तिमीले
हिउँ पग्लेर आँखा
नदी बनेछ।
ओल्लो घरकी बूढीले पल्लो घर खुट्टा पसारेको छ। के हो? भन्दा यसको उत्तर हो –आउलो वा अमेरिका। यो लेखन शैलीले एकातिर हाम्रा गाउँखाने कथा खेलसित यिनलाई जोडेर पठनमा सजिला ढोका खोल्छ भने अर्कातिर लेखनको लागि पनि पहिले उत्तर परिकल्पना गरेर त्यसको हेतु र परिवेशको खोज तथा समायोजन गर्न एक क्रमदद्ध बाटो उपलब्ध गराउँछ।
'हिउँको तन्ना' हाइकु संग्रहमा त्रिकोणात्मक, विशिष्ठभाव बोकेर प्रकृतिको परिवेशमा १७ अक्षरी ३ हरफे ५,७,५को वर्ण क्रममा भएका हाइकुहरु संरचना गर्न कृष्ण बजगार्इं पोख्त छन्।

बिम्ब
अर्थ गाम्भीर्य, विचित्रता, प्रतीकातमकता, बिम्ब, अलङ्कार र ध्वनी जुनसुकै आँखाले हेरे पनि यी कसीमा खरा उत्रने यी हाइकुहरु छन्।
उपमा अलङ्कार बिम्बहरूको प्रशस्त उपयोग भएको छ। त्यसको एक नमुना :
हिमाल रोयो
बन्यो नीर नदी झैं
तिम्रो सम्झना।

उत्प्रेक्षा बिम्बको प्रयोग कुशलतापूर्वक गरिएको छ। उदाहरण :
शितको थोपा
कर्कलाको पातमा
पवित्र माया।
कर्ललाको पातको शितको थोपा जस्तो तर यो उपमाको रुपमा न भनेर प्रत्यक्ष शितको थोपा नै पवित्रमायाको रुपमा परिकल्पना गरिएकोले यो उत्प्रेक्षा बिम्ब हो। उत्प्रेक्षा अलङ्कारको सुन्दर बिम्ब प्रयोगको अर्को एक नमुना :
सूचनापाटी
हाम्रो विवाहको
आफ्नै सन्तान।
सन्तानलाई विवाह भएको जनाउ दिने सबभन्दा ठूलो प्रामाणिक सूचना बनाएका छन् सन्तानलाई। सन्तान यहाँ सूचनापाटीको बिम्ब भएर आएको छ। अनुपम उत्प्रेक्षा अलङ्ककार बिम्ब हो।
सेतो कपास
जमिनमा छरेर
हिउँद हाँस्छ।
यो माथिको हाइकुमा हिमपातलाई व्यख्या गर्न कविले सेतो कपासलाई उत्प्रेक्षा वनष्पति बिम्ब सिर्जना गरेका छन्।

रुपक बिम्ब एकदम धेरै प्रयोग हुने अलङ्कार बिम्ब हो। यसलाई हाइकुकार बजगाईंले सफलतापूर्वक प्रयोग गरेका छन्। जस्तै :
अनार दाना
पूर्णिमाको चन्द्रमा
तिम्रो मुहार।

श्लेष अलङ्कार बिम्बको अप्रतीम नमूना यो हाइकुमा देख्न पाइन्छ–
प्रचण्ड सूर्य
बालुवामा पसिना
समुन्द्र झ्वाम्म।
यो हाइकुमा प्रचण्डको दुई अर्थ लाग्छन् – एक प्रकृतिमा अत्यन्त तातो, दोश्रो नेपालको राजनीतिमा प्रचण्ड पुष्पकमल दहाल जो उग्र त छन् तर बालुवाको नेपालको परिवेशमा पसिना काडेका त्यसैमा वर्तमान सामाजिक राजनैतिक आर्थिक समस्याको समुद्र झ्वाम्मै उनीमाथि खनिएको छ।

सन्देह अलङ्कार बिम्बका कुशल प्रयोक्ता भन्छु म बजगाईंलाई। यौटा नमूना :
प्रेतात्मा हो कि
छिमेकीको दुच्छाँया
घर अशान्त।
सन्देह अलङ्कार बिम्ब यो हाइकुमा खरो उत्रिएको छ। सन्देह अलङ्कार बिम्ब कविले समालोचना शास्त्र पढेर जानेर सूत्रात्मक रुपमा यसलाई प्रयोग गरेका छन् भन्ने मेरो कुरो हैन। त्यसरी कविले वैय्याकरणी र समालोचना शास्त्रकै विद्वान् हुनुपर्छ भन्ने छैन (हुन त भए न राम्रो नै त हैन)। बजगाईंका यी बिम्ब योजना निर्मित न भएर स्वतःस्फूर्त हुन् र यस अर्थमा यिनको अझ बढी वैधता र विश्वसनीयता साबित हुन्छ। सन्देह अलङ्कार बिम्बको यो आफ्नै रहस्य र खुबी पनि हो।
पौराणिक बिंब पनि यो हाइकु सङ्ग्रहमा प्रतिस्थापन गरिएको छ।
लंकामा राम
अयोध्यामा रावण
महाभारत।
मिथलाई ल्याएर बिम्बको रुपमा प्रस्तुत गरी अभीष्टको बोध गराउन खाजेको ठाउँमा पौराणिक बिम्ब हुन्छ। त्यस्तो प्रयोगमा कवि पछि परेका छैनन् यहाँ। समाज नै हो तर आजको युद्धको कारणप्रति व्यङ्ग्य गर्दै लेखेका छन्– जहाँ जो जे हुनुपर्ने हो त्यो छैन र हुदैन अनि युद्ध न भए के हुन्छ! शान्ति कसरी हुन्छ। यो आजको समयको विडम्बना पनि हो। बिडम्बना छ हरएक कोणमा, महाभारत छ हरएक मोडमा। आजका विडम्बना र विसङ्गतिको उद्बोध हो यो 'हिउँको तन्ना' हाइकु सङ्ग्रह।

शब्दशक्तिः
सबैले लेख्छन्, सबैले पढ्छन् तर अधिकारी पात्र भएर लेख्नु र पढ्नु दुई छुट्टा छुट्टै कुरा हुन्। कुनै पनि काव्यको सीमा त्यसको शब्द–शक्तिले नापिन्छ र शब्द र अर्थको परात्पर सम्वन्ध काव्यमा प्रक्षेप गरिएको हुन्छ। काव्य बुझ्न, कुनै पाठकको उसको आफ्नो आधिकारिक क्षेत्र हुन्छ। कसैले पनि आफ्नो अधिकारभन्दा माथिको शब्दशक्तिको अर्थ ग्रहण गर्न सक्दैन। सामान्यतया पाठकहरू पनि तीन प्रकारका हुन्छन् : अभिधा मात्रको अर्थ बुझ्ने, लक्षणा शब्दशक्तिको अर्थ बुझ्ने, र व्यञ्जना शब्दशक्तिको पनि अर्थबोध गर्न सक्षम पाठक। मेरो सामान्य विचारमा अभिधामा मात्र लेखिएको न हाइकु उत्तम हुन्छ न त अभिधामा मात्र बुझ्न सक्ने पाठक नै हाइकुको लागि उत्तम पाठक हुन्छ। त्यस्तो अनधिकारी पाठकले गहन हाइकुको अर्थ गाम्भीर्यलाई छिचोल्न त्यतिकै कठीन हुन्छ भनौं उनीहरूलाई माथिल्लो स्तरका हाइकु फलामका चिउरा चपाए जस्तो हुन्छ तैपनि न चपिन सक्छ। व्यञ्जनामा ध्वन्यार्थ लिन पर्ने हुन्छ। पाठक पनि त्यत्तिकै प्रत्युत्पन्नमति र विशिष्ट अनुभव भएको हुनुपर्छ त्यो बुझ्न मात्र पनि। त्यसैले पाठक र काव्यको दूरी काव्यको दूरूहताले मात्र हैन कि पाठकको पठन अधिकारी पात्रताले पनि यसलाई निर्धारण गरेको हुन्छ। डायास्पोराबाट लेखिएका यी हाइकुका आफ्नै ध्वन्यार्थ छन्। ती विशिष्ठ अर्थ लिन सक्नेलाई यी हाइकु फलामका चिउरा हैन कि नौनी घिउ जस्तो सुकोमल र रसिला छन्।
अभिधा
अभिधार्थमा लेखिएको यौटा हाइकुको नमुना
सुहागरात
दुवैले थाहा पाए
विश्वासघात।
यो अभिधा शब्दशक्तिले चिर्न सकिने गरी कुँदिएको छ यो हाइकु। अभिधामै यो हाइकुले आजको विवाह संस्थाको विघटनको स्थितिप्रति तीव्र वाण हानेको छ। आजको वैवाहिक सम्बन्धहरूको अस्थिरताप्रति तीव्र व्यङ्ग्य चेत यसमा छ। अर्को उदाहणः
वसन्ती हावा
छोएर गए थियो
मुना टुसायो।
यो ऋतुमा आधारित हाइकु हो। ऋतुमा हुनु त हाइकुको यौटा विशेषता नै हो र यो अभिधार्थले नै मन टुसाएको, पलाएको माया जागेको, पालुवा पलाएको वा एक विरहीले प्रिय दर्शनको अभिलाशा जगाएको कुरा सजिलै बुझ्न सकन्छ।
लक्षणा
यौटा नमुना लक्षणार्थ दिने हाइकुको :
प्रीत प्रसड्ग
सिउँदोमा सिन्दुर
विश्वासघात।
यो आज वैवाहिक संस्थामा व्यङ्ग्यको अनौठो नमुना हो। यी हाइकुहरूको अन्तरङ्गमा पुग्न ध्वन्यालोक पाठकभित्र पनि हुनुपर्छ अन्यथा स्वादको परम्प्राप्ति सम्भव छैन। हाइकुको अन्तस्तल न छोई 'भो अघाएँ, क्या मजा आयो! पुग्यो' भनेर पाठकले टड्कार्छ, त्यस बेला उसलाई यो थाहा हुन्न कि भिजन भए अझ कति सद् चिद् र आनन्दको अनुभूतिले रसाप्लावित हुन सक्थ्यो ऊ (पाठक)! आआफ्नो अध्ययन क्षमता अनुकुल पाठकलाई रसास्वादन गर्न दिनु पनि उत्तम काव्यको अभिलक्षण हो। त्यो कलामा लक्षणामा भएका यी हाइकुको वरिय स्थान छ।
व्यञ्जना
दैवी प्रकोपको सन्दर्भ ल्याएर कविको काव्य–सिर्जनाको मूलसित तामेल जोडेका छन् यहाँ :
उठ्यो तरङ्ग
मनमा ज्वारभाटा
आयो सुनामी।
धारासार साहित्य सिर्जना हुने कविको मनोवस्थाको चित्रण हो यो व्यञ्जनावादबाट हेर्दा। अभिधा र लक्षणाको अर्थ करीब स्पष्ट नै छ।
प्रकृति प्रेम र रहस्य
हिउँदे घाम
नववधुको घुम्टो
खोल्दै लाउँछे।
घाममा नववधुको आरोप गरी लेखिएको यो हाइकुमा प्रकृति प्रेमले छताछुल्ल छ यो। प्रकृति प्रेमको अर्को नमुनाः
पोत्यो सिन्दुर
गगनले रंगीन
इन्द्रधनुष।
यसमा गगन र इन्द्रधनुषको उपयोग अध्ययनीय छ। यी हाइकुहरु छायावाद , रहस्य व्यन्जनावादका दृष्टिले पनि अध्ययनीय छन्। जस्तै :
चाँदनी रात
एक युगल जोडी
औंशी पर्खर्दै।
खास गरी व्यन्जनावादका दृष्टिले यो नमुना सारगर्भित देखिन्छ :
सत्य ईमान
अंकुरितभएछ
बेईमानिमा।
यसरी विशिष्टभाव बोकेका हाइकुको प्रस्तुतिले यसको गरिमा बढाएका छन्।
जापानको चार सय वर्ष पुरानो यो हाइकुलाई नेपालमा आजको स्थितिमा ल्याइपुराउन यस्ता कृतिको महत्वपूर्ण योगदान रहेको थियो र आज पनि विष्णुवहादुर सिंहको 'मैन बत्ती' चोका संग्रह र कृष्ण बजगाईंको यो 'हिउँको तन्ना' जस्ता यो फाँटका नयाँ प्रयोगले निरन्तरता पायो भने हाइकु विधालाई फलाउन फुलाउन केही कठिन पर्नेछैन भन्ने मेरो विश्वास रहेको छ।

अमेरिका

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 30 चैत्र, 2065

लेखकका अन्य रचनाहरु