“यन्त्रवत्” को विषय विश्लेषण

- डा. खेम दाहाल

१. कृष्ण बजगाईं (धरान–१५) को “यन्त्रवत्” (सन् २००७) लघुकथासङ्ग्रह “सर्ट स्टोरी” भन्दा छोटा कथाहरुको सङ्कलन प्रकाशित भएको देखिएको छ। एक प्रकारले एउटा मात्र घटनामा सीमित रहेको, फ्याट्ट भन्न सकिने र च्वास्स छुने गरी लघुकथामा छोटो र चिटिक्क परेको स्वरुप, आकारप्रकार हुन्छ। पात्र कम हुनु र उठेको उत्सुकता बसेपछि विषय साम्य हुनु तथा सन्तोष, दिक्क वा घृणाको भाव साधारीकरण हुनु यस्ता कथाका विशेषता हुन्। “लघुकथा”मा कथाका घटनाक्रमको एउटा कुनै किसिमको कसिलो बिन्दु हुन्छ, पात्रपात्राको विशेष प्रकरण र विस्तार हुदैन। यसमा समाख्याताको उभिने मञ्च “दृष्टिबिन्दु” प्रथम पुरुषको वा तृतीय पुरुषको हुनुपर्छ। यसमा विचारतत्व हुन्छ, कुनै व्यक्ति वा समाजको कमजोरीमा एक चस्का दिने गरेर वा एक थप्पड पाइने गरी विचारतत्व सम्प्रषित गरिएको पाइन्छ। यसमा भाषाशैलीका शिल्पसाधनाका साथमा अभिधा, लक्षणा तथा व्यञ्जनामूलक प्रस्तुतीकरणले राम्रो साथसङ्गति पाएमा कथाझैं कथा–लघुकथाको विकास पूर्ण हुन्छ, पूर्ण शरीर विकास हुन्छ। यसले कुनै क्षणमा सुटुक्क व्यवङ्ग्यका सियोले घोच्छ, सन्तोषको उच्छ्वासले स्फूर्ति प्रदान गर्छ। यस्तै कथाहरु कृष्ण बजगाईंले लेखेका छन्, “यन्त्रवत्” यसको सङ्ग्रह हो।

२. बजगाईंका कथाहरुका विषय विभिन्न आधारमा विभिन्न कोणबाट अवलोकन गर्न सकिने प्रकारका पाइएका छन्।

२.१ कार्यालय
नेपालमा कार्यालय, मन्त्रालय र सरकारी जुनसुकै अड्डाका विषयका कथाहरु यस उपशीर्षकमा प्रस्तुत गरिएका छन्। यस्ता कथाहरुमा “मन्त्रीको जुत्ता” एउटा विशेष कथा हो जसमा कुनै समयमा चप्पल लगाएर हिँड्ने सं. २०४७ साल अगाडि सुर्ती मागेर खान र २०५२ पछि मन्त्री वा हाकिम भएर सरकारी गाडीमा सवार हुने जीवनशैलीलाई व्यङ्ग्यको विषयझैं प्रयोगात्मक ढङ्गले प्रकाश गरिएको पाइन्छ। कार्यालय अन्तर्गतका प्रहरीकार्यालयको लोभपापका बारेमा लेखिएको कथा “सजाय”ले प्रहरीका आचरणमा व्यङ्ग्य गर्न खोजेको छ। कार्यालयलाई नै महत्वका साथ हेरिएको कथा “पीडा”का विषय यौनप्यासका सम्बन्ध तथा अनैतिक यौनसमागमसित सम्बद्ध व्यङ्ग्य कथा हो। यहा “उन्मूलन” कथाले गरिबहरुको नाम बचेर गरिबमाथि उपहास गरेको विषयबाट व्यङ्ग्य गरेको छ र संस्थाको नाम जोडेको छ। बजगाईंले “प्रतिबिम्ब” कथामा कर्मचारीमा देखिने सडिएको मानसिकता, दात्रिसंस्था र परतन्त्रजस्ता कुरा प्रकाशन गरेका छन्। यसमा अन्य कथाहरुले हामी कर्मचारीको कमजोर मन, दुर्बल धारणा, अलिकति ठग्ने मानसिकता, छोटो र अदूरदर्शी सोचका विषय लिएर घोचपेच गरेका छन् जसका उदाहरणमा “राहत”, “जादुगरी डण्डा”, “लिफ्ट”, “नया सुट” आदि कथा पर्दछन्।

२.२. सडक र भीड
यस प्रकारका कथाहरु सार्वजनिक स्थलमा घटका मूल घटनासँग सम्बद्ध छन्। यी कथाहरुका विशेषता हरु कथाकै ढङ्गको भए पनि सडक, सार्वजनिक स्थान आदिमा भएका घटना, घटित परिस्थितिविशेष विषय हो। यस्ता कथामा “यन्त्रवत्” एउटा यस्तै कथा हो जसमा कुनै भिखारीले यन्त्रमानवकोझैं अनुकरण गरेर भिक्षा मागेको घटनामा केही कुरा सारांश हुनभन्दा अगाडि रहस्यमा लुकेका पाइएका छन्। यस्ता कथामा “मूल्य” कथा एउटा सरल कथा हो जसमा समाजका मानिसको लोभी समाज आलोचित रहेको पाइन्छ। “बलात्कार”जस्तो कथामा भीडले भूमिका खेलेको छ र अपमान गरिएर बलात्कार हुने विचारतत्व प्रकाशित भएका छ। यस्ता सामान्य विषयका कथाहरुमा “शोषण”, “स्वार्थ” आदि मुख्य छन्।

२.३ घरव्यवहार र जीवनशैली
घरव्यवहार र दैनिक जीवनमा आउने विषय भएका कथाहरुमा यस्ता कथा राखिएका छन् जसबाट दिनदिनको कार्यशैली परिभाषित भएको पाइन्छ। यस्ता कथामा “आत्महत्या” अगाडि आएका कथा हो जसले गरिबमाथि सहानुभूति राखे पनि उधारोमा डुबेका व्यापारीबाट व्यङ्ग्य सुरु भएको पाइन्छ। यस्ता कथामा कतै घरपरिवार, राजनीति, राष्ट्रियता मिसिएको पनि हुन्छ, “विमोचन”, “सम्झौता”, “दिग्भ्रमित स्वप्न”, “घर” आदि कथाहरुमा प्रतीक प्रयोग गरेर वा नगरी यस्ता विषयक्षेत्र अटाउन खोजेका पाइएका छन्। भूमिकाबाट प्रा.डा. माधवप्रसाद पोखरेलले प्रकाश पार्नुभएका आधारमा नारीअपमान, पर्यावरण र युगचेतना तथा संस्कारजन्य विषयहरु कथामा समाविष्ट भएका छन्। ससाना कथाहरु “लघुकथा” हुन् जसमा आधुनिक कथातत्व पाइन्छन् (शब्दकोश)।
२.४. साधारण समाज
यसमा साधारण समाज तथा राजनीतिसित सम्बद्ध कथाहरु, सबै धर्म, सबै पेसा र नागरिकलाई धारण गरेर लेखिएका कथाहरु समाविष्ट गरिएका छन्। यस्ता कथाहरुमा “विपत्ति” एउटा कथा हो। जसले आपत्विपत्मा परेका व्यक्तिहरुलाई पृष्ठभूमि बनाएर जग हालेको छ। यस्ता कथाहरुमा वि.सं.२०५२ पछिको नेपालीहरुका अवस्था परिभाषित हुन्छ र च्यापिएका नेपालीको आन्द्राभुडी देखाउछ। यस्ता कथामा बहुदलका दोषहरु निर्देशित हुन्छन्, “दुःख”, “चोरऔंला” “जनकारवाही”, “आकर्षण” यस्तै कथा हुन्। यस्ता कथामा ठूलो भूलबाट सफाइ पाउने तथा छोटो समयको अन्तरालमा यसलाई बिर्सिएर आफू चोखो देखिने प्रवृत्ति “योग्यता” जस्ता कथामा प्रकाश गरिएको पाइन्छ। यस्ता कथामा पर्ने धेरै कथा “सुन्दरी प्रतियोगित”, “परिवर्तन”, शब्दहरुको मृत्यु”, “रामराज्य” ढङ्गका कथाहरु हुन्।

२.५. विशेष समाज
विशेष समाजमा यस्ता विषयहरु राखिएका छन् जसमा कुनै खास पेसा वा सम्प्रदाय, धर्म वा संस्कृतिका क्षेत्रमा कार्यरत व्यक्तिको मुख्य भूमिका देखिएको छ। यसमा धर्मका नाममा आबद्ध संस्थाका व्यक्तिहरुले आस्थालाई हतियार बनाएर गरेका भ्रष्टाचारहरु “अनास्था” कथामा देखाइएका छन्। त्यस्तै धर्म र दानको कथा “भिखारी” पुजारी, भक्त र दानसग जोडिएको छ। यस्ता कथामा भगवान्मा गरिने विश्वास, गरिबमा गरिने अनादर “दान”, “खुसी” जस्तै गरेर सरकारसम्म आलोचित हुने कथाहरु “सञ्चालन”, “मूकदर्शक”, “घुम्ने कुर्सी” प्रमुख रुपमा खास विषयबद्ध कथा हुन्। “दान”जस्ता कथामा अलिकति भूमिका बाध्ने, अलिकति बीचको समय देखाउने र अलिक तल पुगेर अर्थबोध भएको स्थिति ल्याउने र समापन गर्ने ढङ्ग राम्रा “लघुकथा”को धर्म हो।

२.६. यौनसम्बन्धका कथा
यौनसम्बन्ध शारीरिक आवश्यकता हो जसलाई उचित स्थान, समय, बाध्यतामा अनिवार्यताका आखाले हेरिन्छ। यसमा कलात्मक भूमिका बाध्ने र सम्बन्धको नजिकमा पुगेपछि शिष्टताका साथ पर पन्छिने शिल्प अगालिन्छ। “पूर्णता” यस्तै प्रकारका कथा हो जसमा महिलाले पति नपुङ्सक पाएकी र साथीको सहायताले गर्भधारण गरेकी देखाएर सामाजिक नीति तथा व्यवहारको स्थितिमा प्रकाश पारिएको छ। यस्ता कथामा चर्चा गर्न याग्य कथा “पीडा” पनि एक हो जसमा हाकिम र सानो पदकी कर्मचारीका बीचको रतिरागको दुर्गन्ध आउछ। यौनकथामा अचेतनमा रहेको यौन भाव स्थितिका आधारमा प्रकाश गरिन्छ तर भाषा, बिम्ब र प्रतिकबाट आवृत ढङ्गले देखाइन्छ जसलाई शिष्टाताको सीमाबाट बाहिर नजाने गरी प्रस्तुत हुनु कलाको मर्यादा हो। अनावृत अवस्थाको नाङ्गो रुपमा कला र सौन्दर्य मर्छन्। यौनक्रिडाका कारणमा कुण्ठा, तृष्णा, मातृत्व तथा वात्सल्यले भूमिका खेल्छन्। विषयको सिलसिला अन्य क्षेत्रको हुने र लसपस, आन्तरिक कामेच्छालाई गौण रुपमा प्रकाश गरिने लघुकथामा कलापक्ष जीवन्त रहोस्। त्यस्तै यौनप्यासलाई प्रतीकबाट स्मरण गराइएका कथा “इज्जत” देखिन्छ भने दसैं संस्कृतिको आलोचना भएको कथा हो। यसमा “नाङ्गो मान्छे” नारावाजीको शैलीमा प्रस्तुत कथा रहेकाले यस्तो प्रस्तुतीकरण आलोच्य हुन्छ।

३.० उपसंहार
बजगाईंका कथाहरुमा “मधेस र पहाड”, “नरिवल”, “योग्यता”, “मितव्ययिता”, “कुकुर”, “बलात्कार”, “उन्मूलन” आदिमा उत्कृष्ट अभिव्यक्ति पाइएको छ। कतिपय कथाहरुमा प्रतीक पात्राबाट संवाद गराइने र तिनको अर्थ पाठकको क्षमताअनुसार लाग्ने स्थिति पाइन्छ, “परिवर्तन” कथा यस्ता प्रतीकबाट अगाडि बढेको छ। कतिपय कथामा परिस्थिति सुलभ, अनुकूल र यथार्थ देखाइए पनि अन्त्यमा गएर एउटा भीर देखाउने गरिन्छ जसबाट लघुकथामा एउटा घटनाको भूमिका बाधेर पछि अन्त्यमा त्यसको रहस्य फुकाउने आधार खोजिएको छ।

कथामाझैं लघुकथामा आदि, मध्य र अन्त्यको खोजी गरिदैन, राम्रा कथाकारहरु नियमविशेषको पछि लाग्ने बल गर्दैनन्, लघुकथामा छोटो कथावस्तु हुन्छ, सानो आकारमा पनि पात्र र कम्तीमा एउटा घटना पुष्टिका उपकरण हुन्छन्। यस्ता कथास्रष्टाहरु धेरै हुनुहुन्छ (नाम छुटेका छन्, क्षमा माग्दै), यसमा टिप्न सकिएका नामहरु श्री ओम रोदन, अरुणबहादुर खत्री, आचार्य प्रभा, आत्माराम शर्मा, आर.आर चौलागाई, एल.बी क्षत्री, कल्पना पन्त, कुसुम ज्ञवाली, कृष्ण धरावासी, गंगााप्रसाद भेटवाल, गोपालकृष्ण आचार्य, गोरखबहादुर सिंह, गोविन्द अधिकारी, गौरी मैनाली, गोविन्द बराल, घनश्याम विश्वकर्मा, चन्द्रमणि अधिकारी, दिनेशप्रसाद अधिकारी, धर्मेन्द्र भट्टराई, ध्रुव शाही, ध्रुव स्नेही, ध्रुव मधिकर्मी, नारायण तिवारी, नवराज मौन, पेशल आचार्य, पोषेन्द्र सत्याल, परशु श्रेष्ठ, प्रभास अधिकारी, प्रभावत सुवेदी, पोस्ट जंग, पुरु रिसाल, प्रकाश अविनाश, बालकृष्ण भट्टराई, बनमाली निराकार, बासु मार्मिक, बलबहादुर क्षेत्री, भरतमणि भट्टराई, भागीरथी श्रेष्ठ, मनोज ढकाल, मन्दिरा कोइराला, “मधुश्री”, माधव लामिछाने, डा. मथुरा के.सी., महेश पौडेल, माणिकरत्न शाक्य, यल.बि. क्षेत्री, युवराज बराल, रमेश, चन्द्र घिमिरे, वीरेन्द्र कार्की, रवीन्द्र समीर, राजेन्द्र पुडासैनी, रामकुमार, रेवती राजभण्डारी, रामविक्रम थापा, रोशन थापा “नीरव”, वसन्तप्रकाश उपाध्याय, विनयकुमार कसजू, विजय रत्न, विष्णु अर्याल, विजय बजिमय, विरही कान्छा, वि. पि. तिवारी, शङ्करकुमार कार्की, शरद पौडेल, सन्तोष आले, सालिकराम पाण्डे, सूर्यप्रकाश, हरिहर पाडेल र अन्य यस्तै उल्लेख हुन बाकी स्रष्टाहरु यस उपविधामा कलम चलाइरहेका छन्। यस्तैमा कृष्ण बजगाई पत्रपत्रिकामा देखिने नाम हो आज पुस्तकाकारमा आएका कथास्रष्टा भएका छन्। उनको कथालेखनमा निरन्तरता रह्यो भने कथाकार जयनारायण गिरी, जगदीश नेपाली, विनयकुमार कसजूजस्तै यस लघुकथा विधाको ऐतिहासिक नाम हुने आशा गरिएको छ।

सन्दर्भ समाग्री
१. अधिकारी, गोविन्द. “उपसंहार” मधुपर्क (२२/७/२४६, मंसिर २०४६), पृ.–४४।
२. कार्की, वीरेन्द्र. “नभोगेको अनुभव” मधुपर्क (२१/५/२३२, असोज २०४५) पृ–१६।
३. चौलागाई, आर.आर. “परिवर्तन” मधुपर्क (३३/६/३७५, कात्तिक २०५७) पृ–६४।
४. रिसाल, पुरु. “जीवनयात्रामा” मधुपर्क (२८/७/३१८, मंसिर २०५२) पृ–३९।
५. शाही, ध्रुव. “इच्छा” मधुपर्क (२७/१२/३११, वैशाख २०५२) पृ–४६।
६. श्रेष्ठ, दयाराम (सम्पा.). नेपाली कथा भाग–४ (दोस्रो संस्क), ललितपुरःसाझा प्रकाश, २०६०।
७. सत्याल, पोषेन्द्र (प्रभात). “परिचय” मधुपर्क (२९/९/३२२, माघ, २०५३) पृ–६१।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 चैत्र, 2065

लेखकका अन्य रचनाहरु