'मनको मझेरी'मा बस्दा

- डा. खेम दाहाल

नवराज सुब्बाको 'मनको मझेरी' -२०६४) वाणी प्रकाशनबाट प्रकाशित निबन्धसङ्ग्रह हो । यस कृतिको लोकार्पण २०६४ साल माघ २८ गते विराटनगरमा भएको हो । उक्त कार्यक्रममा सुब्बाको पुस्तक पनि वितरण गरिएको थियो, उपहार स्वरूप किताब दिनु राम्रो हो र मन फराक रहेछ भन्ने परिचय पनि हो । लोकार्पण गर्ने काम मात्र गर्ने र पुस्तक वितरण नगर्ने वृत्ति उस्तो राम्रो होइन, कन्जुसीको एउटा उपशाखा हो । तर नवराज सुब्बाले पुस्तक बाँडेर मनको मझेरीमा बसाएका छन्, अबको पुस्ताले मझेरी, पिढी, दलान, चौको बिर्सन्छन् भन्ने लागेको बेला मझेरीमा बसाइदिएर मन हलौं पार्ने काम गरेका छन् । हामी केटाकेटी उमेरमा मझेरीमा बसेर कालो ढिँडो दूधमा चोब्दै खान्थ्यौं, अब ती दिनको सम्झनाले स्वर्गीय आनन्द मिल्छ ।

नवराज सुब्बाको कृतिमा जम्मा बीसवटा निबन्धहरू सङ्ग्रहित छन् जसमा 'श्रद्धाञ्जलि एउटी लिम्बूनीलाई' को महत्व निकै मार्मिक रहेको छ । उनले कसैलाई कुनै बेला खलनायक-खलनायिका देखे पनि अहिले उभिएको ठाउँबाट हेर्दा उनी असल महिला भएको सन्दर्भ साइँलीबज्यूसंग जोडिएको छ । उनको खेतीपाती स्कुलका छेउमा भएकाले उपद्रव गर्ने छात्रछात्राहरूसित उनको बेमेल रहेको बुझिन्छ, एउटा नमीठो द्वन्द्व भएको थाहा पाइन्छ । त्यस गाउँबाट हर्ेदा ती महिला विद्यार्थीहरूका निम्ति अलिक निकृष्ट थिइन् तर उनको द्वन्द्व आफ्नो बालीनाली संरक्षणका निम्ति थियो, उनका सन्तान भनेकै ती कोदाका बालाहरू थिए । भकुन्डो छेंडिदिने महिला र कोदोबारी बिगार्ने विद्यार्थीमा एउटा द्वन्द्व भए पनि परबाट हर्ेदा ती महिलाको आफ्नो स्वभावले गाउँलेहरूलाई आत्मीय माया साटेको अनुभूति गराएको रहेछ । उनले छिमेकीहरूलाई याङ्गबेन खुवाउने गर्थिन् तथा आत्मीय भावले अपनत्व बचाएर राख्ने गर्थिन् भन्ने भावनामा उनको शोकमा एउटा श्रद्धाञ्जलि गरिएको निबन्ध उच्च कोटीको लेख हुन सकेको पाइन्छ ।

नवराज सुब्बाको 'मनको मझेरी'को पृष्ठ चारमा एउटा तस्वीर छ । त्यस तस्वीरमा एउटी युवतीले डोको बोकेकी छ र नाम्लो समाएको दाहिने हात तथा आँखा छोपेको देब्रे हात दुवै स्पष्ट देखिन्छन् तर अनुहार कसको होला भन्ने कुरामा स्पष्टता छैन । यो तस्वीरले मार्मिक पीडा बोकेको छ तथा 'लडाइँमा जनता'को फोटो प्रदर्शनीको एउटा प्रतिनिधि तस्वीरको काम गरेको छ । यस तस्वीरमा उतारिएकी युवती कसैले सोधेका प्रश्नको जवाफ दिन नसकेर आँखा छोपेर रुन्छे । "साँढेको जुधाइ, बाच्छाको मिचाइ" भएका देशका दुइ शक्तिहरू भिडन्त गरेर 'मकै पिस्दा घुन पिसियो' भन्ने भ्रमको ढाल प्रयोग गर्दै उम्कन सक्षम साँढेहरूले नाटक मात्र ठान्ने गरेको यस कालखण्ड (२०५२-६२) लाई मनछुने तस्वीरबाट प्रतिबिम्बित गराइएको विषय पाइन्छ । युवती आफ्ना साथीहरू अपहरणमा परेको कष्ट र आफू स्कुल नगएकाले बचेको रुन्चेहा"सोका बीचमा उभिएकी हुन्छे ।

त्यस्तै बिरामी छापामार महिला, पति मरेपछि लाससित बिलाप गर्दै गरेकी सुरक्षाकर्मीकी पत्नी, हवाइ-आक्रमण तथा बाख्रा र बालकहरूका छरिएका मृत शरीरहरू, आर्य-घाटमा सन्तानको शव जलाउने क्रममा उपस्थित बुढाबुढीका तस्वीरहरू मन हुनेहरूलाई रुवाउने क्षमताका रहेछन् । यो कुरा सरल र सुगम पारिएको निबन्ध 'तस्वीरमा पोखिएका कविताहरू' शीर्षककको पाठ हो । भावना हुने स्रष्टाहरूले यस्ता फोटामा कविता फलेको पाउनेछन् ।

बहिरा र बिकलाङ्गहरूले बनाएका चित्रमा हिमाल, बुद्ध र परेवाका प्रतीकहरू प्रयोग भएका देखिएकाले यस्ता विषयबाट जनताले इच्छा गरेको नेपालको तस्वीर कोर्ने काम गरिएको पाइन्छ । यसलाई शब्दमा भनेर स्पष्ट नहोला, तथापि नेपाल सुन्दर, शान्त र गरिखाने इच्छा हुनेहरूलाई बाधा नगर्ने खालको वातावरणयुक्त भइदिएमा राम्रो हुने थियो । यस अर्थले हामी शान्तिको कामना गर्दैछौं भनेर बहिरा बालबालिकाहरूले आफ्ना इच्छाहरू चित्रमा उतारेको विषयले 'नयाँ नेपालको चित्र' शर्ीष्ाकमा स्थान पाएको छ ।

नवराजको निबन्धमा वस्तुको निजत्व छ, आफ्नोपना, नवीनता र केही अर्कै दृष्य हेरिरहेको जस्तो लाग्छ । उनी पृष्ठभूमि बाँधेर सकिने बेलामा एउटा गम्भीर दृश्यको पर्दा उर्घार्छन् । उनी थोरैमा धेरै भन्छन् । संक्षिप्तता र सरलताले हल्का भारी पार्छन् । उनी दर्शनको भारीले पाठकको डँडाल्नु नभाच्ने धर्मका पूजारी देखिएका छन् ।

'आमाका रूपहरू' पीडाको डोको बोकेर हिँडेका हुन्छन्, अहिले यही नियतिले टायर बाल्ने छोराछारी, भारी बोकेकी आमाका पिठ्यू"मा चढ्न पिरोल्ने बालक सन्तानले जति रोढ्याइँ गरे पनि सहने आमाको छाती विशाल हुन्छ । यस्ता महिलाहरू सबै नै आमा हुन् तथा तरकारी बेच्ने तराइकी महिला समेत यस्तै आमाका प्रतिनिधि रूप हुन् भन्ने देखाइन्छ । यस्ता निबन्धमा पुस्तकको सीमा र शक्तिको प्रशंसा हुन्छ एवम् संस्मरणात्मकताको स्वरूपबाट महिला सहानुभूति प्रकाश भएको पाइन्छ । त्यस्तै दीप श्रेष्ठलाई उदाहरणको रूपमा ल्याइएको तथा लिम्बू संस्कृतिको हाक्पारे गीतको सम्मान गरिएको निबन्ध 'हाक्पारे सङ्गीत' चम्पूमय रहेको छ, लिम्बूले लेखेको कृतिमा साहित्यका समाजशास्त्रीहरू लिम्बूका भाषा, संस्कृति, धर्म, रीतिरिवाज खोज्छन् ।

केन्द्रीय विषय 'जन्तरे सर' भएर आएको निबन्धले बाल्यकालतिर फर्किएर हेर्न सिकाउँछ, गरिब र धनीका बिकल्पमा गरिब तर असल गरिब हुनु राम्रो हुन्छ भन्ने केटाकेटी बेलाको अनुभूति सँगालिँदा र आजको भूमिबाट त्यस घगनालाई हर्ेदा बालककाल स्वादिलो भएको पाइएको छ । त्यस्तै संस्मरणात्मकतामा उभिने विबन्ध 'ती एक जोडी परेवा'मा एउटा सँस्कार सधैँ परिष्कारको उकालो हिँडिरहेको विषय देखाइएको छ, परेवालाई उडाएर भए पनि भक्त शान्ति खोज्छ, धर्मको ठेक्का लिएको पुजारी हत्याको प्रतीक हुन्छ ।

त्यस्तै दुइ साहित्यकारहरूका संस्मरणमा आधारित निबन्धहरू रोचक र प्रेरक छन् । कृष्ण धरावासी र यज्ञनिधि दाहालको सम्झना गर्दै एक-एक निबन्ध लेखिएकामा गुनको आँगन बिर्सन कठिन हुने गुनी मान्छेको गुनमा कदर हुने सन्दर्भ पाइन्छ । भूकम्पका कारणले गर्दा कतिका कलिला बालकहरू हराएका छन्, कृष्ण धरावासी यस सन्दर्भमा धन्यवादका पात्र छन् किनभने साहित्यको पाठले मानिसको जीवनको मोड बदलिदिन्छ । त्यसैगरी लिम्बू संस्कार र नवराजका कवितालाई प्रसारण गरिदिने यज्ञनिधि धन्यवादका पात्र बनेका छन् । यी पात्र संस्मरणात्मक निबन्धका केन्द्रीय विषय बनेका पाइन्छन् र 'अनुभूतिको संरचना' बाट हेर्दा तीन स्रष्टाहरू साहित्यमा स्थापित हुने क्रम र प्रयास विचारणीय रहेको पाइन्छ ।

नवराज सुब्बाले 'पशुप्रति मानवीय स्रवेदनशीलता', 'पुस्तकालय', 'बैङ्कक सहरमा कोइलीको आवाज', 'स्रष्टाप्रति समाजको अपेक्षा' इत्यादि निबन्धहरू उत्तर भागमा राखेको देखिन्छ । 'साहित्यकार इमान्दार हुन्छ' मा अङ्कति नामहरू साहित्यकार बनाइएका नामहरू मात्र हुन्, स्वतःस्फूर्त नामहरू होइनन् । यस पाठमा प्रस्तुत भएको खेलाडीको नाम राम्रो नाम हो, शाहरुख, अमिताभ प्रतिभाशाली छन्, गुरु योगेन्द्रमान संस्मरणात्मक विषयमा पर्नुभएको छ । 'टेलिफोन र थुतुना' शिष्ठताका निर्वाहका लागि लेखिएका भाषा-प्रतीक हुन् ।

'पशुप्रति मानवीय संवेदनशीलता' निबन्ध पशुताडनाको बिरुद्धमा पकालत गर्दछ, च्यापेर यातना दिँदा मारिने र मासु खाइने पशुमा पनि एडिर्‍नलिन नामक हर्मोन विकसित हुन्छ तथा यसले भोजनलाई दूषित गर्दछ इत्यादि कुरा सूचनामूलक छन् । हामी आफ्नो पेसाप्रति संवेदनशील हुनु पहिलो आवश्यकता हो, गाईको बाच्छो जन्मियो तर अम्रो झरेन । त्यस दिन मैले बल्लबल्ल भेट्न सकेका एकजना पशुचिकित्सक महेन्द्र पैकराले गाईमा देखाएको संवेदनशीलताले मेरा आँखाबाट आँशुका धारा बगेको अनुभूतिमा समानता दिने यस निबन्धको विषयले मन छोएको छ ।

त्यस्तै 'पुस्तकालय' र झापाका चूमरे, 'बैंकक सहर' र अशक्त, पाकेटमार, भिखारी एवम् कोइलीको स्वर संस्मरणात्मक निबन्धका प्रतीकात्मक उपमाहरू हुन् । संस्मरणको अंश मोराहाङ तेह्रथुमसम्म पुगेर मायामा डुबेका प्रधानबामा थुरेको छ । यसबाट प्रधानबास"ग परिवारका सदस्य पनि संस्मरणमा प्रविष्ट हुँदा संस्मरणप्रधान निबन्धका स्रष्टाहरू श्यामप्रसाद शर्मा, पारसमणि प्रधान, वेदव्यास उपाध्याय (निर्मोही व्यास) प्रतिविम्बमा झुल्कन्छन् । निबन्धको विषय आफैंलाई बनाइएको फरक-फरक व्यक्तिबाट आफ्नो परिचय दिइएको आत्म-विषयक निबन्धले जनस्वास्थ्यका हाकिम नवराजलाई मात्र होइन, साहित्यमा पछि प्रवेश गरेका देखिने, सुन्दर भाषाशैलीका प्रस्तोता-शिल्पकार नवराज निबन्धमा गरिमामय नामधारी हुने आशाको प्राक्कल्पना गरिएको छ । 'तालु' मा देवकोटा, माओ र अन्य खल्बाटहरू चित्रित भए पनि परिश्रमजस्तो अरू केही छैन ।

नवराज सुब्बाका निबन्धलाई समाजशास्त्रीय ढङ्गले अध्ययन गर्नेलाई सहज हुने बाटो खुला बनेको छ । उनका निबन्धको विषय र शिल्प कवितामय एवम् संस्मरणात्मक ढङ्गबाट विकसित रहेका पाइन्छन् । नवराज आफैं नवीन स्वरूपका निबन्ध लेख्दारहेछन्, त्यस्ता निबन्धमा 'तस्वीरमा पोखिएका कविताहरू', 'श्रद्धाञ्जली एउटी लिम्बूनीलाई' जस्ता निबन्धहरू अरूभन्दा धेरै माथि छन् ।

स्वास्थ्य क्षेत्रमा लागेका मानिस वा सामाजिक सेवामा आबद्ध मानिसका रचना रहेछन् भनेर नवराजलाई नचिन्नेहरूले तथा नाम छोपेर पाठ पढे पनि लेखकको कार्यक्षेत्र थाहा पाइने लेखकव्यक्तित्व यी निबन्धमा स्पष्ट रूपमा प्रतिविम्बित हुन्छ ।

धरान, सुनसरी, कोसी २०६४।११।२९

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 9 चैत्र, 2065

लेखकका अन्य रचनाहरु