बजगाईंको "हिउँको तन्ना" हेर्दा

- डा.रामकुमार पाँडे

हिउँको तन्ना
कुष्णको बाँसुरीमा
पानीको रेखा ।

हाइकु जापानी शैलीको छोटो कविता हो । यो ५-७-५ अक्षरीय शब्द संयोजनमा रचना गरिन्छ । प्रकृति दर्शनमा केन्द्रीत रही तीन हरफमा रचना हुने हाइकु सघन दर्शन परिदर्शनको उच्चकोटीको काव्य हो । प्रकृतिको विम्बबाट जीवनका गाँठा फुकाउन हाइकु सक्षम रहन्छ । यसैले हाइकु पढ्ने बुझ्ने जो कोहीलाई यो आकर्षणको केन्द्र रहन्छ । जापान पुगेर फेब्रुअरी ११ सन् १९६१ साहित्य राजदूतको रुपमा शंकर लामिछानेले हाइकुलाई नेपाल भित्र्याए । सर्वप्रथम २०१९ र सम्भवत: दोस्रो २०२२ मा दईवटा हाइकु नेपाली भाषामा देखापर्यो । हाइकु ट्वाक्क परेको काव्य चटनी हो जसले स्वादको रमरम निकै पछिसम्म दिने क्षमता राख्दछ । विम्बको सटिक प्रयोगबिना हाइकुको प्राणप्रतिष्ठा हुन्न । आफ्नो हाइकुको प्रयोगका अतिरिक्त जापानी हाइजीनका हाइकु उल्था गरेर २०२७ मा शंकरले नेपाली साहित्यमा भित्रुएका थिए । हाइकुलाई छोटो कविता मात्र बुझ्नेले छोटा कविता सिर्जना ध्यान दिए तर गतिलो हाइकु ल्याउने प्रयास साँच्चै भन्नुपर्दा लामो अवधिसम्म हुन सकेन । शंकरले पनि प्यासै मेटिने प्रकारले हाइकु अगाडि बढाउन सकेनन् । यसको मूलकारण हाइकु सिर्जना संरचनाको व्याख्या-विश्लेषणपछि मात्र भयो । ऋतुविम्ब हाइकुको ज्यानै मानिन्छ जसलाई नबुझ्दा नेपाली हाइकु आकारप्रकार र रुपरङ्ग दुरुस्त भए पनि निष्प्राण रहेका धेरै उदाहरण पाइन्छन् ।
हाँस्यव्यङ्ग्यकै महत्व बोकेर मध्यकालमा हाइकाइ वा हाइकाइ-नो-रेङ्गाबाट उद्भित हाइकुलाई जापानी कवि माचुओ बासो १६४४-१६९४ ले स्थापित बनाए । एदोकाल १६०३-१८६७ मा साहित्यको उच्च कालका रुपमा जागेको हाइकु छिटै व्याप्त बन्यो । संरचना स्वरुपमा अक्षर गन्ती र अन्तरभावमा ऋतुविम्ब -किगो को फिलिङ्गोले जीवनका अन्तरकुन्तरका निष्पट्ट खजाना उजागर गर्ने हाइकु कवितापछि निकै विकसित बन्यो । यसलाई नयाँ रुपरङ्ग लिपपोत गरेर चिरिच्याट्ट व्यक्तित्व-निर्माण गर्नमा मासाओका सिकी १८६७-१९०२ ले नयाँ हाइकु नाम दिएर जापानी छोटो शैलीको कवितालाई व्यापकता दिए । छोटो यस्तै यत्तिकै अक्षराङ्कन हुने व्यङ्ग्य बोधका हाइकुलाई सेन्यूका रुपमा प्रस्तुत हुने गर्दछ ।
नेपालमा व्यङ्ग्य चेतको हाइकु निकै पर्गेलिएका छन । जेन दर्शन दिने स्मरणीय र उदाहरणीय हाइकु कमै छन् । नेपालमा साँच्चै भन्नुपर्दा हाइकु विजारोपण लामो समयअघिनै भए पनि मलजलको अभावमा राम्ररी हुर्कन सकेन । आज आएर साहित्यमा हाइकुको जग बलियो हुँदैगएको छ । ठूलठूला पुस्तक र तिनमा विश्लेषणात्मक भूमिका गोष्ठी र कार्यपत्र विमोचन कार्यक्रमहरुले बलियो आधार तयार भएको छ । राष्ट्रिय गोष्ठीहरुले निश्चित दिशानिर्देश गर्न सघाएको छ । नेपाल राज्यका विभिन्न जिल्लाका कर्मठ भावुक युवा कविलाइ यसले राम्ररी छोएको छ । यसैले एकपछि अर्को हाइकु सङ्कलन नेपाली वाङमयमा थपिँदैछन् । आजको हाइकु-विस्फोट हेर्दा नेपाली साहित्यमा काव्य समृद्ध हुँदैजाने लक्षण सुस्पष्ट छ । यस लहरमा "हिउँको तन्ना" हाइकुसङ्ग्रह अगाडि आएको छ । कुष्ण बजगाईं साहित्यका सिद्धहस्त कवि हुन् भन्ने प्रमाण यस हाइकु सिर्जनाले प्रमाणित गरेको छ । कथाकार र नियात्राकारसमेत बजगाईं हाइकुकारमा उठेका छन् । बजगाईंका थोरै हाइकु सपाद देखिन्छन् भने धेरै हाइकु इमान्दारीसाथ बुनेर बजगाईंले बुलन्द बनाएका छन् । केही सेनरयो प्रकारका हाइकुले व्यङ्ग्य बलियोसँग बजारेका छन् ।

बुद्धको देश
बाघ भालु कुर्सीमा
मान्छे जेलमा ।

उभिई हेरेँ
सर्वाङ्ग नाङ्गै तिमी
संसदभित्र ।

मीठो हाइकु पस्किन साजिसभैँ देखिन्छन् बजगाईं । सौन्दर्यचेतले ओतप्रोत हाइकु छरपस्ट पार्छन् हिउँका तन्नामा ।
तिम्रो स्पर्शले
हिउँ समुद्र भयो
म काकाकुल ।

निर्मल पानी
धमिल्यायो हलीले
खेत बाँझै छ ।

पोखरी देख्यो
गहिराई नापेन
नामर्द रै' छ ।
कुलोको पानी
सुकेर गई हाल्यो
माछा फत्रक्कै ।
कवि कृष्ण बजगाईँमा सफल हाइकुकारको सुगन्ध मगमगाउन सुरु भइसकेको छ ।

तल भन्ज्याङ्ग
माथि साँगुरी डाँडा
साँघुरो बाटो ।

कसरी भयो
उसको आगमन
बन्द बाटोमा ।

निश्चल मन
ज्वारभाटा के उठ्यो
आयो सुनामी ।

थकित सूर्य
हिउँदमा चिढियो
बरफसँग ।

सल्लेरी वन
उकालो चढ्नु मािथ
चिप्लिँदै तल ।

साँगुरी डाँडा
तल चिउरीबास
ठिङ्ग धरान ।

हाइकुकार कृष्ण बजगाईँ नेपाली विम्बहरु पक्डेर मनका भावलाई गहिराईसम्म डुबुल्की मार्न सक्षम छन् भन्ने कुरा उनका निकै हाइकुले व्यक्त गर्छन् । प्रवासमा बसेर परिवेशलाई उन्न पनि उनी पछि परेका छैनन् ।
नाङ्गिए मान्छे
तातो घाम देखेर
प्यासी समुद्र ।

कालीको नाक
बेल्जियमको हिरा
घरै झलल ।

कविको दृष्टि सबैतिर पुग्छ तर विम्ब समाउन सक्नु खूबीकै कुरा हो । अनुभूतिकै कुरा हो ।
थकित सूर्य
रोकियो एक साँझ
क्षितिजमाथि ।

जादुको छडी
तिमीलाई नै सुम्पेँ
सम्हाली राख ।
हिउँका तन्नामा पानीका रेखाहरु छन् । बाँसुरीको धून छ । यस्तै मीठामीठा मोतिका दानाजस्ता सग्ला चमकदार हाइकुको माला बुन्दै जाने शुभकामनासाथ कृष्ण बजगाईंलाई प्रवासमा बसेर अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र यसको बेल्जियम च्याप्टरमा पनि वातावरण हाइकुमय बनाउने सफलतामा शुभेच्छा प्रकट गर्दछ । कतिपय पत्रिकाका सम्पादक र नेपाली कविताका पारखी पनि रहेका बजगाईंलाई सफल हाइकुकार भएकामा बधाई ज्ञापन गर्दछु । ऋतुचक्रमा हिउँको तन्ना सिर्जना भइरहोस् । हाइकुको प्यास मेटिरहोस् ।
काठमाण्डौं

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 फागुन, 2065

लेखकका अन्य रचनाहरु