बालसाहित्यमा स्रष्टा पुन्य कार्कीको योगदान

- नन्दलाल आचार्य

नेपाली साहित्यका कविता, कथा, निबन्ध र समालोचना जस्ता विधामा सुपरिचित नाम हो – पुन्य कार्की। उनले प्रौढ साहित्यका अतिरिक्त बाल साहित्यमा पनि कलम चलाएका छन्। बालसाहित्य जगत्मा उनका प्रकाशित कृति हुन्– (१) असल बन्छु (बालकविता सङग्रह–२०६३) (२) बलभन्दा बुद्धि ठूलो (बाल लोककथा सङ्ग्रह–२०६३) र (३) महान् व्यक्तिका प्रेरक प्रसङ्गहरु (जीवनी सङग्रह–२०६५)।
पेशाको दृष्टिकोणले स्रष्टा कार्कीले शिक्षणलाई रोजेका छन्। त्यसैले उनको कलम एक शिक्षकले विद्यार्थीलाई दिने आशीर्वचन जस्तो छ। उनले आफ्ना कृतिहरुमा आजका नानीहरुलाई असल बन्न भनेका छन्। जटिलभन्दा जटिल काम पनि बृद्धि पुर्‍याएर गर्न सके सजिलै फत्ते गर्न सकिने कथन अघि सारेका छन्। विश्व प्रसिद्ध व्यक्तिहरु आइजक न्युटन, ग्यालिलियो ग्यालिली, रविन्द्रनाथ ठाकुर जस्ताबाट प्ररेणा लिई नवीन कार्य गरी जीवन धन्य बनाउनुपर्छ भन्ने मत सार्वजनिक गरेका छन्। मुलभूत रुपमा स्रष्टा कार्की विकास र प्रगतिका पक्षधर छन्। आफूले जस्तो समय बिताएको छ, त्यसलाई टपक्क टिपी आफ्ना कृतिहरुमा समावेश गराएका छन्। उनले भागेको परिस्थितिको दस्तावेज नै उनका कृति हुन्।
१) असल बन्छुः अग्रगगतिको संवाहक : –असल बन्छु (बालकविता सङग्रह–२०६३) कवि पुन्य कार्कीको पहिलो बालसाहित्यको कृति हो। यस कृतिमा २२ वटा रसिला कविताहरु समाविष्ट छन्। यी सबै कविताहरुले कुनै न कुनै रुपमा आजका नानीहरुलाई ठोस ज्ञान दिन्छन्। कवि स्वयम्ले आफ्ना कविताका बारेमा मनग्यै बोलेका छन्। उनले भनेका छन् – त्यो क्रुर, कष्टपूर्ण अभावमा वितेको बाल्यकाल सम्झदा मात्र पनि आँखाहरु तरल बन्छन्। शोषण, दमन, उत्पीडन र भीषण गरीबी अनि बाल्यकालमै आमा गुमाउनु परेको पीडाबाट मर्माहत भएको मुटु अहिले पनि चस्सचस्स दुख्ने गर्छ। मेरो बालमस्तिष्कमा संचित तिनै दुखाइको अनुभूतिलाई संश्लेषण गर्दा यी कविताहरु जन्मिएका हुन्। मेरो अतित छाम्दा म भित्रको बालक सधैँ असल बन्ने धुनमा समस्याहरुसँग सिँगौरी खेलिरह्यो। कष्टहरुसँग अथक जुधिरह्यो । अनि मान्छेमान्छेको विभेदलाई नजिकबाट सूक्ष्म अनुभूत गरिरह्यो।
मोफसलमा रहेर पनि निरन्तर रुपमा साहित्यमा क्रियाशिल स्रष्टा कार्कीको माथिको कथन हृदयस्पर्शी छ। निश्चय नै सबैका लागि बाल्यकाल अविष्मरणीय र उर्वरककाल हो। बाल्यकालको स्मरण र अनुभूतिले मनलाई प्रफुल्ल बनाउनु स्वभाविक हो। कवि कार्कीले रोमाञ्चक हुँदै भनेका छन् –
आहा। साथी कति राम्रो
मैले टेक्ने माटो।
यै माटोमा बनेको छ
हामी हिँड्ने बाटो।
(माटो: पृष्ठ –८)
काम गर्ने बेलामा होसियार हुन प्रेरित गर्दै कविले गुनको उचित कदर गर्दै काम गर्ने गर्नु श्रेयस्कर हुन्छ भनेका छन् –
मह सधैँ खानलाई मौरी खुशी पार
मह काढ्ने बेलामा होऊ होशियार।
(मौरी : पृष्ठ–१२)
बालसुलभ क्रियाकलापका विविध तरङ्गहरु कवितामा देखिन्छन्। अनिकाले समयमा अनुभूति गरिने दुःखद क्षणलाई पनि सुखद पार्न सकिने उद्घोष गर्दै कविको कलम बोलेको छ –
अझै अनिकालमा त त्यसकै (कोदाको) पाक्छ लिटो
कुपुकुपु दालसँग चोबी खाँदा मीठो।
(कहिले चिईमुसी : पृष्ठ–१४)
बालबालिकाहरुका अनगिन्ती रहरहरु हुन्छन्। ती कुनै विवेकी हुन्छन् भने कुनै अविवेकी हुन्छन्। विवेक सम्मत रहरले नै उन्नतिको धरोहर बन्दछ। कविको कलमले पनि चन्द्रसूर्य अंकित नेपाल र नेपालीको गर्विलो राष्ट्रिय झण्डालाई संसारकै सर्वोच्च ठाउँमा पुर्‍याउने रहर बोकेको छ। कोशी र कर्णाली जस्ता जलसम्पदाको भण्डार भएका नदीहरुको जल तराईका कुनाकाप्चामा पुर्‍याउने रहर साँचेको छ। समग्रमा नेपालीको अवनतिको खाडल पुर्ने चाहना साँचेको छ।
मेरो कानहरुमा, चन्द्रसूर्यका टपले, सजाउने रहर
सगरमाथा शिखरमा, प्यारो झण्डा, फहराउने रहर।
कोशी र कर्णालीलाई नहर पैनी बनाई, तराई तराई डुलाउने रहर
सबै फुचुमुने आँखाहरुमा, लालीगुराँस, फुलाउने रहर।
(रहरः पृष्ठ–१६)
परिश्रम नै जीवनको परिचय हो। महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्यहरुले परिश्रम गरे। त्यसैले जीवन धन्य बनाए। शेक्सपियर जाडो भयो भन्दै आगो तापेर बस्थे वा शेली मोजमस्तीको जीवनमा नै भुलिन्थे भने अवश्य उनीहरुको नाम र काम उहिल्यै हराएर जान्थ्यो। तर उनीहरुले परिश्रम गरेका छन्। युगौंयुगका लागि जीवित छन्। यस्तै कमिलाको परिश्रमी जीवन चर्याबाट पाठ सिकेर न्यायका साथ जीवन गुजार्न आह्वान गर्दै कविता बोल्छ–
अन्यायलाई नसहने, कति राम्रो बानी
आप्नो जातलाई माया गर्ने ममताको खानी।
मेरो साना फुचुमुने भाइबहिनीहरु।
पढौं, सिकौं, गुनौं कमिलाको जीवनीहरु। (कमिलाः पृष्ठ–२६)
देश सामन्तहरुको जालोमा बेरिएको छ। काम गर्नेले उचित दाम पाएको छैन। सामन्तहरु मोटा छन्। गरिब गुरुवाहरुलाई थिच्छन्। थिचिनेहरुमा मेरी आमा पनि थिइन् भन्ने सम्झना गर्दै कवि कार्कीको कलमले हृदयविदारक कथन अघि सारेको छ–
मेरी आमा आँसु पिई, खुशी छर्द छिन्
दिनभरि मुखियाको, काम गर्दछिन्
बनी दिन्छन् चार माना, कुहेको कोदो
आफू नखाई अरुलाई खुवाउने कत्रो धोको
मेरो जाडो देखेर, गुन्यु च्यातिछिन्
गुन्युको कमेज बनाई मलाई छोपिछिन्
कठै, मेरी आमा, ममताकी खानी
भन्न मन लाग्छ मलाई, झुपडीकी रानी।
(मेरी आमा : पृष्ठ –२८)
ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा जनताको ज्यूधनको सुरक्षा थिएन। जो पनि जहाँ सुकै ठहरै हुन सक्थ्यो। सुरक्षा गर्ने नाममा रक्षकहरुले नै जनताको भक्षण गरेका अनगिन्ती उदाहरणहरु छन्। घरमा पनि जनता सुरक्षित थिएनन्। वन पसेका जनता त घरबाट लखेटिएका त थिए, उनी सुरक्षित हुने कुरै आउँदैनथ्यो। बेसाहा खोज्न घरबाट निस्केका र बेसाहा खोजी ल्याउने क्रममा सुरक्षाकर्मीको कार्वाहीमा परेर मृत्यु वरण गर्न पुगेका दुई दाजुहरुको कारुणिक प्रसङ्गलाई कवितात्मक (काव्यात्मक) रुप दिई कविले बालबालिकालाई तत्कालिन समयको बोध गराएका छन्। कविता भन्छ –
तेरा दाजु मेरा दाजु, बेसाहा खोज्न गए
बेसाहा खोजी आए, घरमुनि चौताराको ढुंगामा बिसाए।
खकन नाम्लो मिलाए, त्यतिखेर चारैतिर पुलिसले धेर्‍यो।
बाइनाकुलर मिलाएर, छाती ताकी हेर्याे।
झटपट बन्दुक सोझ्याई, गोली ठोक्दा भए
लासहरु घिसारे, ढुड्गामा सुकाए।
गाउँबाट एकजोर मान्छे, चिलले लग्यो हा हा।
(चिई मुसी चिई : पृष्ठ –३०)
बालकवितामा पनि विद्रोह देखिन्छ। देशमा जाली फटाहाहरु भए तिनीहरुबाट देशलाई बचाउनुपर्छ भन्ने मत अघि सारिएको छ। बाधा अड्चन फाड्दै अघि बढे न्यानो घाम लाग्छ अर्थात् समुन्नति भेटिन्छ। यिनै भाव प्रक्षेपण गर्दै कविको कलम भन्छ–
गोठरुपी देशमा आज, जाली ब्वाँसो पस्यो
बस्तुभाउको आँखाभरि, कालो ध्वाँसो घस्यो।
काँढा फँाडी ब्वाँसो मारी, न्यानो घाम लाग्ला
मुटु सेक्ने तीखो जाडो, देशबाट भाग्ला।
(रोप्न सके पसिना : पृष्ठ–४२)
कविताले मुक्तिको मार्ग पनि देखाएका छन्। विना संघर्ष, विना त्याग, विना परिश्रम र विना मेलमिलाप फल पाइन्न। वैरीलाई परास्त गर्ने स्वभाव आफूसँग हुनुपर्छ। कायर बन्न जीवनकै दुर्भाग्य हो। स्वाभिमानी शिर लिएर सधैँ चंख बन्नुपर्छ। यिनै भाव प्रेषणमा कविले शब्द खर्चेका छन्। कविता भन्छ –
नठेलेमा मुक्तिको, ढोका उघि्रन्न
लापरवाह गर्दाखेरि, बानी सप्रन्न।
खोसिएको हक लिनलाई जुट्नुपर्छ अरे
जनता पिर्ने वैरीलाई, चुट्नुपर्छ अरे।
(चंगा हुनुपर्या : पृष्ठ–२४)
कालोपाटी शिक्षक र विद्यार्थीको सहयोगी सामग्री हो। यसको सही उपयोग भए ज्ञानगुनको कुरा भेटिन्छ। ज्ञानले गर्दा विद्वान् बनिन्छ। कविता बोल्छ –
ज्ञानगुनको विस्कुनलाई मेरै आङमाथि
फिँजाएर ज्ञानी बन्छन्, तिम्रा धेरै साथी।
(कालोपाटीः पृष्ठ–४)
कवि कार्कीका बालकविता रसिला र माधुर्यपूर्ण छन्। कतैकतै भाव खजमजिएको पनि भेटिन्छ। दोष रहित कविता छन् भन्न मिल्दैन। कलिला नानीहरुको दिमाखमा चुट्ने, पिट्ने र मार्ने कुरा प्रवेश नगराउनु नै वेस हुन्छ।
यस कुराको पृष्टिका लागि एकाध उदाहरण तल पस्किएको छ।
तिमी पनि ज्ञानी बन अक्षरहरु पढी
मलाई वास्ता नगर्दामा पाउँछन् सबले छडी।
(कालोपाटीः पृष्ठ–४)
यहाँ नानीहरुले छडी पाउँछन् भनेर त्रास देखाइएको छ। शिक्षकले त्रासयुक्त वातावरण बनाउनुहुन्न भन्ने शैक्षिक मान्यतालाई यहाँ भुल्न पुगिएको आभाष हुन्छ। जनता पिर्ने बैरीलाई, चुट्नुपर्छ अरे यहाँ उल्लेख भएको चुट्नुपर्छ ले बैरीलाई खेदो गर्नुपर्छ भन्ने संदेश संचार गरेको छ। बैरीलाई पनि असल बनाउन पट्टि ध्यान लग्नु पर्ने हो किनकि यी कविता बालकका लागि हुन्। मान्छे मारेको ज्यूँदो तस्विर कवितामा अटाइएको छ। समाजमा भएका नकारात्मक पक्षबाट आजका नानीलाई टाढै राख्न सके मात्र आजका बालबालिकाको भविष्य निर्माण गर्न सकिन्छ। यस कुरालाई कविले भुसुक्कै भुलेर सत्य उद्घाटन गर्न पुगेका छन् जसले बालमस्मिष्कमा नकारात्मक प्रभाव पार्न सक्छ। देवकुमारी थापाको भविष्यनिर्माण कथाले पनि यही भन्छ। कवि कार्कीको चिई मुसी चिई यथार्थको ऐना भए पनि बालबालिकाका निम्ति भने मनमा आघात पुर्‍याउने खालको छ। कवितामा चित्रहरु छन्, शुभ संकेत हो। ती चित्र त्यत्ति सुन्दर देखिन्न। अझै सुन्दर भइदिएका भए वेश हुन्थ्यो भन्नु तर्कयुक्त होला। यत्ति कमी हुँदा पनि बढ्ता गुणले कविता संग्रह अग्रगतिको संवाहक बनेको छ।
२) बलभन्दा बुद्धि ठूलो : होशको ओखति : बलभन्दा बुद्धि ठूलो (बाल लोककथा सङ्ग्रह –२०६३) मा ३ वटा लामालामा लोककथा छन्। लामदन्ते र भुसुनो कथामा भुसुनाहरु मिलेर लामदन्ते नाम गरेको शक्तिशाली हात्तीलाई हायलकायल पारेर राज्यबाटै भगाएको कथा वर्णित छ। यसबाट के पुष्टि हुन्छ भने होसका साथ एकताबद्ध भएर काम गरे गन्तव्यमा पुग्न कहर काट्नुपर्दैन्। बाधा अड्चन सजिलै हटाउन सकिन्छ। अर्को कथा हात्ती र झँगोमा फिस्टो काग, झँगा र भ्यागुतो मिली हात्तीलाई भिरबाट खसाउन सफल भएको कथा वर्णित छ। अर्को अर्थात् तेश्रो कथा हो – सियोको शिकारयात्रा। यस कथामा सियो, भट्मास, अरिँगाल, सिस्नो, गोबर, फर्सी र बन्दुक जस्ता ७ वस्तु मिली एक शक्तिशाली जन्तुको शिकार गरेको रोचक कथा छ। यी तीनै कथामा बुद्धि पुर्‍याएर काम गर्नेले सफलता भेट्छ भन्ने संदेश दिइएको छ। जसका लागि एकताबद्ध हुनु जरुरी छ। यी लोककथा भएकाले अहिलेको हाम्रो सांसारिक जगत्सँग मेल खाँदैनन्। तर पाठ सिकाउन भने प्रयाप्त छन्। यी कथाहरु १३–१४ वर्षका बालबालिकालाई लक्षित गर्दै लेखिएका हुन्। कथा पिच्छे धेरै तस्विर छन्। चित्र मध्यम दर्जाका छन्।
३) महान् व्यक्तिका प्रेरक प्रसहरु : प्रेरणाको दस्तावेज : महान् व्यक्तिका प्रेरक प्रस्नहरु (जीवनी सङ्ग्रह –२०६५) मा ३५ जना विश्वप्रसिद्ध व्यक्तिको जीवनका प्रेरक प्रस्नहरु समेटिएको छ। फोटाहरु समेत दिइएका कारणले अझ ज्ञानबर्द्धक देखिन्छ। १३–१४ वर्षका नानीहरुलाई लक्षित गरिएको यस जीवनी संग्रहको भाषामा भेटिने मीठासपनले मनलाई तान्दछ। प्रेरक कुराहरुले मन नखाने त प्रश्नै आउँदैन। यसरी बालसाहित्यमा स्रष्टा कार्कीको उपस्थिति गहकिलो भएको सावित हुन्छ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 फागुन, 2065

लेखकका अन्य रचनाहरु