सर्वोच्च प्रतियोगी

- धीरकुमार श्रेष्ठ

अन्तर्राष्टि्रय प्रतिस्पर्धाहरूमा प्रतियोगीहरू पठाउँदा जहिले पनि खेलकुद परिषद्लाई नातावाद, फरियावाद, कृपावाद, भनसुनवाद्, आर्थिक लेनदेनवाद आदिजस्ता आरोप लाग्ने गरेका थिए। त्यस कारण यस पटक यस्ता आरोप नलागून् र योग्य खेलाडी छानिऊन भनी परिषद्ले एउटा स्वतन्त्र छनौट समितिको गठन गर्‍यो। समितिले छनौट प्रणालीलाई पारदर्शी र भरपर्दो पार्नाका लागि रङ्गशालामा एउटा राष्ट्रव्यापी प्रतियोगिताको आयोजना गर्‍यो। प्रतियोगितामा भाग लिनाका लागि योग्यता र नागरिकताबाहेक अरू कुनै वादसम्बन्धी योग्यताको आवश्यकता थिएन। यस कुराको सूचना सम्पूर्ण देशवासीलाई सञ्चार माध्यमको उपयोग गरी गराइयो। यसैले रङ्गशालाका सारा दर्शकदीर्घा खचाखच भरिएका थिए।
प्रतियोगीहरूको उपस्थिति पनि मैदानमा उल्लेख्य थियो। कुनै वादसम्बन्धी योग्यता नभएका हरू यस पटक मैदानमा देखिन्थे। आयोजनको कार्यक्रम थियो लामो दूरी दौड्ने धावकको छनौट गर्ने। धावकहरू आआफ्ना लेनमा तम्तयार थिए। उनीहरू रेफ्रीको इसारा पर्खिरहेका थिए। तिनीहरूको तम्तयार अवस्थालाई देख्ता लाग्थ्यो तिनीहरू दौड्नाका लागि नभई उड्नाका लागि त्यहाँ आएका हुन्। दर्शकहरू पनि आआफ्ना ठाउँबाट उठी मच्चीमच्ची ताली पिट्दै थिए र धावकहरूलाई हौसला दिँदै थिए। यस्तैमा रेफ्रीको सिठीसँगै तिनीहरू दौड्न थाले। छरिता प्रतियोगीहरू अगाडिअगाडि दौडिन थाले भने दौडिन नसक्नेहरू पछाडि पर्न थाले। सबभन्दा पछाडि पर्नेमध्ये एकजना भद्दा शरीरका थिए। रङ्गशालको ट्रयाकमा अरूहरूले पहिलो परिक्रमा गरिसक्ता नै उनी पछाडि परेका थिए। अरू धावकहरूले दोस्रो परिक्रमा पूरा गरिसक्न आँट्दा उनको पहिलो परिक्रमा मुस्किलले पूरा हुन आँटेको थियो। यसैले उनको र ती अरू धावकहरूको दौड लगभग सँगसँगै भइरहेको थियो। दौडेर प्रतियोगिता जित्ने कुनै संभावना नभएपछि उनी आफूभन्दा अगाडि दौडिन खोज्ने धावकहरूलाई छिर्किनी लगाउन थाले। उनीभन्दा अगाडि दौडिनुपर्ने धावकहरू उनीछेउ पुग्नासाथ भकाभक ढल्न थालेपछि दर्शकहरू अचम्ममा परे। त्यसपछि दौडिनुको साटो हात्तीझैँ लमकलमक लम्किदै उनले बाँकी दौड एक्लै पूरा गरे।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 फागुन, 2065

लेखकका अन्य रचनाहरु