कुन्देराका कवि र सम्पादक

- चंकी श्रेष्ठ

किताब मेरा लागि आत्मनिर्वासनको सर्वोत्तम माध्यम हो । हालसालै मैले बीसौँ सताब्दीका महान् उपन्यासकार मिलान कुन्देराको 'लाइफ इज एल्सह्वेर' दोहोर्‍याएँ । दुई सय ६१ पृष्ठको यस उपन्यासले संवेदनशील पाठकलाई त्यसको चौबर किलोग्रामबराबरको बक्सिङ हिर्काउँछ । कुन्देराको विशेषता के हो भने उनी कथावस्तुलाई बेजोड हास्यात्मक बनाउँछन्, त्यसमा रुचिकर भाषाशैलीको जलप लगाउँछन् र पाठकमा अनुपम कौतुहल जगाउँछन् ।

कुन्देराको लेखनमा त्यो शक्ति छ जसले हरेक वर्गका पाठकको मर्मलाई छुन्छ । उनका धेरैजसो आख्यानमा चेकोस्लोभाकियाको तत्कालीन समाजवादमा व्याप्त 'जडता'को खिल्ली उडाइएको छ जुन त्यसबेला ठूलो विवादको विषय बन्यो । त्यसबाट प्रभावित जीवनका यावत् तरंग उनका सिर्जनामा छताछुल्ल पाइन्छन् । यस कारण उनका उपन्यासलाई समाजवादविरोधी पनि भनिएको छ । किशोरवयमै सन् १९४८ मा उनी चेक कम्युनिस्ट पार्टीको सदस्य बने । पार्टीविरोधी गतिविधि गरेको आरोपमा १९५० मा अर्का प्रसिद्ध स्रष्टा जान ट्रेफुल्कासँगै निकालिए । ट्रेफुल्काले ह्यापिनेस रेन्ड अन देम (१९६२) तथा कुन्देराले द जोक (१९६७) मा यही घटनालाई मूल विषय बनाए । सन् १९५६ मा कुन्देराले फेरि पार्टी प्रवेश पाए । सन् १९७० मा फेरि निकालिए । सन् १९७५ देखि उनी पेरिसमा छन् । विडम्बना, समाजवादको पतनसँगै चेकोस्लोभाकिया दुई टुक्रा भएको छ ।
विवाद आफ्नो ठाउँमा छ, तथापि उनको वर्णनशैली र आख्यानको आकर्षण अनुपम छ । सन् १९२९ मा तत्कालीन चेकोस्लोभाकियामा जन्मेका कुन्देरा त्यस्ता लेखक हुन् जसको नाम बर्सेनिजसो नोबेल पुरस्कारका लागि मनोनीत हुन्छ र अन्त्यमा पाखा लाग्छ । यसपालि पनि उनीलगायत थुप्रैलाई पाखा लगाएर फ्रान्सका जँ मेरी गुस्ताभले यो पुरस्कार जिते । कुन्देराकै निगरानीमा फ्रान्सेलीबाट आरोन असरद्वारा अंग्रेजीमा अनुदित यस उपन्यासमा होनाहार एक युवाकविको उत्साह र अनुरागात्मक प्रेमको त्रासदी छ । युरोपेली प्रमुख गीतिकवि शेली, लेर्मोन्तेभ, किट्स, मायाकोब्स्की, वल्कर, रिम्बाड आदिको जीवनसँग तुलना गरिएको छ । दसैं-तिहार साहित्यका रूपमा नयाँ पत्रिकाका पाठकका लागि प्रस्तुत छ, उपन्यासका दुई प्रसंग अनुवाद जुन धेरै हदसम्म हाम्रै सन्दर्भसँग मेल खान्छन् ।

***

'कसलाई खोज्नुभएको हो ?' सिटमा बसिरहेको दुब्लो चस्मावालले सोध्यो ।
जेरोमिलले आफ्नो नाम बतायो । 'के काम थियो कुन्नि ?' सम्पादकले फेरि सोध्यो । जेरोमिलले एकपल्ट फेरि ठूलो र बुझिने स्वरमा आफ्नो नाम बतायो । सम्पादकले व्यंग्यपूर्वक भन्यो, 'यहाँलाई भेट्दा खुसी लाग्यो । तर, मलाई थाहा हुनुपर्‍यो नि, मैले गर्नुपर्ने सेवा के हो ?'

जेरोमिलले पत्रिकाका लागि केही कविता पठाएको थियो र त्यहाँबाट भेटघाटका लागि आउन निमन्त्रणा पाएको थियो । सम्पादकले कविता हेर्ने व्यक्ति बाहिर गएको बतायो । जेरोमिलले अपसोच प्रकट गर्‍यो र सोध्यो, 'मेरा कविता कहिले छापिएलान् ?'
सम्पादकले धैर्य गुमायो । मेचबाट उठेर उसले जेरोमिलको पाखुरा तान्दै ठूलो दराजतिर लग्यो । दराज खोलेर अव्यवस्थित तरिकाले थुपारिएको कागजको चाङ देखायो । 'प्यारे, प्रत्येक दिन औसतमा दर्जन नयाँ कविका कविता प्राप्त हुन्छन् । भन्नोस्, एक वर्षमा त्यो कति पुग्ला ?'
'म कसरी भनँू ?' जेरोमिलले दिक्क मान्दै भन्यो ।

'प्रत्येक वर्ष चार हजार तीन सय ८० नयाँ कवि जन्मन्छन् । के तपाईं विदेश जान चाहनुहुन्छ ?'
'अवश्य !'
'त्यसो भए लेख्न नछाड्नुस्,' सम्पादकले भन्यो, 'म विश्वस्त छु, ढिलो-चाँडो हामी कविलाई विदेश निर्यात गर्न सक्षम हुनेछौँ । अरू देश प्राविधिक, इन्जिनियर, गहुँ, कोइला आदि निर्यात गर्छन्, तर हाम्रा मूल स्रोत गीतिकवि हुन् । चेक गीतिकविहरूले विकासशील देशमा गीतिकविता स्थापित गर्नेछन् । कविहरूको सट्टामा हामीचाहिँ नरिवल र केरा प्राप्त गर्नेछौँ ।'
('द पोएट इज जेलस'को पाँचौं अध्यायको अंश अनुवाद ।)

***

त्यो दिन ऊ चालीसवर्षेसँग आफूले चाहेभन्दा बढी समय बसेकी थिई र प्रेमीका लागि ढिलो भइरहेकी थिई । प्रेमी अपमानित भएको थियो । केटीले उसलाई मनाउन त्यतिकै गम्भीर निहुँ बनाउनुपर्ने महसुस गरी । त्यसैले गोप्य रूपले देश छाड्न लागेको दाजुसँग अलि बढी बस्नुपरेको झूटो कथा बनाई । प्रेमीले दाजुलाई पक्राउन दबाब देला भन्ने उसलाई पटक्कै लागेको थिएन ।

भोलिपल्ट ऊ सल्लाहका लागि अफिसबाट सोझै त्यो चालीसवर्षेकहाँ पुगी । चालीसवर्षे समझदार र मित्रवत् थियो । उसले केटीलाई कुरा नफेर्न सल्लाह दियो । 'धेरै सम्झाएपछि दाइले देश छाड्ने निर्णय फिर्ता लिएको भन्नू,' उसको सुझाव थियो । त्यो नाटकीय दृश्य कसरी वर्णन गर्ने भन्नेबारे उसले राम्ररी बतायो । केटीले प्रेमीलाई भन्नुपर्ने थियो, 'हाम्रो परिवारको अप्रत्यक्ष मुक्तिदाता वास्तवमा तपाईं नै हो । तपाईंले हस्तक्षेप नगरेको भए दाइ सीमा प्रहरीद्वारा पक्राउ पर्नुहुन्थ्यो । के थाहा, उहाँलाई मारी पो दिन्थे कि !'
'त्यो दिन प्रेमीसँग कसरी कुरा टुंगियो त ?' चालीसवर्षेले सोध्यो ।

'मैले कहाँ कुरा गर्न पाएँ र ! तपाईंसँग भेटेर र्फकंदा पुलिसले समातिहाल्यो नि ! तिनीहरू मेरो डेरा अघिल्तिर पर्खिरहेका थिए ।'
'ए त्यसो भए ऊसँग फेरि बोल्ने मौका नै पाइनौ ?'
'अँ हँ !'
'तर, त्यसपछि उसबारे पक्कै तिमीलाई थाहा होला ।'

'अँ हँ !'
'साँच्ची तिमीलाई थाहा छैन ?' चालीसवर्षेले सोध्यो ।
'मलाई केही थाहा छैन ।' केटीले कुम यसरी हल्लाई मानाँै ऊ यसबारे जान्न इच्छुक थिइन ।
'ऊ मर्‍यो,' चालीसवर्षेले भन्यो, 'तिमी पक्राउ परेको केही दिनमै ।'
केटीलाई के थाहा हुनु, किनभने प्रेमीले नै चुक्ली लाएर उसलाई थुनाइदिएको थियो । उसलाई टाढाबाट प्रेमीको आवाज आएजस्तो लाग्यो जसले प्रेम र मृत्युलाई एउटै तुलोमा जोखेको थियो ।
'आत्महत्या गरेको हो ?' केटीले नरम स्वरमा सोधी जुन एक्कासि माफी दिन तयार भएझैँ लाग्थ्यो ।

चालीसवर्षे फिस्स हाँस्यो । 'होइन, ऊ बिरामी पर्‍यो र मर्‍यो । त्यसपछि उसकी आमाले त्यो घर छाडिन् । अब त्यहाँ तिनीहरूको कुनै निशानी छैन । चिहानमा कालो ठूलो मूर्तिबाहेक केही छैन । ठूला लेखकहरूको चिहानढुंगाजस्तै आमाले त्यहाँ लेखाएकी छिन्, यहाँ छ कविको बास । उसको नाममुनि 'श्रद्धाञ्जली' शीर्षकको उसको कविता छ जुन तिमीले एकपल्ट यहाँ ल्याएकी थियौ र त्यसमा उसले आफू आगोमा होमिएर मर्न चाहेको लेखेको थियो ।'

तिनीहरू मौन भए । केटी सोचिरहेकी थिई, उसको प्रेमीले आत्महत्या गरेको थिएन र त्यो सामान्य मृत्यु थियो । हरे अब त त्यसको मृत्युले पनि केटीलाई जिब्रो देखाइदिएको थियो । जेलबाट छुट्नेबित्तिकै उसले सोचेकी थिई, अब त्यसलाई कहिल्यै भेट्नेछैन । तर, त्यो मरिसक्यो भन्ने उसलाई के थाहा ! त्यो जिउँदो छैन भने ऊ जेल बसेको समय पनि अब जीवित रहेन ।
('द म्यान इन हिज फोर्टिज'को अध्याय ८ र ९ को अंश अनुवाद ।)
नयाँ पत्रिका

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 फागुन, 2065

लेखकका अन्य रचनाहरु