नियात्रामा नयाँ रङ

- शार्दूल भट्टराई

युरोप सुन्दर छ। त्यहाँको कुरुपतालाई त्यहीँको सौन्दर्यले लुकाएको छ। युरोप सम्पन्न छ। त्यहाँको विपन्नतालाई त्यहीँको सम्पन्नताले किचेको छ। युरोप समृद्ध छ। त्यहाँका अभावहरुलाई त्यहीँको समृद्धिले थिचेको छ। युरोप शान्त छ। त्यहाँको अराजकता र अशान्तिलाई त्यहीँको कडा सुरक्षा र नियमकानुनले बाँधेको छ।
युरोप घुमेर आउनेहरुको अनुभव र प्रतिक्रिया यस्तै सुनिन्छ। सवैको यस्तै नहोला। तर धेरैको यस्तै सुनिन्छ। शायद, ईशान गौतमले पनि यस्तै खालको अनुभव र अनुभूति सँगालेका छन्। उनको नियात्रा कृति 'मयालु बतास अनि रङहरु' पढ्दा यस्तै महसुस हुन्छ।
विद्यावारिधि गर्न अष्ट्रिया पुगेका ईशान गौतम विद्यावारिधिको उपाधिमा डा.ईशान मात्र बनेर फर्किएनन्, उनी आफ्नो मन र मस्तिष्कमा एउटा कृति पनि लिएर फर्किए। उनको मन र मस्तिष्कमा रहेको त्यही कृति प्रकाशित भएर सार्वजनिक बनेको छ –'मायालु बतास अनि रङहरु' शीर्षकमा।
ईशान कीटविज्ञानमा विद्यावारिधि गर्न विद्वतवृत्ति प्राप्त गरी अष्ट्रियाको भियना पुगेका थिए। तर आफ्नो अध्ययनको क्रममा उनी अष्ट्रियाको भियनामा मात्र रहेनन्। उनी जर्मनी,इटली ,बेलायत, स्लोभानिया, क्रोएसिया जस्ता मुलुकमा पनि पुगे। उनले धेरै कुरा देखे र भोगे पनि। प्रशस्तै नयाँ अनुभवहरु पनि बटुले। अध्ययन भ्रमणका क्रममा विभिन्न ठाउँमा पुग्दाका तिनै घटना,अनुभव र अनुभूतिलाई यो कृतिमा उतारेका छन् ईशानले।
यो पुस्तकमा लेखकको युरोप यात्राका क्रममा लेखककै अध्ययनसँग जोडिएका प्रसङ्गहरु छन्। पुस्तकमा लेखक छन्, विभिन्न देशका विभिन्न ठाउँहरु छन्, विभिन्न चरित्रहरु छन्, विभिन्न समाजका विविध विशेषताहरु छन्, प्राकृतिक सौन्दर्यहरु छन्, अनेक खालका संस्कृति र संस्कारहरु छन्। लेखक प्राकृतिक सौन्दर्यसँग मजासँग खेलेका छन्। नयाँनयाँ ठाउँहरुमा भुलेका छन्। ठाउँठाउँको रहनसहनसँग रमाएका छन्। तैपनि आफ्नो उद्देश्यमा भने गम्भीर बनेका छन्। आफ्ना बौद्धिक प्रस्तुतिहरुमा सक्रियतापूर्वक लागेका छन्। आफ्नो प्रमुख उद्देश्यमा सफलता प्राप्त गरेका छन्। आफ्नो संस्मरणात्मक अभिव्यक्तिलाई आफ्नै विद्यावारिधिको सेरोफेरोको यात्राका अनुभवहरुमा रोचक पारामा लिपिबद्ध गराएका छन्।
यात्रा आफैंमा रमाइलो हुन्छ। यात्राको रमाइलोकै कारण यात्रा साहित्य पनि एउटा रोचक विधाका रुपमा लोकप्रिय रहेको छ। त्यो रोचक विधाको मर्म र मान्यतालाई आफ्नो कृतिमा स्थापित गर्ने काम ईशानले गरेका छन्।
यात्रा साहित्य आख्यानात्मक हुनसक्छ, वर्णनात्मक हुनसक्छ, विवरणात्मक पनि हुनसक्छ। यात्राका अनुभव र अनुभूतिलाई कुन ढङ्गमा,कुन स्तरमा र कुन शैलीमा प्रस्तुत गर्ने र कतिसम्म प्रभावशाली बनाउने भन्ने कुरा लेखकमै भर पर्ने कुरा हो। त्यो लेखकको सिर्जनात्मक क्षमता र शैलीमा निर्भर गर्ने कुरा हो। ईशान गौतमले आफ्नो भ्रमणका अनुभव र अनुभूतिलाई रोचक किसिमले प्रस्तुत गरेका छन् यो नियात्रा कृतिमा। लेखकले यो कृतिमा आफ्नो सिर्जनात्मक क्षमताको प्रदर्शन राम्रैसँग गरेका छन्।
यात्रा साहित्यमा निजात्मकताको जति महत्व हुन्छ, निर्वैयक्तिकताको पनि त्यतिकै महत्व रहन्छ। लेखकको आफ्नै मात्र एकालाप पाठकलाई मन पर्दैन भने लेखकको उपस्थिति विनाको सामाजिक वर्णनले पनि यात्रा साहित्यको विशिष्टतालाई कमजोर बनाउँछ। ईशान गौतम यी दुवै कुरामा सचेत भएर प्रस्तुत भएका छन् यो कृतिमा। उनको उपस्थितिसँगै सामाजिक घटना र अनुभव–अनुभूतिहरु प्रस्तुत भएका छन्। आफूलाई समाजसँग भिजाउन र समाजलाई आफ्ना अनुभूतिहरुमा उभ्याउन सिपालु देखिएका छन् ईशान।
कतिले यात्रा साहित्यलाई अतिशयोक्ति र आत्मप्रशंसाको माध्यम बनाउने गरेका छन्। तर ईशान त्यो कुराबाट टाढा छन्। उनले देखेको र भोगेको कुरालाई कृतिमा उतारेका छन्। उनको यो कृति पढ्दा अतिशयोक्ति र आत्मप्रशंसाको अनुभव कतै पनि हुँदैन।
यात्रा साहित्यको प्रभावशालिता यात्रामा पनि निर्भर गर्छ। यात्रा जस्तोसुकै होस्,त्यसको प्रस्तुतिमा पनि निर्भर गर्छ। यात्रा सामान्य पनि हुनसक्छ। विशेष वा अविस्मरणीय पनि हुन सक्छ। यात्रा सामान्य रहँदैमा यात्रासाहित्य पनि सामान्य नै हुन्छ भन्न सकिन्न। यात्रा विशेष वा अविस्मरणीय हुँदैमा यात्रासाहित्य पनि विशेष हुन्छ भन्न सकिन्न। यो लेखकको कलाकौशल र क्षमतामा भर पर्ने कुरा हो। यात्रा सामान्य खालकै रहे पनि लेखकले आफ्नो कल्पनाशीलता,प्रस्तुतिकरण र शिल्पशैलीबाट त्यसलाई रोचक बनाउन सक्छ। यात्रामा कुनैअविस्मरणीय ठाउँ वा घटनाप्रसङ्गहरु भए भने त्यो यात्रा आफैंमा महत्वपूर्ण बन्नजान्छ। त्यस्तो यात्रालाई लेखकले आफ्नो कलात्मक क्षमतामा प्रस्तुत गर्दा त्यसले प्रभावशाली यात्रासाहित्यको स्वरुप प्राप्त गर्छ। ईशान गौतमको यो नियात्रा कृतिमा कतिपय प्रसङ्ग र अनुभवहरु सामान्य लाग्छन् भने कतिपय अविस्मरणीय रहेका छन्। त्यस्ता अनुभव र प्रसङ्गहरुलाई लेखकले रोचक ढङ्गले प्रस्तुत गरेका छन्।
ईशान गौतम कल्पनाशील छन्। उनको कलात्मक चेतना राम्रो छ। उनमा राम्रो अभिव्यक्ति कला छ। सरल र सरस लेखनशैलीको क्षमता छ। तर पनि उनले यो कृतिको केही ठाउँमा अभिव्यक्तिलाई अनावश्यकरुपमै जटिल बनाएको महसूस हुन्छ। शब्द र वाक्यको जटिलताले अभिव्यक्तिको अर्थ नै अन्धकारमा परे झैं लाग्छ। जस्तै उनी एकठाउँमा लेख्छन्–“स्खलित स्वरहरु उद्भ्रान्त बादलका। अश्रुधार। हावा। झङ्कृत हुन्छ तुमुल रवले भूमण्डल। दिगन्तमा गुञ्जिन्छ विपुल विद्युत्वाणी। एकक्षण उद्भासित हुन्छन् पहाडहरु। विस्तारहरु।”
यस्ता अभिव्यक्तिको प्रयोग ठाउँठाउँमा भएको छ। सरल ढङ्गले अभिव्यक्त गर्न सकिने प्रसङ्गलाई समेत क्लिष्टरुपमा प्रस्तुत गरेको पाइन्छ। संस्कृत शब्दहरुको प्रयोग आवश्यक नहुँदानहुँदै पनि प्रयोग गरिएको छ। संस्कृत शब्दहरुको प्रयोगका क्रममा कतैकतै शब्द नै विग्रिएको पनि पाइन्छ।
केही कमजोरी रहे पनि ईशान गौतमको यो नियात्रा कृति पठनीय रहेको छ। आधुनिक युरोपको यात्रालाई एउटा कृतिमा उतारेर नेपाली नियात्रा साहित्यमा नयाँ रङ थप्ने काम ईशान गौतमले गरेका छन्।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 6 फागुन, 2065

लेखकका अन्य रचनाहरु