प्रश्नचिन्ह बाहिर

- गोपाल पराजुली

म तिम्रो र मेरो

सम्बन्धको वर्णन गर्न

फेरि यसरी उभिएको छु

कि तिमीले जमिन दिएपछि

म उभिनु जरुरी थियो

एउटा साथी

अर्को साथीको बीच

एउटा पुत्र

पिताको बीच कसरी उभिन्छ

त्योभन्दा फरक हुन्छ

तिमी र म साथी हुन

धेरै शब्दले मद्धत गरेका छन्

सबभन्दा डरलाग्दो शब्द

'युद्ध' लाई हामीलेे

एकै साथ

सबभन्दा फरक ठाउँबाट

घृणा गर्‍यौँ

भूगोलका दुई छेउमा उभिएर

एक ठाउँमा आवाज पुर्‍याउनु

सहज कुरा थिएन

तर हामीले

शान्ति मागिरहेका मानिसहरूको

समर्थन पायौँ

र, यो संसारसँग

सम्बन्ध स्थापित गर्‍यौँ

यो कुरा हो

एक अर्कासित नजिक आउन सक्ने

गुणहरू भएर नै

तिमी र म

संसारबाट एउटै परिचयमा

समर्थित भएका हौँ

यो पापी र दृष्टहरू भएको संसारमा

हामी कसरी जोडियौँ

र, पछि कसैगरी नटुट्ने गरेर बाँधियौँ

सबभन्दा ठूलो कुरा त्यो हो

म तिमीप्रति आवश्यक भर

र, तिमी मप्रति आवश्यक भरले

समर्थित हुनु

यो एक्लै पाप गरिरहेको

संसारका लागि चुनौती हो

कष्टहरूको बीचमा कैद

हामीले गरेको निर्णय

वैध हो

र, हामीले आफूलाई मुक्त गर्ने सपना लिएर

यो संसारमा अर्को

साहसी कदम चाल्यौँ

मानिसलाई मृत्युबाट मुक्ति

शक्तिले मात्र दिनसक्छ भनेर

हामीले सम्पूर्ण प्रतीज्ञा गरेर

यस संसारमा मौनता तोड्यौँ

तिमी र म

संसारलाई चोट पुर्‍याउन सक्ने

सम्पूर्ण दाबा

र, मानिसका मागहरूलाई

परास्त गरेर यो संसारमा

मानिसको बास सुरक्षित गर्न

सबका हातका बन्दुक समाएर

तिनका गोलीहरू झिक्न

र, संसारलाई पीडाबाट मुक्त गर्न

आफ्ना आवाज दिइरहेका छौँ

संसारका सबै मानिस

दुःखबाट मुक्त हुन प्रतीक्षा गरिरहेका बेलामा

दिइरहेका छौँ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 आश्वीन, 2064

लेखकका अन्य रचनाहरु