नवराजलाई बीच बाटोमा ब्यूँझेर हेर्दा

- देवी पन्थी

'जीवन मेरो शव्दकोशमा' कवितासङ्ग्रह वि.स.२०६३ सालमा प्रकाशित गरेर आफूलाई र्सार्वजनिक गरेका कवि नवराज सुब्बाको अर्को कवितासङ्ग्रह 'बीच बाटोमा ब्यूँझेर' २०६५ सालमा राजधानीको मुटुमा अझ व्यापक र फराकिलो परिवेशमा शंखनाद गर्दै अनावरण भएको छ । यस कवितासङ्ग्रहका एक-एक कविताले २०६५ सालमा सिर्जेका सबै कवितालार्एइ उछिनेका छन्- दबाइएका, हेपिएका, छोपिएका, थुनिएका र थिचिएका शोषित, पीडित सीमान्तकृतहरूका आवाज गाग्रीबाट पानी घोप्टाए जस्तै छताछुल्ल भएर पोखिएका छन्, एकएक छिटाले पाठकको मन पखालेका छन्, मिश्रणवादका सुगन्धित सामग्रीले चट्नी जस्तै रसिला र स्वादिला पारेका छन् यथार्थको शव्दचित्रमा । यथार्थवादी फाँटमा कलम चलाउँने भूपि शेरचन, हरिभक्त कटुवाल, गोकुल जोशी, मोदनाथ पश्रति र अगमसिंह गिरीको सम्झना दिलाउँछन् नवराज सुब्बाका कविताले । यस सङ्ग्रहमा नेपाली समाज र मानसिकता, कुण्ठित र वितृष्णाग्रस्त जीवन तथा युद्ध र आतङ्कले निम्त्याएका विभिषिकाहरू उद्घाटित् भएका छन् ।

नवराज सुब्बाले यस सङ्ग्रहमा समेटेका कविताहरूको विषयगत अर्थ लगाउँदा धेरै कोणबाट केलाउन सकिन्छ । तर सबै कविताको आशय भने वुद्ध र शान्तिको कामना रहेको छ । सङ्ग्रहमा अतीतको सम्झना र सीमान्तकृत जीवनको चर्चाले बढी महत्व पाएको भए पनि प्रेम, सम्वेदनशीलता, त्रासदी जीवन र देशको सामाजिक-राजनीतिक अवस्थाको भयावह चित्र उनको कलमले कुशलतापर्ूवक कोरेको छ । सतारको सम्बोधन, भाझी, राउटेको मन, सुकुम्बासी आदि कविता मन छुने खाले छन् । कसैको जीवन र दसाप्रति गोहीका आँसु बगाउनेप्रति राउटेको मुख बनेर कवि यसरी बरबराउँछन्-

मेरो जङ्गल मलाई नै छाडिदेऊ
मलाई जङ्गलमै रम्न देऊ
तिमीले ठानेका मेरा दुःखमै
मलाई छाडिदेऊ
जसरी म अहिलेसम्म बाँचे
बिन्ति मलाई त्यसरी नै
हाँस्न र बाँच्न देऊ ।

'बीच बाटोमा ब्यूँझेर' लक्ष्यदेखि निकै टाढा रहेका मान्छेहरू जो अनेक बाधा र बिघ्नका कारण त्यहाँसम्म पुग्न सकेनन्, ती मान्छेहरूका लागि हो । यस कवितामा 'सर्प' र 'बाटो' यी दुइ विम्वले कवितालाई पूर्णता दिएका छन् । 'आमाको तिर्सना' र कठघरामा उभिएर' यी दुइ कवितामा भावको प्रधान्यता बढी छ । आमाको वात्सल्य प्रेमप्रति कविको मन मैनवत्ती जस्तै पग्लिएर आउँछ । यस्तै अतीतको स्मरणमा लेखिएका कविता मध्ये 'मेरो पहाड' उत्कृष्ट कविता हो । मधेश आन्दोलनको सन्दर्भले यस कवितालाई सबैको कविता बनाएको छ । यस सान्दर्भिक कविताका केही हरफ हेरौं-

मैले त मेरो पहाड र दुःख
त्यहीँ छाडी आएँ भन्थेँ
त्यो त संगै पो आएछ मसँगै टाँस्सिएर
अनुहारमैं यी अर्को पहाड जन्मेछ
देखेनौं लालबाबु !
हेर त यी मेरो आँखामा ।

यसै कविताको हाराहारीमा उभिएको अर्को कविता हो - 'आएँ गुरुजी आएँ' । सप्तकोसीको पानीमा तम्बरखोलाको पानी चिन्ने दुःसाहस गर्ने यी कवितको कल्पना शक्तिलाई शायदै कसैका कल्पनाले जित्न सक्ला । उनी नाङ्खोल्याङको पहिरोलाई समेत चिन्ने प्रयास गर्छन अनि हाङपाङ पुगेर दौतरीसँग गट्टी खेल्छन् । 'अगेनामा' कविताभित्र पनि कवि आमासँगै अर्तीवुद्धि लिंदैछन् । 'आगो फुक्ता फकाएर फुक्नुपर्छ तरुनी फकाए जस्तै π' आमाले दिएको अर्तीको प्रतिउत्तरमा कवि भन्छन् 'अझसम्म पनि राम्ररी बल्न सकेको छैन मेरो चुल्हो, पेट सेक्नलाई उही आगो फकाइरहेछ 'खै कति दिन चेपिनु भोक र आगाबीच, म उहीँ छु अगेना छेऊ ।' कविताले यथार्थ बोलेको छ अक्षरको थुप्रोमा । 'सतीढुँगानेर अरुण' कविताले हाम्रो इतिहास कोट्याउँछ सतीप्रथाको । डा. गोविन्दराज भट्टर्राईको शव्दमा यो कविता प्राचीन विम्व बोकेर आएको मिथकीय अतीत स्मरण गराउने एउटा कलात्मक तथा उत्कृष्ट सिर्जना हो । यो कविताले योगमायाले आफ्ना शिष्यासँगै अरुणमा हाम्फालेर सतीप्रथालाई चुनौती दिएको यथार्थ घटनालाई उद्घाटित गर्दछ । यस्तै 'कम्लहरी' कविता मार्फ कविले पश्चिम नेपालका थारुहरुले आफ्नी छोरी कम्लहरीको रूपमा साहु-महाजन एवम् कर्मचारीको घरमा काम गर्न पठाउने प्रथाको पनि पर्दाफास् गरेका छन् ।

म दुःखी कम्लहरी
अब दुःखमै मर्छुहोला
जाने बेलामा
यत्ति त भनिदेऊ आमा
मलाई सुत्ने बेलामा
त्यहाँ कसले कथा सुनाउँछ ?

'मोरङको दिनचर्या' शीषक कवितामा कविले सहरिया व्यस्त जीवनको चित्र खिंचेका छन् । मानव यन्त्रजस्तै भएको छ, उसलाई हरेका कुरामा हतार छ । 'पानजस्तै चपायो मलाई मोरङले, आऊ सँगै बसौं अब लेखौं कविताहरू, गाउँ गीतहरू ! भन्दै कविले व्यस्तताका बीच पनि सिर्जना गर्न सकिन्छ तर त्यसमा मन चाहिन्छ अनि मनमा बोध चाहिन्छ भनेका छन् । 'द्विविधा' कवितामा कविले अन्यायमा परेर न्यायको खोजी गर्छन् तर कतै पनि न्याय नभेटे पछि न्यायलाई खोज्न छाड्ने कि भन्ने द्विविधामा पर्दछन् तर 'नयाँ नेपाल' कवितामा कवि सबै समस्याहरू नयाँ नेपालमा समाधान हुने कुरामा आशावादी देखिन्छन् । उनको 'हाकिम' कविताले नयाँ नेपाल बनाउनृरूको आत्मटिप्पणी पेश गरेको छ ।

'२०६३ सालको आयातन' शर्ीष्ाक कविताले वर्षरिका घटनाको फेहरिस्त प्रस्तुत गरेको छ । तर्राई र पहाड आन्दोलित भउको चित्र र हत्याहिँसा आतङ्कका कथा यसमा समेटिएका छन् । यही कविताको लहरमा पर्ने अर्को कविता हो 'मुकुण्डो आतङ्क' । 'रेखाहरू' कविताले पनि हुरीले हल्लाएका घर-वस्ती गाउँ र शहरका कुरा गरेर आन्दोलनबाट पीडित समाजको व्यथा बोलेको छ । 'गाली-सराप बगाऔं' कवितामा कवि निकै नरम, क्षमाशील र आशावादी देखिएका छन् । विगतलाई विर्सेर वर्तमानमा सबै देश बनाउने काममा जुटौं भन्दै उनी आव्हान गर्छन्-

मेरो देश तिमी विचलित नहोऊ
आज सारा व्यथा चिर्दैछु म
नडराऊ दन्त्यकथाको भूतसित
नडगमगाऊ कसैको श्रापसित
समयको चालसितै उठ
'नयाँ नेपाल' भएर ।

बालकृष्ण पोखरेलले कवि नवराज सुब्बालाई दिएका आशीर्वचनसँग म सहमत छु । उनले जस्तै मैले पनि कविलाई देशप्रेमी-माटोप्रेमी पाएको छु । 'घाम' कवितामा कविले देशप्रेमलाई घामसँग र जनतालाई जूनतारासँग दाँजेका छन् । देशभित्रको अस्तव्यस्त परिस्थितिलाई थाम्न/सहन नसकेर आज नेपालीहरू विदेश पलायन हुँदैछन्, यो कुरालाई कविले सूर्य र चन्द्रको अस्त भन्ने प्रतीक दिएका छन् । यही कुरा उनले 'अखबार' कवितामा पनि दर्शाएका छन्-

अखबारमा आजकल
समाचार छैन सगरमाथा चढेको
दिलमाया अरबमैं मरिन् रे
त्यो खबर छैन अखबारमा ।

'बूढीकन्याको गन्थन' कवितामा बूढीकन्याको आत्मालाप छ । यस कवितामा मानवता माथि विश्वासघात भएको कुरा उल्लेख छ । यो कविता पारिजातको 'छल' कविताको सन्निकट छ । प्रेम मानिसमा हुने नैर्सर्गिक र स्वाभाविक गुण हो । यसमा गरिने अभिनयले मानवतालाई छलिरहेछ, पीडा र जलनको ढेर बढेको छ । प्रेमको जलन आँतभित्र राखेर सहनु कति गाह्रो छ, प्रेमलाई मनभरि प्रदर्शन गर्न नपाउनुमा कति पीडा छ यही यथार्थ बोकेको छ कविताले । यस कवितामा मानवीय पक्षको वकालत गरेर कवि नवराज सुब्बाले मिश्रणवादको सिद्धान्तलाई अँगालेका छन् । नवराजका कवितामा द्वन्द्व र द्वन्द्वबाट विह्वल संस्कृति, सभ्यता र विखण्डित मानव चिन्तनलाई देखाइएको छ । क्रान्ति र युद्धमा भिन्नता देख्ने कविले, क्रान्ति परिवर्तनका लागि हो र युद्ध विनासका लागि हो भन्ने सन्देश दिएका छन् । यसरी हरेक पक्ष र पहलुमा कलम चलाउन सप्पीस नवराज सुब्बाले 'तस्वीरको उचाइ नाप्दा' मा आफूलाई आफ्नो चित्रसंग दाँजेर देखाएका छन् । यहाँ उनी भूपी शेरचनको चिन्तन नजिक छन् । 'रङ्गमञ्च' उनको उत्कृष्ट कविता मध्ये एक हो । संसार रङ्गमञ्च हो, प्राणीहरू पात्र हुन् । रङ्गमञ्च उही छ । नायक, खलनायक र पात्र तथा दर्शकहरू परिवर्तन भइराखेका छन् । दर्शकहरू उपयुक्त नायकको खोजीमा रहन्छन् भन्ने आशयको यस कविताले राजनीतिक भाव पनि प्रकट गरेको छ । यस कवितामा कवि शेक्सपेयर, बालकृष्ण सम र कृष्णभूषण वलको नजिक रहेका छन् ।

...र रङ्गमञ्चमा पर्दा खस्छ
फेरि उघ्रन्छ पर्दा
कुनै सुन्दर नायकको प्रतीक्षामा
दर्शकहरू कुरिरहेका छन्
रङ्गमञ्चमा
उहिलेदेखि ।

भाषाशास्त्री बालकृष्ण पोखरेलले आफ्नो आशीर्वचनमा ७६ वटा कविताको सङ्गालो भने पनि सङग्रहमा ७७ वटा कविता समाविष्ट गरिएका छन् । महङ्गो कागज र आकर्ष आवरणले सजिएको यस सङ्ग्रहलाई कविले आफ्ना प्रिय भाई स्व. दीपकराज सुब्बा -२०२७-२०६१) प्रति र्समर्पण गरेका छन् । मोर्डन वुक्सले प्रकाशनमा ल्याएको यस सङग्रहको भूमिका कोर्ने जस्तो गहन कार्य डा. गोविन्दराज भट्टर्राईले गर्नु भएको छ भने आशर्ीवचनको रूपमा आफ्नो छोटोमीठो मन्तव्य दिने काम -कविले कृतज्ञता ज्ञापन गर्ने क्रममा भूमिका भने पनि त्यो भूमिका होइन) भाषाशास्त्री बालकृष्ण पोखरेलले गर्नु भएको छ । डा. भट्टर्राईले यस सङ्ग्रहको भूमिका कोर्नु ठीक पूर्व आफूले वियोगी बुढाथोकी, एस्पी लोचन, रिता खत्री, राजेन्द्र सलभ, एस्पी कोइराला, दिनेश विक्रम थापा आदिको भूमिका -आफ्नो उत्तरआधुनिक विमर्श) पनि लेखेको खुलासा गरेर बडप्पन पर््रदर्शन गरे पनि समग्रमा नवराज सुब्बाको 'बीच बाटोमा ब्यूँझेर' कवितासङ्ग्रहलाई उत्कृष्ट ठहर गरेका छन् । यही प्रमाणका आधारमा पनि यस सङग्रहले मदन पुरस्कार प्राप्त गर्ने कुरा निश्चित प्रायः छ । यसो नभएमा फेरि पनि निष्पक्षता प्रति आशंका प्रकट गर्नु पर्ने हुनेछ । भाषाशास्त्री बालकृष्ण पोखरेलले भने जस्तै मानवतावादी कवि सुब्बा मदन पुरस्कार लगायत सबै पुरस्कारबाट सुशोभित हुन योग्य छन् । यो कुरा उनले अन्तर्राष्ट्रियस्तरको पहिलो अनलाईन विश्व वेभक्याम कविता प्रतियोगितामा १०३ कवि मध्ये प्रथम स्थान प्राप्त गरेर प्रमाणित पनि गरेका छन् यसै सङ्ग्रहभित्रको कविता 'कठघरामा उभिएर' मार्फत ।

अन्य धेरै कविमा जस्तो अङ्ग्रेजी र हिन्दी कविताको छायाँ नहुनु, नितान्त मौलिक शव्द प्रयोग गरेर नयाँ भाव पस्कनु र आफ्नै परिवेशलाई कविताका विषयवस्तु बनाउनु नवराज सुब्बाको विशेषता हो । मानवीय पक्षमा हु“दाहुदै पनि प्रेमलाई पीडाको रूपमा मात्र देख्नु उनको कमजोरी हो । बीच बाटोमा ब्यूँझेर, कठघरामा उभिएर, मेरो पहाड, सतारको सम्बोधन, आउँ गुरुजी आएँ, कम्लहरी, रङ्गमञ्चमा, अगेनामा, सतीढुङ्गानेर अरुणको तुलनामा अन्य कविता उभ्याउन नसक्नु कविको हतार हो, उनका प्रशंसकले दिएको क्षणिक र नमीठो उपहार हो । क्षणभङ्गुर प्रशंसाबाट बच्न सके कविको भविश्य उज्ज्वल छ । अस्तु ।

विराटनगर, २०६५।१०।२६









प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 1 फागुन, 2065

लेखकका अन्य रचनाहरु