अब प्राज्ञिक काममा जोड गर्नुपर्छः चैतन्य

काठमाण्डौ/१९ भदौ
‘अहिले प्रगतिवादी धाराको साहित्य लेखन, अध्ययन र चिन्तनमा मन्दी आएको छ । राजनीतिक क्रान्ति पूरा भयो अब आर्थिक क्रान्ति गर्नु पर्छ भनेर भ्रम सिर्जना गर्दा शत्रु र मित्र छुट्याउने समस्या देखा परेको छ । लेखकहरूले अब कस्का विरुद्ध लेख्ने भन्ने जस्तो अन्यौलता पैदा भएको जस्तो देखा पर्दै छ । यो विचारमा आएको स्खलनता हो । यसका विरुद्ध इच्छुक सांस्कृतिक प्रतिष्ठानले योजनावद्ध अभियान चलाउनु पर्छ ।’ बरिष्ठ माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले इच्छुक सांस्कृतिक प्रतिष्ठानको आफ्नै भवनमा आज आयोजित प्रतिष्ठानको छैठौँ प्राज्ञसभालाई प्रमुख अतिथिका रूपमा सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो ।
प्रतिष्ठानका संरक्षक समेत रहनुभएका चैतन्यले अगाडि भन्नुभयो ‘आज नेपाली भाषासँगै नेपालका थुप्रै मौलिक राष्ट्रिय भाषाहरूमा आक्रमण भइरहेको छ । भाषा लोप गराइनु भनेको संस्कृति पनि लोप गराउनु हो । पारिवारिक नातामा समेत आङ्ग्रेजी भाषाको आक्रमणसँगै अभिजात वर्गीय भाषा र संस्कृतिको प्रभाव विस्तार गरिएको छ । यसले नेपालीहरूको मौलिक भाषा, संस्कृति, साहित्य र कलालाई पनि प्रभावित गरिरहेको छ । प्राज्ञिक अनुसन्धाताहरूले यसबारेमा ध्यान दिन जरुरी छ ।’ प्रतिष्ठानका प्राज्ञ सदस्यहरूलाई निर्देशन दिँदै चैतन्यले भन्नुभयो ‘प्रतिष्ठानको भवन निर्माणको महत्वपूर्ण हिस्सा पूरा भएको छ । अब भवनमा मात्र जोड नगरेर प्राज्ञिक काममा बढि जोड गर्नु पर्छ । त्यसतर्फ तपाइँहरू लाग्नुहोस् । प्राज्ञिक कामबाट प्रतिष्ठानलाई अगाडि बढाउनु पर्छ ।’
इच्छुक सांस्कृतिक प्रतिष्ठानको आफ्नै प्रेक्षालयमा सम्पन्न भएको प्राज्ञसभाले कर्यसमितिका तर्फबाट प्रतिष्ठानका सदस्य सचिव श्री हिरामणि दुःखीले प्रस्तुत गर्नुभएको आ.व.२०७३÷०७४को वार्षिक कार्य प्रगति रिपोर्ट, चालु आ.व.२०७४÷०७५ का लागि वार्षिक कार्यक्रम र अनुमानित बजेट सहितको प्रतिवेदन केही सुझाव सहित सर्वसम्मतले पारित ग¥यो । सो अबसरमा गत आ.व. २०७३÷०७४को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरिएको थियो । वार्षिक कार्यक्रम पारित गरेसँगै आगामि दुई वर्षे कार्यकालका लागि ११ सदस्यिय नयाँ कार्यसमिति पनि सर्वसम्तीबाट निर्वाचित गरियो । जस अनुसार अध्यक्षमा ईश्वरचन्द्र ज्ञवाली, सदस्य सचिवमा हिरामणि दुःखी, र सदस्यहरूमा प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा.ताराकान्त पाण्ड्ेय, प्रा.डा.गोपीन्द्र पौडेल, इस्माली, रोशन जनकपुरी, सीता शर्मा, गौरी दाहाल, सीता आचार्य र मित्रलाल पंज्ञानी रहनुभएको छ ।
सदस्य सचिव हिरामणि दुःखीको सञ्चालन र ईश्वरचन्द्र ज्ञवालीले अध्यक्षतामा सम्पन्न भएको प्राज्ञ सभालाई इश्वरचन्द्र ज्ञवाली, प्रा.डा.जगदीशचन्द्र भण्डारी र प्रा.डा.ताराकान्त पाण्ड्ेयले सम्वोधन गर्नुभएको कुरा सदस्य सचिव हिरामणि दुःखीले मुलबाटो अनलाइनलाई बताउनुभयो ।

Friday, September 15, 2017