‘‘गल्लैलाउरे’’ अन्तर्राष्ट्रिय लोक चलचित्र महोत्सवमा

नेपाली लोक संगीतका अनुसन्धानकर्ता तुलसी प्रवासले नेपालमै पहिलो पटक अनुसन्धान गरी निर्माण गरेको ‘गल्लैलाउरे’ लोक चलचित्र ७औँ अन्तराष्ट्रिय लोक चलचित्र महोत्सव – २०१७ का लागि मनोनयनमा परेको छ । स्याङ्जा जिल्लाको पश्चिमी भेग र पर्वत जिल्लाको पैयुँखोला क्षेत्रमा बसोबास गर्ने विशेषतः ब्राह्मण तथा क्षेत्री जातका मानिसहरूले र सँगसँगै मगर तथा गुरुङ जातका मानिसहरूले समेत ढिलो लयमा यो गीत गाउने गर्दछन् । यस गीतलाई पहिलो पटक नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अन्तर्गत रहेर तुलसी प्रवासले अनुसन्धान गर्नुभएको हो । उहाँकै अनुसन्धान, लेखन, निर्देशन र निर्माणमा यो लोकचलचित्र निर्माण भएको हो । आगामी नोभेम्बर २३–२५ सम्म काठमाडौँमा आयोजना हुने उक्त महोत्सवमा नेपाल, भारत, भुटान, जापान, थाइल्याण्ड, हङ्गेरी, स्लोमेनिया, कम्बोडिया, साउथ अफ्रिका, जिम्बाबे, स्वीटजरल्याण्ड, स्पेन, फिलिपिन्स, नाइजेरिया, फ्रान्स, चिली, पोर्चुगल, क्यानडा र अमेरिका आदि देशका चलचित्रहरु प्रदर्शन हुनेछन् ।
गल्लैलाउरे लोकगीतको इतिहास दोस्रो विश्वयुद्धसँग गाँसिएको छ । दोस्रो महायुद्धको समयमा गल्लाहरू नेपालका गाउँगाउँमा आएर नेपाली युवाहरूलाई भर्ती गरेर लैजाने चलन थियो । त्यतिबेला उनीहरूको चालचलन तथा व्यवहारबाट नेपाली युवतीहरू छिटै प्रभावित हुन्थे भने अर्कोतर्फ आ–आफ्ना दाजुभाइलाई भर्तीमा लैजाने लोभले पनि उनीहरू गल्लाहरूसँग नजिक हुन चाहन्थे । नजिकिदै जाँदा उनीहरू अन्जानमै ती गल्लाहरूलाई प्रेम गर्न पुग्दछन् ।
गल्लाहरूको विदाइ तथा गाउँका जवानहरूको विदाइको समयमा रातभर नाचगानका कार्यक्रमहरू गर्ने चलन त्यतिबेला थियो । आफ्नो काम सकेर गल्लाहरू फर्कने क्रममा रातभर गीत गाएर नेपाली चेलीहरूले उनीहरूलाई विदाइ गर्दथे भने अर्कोतर्फ आफ्नो प्रेमी भर्तीमा जान लागेको पीडाले पनि नेपाली चेलीहरूको मन द्रवित हुन पुग्दथ्यो । यस्तै विछोडको अवस्थामा गाउने गीत नै गल्लैलाउरे गीत हो भन्ने निष्कर्ष अनुसन्धानकर्ताको छ । यस्ता गीतहरू पछि गएर अन्य सन्दर्भमा पनि गाउन थालियो । यस्ता गीतहरुलाई कतै कतै भदौरे गीतका रुपमा समेत चिनिन्छ । भदौको महिनामा गाउँमा कोदो गोड्ने समयमा लामो लय निकालेर एउटा एउटा अक्षर उच्चारण गर्दै यो गीत गाउने चलन छ । त्यसैगरी यसलाई दोहोरीका रुपमा समेत गाइन्छ ।
‘गल्लैलाउरे’ गीत नेपाली समाजको यति लोकप्रिय विधा भएर पनि यसको विषयमा व्यापक खोजी हुन नसक्नु आफैमा दुःखलाग्दो कुरा हो । वर्तमान समयमा यो गीत गाउने गायक गायिकाहरू कताकती मात्र भेटिन्छन् । समयमै यस गीतको संकलन गरेर बचाउने पहल गरिएन भने लोकको यस्तो अमूल्य सम्पत्ति हराएर जाने निश्चित छ । साठी वर्षभन्दा मुनिका एक–दुई जना भन्दा बढी गायक गायिका भेट्नै गाह्रो भैसकेको छ । नेपाली लोकसाहित्यको यस्तो अनमोल सम्पत्ति अब लोप हुने अवस्थामा पुगिसकेको छ । समयमै लोकसाहित्य र लोकगीतको जगेर्नामा लाग्ने संघ, संस्था व्यक्ति तथा स्वयम् राज्यले नै यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको कुरा अनुसन्धानकर्ता तुलसी प्रवास बताउनुहुन्छ ।

Monday, August 28, 2017