चार जनालाई नइ पुरस्कार

काठमाडौं, २०७३ चैत २३ गते
नइ प्रकाशनले समन्वयात्मक राष्ट्रिय संस्कृतिका मूल्य र मान्यताको गौरवबारे प्राज्ञिक अनुसन्धान गरी नेपाली जातीय साँस्कृतिक एकता राख्नमा समेत सदैव चिन्तनशील संस्कृतिविद्, ज्योतिषविद् र तन्त्रशास्त्री डा.जगमान गुरुङलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

निबन्ध, नाटक, उपन्यास विधाका साथै शास्त्रीय छन्द र आधुनिक प्रकृतिका गीत, कविता, काव्यको समेत स्तरीय सृजना गर्दै देशदेशान्तरमा नेपाली भाषा र साहित्यको गरिमा बढाएबापत श्री कञ्चन पुडासैनीलाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ ।

साथै चित्रकार श्री विजय थापालाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिने भएको छ । उहाँलाई चित्रकलाका क्षेत्रमा समर्पित हुँदै अन्तर्राष्ट्रिय स्तरको चित्रकला सृजनागरी नेपालको गौरव बढाउनमा महत्वपूर्ण योगदानका निम्ति सो पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको हो ।

यसै गरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति नेपाली साहित्य विकास परिषद् वेलायतका संस्थापक अध्यक्ष श्री सुरेशजङ्ग शाहलाई ‘नइ गणेशदुर्गा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

यी सबैै पुरस्कारका राशि जनही पचास हजार रूपियाँ रहेका छन् ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९८ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नइ पुस्कारहरु समर्पण गरिने भएका छन् ।


(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन

Friday, April 7, 2017