भनौँ किन नभनौँ निबन्धमाथि अन्तर्क्रिया

काठमाडौँ।
स्रष्टा श्रीओम श्रेष्ठ ‘रोदन’ को ‘भनौँ किन नभनौँ’ निबन्धमा अनुभूतिको गहिराई पाइने समालोचकहरुले बताएका छन् ।

तन्नेरी प्रकाशनद्वारा प्रकाशित सो निबन्ध कृतिमाथि ‘साराशं’ संस्थाले आज आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वक्ताहरुले भाव र विषयको कल्पनाजन्य तरेलीमा निबन्ध तयार हुने भन्दै यसमा सामाजिक चेतना उत्तिकै हुनुपर्ने बताए।

संस्कृतिविद् तेजेश्वरबाबु ग्वङले निबन्ध निर्वन्ध विधा भएको जनाउँदै रोदनका निबन्धमा गम्भीरताभित्रको सरलता पाइने विचार राखे।

साहित्यकार डा अभि सुवेदीले ‘भनौँ किन नभनौँ’ मा काव्यात्मक संयोजन पाइएको टिप्पणी गरे भने समालोचक राजेन्द्र पराजुलीले निबन्ध विकिरण चिन्तन हो भने।

समालोचकहरु लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारीले साधारण र जटिल दुवै प्रकारका पाठकका लागि रोदनका निबन्ध पठनीय भएको भनाइ राखे ।

कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र ‘साराशं’ का अध्यक्ष जय छ्याङ्छा राईले श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेका थिए।

मधूपर्क साहित्यिक मासिकमा सम्पादक श्रेष्ठका यसअघि निबन्ध र नियात्राका आधा दर्जन पुस्तक प्रकाशित भइसकेका छन् । उनका लघुकथा र कविताकृति पनि छन् । रासस

Sunday, April 2, 2017