कालजयी आख्यानकार रमेश विकल

- शार्दूल भट्टराई

एउटा गौरवशाली नाम हो–रमेश विकल। यो नाम अत्यन्तै सम्माननीय,गरिमामय र लोकप्रिय रहेको छ नेपाली आख्यान साहित्यमा।
साहित्यमा बहुविधाका सफल सर्जक हुनुहुन्छ– रमेश विकल। छ दशकभन्दा लामो सिर्जना यात्रामा उहाँ कथा,उपन्यास, नाटक,निबन्ध,यात्रा साहित्य ,बाल साहित्य तथा चित्रकलामा समेत सफलतासाथ उपस्थित हुनु भएको छ। यति धेरै विधामा आफूलाई सफलतापूर्वक सक्रिय गराउने साहित्यकार थोरै छन्। ती थोरै मध्येका पनि एक प्रमुख व्यक्तित्व रमेश विकल हुनुहुन्छ।
कथा,उपन्यास,यात्रा साहित्य र बाल साहित्य जस्ता विधामा विकलको उपस्थिति सफल मात्र छैन, अत्यन्त प्रभावशाली पनि छ। आख्यान साहित्यका उहाँ महानायक नै हुनुहुन्छ। गुरुप्रसाद मैनालीपछि यथार्थवादी धाराको परिष्कार र विकासको क्रममा एउटा कालखण्डको इतिहास निर्माण गर्ने काममा रमेश विकलको प्रभावशाली नेतृत्व रहन पुगेको छ। समसामयिक आख्यान साहित्यमा समेत उहाँको उपस्थिति सर्वाधिक प्रभावशाली रहेको छ।
विकलका सवैजसो कृति नेपाली साहित्यमा महत्वपूर्ण उपलब्धिका रुपमा रहेका छन्। तथापि 'नयाँ सडकको गीत','विरानो देशमा', 'एउटा बूढो भ्वाइलन आशावारीको धुनमा', 'शव,सालिक र सहस्रबुद्ध','अविरल बग्दछ इन्द्रावती','हराएका कथाहरु','सातसूर्य एकफन्का'े,'मिल्किएको मणि','सरदार भक्ति थापा','विक्रम र नौलो ग्रह' जस्ता कृतिहरु नेपाली साहित्यमा विशिष्ट प्राप्तिका रुपमा रहेका छन्।
रमेश विकल आख्यान साहित्यका महारथि हुँदाहुँदै पनि विशेषगरी कथा साहित्यका महानायकका रुपमा बढी नै प्रभावशाली रहनु भयो। उहाँको कथाकारिता चमत्कारपूर्ण छ। उहाँको लेखनको सवैभन्दा बढी चर्चा र प्रशंसा पनि कथा साहित्यमा उहाँले आफ्नो निजी विशेषताको रुपमा स्थापित गर्नु भएको जादुमय आकर्षणकै कारण हुने गरेको छ। नेपाली कथा साहित्यमा उहाँका कथा कृतिहरु सर्वोत्कृष्ट सिर्जनाका रुपमा रहेका छन्। विकलका 'ज्ञानी मामा', 'रक्तरेखा','मङ्गलमान','लाहुरी भैंसी' ,'आतङ्कमा बाँचेको वस्ती' जस्ता कथाहरु नेपाली साहित्यका सवैभन्दा उत्कृष्ट कथाहरु हुन्। यी कथाले अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट कथाहरुको पङ्तिमा रहने क्षमता बोकेका छन्।
आफ्नो लेखनको विषयवस्तु चयन गर्ने क्रममा विकलले सधैंभरि मानव समाज र त्यहाँ भित्रका दुःख,पीडा र करुणालाई नै रोज्नु भयो। मानव समाजभन्दा बाहिर उहाँ कहिल्यै रहनु भएन। त्यसमा पनि शोषित–पीडित,असहाय र विपन्न समुदायको पक्षमा उभिएर उहाँले आफूलाई जनताको साहित्यकारको रुपमा उभ्याउनु भएको छ। जनताका दुःखपीडा र सङ्घर्षलाई आफ्नो लेखनधर्म बनाएकै कारण पनि उहाँ जनताका लोकप्रिय स्रष्टा बन्न पुग्नु भएको छ।
मान्छेको जीवन भनेकै सङ्घर्ष हो र मानव सङ्घर्षलाई सधैं साथ दिनुपर्छ भन्ने मान्यता विकलका अधिकांश सिर्जनामा रहेको छ। उहाँका कतिपय रचनाले मानव जीवनलाई मात्र समेटेका छैनन्,मान्छेको सङ्घर्षशील गाथालाई पनि समेटेका छन्। साहित्य जीवन र जगतका लागि हो भन्ने मान्यतालाई उहाँले आफ्ना रचनामा जोडदार रुपमा स्थापित गर्नु भएको छ। 'कला कलाका लागि हो' भन्नेहरुका विरुद्ध 'कला जीवनका लागि हो'भन्ने मान्यतामा दृढ हुनुहुन्छ –रमेश विकल। त्यो मान्यतामा सिर्जित रचनाहरु कतिसम्म सुन्दर हुन्छन् भन्ने उदाहरणका रुपमा पनि विकलका कतिपय रचनाहरु रहेका छन्।
विभिन्न विशेषता नै विकलको सिर्जनात्मक विशिष्टता हो। पृथक विशेषताको लेखकीय विशिष्टता नै उहाँको सर्वाधिक सफलताको द्योतक हो। सरलतामा स्तरीयता,बेजोड कल्पनाशीलता,विचार र कलाको सन्तुलनमा अनुपम कलात्मकता,प्रभावशाली प्रस्तुतिकरण र लालित्यपूर्ण शिल्पशैलीकै कारण उहाँका कृतिहरु धेरै पढिने कृतिमध्येमा पर्छन्। नेपाली समाज र यस भित्रका घटना,चरित्र र द्वन्द्वलाई आफ्ना सिर्जनामा जीवन्त र शक्तिशाली ढङ्गले प्रस्तुत गर्नमा अत्यन्तै सिपालु विकलका केही आख्यान कृतिहरु नेपाली साहित्यमा कालजयी रचनाका रुपमा रहन सक्षम छन्।
नेपाली आख्यान साहित्यमा रमेश विकलको योगदान अत्यन्तै गहन छ, महत्वपूर्ण छ र गौरवपूर्ण पनि छ। विशिष्ट आख्यानकार विकलले र उहाँका कृतिले प्राप्त गरेको प्रतिष्ठा,सम्मान र लोकप्रियताले नै उहाँको व्यक्तित्वलाई झल्काउँछ। उहाँको त्यो व्यक्तित्वका अगाडि मृत्यु परास्त भएको छ। मृत्युका लागि रमेश विकल भन्ने नाम सधैंका लागि अपरास्त बन्न पुगेको छ। तर रमेश विकल भन्ने नामका अगाडि मृत्यु सधैं परास्त भइरहने छ।
पाँच वर्ष अघि २०६० साल कार्तिक २२ गते आफ्नै जन्मथलो आरुवारीमा जनस्तरबाट आयोजित उहाँको हीरक जन्मोत्सवको अवसरमा रमेश विकलले अत्यन्तै गम्भीर मुद्रामा भन्नु भएको थियो–“मैले अहिलेसम्म खासै ठूलो काम गर्न सकेको छैन। लेख्ने कुरा अझै धेरै बाँकी छ। सवै कुराले साथ दिएमा म जीवनभर लेखिरहने छु।”
नेपाली साहित्यमा तीसवटाभन्दा बढी गहकिला कृतिहरु दिएर अतुलनीय योगदान पुर्‍याइसके पनि उहाँमा अझै धेरै लेख्ने इच्छाहरु थिए। उहाँसँग लेख्नका लागि विषयहरु पनि धेरै नै थिए। लेख्नका लागि उहाँसँग प्रतिबद्ध योजनाहरु पनि थिए। वितेको पाँच वर्षमा पनि उहाँ लेखनमा सक्रिय नै रहनु भयो। तर पनि उहाँले आफ्नो इच्छा र चाहनाका कतिपय विषयमा लेख्न पाउनु भएन। लेख्न भ्याउनु भएन। कतिपय कुरा अपुरा रहे होलान्। कतिपय कुरा अधुरा रहे होलान्। यद्यपि ती अपुरा र अधुरा कुराबाट रमेश विकलको व्यक्तित्व अपूर्ण छैन। उहाँका उत्कृष्ट आख्यानहरुमा उहाँको जाज्वल्यमान व्यक्तित्व परिपूर्णतासहित उपस्थित भएको छ – आख्यानका महानायकको रुपमा। उहाँका कालजयी कृतिहरुले उहाँलाई कहिल्यै पनि विस्मृत हुन दिने छैनन्। कालजयी आख्यानकार रमेश विकल सधैंभरिका लागि जीवित रहनु हुनेछ आफ्ना कालजयी कृतिहरुमा।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 13 पौष, 2065

लेखकका अन्य रचनाहरु