डायस्पोरिक कथासङ्ग्रह मध्यधार

- तुलसीहरि कोइराला

नेपाली साहित्यका क्षेत्रमा कलम चलाउने नारी साहित्यकारहरुको सङ्ख्यात्मक उपस्थिति दिनानुदिन बढिरहेको भए पनि गुणात्मक उपस्थिति भने औँलामा गन्न सकिने अवस्थामै सीमित छ । पछिल्लो दशकमा उदाएका केही प्रतिभाशाली नारी साहित्यकारहरुको लेखनलाई हेर्दा आख्यान र गैरआख्यान दुवैमा निक्कै आशलाग्दो स्थिति देखिएको छ । यस्तैमा पर्दछिन् कथाकार सञ्जु बजगाईं र उनको पहिलो कथासङ्ग्रह ‘सपना र समुद्र’ (२०६७) पछि ‘मध्यधार’ भर्खरै प्रकाशित भएको छ । उनी वि.सं. २०६१ देखि युरोपियन मुलुकमा बस्दै आएकी छिन् । विदेशमा बस्नेहरुले घरपरिवारबाट टाढिनुपर्दाका दुःख–पीडालाई विशेष गरी गीत–गजल एवं यात्रासंस्मरणमा उतारेर सङ्गृहीत गरिहाल्ने र दुईचार कृतिको स्रष्टा बनेर विदेशबाट फर्किने आमप्रचलन नै बनिसकेको देखिन्छ । केही साहित्यकारहरु भने यो भीडबाट सर्लक्क छुट्टिएर आफ्नो उम्दा उपस्थिति देखाउन सक्षम भएका छन् । हाल बेलायतमा रहेर कथा सिर्जनामा दर्विलो उपस्थिति देखाएकी सञ्जुको लेखनयात्रा विदेशी भूमिबाटै प्रारम्भ भएको देखिन्छ । पछिल्लो दशकमा आएर निक्कै चर्चामा आएको र हाल भने अलिक मत्थर देखिएको ‘डायस्पोरा साहित्य’ लेखकको छवि बनाउन सफल भएकी छिन् ।
कथाकार सञ्जु बजगाईं पहिलो सङ्ग्रहबाटै ‘डायस्पोरिक कथाकार’का रुपमा आफ्नो परिचय बनाउन सफल भएकी थिइन् । पछिल्लो यो कृतिले उनलाई अझ थप उझिल्याएको छ । जम्मा १५ वटा विदेशी पृष्ठभूमिका कथाहरु सङ्गृहीत ‘मध्यधार’मा केही प्रयोगहरु पनि कथाकारले गरेको देखिन्छ । जस्तो कि, सङ्ग्रहको नामकरण र भित्रका सबै कथाहरुको शीर्षक ‘म’ वर्णबाट गरिनु, प्रत्येक कथामा ‘म’ पात्रको प्रमुख भूमिका देखाई प्रथमपुरुष दृष्टिविन्दुमा लेख्नु उनको एक प्रयोग हो । उनले कथाका माध्यमबाट विदेशी भूमिमा रहँदाको आफ्नो आत्म सम्मानको लागि आवाज उठाउने काम पनि गरेकी छिन् । शीर्षकीय कथा मध्यधारमा गुजरातीमूलकी केटीसँग वैवाहिक सम्बन्धमा गाँसिएको नेपालीमूलको केटोको मनोदशालाई केलाइएको छ । उनीहरुबाट जन्मिएको छोरोलाई आमाले दिन चाहने गुजराती संस्कार र बाबुले दिन चाहने नेपाली संस्कारको द्वन्द्व रोचक छ । अन्त्यमा छोरोमा पितृृत्वकै गुण देखाएर कथालाई उम्दा बनाइएको छ । म्याडम बी कथामा बेलायती संस्कारमा परिवर्तित भइसकेको श्रीमान् र छोरीहरु एकातिर र नेपालीपन र मन छोड्न नसकेकी श्रीमती र आमाका बीचको त्रिपक्षीय मनोद्वन्द्वले पाठकको मन छुन्छ । आफ्नो देशको साँघुरो परिवेशबाट एक्कैचोटि अन्तरराष्ट्रिय परिवेशमा पुग्दाको मनोदशा र उद्वेगलाई मझधारमा एक मन, मद्र्याइँ, मध्यधार जस्ता कथाले उजागर गरेका छन् । नारीमनको नजिक रहेर लेखिएका कथा– महत्वाकाङ्क्षा, मसानघाट, म्लान, म्याडम बी रोचक कथाहरुमा पर्दछ । त्यस्तै, मेजोँ चान्स र मनोदशाले अपाङ्गता भएका पात्रहरुको प्रतिनिधित्व गर्दछन् । सङ्ग्रहका कथाहरुमा यौन मनोविश्लेषणात्मक कथाको धार पनि पाइन्छ । म एक अर्धनारीश्वर महादेव (समलिङ्गी), मसानघाट र म्लान कथाले यो पाटोको रोचकपक्षलाई सालीनतापूवर्क प्रस्तुत गरेको पाइन्छ । कतिपय कथाहरुमा परदेशमा रहँदाको अवस्थामा आउने घरदेशको सम्झनाको रन्को पाइन्छ । मत्थाले बुढेसकालमा एक्लिँदाको पीडा बोलेको छ । खाडीमुलुकमा नेपाली कामदारहरुको दुखःद् स्थितिको चित्रण गरिएको मरुभूमिमा श्वेतसुन्दरी कथा मर्मस्पशी छ ।
विदेशी भूमिमा रहर वा बाध्यताले पुगेका तमाम् विदेशीहरुको मनोदशाको प्रतिनिधिमूलक प्रस्तुति सञ्जुका यी कथा हुन् भन्न सकिने अवस्था सङ्ग्रहले देखाएको छ । आफ्नो देशीय संस्कृति, आश्रित देशीय संस्कार र संस्कृति, सामाजिकीय मनोदशा बोकेका कथामा पात्र संवादको भाषिक मिठास उल्लेख्य पाइन्छ । उनका कथामा विषयवस्तुको विविधता हुनु अर्को सफल पक्ष हो । बेलायती पुरातन संस्कति पनि कथामा आएको छ र परिवर्तनको परिवेशीय धार पनि उसरी नै आएको छ । केही कथामा अस्तित्ववादी दर्शन तथा निस्सारतावादी जीवन चिन्तन पनि प्रस्तुत भएको छ । एकाध कथा भने संस्मरणात्मक शैलीमा लेखिएका छन् । यसरी सङ्ग्रहका पन्ध्र वटा कथामा भिन्नभिन्न परिवेशको स्वाद पस्किन सक्नुलाई कथाकारको सफल कथाकारिता मान्नुपर्छ । ‘म’ वर्णबाट शीर्षक राख्ने कथाकारको मोहका कारण हुनुपर्छ केही कथाका शीर्षक भने सम्प्रेषणीय रहेका छैनन् । यो प्रयोगले कथाकारितामा उति महत्व राख्दैन भन्ने बोध कथाकारलाई नभएर पनि हुनसक्छ यस्तो भएको । समग्रमा सङ्ग्रहका कथाहरुले आप्रवाशीय लेखनको प्रतिनिधित्व गर्न सफल छन् । नेपाली कथा साहित्यमा उम्दा कथाकारका रुपमा सञ्जु बजगाईंको नाम जोड्न यो सङ्ग्रह सफल छ ।
पुस्तकः मध्यधार (कथासङ्ग्रह)
लेखकः सञ्जु बजगाईं
प्रकाशकः दोभान प्रकाशन, काठमाडौँ
प्रकाशनः २०७३
पृष्ठः १४७
मूल्यः रु.३००।–

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 24 पौष, 2074

लेखकका अन्य रचनाहरु