जीवा लामिछानेको सरसर्ती संसारमा घोत्लिदा

- डा. गोबिन्दसिंह रावत

भूमिका
गैरआवासीय नेपाली संघका संस्थापक तथा पूर्वअध्यक्ष जीवा लामिछाने यस संघभित्र एकमात्र साहित्यानुरागी हुन जसले साहित्यलाई पनि संघभित्र स्थान दिन चाहन्छन् । उनकै कार्यकालमा उनकै प्रयासबाट गैरआवासीय नेपाली संघले नेपाल प्रज्ञा प्रतिष्ठानसँग सम्झौता गरेर पहिलोपटक नेपाली साहित्यको विश्वव्यापीकरण सम्बन्धी काठमाडौंमा एउटा गोष्ठीको आयोजना गराउनु भएको थियो । सन् २०१२ को जुलाईमा लेखकको संयोजकत्वमा आयोजित यस गोष्ठीले नेपाली साहित्यको विश्वव्यापीकरणका बारेमा प्रकाश पार्दै नेपाली साहित्यको कर्मभूमिलाई अझ फराकिलो बनाएर लैजाने कार्यको थालनी भएको थियो । यसलाई निरन्तरता दिदैजाने भनिए तापनि लामिछानेको कार्यकालपछि यो साहित्यको अध्यायनै गैरआवासीय नेपाली संघबाट बन्द भयो । तर जीवा लामिछानेको साहित्यिक यात्राको थालनीसँगै यसले विस्तारै गति लिदै गयो । उनको यही साहित्यप्रतिको आस्था र प्रेमको प्रतिफल उनले आफ्नो बुवामुवाको नामबाट स्थापित हेमलाल हरीकला लामिछाने समाज कल्याण परिषदबाट पद्यश्री साहित्यिक पुरस्कारको स्थापना गराएर वर्षभरीको उत्कृष्ठ पुस्तकलाई पुरस्कृत गर्दै साहित्यकार हरूको सम्मान गर्दै आएका छन् । उनको साहित्यप्रतिको लगावको प्रतिफलबाट नै उनको लेखनका रुपमा पहिलोसाहित्यिक सन्तानको जन्म भएको हो भन्दा अत्युक्ती नहोला ।
विषय प्रवेश
कुनै भूखण्डको स्थलरुप, लोकजीवन, रीतिपरम्परा आदिसँग साक्षात्कार गराउने र तद्विषयक् अनुभव र ज्ञानलाई व्यक्त गर्ने अभिप्रायले मूलतः तथ्य र अंशतः भावनाको आनुपाकित संयोजन गरी चित्रोपम शैलीमा अनुभूत स्मरणरुपरुप लेखिएको गद्य रचनालाई यात्रा साहित्य भनिन्छ (नेपाली साहित्यको संक्षिप्त इतिहास, पृष्ठ १८०) । यात्रा साहित्यमा लेखकको आत्मीय अनुभूति अभिव्यक्त हुने गर्दछ । यसमा यात्री लेखकमा इमानदारिता अनिवार्य हुनु पर्दछ । यात्रा साहित्यले त्यस मुलुकको प्राकृतिक सौन्दर्यता, पर्यटकीय स्थल हरूसँगै इतिहास, संस्कृति र रहनसहनका बारेमा पनि वयान गरेको हुन्छ । यात्रीको आँखा शब्द भएर यात्रा साहित्यमा पोखिने गर्दछ । त्यसैले स्थलगत भ्रमणप्रतिको उत्सुकता र भ्रमण गरिने स्थानका बारेमा खोज गर्नु नै यात्रा साहित्यको गुण हो ।
यात्रालाई मानिसको सभ्यतासँग जोडेर हेर्न सकिन्छ । भ्रमण मानव सभ्यता सँगसँगै शुरु भएको देखिन्छ । यात्राकै प्रतिफल स्वरुप कोलम्बसले अमेरिका खोजी निकाल्यो । मानिस हरू सुखसयलको खोजिमा हिजोदेखि आजसम्म देशाटन गर्दैछन् । शान्तीपूर्वक बाच्ने ईच्छाका साथ उत्तम स्थलको खोजिमा भौतारिरहेका छन् । यो क्रम अहिलेसम्म जारी छ । प्रारम्भमा मानिस हरू तिर्थाटन गर्न धार्मिक स्थल हरूमा जाने गर्थे । यो क्रम अहिले पनि जारी छ । प्राचीन नेपालमा छिमेकी राजा हरूको भ्रमणका बारेमा शिलालेख हरू पाइन्छन् । भ्रमणलाई चीरस्थाई बनाईराख्न त्यसलाई शब्दमा ढालिन्छ । जुन शिलालेखबाट शुरु भएर कलवर फेर्दै आज पुस्तकका रुपमा देखा पर्न थालेको छ ।
आजको मितिमा साहित्यमा यात्रा साहित्यले आफ्नो बेग्लै पहिचान राख्न थालेको छ । यात्रा साहित्य वास्तवमा डायरी टिपोटको सिलसिलेवार लेखन हो । यसका यात्री अर्थात लेखकले आफु डुलेको ठाँउ हरूको टिपोट गर्दै त्यसलाई एउटा संस्करणात्मक स्वरुप दिएपछि त्यो यात्रा निबन्ध बन्ने गर्दछ । यात्रा लेखन निबन्ध लेखनकै एउटा स्वरुप भएकोले निबन्ध साहित्यका बारेमा छोटो जानकारी समेट्दै यात्रा साहित्यमा फड्को मार्ने छु । निबन्ध साहित्यमा सन् १७७४ को पृथ्वीनारायण शाहको दिव्योपदेश कृति जस्तै यात्रा साहित्यमा सन् १८५३ को बेनामी लेखकको जङ्गबहादुरको बेलायत यात्रा कृतिलाई पहिलो यात्रा साहित्य मानिन्छ । हुन त सन् १८९३ मा लिखित रुपमा पाइएको राजा गगननिराजको यात्राका बारेमा पनि चर्चा गरिएको पाइन्छ । तर आधिकारिक रुपमा भने जङ्गबहादुरको बेलायत यात्रालाई नै यात्रा साहित्यको कोसे ढुङ्गा मानिन्छ । यात्रा साहित्य भनेर चिनिनुअघि सम्झनाका आधारमा लेखिने यस्ता लेख हरूलाई संस्मरणात्मक लेख वा निबन्ध पनि भनिने गरिन्थ्यो । विभिन्न रचनाविधाका आधारमा निबन्धलाई वर्गीकरण गरेको पाइन्छ । आख्यानेत्तर साहित्यका रुपमा परिभाषित निबन्धको थालनी सन् १९८० मा फ्रान्सका माइकल द मोन्तेंबाट भएको मानिन्छ । उनलेनै पहिलोपटक एसे (निबन्ध) शब्द प्रयोग गरेर लेखको पाइन्छ । नेपाली साहित्यमा निबन्धको बारेमा अध्ययन गर्दा नेपाली साहित्यको संक्षिप्त इतिहासमा माधवी पत्रिकामा राममणि आ.दी. को सन् १९०८ मा कश्मिरको वर्णन निबन्ध प्रकाशित भएको छ । यस निबन्धका बारेमा केही विस्तृत चर्चा नगरिए तापनि यसमा यात्रा साहित्यको गन्ध अनुभव गर्न सकिन्छ । (यसबारे माधवी पत्रिकामा यो निबन्ध पढेपछि मात्र थप कुरा लेख्न सकिन्छ) ।
आजको मितिमा यात्रा साहित्यले आफ्नो एउटा बेग्लै स्थान बनाउन सफल भएको छ । पाठक रुचिका साथ यात्रा साहित्य पढ्न रुचाउने गर्दछन् । यात्रा साहित्यमा लेखकले विभिन्न राष्ट्र, शहर, गाँउ, नगरको वयान गरेको हुन्छ । लेखकको लेखाइले संजय शैली (महाभारतमा धृतराष्टलाई युद्धको जानकारी दिने सिपाही) पायो भने त्यसलाई सफल यात्रा वर्णन मान्न सकिन्छ । किनभने संजयले अन्धो धृतराष्टलाई युद्धको वयान टेलिभिजनले प्रत्यक्ष प्रशारण गरे जस्तै गरेर दिएका थिए । अर्थात लेखकको वर्णन सँगसंगै पाठक पनि लेखकसँगै यात्रा गरेको अनुभव गर्ने खालको यात्रा निबन्धलाई सफल मानिन्छ । तर कतिपय लेखकले यात्रा वयान गर्दा लम्बेतान अनुभवको तानाबाना बुन्न थालेपछि यात्राको अनुभव पाठकमा शिथिल पर्दै जान्छ । त्यसैले यात्रा साहित्यलाई रोचक बनाउन आजका लेखक हरू आफ्नो भ्रमण स्थानका बारेमा गहन अध्ययन गरेर यात्रा गर्न रुचाउछन् भने लेख्ने क्रममा पनि त्यही प्रक्रिया अपनाएर लेख्ने गर्दछन् । यसरी लेखिने यात्रा साहित्यले पाठकको सामान्य ज्ञान बढाई रहेको पनि हुन्छ ।
सरसर्ती संसारभित्रको विचरण
गैरआवासीय नेपाली संघ अभियानका संस्थापक तथा पूर्व अध्यक्ष जीव लामिछानेको पहिलो कृतिका रुपमा प्रकाशित यात्रा साहित्य सरसर्ती संसारको एकप्रति प्रेमोपहार जनवरी ६, २०१७ मा हुलाकबाट पाए । सप्रेमले जीवाजीले पठाईदिनुु भएको साहित्य सौगात मसम्म पुग्न १६ दिन लाग्यो । केही महिना दराजमा थन्केपछि यसलाई पढेर सिद्धाउन तीन हप्ता लाग्यो । तर पढ्न थालेपछि भने पढाईले निरन्तरता पाउदै जानुमा लेखनीको विशेषता रहेको मान्नु पर्दछ । जीवाले आफुले भ्रमण गरेका मुलुक र शहरका बारेमा राम्रो अध्ययन गरेको देखिन्छ । यात्रा साहित्यको विशेषता र परिभाषानुरुप जीवाले भ्रमण गरेको मुलुकको वयान संजय शैलीमा यस संग्रहमा गरेका छन् । मस्कोमा अध्ययनार्थ प्रवेश पाएका जीवाले मस्कोबाटै आफ्नो जीवनको दोस्रो यात्रा व्यवसायतिर मोडेका थिए । यस क्रममा बर्लिनले उनको भाग्य चम्काउनमा ठूलो भूमिका खेलेको थियो । पछि यही बर्लिन उनको दोस्रो व्यापार केन्द्र बन्न गयो ।
उनको यात्राको थालनी कक्षा ४ मा अध्ययनरत् रहदा भारतको रक्सौलबाट शुरु भएको देखिन्छ भने यस संग्रहमा संकलित यात्रा विवरणका आधारमा उनको अन्तिम यात्रा डिसेम्बर २०१५ मा एथेन्समा गएर टुङ्गिएको देखिन्छ । २९ वटा यात्रा संस्मरणात्मक निबन्ध रहेको यस संग्रहमा अफ्रिकी मुलुक सेसल्सको भ्रमण समय राखिएको छैन । उनको यात्राको क्रम १९८७ बाट शुरु भएर लगातार २०१५ डिसेम्बरसम्म चलेको देखिन्छ । सबैभन्दा बढी २०१३ मा उनले पाँचपटक भ्रमण गरेको देखिन्छ भने त्यसपछि २०१२ मा चारपटक, २०१५ तीनपटक र २०१४ मा दुईपटक यात्रा गरेको देखिन्छ । उनले २०००, २००३ २००५, २००७, २००९ मा कुनै भ्रमण गरेको देखिदैन । उनले आफ्नो यात्रा क्रमलाई तिथि मिति र कालक्रममा राखेका छैनन् । यात्रा साहित्यमा यस तर्फ पनि लेखक सचेत हुनु जरुरी मानिन्छ ।
उनको सरसर्ती संसार यात्रा साहित्यमा सामाजिक शास्त्रको अध्ययन गर्दा पाइने समाजको परिचयसँगै त्यहाँको क्षेत्रफल, जनसंख्या, इतिहास, उत्पादन, आयश्रोत, मुख्य जनावर, मुख्य पैदावार, धर्म, संस्कृतिसँगै कतै त राजनीति परिवर्तनका बारेमा समेत जानकारी गराएर अरु यात्रा साहित्यमा विरलै पाइने सबै पक्षमाथि चर्चा गरेको पाइन्छ । उनले गरेको चर्चाबाट कुनै कुनै शहरमा पाठक आफै पुगेको अनुभव गराउछ ।
पुस्तकको भूमिकामा जीवाले आफु गैरआवासीय नेपालीको अभियन्ता भएको र संघको कार्यक्रममा सहभागि बन्न भ्रमण गरेका मुलुक हरूको यात्रा संस्मरण सँगसँगै व्यक्तीगत भ्रमण गर्दा पनि त्यहाँको गैरआवासीय नेपाली संघका पदाधिकारी हरूसँग सम्पर्क र सम्बन्ध राखेको र राख्दै आएको बारेमा जानकारी गराउनु भएको छ । तर उनले भ्रमण गरेका मुलुक हरूमा रहेका नेपाली संघ–संस्थाको स्थापना, नेपाली समुदायको जनसंख्या, नेपाली हरूको आगमनको समयका बारेमा राम्ररी जानकारी गराएको देखिदैन । यस्ता तथ्यमूलक जानकारीलाई पनि पुस्तकमा समेटी दिनु भएको भए भविष्यमा गैरआवासीय नेपाली हरूका बारेमा अध्ययन गर्न चाहने हरूका लागि यो पुस्तक एउटा मार्ग दर्शन बन्न सक्ने थियो ।
विद्यार्थीकालदेखि शुरु भएको उनको देशाटनले अहिलेसम्म पनि निरन्तर रहेका प्रसङ्ग हरू भेटिन्छन् । उनले आफ्नो अध्ययनको क्रममा शुरु गरेर यात्राको मज्जा अहिलेसम्म लिई रहेका छन् । यो मज्जामा पाठकलाई पनि शाब्दिक सहभागिता गराउँदै आउनु भएको छ । जिवाले अध्ययनको क्रममा यात्रा गरेका शहर हरूको सम्झना हरूलाई मस्तिष्कको ढुकुटीमा संचित गरी यात्रालाई नै आफ्नो रहर बनाएर निरन्तरता दिदै आउनु भएको देखिन्छ । त्यसैले आफुले पाईला टेकेको ठाँउको इतिहाससँगै कतिपय प्रचतिल किम्बादन्ती हरूलाई पनि पुस्तकमा स्थान दिएर रोचक बनाएका छन् ।
एउटा नेपाली जहाँ पुगे पनि त्यस ठामलाई आफु जन्मे हुर्केको मुलुकसँग दाँजेर हेर्ने गर्दछ । जिवाले पनि प्रायः यात्रा वर्णनको अन्त्यमा उक्त देशको उन्नति र प्रगतिलाई नेपालसँग दाँजेर नेपालको अस्थिर राजनीतिक क्रियाकलापले देशको अवस्था बिगारेको र यही कारणले विकासमा नै तगारो लाग्ने गरेको आस्तविकतालाई आफ्नो धारण बनाएर राख्दै देशाटन गरेका मुलुकको उन्नति र प्रगति देखाउँदै राष्ट्रको प्रगति र विकास प्रति आशावादी देखिन्छन् ।
भ्रमण साहित्यका लेखकमा ईमान्दारिता हुनु पर्दछ र त्यो ईमान्दारिता जीवामा पनि देखिन्छ । उनले बर्लिनवारी बर्लिनपारी यात्रा वर्णनमा अनावश्यक हतकडी लगाएर जेल लगेको प्रसङ्गको पनि चर्चा गरेको छन् । अनावश्यक हतकडी लगाउन परे पनि प्रसङ्गवस गरिएको चर्चाले भ्रमणको बेला सतर्कता चाहिने भाव प्रकट गरेको छ । लेखकले आफुसँग यात्रामा रहेका नेपाली साथीले भूलवस् वा जानेरनै अरुको ट्राभल चेक चोरेर ल्याएको खुलासा भने गरेका छैनन् । त्यस्तै नाईट क्लबमा निर्वस्त्र नृत्य हेर्नु, निर्वस्त्र भएर महिला र पुरुषसँगै हट स्प्रिङ्ग स्पाको आनन्द लिनु जस्ता प्रसङ्ग ईमान्दारिताका साथ राखेका छन् । एउटा प्रसङ्गमा गौतम बुद्ध भारतमा जन्मेको भन्दा लेखक पनि बाभ्mन पुगेका छन् । यो एउटा नेपालीको अन्तर्मनबाट निस्कने विरोधाभाष हो । यस्ता वास्तविक यथार्थताका प्रसङ्ग हरू पनि यस संग्रहमा आएका छन् ।
यात्रा साहित्य आख्यानेत्तर साहित्य भएता पनि आख्यान साहित्य लेखनका लागि अनिवार्य पटकथात्मक वातावरण लेखकले आफ्नो यात्रा साहित्यमा पनि सफलताका साथ प्रयोग गरेको पाइन्छ । यसै क्रममा जापानको यात्राको वर्णन गर्दा ः
....... उनले खुबै घोरिएर हेरे । ‘हेकककक.......’ भन्दै टाउकोमा हात राखे । ....................................... फेरी लामो सास फेरे अनि क्षितिजतिर हेरे अनि फेरी कागज हेरेर ......... । त्यसपछि ............................ (पृ १८०) ।
जापानकै प्रसङ्गमा त्यहाँ नेपाली हरूको मात्र पाँच हजार रेस्टुरेन्ट रहेको तथ्य खोलाएका छन् । जापान भ्रमणलाई भग्नावशेषबाट सूर्योदय शीर्षकबाट यात्रा वर्णन गरिए तापनि पाठकले खोजेको वा चाहेको हिरोसिमा र नागासाकीको बारे लेखक मौन बसेका छन् । कुनै देशको बारे कतै चर्चा चल्दा पाठकले आफुले सुनेको, पढेको वा गएको शहरका बारेमा खोज्न थाल्छन र यो मानवीय प्रवृति पनि हो । भ्रमण वर्णन गर्दै लेखक धेरै ठाँउमा राष्ट्र प्रेमले ओप्रोत समेत भएका छन् । बैंककको भ्रमणको क्रममा उनले अतियथार्थवादी कुरा ओकलेका छन् । विभिन्न निकायबाट विदेशमा अध्ययन र तालिमका लागि गएका नेपाली हरूप्रति अङ्कित गर्दै लेख्छन्–ः ‘ मलाई आश्चर्य लाग्छ, तिनी हरूले विदेशबाट लिएर जाने सीप र ज्ञान किन विचमा नै विर्सिन्छन् ?’
उनले यात्रा वर्णनको कटु सत्यतालाई ‘अहिलेसम्म संसारका धेरै देशको माटो स्पर्श गर्ने अवसर पाइयो । यात्रा कहिले शब्दमा वर्णन गर्न नसकिने रोमञ्चकारी बन्छ भने कहिले त्यही यात्रा विषादमा बदलिन्छ ।’ भनेर यात्राको क्रममा आफुले भोग्नु परेका कटु अनुभव हरूलाई पनि शाब्दिक शैयामा विसाएका छन् । भाषागत् दृष्टिकोणबाट पनि जीवाको लेखनले चलनचल्तीका भाषालाई आत्मसात् गरेर कुराकानीको बेलीमा आफ्ना यात्रा अनुभव हरूलाई उतारेका छन् ।
यस नियात्रामा जीवाले लेखनाथ पौड्याल, माधव घिमिरे, पहलवासिंह स्वाँरका साथै हिन्दी साहित्यका गीतकार साहिर लुधियानवीको पंक्तीलाई पैंचो लिएर भनाईको सान्दर्भिकता प्रष्ट्उँदै आफ्नो साहित्यप्रतिको रुचि पनि देखाएका छन् । यो नियात्रा उनको यात्राको वयानमात्र नभएर नेपालबाहिरका विकसित तथा अविकसित राष्ट्र हरूसँग नेपालको समयानुरुप तुलनात्मक बयान पनि हो । उनले यस संकलन मार्फत आफ्नो मनका धेरै कुरा हरू प्रष्टरुपमा राख्न सफल भएका छन् । उनका भनाईमा ‘यात्रा संसारकै सबैभन्दा ठूलो खुला किताब हो, जसलाई जसले जसरी जति पढे पनि हुन्छ ।’
उनको यात्रा संस्मरण विकासको मार्गदर्शनका रुपमा पनि देखापरेको छ । उनी आफै भन्छन् ‘‘यात्रा थल्नुअघि मैले त्यस वरपरको इतिहास खोजी गरेको थिए ।’ अर्थात आफुले राम्ररी मनग्य अध्ययन अनुसन्धान गरेपछि मात्र यात्राको थालनी गरेको भन्ने बुझिन्छ । त्यसैले उनको यो कृति भूपरिवेस्टित मुलुक हरू सँगसँगै अन्य मुलुक हरूको दाँजोमा नेपाललाई उभ्याएर हेर्न सकिने कसी बन्न गएको छ । अझ भनौं पुस्तकबाट पनि त्यस मुलुकको आर्थिक व्यवस्था र जागिरको संभावनालाई पनि नियाल्न सदिो रहेछ । यसलाई प्रमाणित गर्ने केही प्रसङ्ग हरूलाई मैले यहाँ उद्धरित गरेको छु ः
माल्दिप्स जलवायु परिवर्तनका कारण भविष्यमा डुब्ने खतरा छ । यही तथ्यलाई आधार मानेर माल्दिप्स सरकारले आफ्ना जनतालाई सुरक्षित राख्न भारत तथा अस्ट्रेलियामा जमिन किन्दैछ भन्ने चर्चा पनि उत्कर्षमा छ (१५)
यहाँका नेपालीले हाम्रो आर्य संस्कृतिको शिष्ट जीवनशैली बचाएर राखेजस्तै लाग्यो । .......पूर्वी पहाडी क्षेत्रको अञ्चलिक भाषाजस्तो । (२३)
एक प्रकारले हेर्ने हो भने अमेरिका विश्वकै पूmलवारी हो, जहाँ विभिन्न जातका पूmल फुलेका छन् । मलाई लाग्छ अभाव र गरिबी नै समाज विघटनका कारण हो । हाम्रो देशमा पनि पृथ्वीनारायण शाहले भनेको चार जात छत्तिस वर्णको पूmलवारी नै हो । तर, आर्थिक तथा मानव अधिकारको उचित व्यवस्थापन गर्न नसक्दा हाम्रो देश आज ठूलो जातीय विवादमा रुमलिन पुगेको छ । (४७)
जारकालीन समयमा रुसी साम्राज्यअन्तर्गत रहेको युक्रेन स्वतन्त्र देश भएर पनि युरोपको पिछडिएको देशमै पर्छ । स्रोतसाधनले सम्पन्न भएर पनि देशलाई नेतृत्व गर्छु भन्ने हरू कोही रुसबाट त कोही अमेरिका र युरोपबाट प्रभावित र सञ्चालिन भएपछि देश अघि बढोस पनि कसरी ? (७१)
दक्षिण कोरिया ......त्यतिबेला प्रत्येक नागरिकले आफूसँग भएको सुन र तक्मा निसर्त सरकारलाई बुझाएका रहेछन् । देश नै टाट पल्टन लागेको अवस्थामा जसरी पनि बचाउनु पर्छ भन्ने हरेक नागरिकले भिक्ष्मप्रतिज्ञा गरेपछि दुई वर्षभित्र कोरियाले चमत्कारी रुपमा आर्थिक विकास गर्यो । (७५)
जातीय आधारमा सङ्घीयताका रेखा हरू कोरिँदा देशनै टुक्रिने यथार्थताको साक्षी बनेका छन् मोन्टेनेग्रो, बोस्निया तथा हर्जगोभिना, सर्विया, कोसोभो क्रोएसियालगायत पूर्व युगोस्लाभियाका अन्य गणराज्य हरू । (८४)
लिकटेनस्टाइन....... एक सय साठी वर्गकिलोमिटर क्षेत्रफल र छत्तीस हजार जनसंख्या भएको युरोपको भूपसिवेसिटत राष्ट्र .................... हो । ................... यहाँको मानिसको प्रतिव्यक्ती आम्दानी उच्च भएर होला, बजार निकै महँगो रहेछ । (९५)
पुरोनो सहर पैदलयात्रीको क्षेत्र हो । हामीले पनि यसै गरी काठमाडौंका असन, ईन्द्रचोक, हनुमान ढोका र ठमेल वरपर पनि पैदलयात्रीको क्षेत्र बनाउन सकेको भए कति सुन्दर हुने थियो होला । (१०८)
नेपालका हिमाल हरू त संसारकै हिमाल हरूका आमा हुन् । ती आमा हरूलाई हामीले विश्वसामु चिनाउन सकेका छैनौं । सगरमाथा, कञ्चनजङ्घा र अन्नपूर्ण जस्ता केही थोरै हिमालमा पर्यटकलाई घुमाएरै हामीले चित्त बुझाइरहेका छौं । हिमाल हरूलाई हामीले आम्दानीका साधन बनाउन अझै सकेका छैनौं । (११४)
हाम्रा पहाड हरूलाई प्रकृतिले निकै वास्ता गरे पनि हामीले वेवास्ता गरे जस्तै लाग्छ । तर स्विट्जरल्यान्डका पहाड हरूलाई प्रकृतिले भन्दा त्यहाँका नागरिकले स्नेह गरेर आफ्नै छातीमा सजाएका रहेछन् । .................................................................................... । सुन्दरदेश स्विट्जरल्यान्ड विकासको चुचुरोमा छ तर हामी भने फेदीमा छौं । (१५३)
स्वीट्जरल्याण्डको नेपालसँग तुलना गरेर राजा त्रिभुवनको जुरिचको ईटिएच शिक्षण अस्पतालमा मृत्यु भएको र अस्पताल परिसस्मा राजाको सम्झनामा शिलालेख स्थापना गरिएको प्रसङ्गलाई नेपालमा गणतन्त्रको घाषणासँगै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक तोड्नेसँग जोड्नु भएको छ भने पिटर्सवर्गको सन्दर्भमा पनि पृथ्वीनारायण शाहको सालिक तोड्ने कार्यलाई दुःखद घटनाका रुपमा लिएका छन् ।
अफिकाको सेसल्स ९२ हजारमात्र जनसंख्या भएको देश । यहाँ २५० वर्षको कछुवा रहेको र सरकारले कछुवा खान वर्जित गरेको छ । (२०४) ....
केही वर्षदेखि सेसल्स सरकारले पुलिस सेवामा नेपालीलाई ल्याउन थालेको रहेछ, उनी हरूले यहाँको कोस्टल एरिया र जेलमा सुरक्षा दिने काम गर्दा रहेछन् । त्यस्तै विभिन्न होटेलमा पनि सेकुरिटी गार्डमा पूर्व गोर्खा सैनिक आउने गरेकोले स्थानीय मानिसलाई नेपालबारे थाहा हुन थालेको रहेछ । (२०५)
आदिम युगमा मानिस हरू ध्वनिको सङ्केतबाट संवाद गर्थे । त्यसपछि चित्रलिपि विकास भयो । ध्वनि र चित्रलिपिपछि पाँच हजार वर्षअघि संस्कृत भाषाको जन्म भएको विश्वास गरिन्छ । ( २१०)
जर्मनी विद्वानले नेपालको ८० हजार प्राचीन दस्तावेज हरूको माइक्रो फिल्म बनाएर बुझाएको । नेपालमा नभेटिएको मुलुकी ऐनको पुरानो पुस्तक जर्मनको हाइडलबर्ग विश्वविद्यालयमा रहेको ।
ग्रिसको चर्चा गर्दा उनले युरोपको सबैभन्दा बढी भूकम्पीय जोखिम क्षेत्र, धेरै पानीजहाज बनाउने देश, ओलिभ तेल उपादनमा तेस्रो, अत्याधिक मार्बल उत्पादन गर्ने देश रहेर पनि ग्रिसको विनासको कारण राजनीतिकसँग जोडेर टे«ड युनियनको मनोमालिनीले सरकारलाई खर्च धन्न नसक्ने अवस्थामा पु¥उाएको वास्तविकतारहेको देखाउँदै भ्रष्टचारले प्रजातन्त्रलाई बर्बाद बनाउँछ भन्ने स्वीकारोक्तीको बिजारोपण ग्रिसमा भएको मानिन्छ । (२१४........ २१९)
सरसर्ती संसारका यी केही उम्दा लेख्य उदाहरणबाट पनि जीवाका लेखनीय शैलीलाई बुभ्mन सकिन्छ । भाषाको सरलता, व्याकरणको सहजता, वाक्य गठनको सजिवताले यो यात्रा संकलन पढ्न थालेपछि पढाईले निरन्तरता लिदै जान्छ र यो कृति एउटा व्यक्तीले आफुले गरेको देशाटनको विवरण मात्र नभएर मानवीय जीवनमा चाहिने सामान्य ज्ञानका रुपमा देखा पर्दै जान्छ । यो पढी सकेपछि पाठकले जीवाको अर्को नियात्राको प्रतिक्षारत् रहन बाध्य हुन्छन् भन्दा अत्युक्ति नहोला ।
अन्त्यमा, उनले यसै कृतिमा आफ्नो सफलताको वयान पृष्ठ १६३ मा यसरी गरेका छन् ः “विद्यार्थीकालमा जर्मनबाट ल्याएका सामानको विक्रीबाट प्राप्त पँुजीरुपी बिउलाई नै रोपेर मैले उद्यमको जमिनलाई मलजल गरेको हँु । यही बिउ नै कालान्तरमा फुलेको हो भन्दा अतिखेर मेरो सन्तुष्टीको आयतन बढेको अनुभूति हुन्छ । ” शायद यो भनाईले धेरैलाई प्रेरणा पनि दिन सक्ला ।

टोरोन्टो

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 पौष, 2074

लेखकका अन्य रचनाहरु