मेरो धरान

- आशा लिम्बू

एक मुठी अन्न पसिनाले नसाटी
यो रितो पेट भरिने होइन,
धरानको एक पसर माटो उठाएर
आफ्नो हो भन्ने अधिकार म’मा छैन,
हकदेखि बन्चित छु
अपनत्वको मायाबाट टाढा छु,
तर पनि यो धरान मेरो हो.., भन्नु गौरव ठान्दछु ।

उतरमा महाभारत पर्वतको न्यानो अङ्गालो भित्र
अनुपम सौन्दर्य ‘भेडेटार’ भएर यो बाँचेको देख्छु,
पूर्वमा बिजयपुरको पौराणिक गाँथा बोकेको
‘पिण्डेश्वर बाबा’, ‘दन्तकाली माता’,
पन्च कन्यादेबी’, जीउँदो ‘बुढा सुब्बा’सँग,
धरान अमर ऐतिहासिक बनेर हाँसेको पाउँछु ।

यहाँ नारायणपुर डाँडाको सुन्दर वस्तीबाट
हाँस्तै एउटा घाँम सधैं धरानको बिहानीलाई
मधुर मिठो स्वर्णिम रँग छर्ने गर्छ ।
साँझको रङ्गीन क्षितिज मनमोहक बनेर
सर्दूखोलाको बगर फाँटहरुमा ओर्लिने गर्छ

दक्षिण पुग्दा धरानको स्वच्छ मुहारमा
लहलाउदो ताँती हरियाली बन कर्तब्यपरायण
सुरक्षा फौजीझैं अटुट यहाँ उभेको देख्छु

सबै सुपरिचित शहर गल्लीसित
न त म कहिले अघाएकोछु,
आफ्नो पौरखी देनबाट यसलाई
मैले न त कहिँ सजाएकोछु

जुन जुन ठाउँ टेकु म सबै शहरगल्ली
मेरैलागि बिछाएको ठान्छु,
जहां जहां म पुगुँ धरानको हर कुनाले
मलाई नै सहर्ष अपनाएको पाउँछु ।

यहाँ हरेक साँझ एकान्त सडक र गल्लीहरुमा
काम पिपासुका नङ्ग्रासँग घात बनेर नबसेको होइन
सुनसान वाँस झ्याङ र खहरे खोल्छोमा
नयाँ आउने जुन कुनै रातले
विभत्स लाशको सौगात नपाएको होइन ।
कहिले कहिँ उज्यालो दिन पनि
सशंकित भएर डराएको हुन्छ ।

भयावह यो शहरको गल्लीभित्र
अरुको भरबाट बन्चित छु,
आफ्नो तागतबाट शोषित छु,
तर पनि किन हो कुन्नी..
बिहान झल्यास बिउँझेर हेर्दा
यो मेरो जन्म थलो सुन्दर धरानमा
म आफै अनन्त रमाई रहेको हुन्छ
धरान मेरो हो भन्नु गौरव ठान्दछु ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 पौष, 2074

लेखकका अन्य रचनाहरु