गन्तव्य गणबहाल: गन्तव्य भन्दा केही पाइला पछाडि नै

- विक्रम गौतम

नेपाली साहित्यको विविध विधामा विगत ४० वर्षदेखि अविरल रुपमा कलम चलाउँदै आउनुभएका साहित्यकार गोविन्द गिरी प्रेरणाका कथा, कविता, उपन्यास, निबन्ध, समालोचना आदि गरेर २ दर्जन भन्दा बढी कृतिहरु प्रकाशित छन्। २०३४ सालमा पहिलो पटक कथा प्रकाशित गरेर साहित्य लेखनमा लागेका गिरीको पछिल्लो पटक 'गन्तव्य गणबहाल' नामक कथा संग्रह २०७२ सालमा प्रकाशित भएको हो। साझा प्रकाशनद्वारा प्रकाशित र लामा कथाहरु भनेर चिनारी दिइएको उक्त कथा संग्रहमा ८ वटा लामा कथाहरु संग्रहित छन्। यी कथाहरु मार्फत् कथाकारले प्राय: ओझेलमा रहने समाजको पाटोलाई पात्रहरुको यौन मनोविश्लेषण र त्यसबाट निर्देशित व्यवहारहरुको माध्यमद्वारा प्रस्तुत गरेका छन्। पात्रहरुको व्यवहारलाई थप परिचालित गर्न कथाकारले मदिराको प्रयोग पनि प्रचुर मात्रामा गरेका छन्।
संग्रहको पहिलो कथा ‘गन्तव्य गणबहालमा’ (जसबाट पुस्तकको नामकरण पनि गरिएको छ) स्वास्नी पीडित जड्याहा पात्र र उसको जीवन भोगाइका क्रममा घटेका घटनाहरुद्वारा समाजमा लुप्त अवस्थामा रहेको विसङ्गतिको चित्रण गरिएको छ। आत्मपरक शैलीमा लेखिएको यो कथामा स्वास्नी हाकिमसँग सल्के पछि जड्याहा भएर हरिकंगाल भएको म पात्रले आफुजस्तै पत्नी पीडित तर धनी पात्रको आमन्त्रणमा मेजमानमा सरिक हुने मौका पाउँछ। लगत्तै त्यो धनी पात्रको रहस्यमय मृत्यु भएपछि कथाको म पात्र फेरि आफुलाई फुटपाथमा नै पाउँछ। धनी पात्र, त्यसकी श्रीमती र त्यसको प्रेमीलाई कथामा प्रवेश गराएर कथाकारले समाजको तथाकथित सम्भ्रान्त वर्गमा रहेको विसङ्गत पक्षलाई उजागर गरेका छन्। त्यस पछिमात्र कथाको म पात्र आफ्नो गन्तव्य अर्थात् गणबहालको भट्टीमा पुग्छ। भट्टीकी साहुनी जो तरुनी र राम्री छे तर साहुबाट असन्तुष्ट छे, यसकारण साहुनीको सुषुप्त यौन आकांक्षा म पात्रमा पोखिन्छ। यहाँ कथाकारले साहुनीको यौन मनोविश्लेषणको राम्रो चित्रण गरेका छन् र कसरि दमित यौनाकांक्षा प्रतिकुल परिस्थितिको वाबजुद पनि प्रस्फुटित हुनसक्छ भन्ने देखाएका छन्। कथाक्रममा राधिकाको, जो म पात्रकी छोडेर गएकी श्रीमती हो, अवस्था वर्णन गरेर कथाकारले कुकर्मले निम्त्याउने दुरावस्था प्रति पाठकलाई सचेत पनि गराएका छन्। पुन: गणबहालको त्यो भट्टीमा पुग्दा सेतो पहिरनमा साहुनीलाई देखेर विरक्तिएर अज्ञात गन्तव्य तर्फ म पात्रले बढाएको पाईलासँगै कथा समाप्त हुन्छ। सामाजिक यथार्थ भन्दा अलि पर हटेर कथाको सिर्जना गरिएता पनि समग्रमा यो कथाले लुप्त अवस्थामा रहेको सामाजिक विसङ्गतिको राम्रो चित्रण गर्न सफल भएको छ।
‘इन्द्र लीला’ सामाजिक विसङ्गति माथि तीखो व्यंग प्रहार गरि लेखिएको अर्को कथा हो। कथाको शुरुवात प्रमुख पात्र इन्द्रको मृत्युको खबरबाट हुन्छ, उसको मृत्युले उसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जोडिएका मानिसहरुमा सिर्जना गरेको अनुभूतिसँगै कथानक अगाडि बढ्छ। इन्द्रे मरेको खबर कसैलाई विस्मातको छ, कसैलाई बेवास्ताको छ, अनि कसैलाई खुसीको पनि छ। सबै भन्दा विस्मात् राधालाई परेको छ, जो अर्कैकी श्रीमती भएपनि इन्द्रेलाई माया गर्थी। अर्कोतिर इन्द्रेकी स्वास्नी उमा जो इन्द्रेको अवस्थासँग बेखबर मोहनसँग मध्यरातसम्म बाहिरै थिई, इन्द्रे मरेको खबरले केहि दुखमा परि। राधाको लोग्ने सुरज इन्द्रे मरेको खबरले खुशी हुन्छ। सुरज पनि राधाप्रति इमान्दार होइन, ज्ञानुसँग घर बसाउने ईच्छा सुरजले पटक पटक प्रकट गरेकै हो। ज्ञानु पनि त अर्काकी स्वास्नी हो। यसरि कथाकारले विभिन्न जोडी पात्रको सिर्जना गरेर अनि ती पात्रहरु बीच रहेको घुमाउरो सम्बन्धलाई सुक्ष्म रुपमा केलाइकुलाइ गरेका छन्। सम्बन्ध केलाउने क्रममा पात्रहरुले एक अर्काप्रति गरेको बेइमानी टड्कारो भएर देखापर्छ जुन औंल्याउनु कथाको मुख्य उद्देश्य हो। कथाको अन्त्यमा उमाले आफुलाई विधवा बन्न अस्वीकार गरेको घटनाले एकातिर कथालाई रोमान्चक बनाएको छ भने थोरै हदसम्म कथाले नारीको सबल पक्ष दर्शाएको छ।
संग्रहित ८ वटा कथाहरु मध्ये ‘कोख’ सम्भवत: सबैभन्दा फितलो कथानक प्रस्तुति हो। कौतुहलता सिर्जना गरेर पाठकलाई कथाको अन्त्यसम्म डोर्याउन सफल भएपनि कथाको अन्त्यमा रुपेशको नाटकीय पुनरागमन र नयनाले रुपेशलाई सौतेनी छोरो सहित सहज रुपमा स्वीकार्नुले कथालाई कमजोर बनाएको छ। नयनामा आमा बन्ने उत्कण्ठ ईच्छाको परिणाम स्वरुप कथाको पटाक्षेप भएता पनि सो घटनाले नयनालाई एकदमै कमजोर पात्रको दर्जा दिएको छ। अर्कोतिर पहिल्यै नै दुई छोराछोरीको बाबु भएर पनि नयनाको जिन्दगीसँग खेलबाड गर्नु र अन्त्यमा रूपेशले सहजै माफी पाउनु कथाको अर्को कमजोर पक्ष हो।
नारी यौन मनोविज्ञानको रौँचिरा विश्लेषण गरिएको ‘लस्कर’ एक उम्दा कोटीको कथा हो। कथाको मुख्य उद्देश्य द्वन्दबाट विस्थापित समाजको चित्रण गर्नु भएता पनि सानीको मनमा लागेको शंकाले पाठकलाई कथाको अन्त्यसम्म सजिलै डोर्याउँछ, सानीका ससुरा शिवरामले कतिबेला आफ्नो असली रुप देखाउने हुन् भन्ने कौतुहलता पाठकको मनमा सधैं भैरहन्छ। शिवरामको असली रुप थाहा पाउन कथाको अन्त्यसम्म कुर्नु परे पनि उनको रुप सानीले शंका गरे जस्तो पटक्कै छैन, ठ्याक्कै त्यसको उल्टो छ। बुढी मरेकी विदुर शिवराम र पति गुमाएकी विधवा सानी गाउँमा सँगै बस्दा जोरीपारीले जति नै कुरा काटे पनि, बर्दीवालाहरुको जति नै उर्दी खप्नु परे पनि शिवरामले आफ्नो अभिभावक धर्म छोडेका छैनन् र त्यही धर्म निर्वाह गर्ने क्रममा उनी सानीलाई लिएर भाइ शंखरामको घरमा पुग्छन, शंखरामको लठेब्रो छोरोसँग सानीको बिहे गरिदिने निधो गरेर। सानीलाई मन परेको खण्डमा मात्र सो विवाह हुनसक्ने शिवरामको आश्वासन उसले सानी प्रति देखाएको व्यवहारको उत्कृष्ट नमुना हो, सानी त उसै पनि शिवरामलाई सम्पूर्ण सुम्पेर उसैको पछि लागेकी थिई। तर द्वन्दको मारमा परेर शंखरामको परिवार र सारा गाउँ नै समाप्त भएपछि उनीहरु पुन: एकपटक विस्थापित भएका छन्। कथामा उल्लेखित बैदार बा र लस्करमा सम्मिलित अन्य पात्रहरुले पनि द्वन्दले गराएको विस्थापनको थप कारुणिक पक्ष दर्शाएका छन्।
‘मिसेज लिङ र उनका चिसा हात’ अमेरिकी परिवेशमा लेखिएको अर्को यौन मनोविश्लेषणात्मक कथा हो, जसमा कथाकारले नेपाली पाठकलाई अमेरिकी स्वाद पस्किने प्रयत्न गरेका छन्। राजधानी वासिंगटन डिसीको सेरोफेरोमा श्रीमती नेपाल मै छोडेर अमेरिका बस्दै आएको नेपाली पुरुष र परिवार सँगै बसे पनि श्रीमानसँग असन्तुष्ट थाई महिला बीच हुन गएको यौन सम्बन्ध नै कथाको सारवस्तु हो। कथाकार आफैं पनि लामो समयदेखि अमेरिकामा बस्दै आएकोले कथाले अङ्गालेको परिवेश र घटनाक्रम अस्वभाविक त देखिदैन तर उनीहरुको सन्बन्धले लिएको रफ्तार र अन्त्य चाहिँ अलि अस्वभाविक लाग्न आउँछ। पात्रहरुको उमेर उल्लेखमा ख्याल नगर्नु कथाकारको अर्को सम्पादकीय कमजोरी हो। ५२ वर्षे बुढो भन्दा २० वर्ष कान्छी ३२ वर्षकी मिसेज लिङका १६ र १४ वर्षे छोरीहरु देखाउनु, ५२ वर्षे छोराकी ६५ वर्षे आमा र ती सासूलाई एक ठाउँमा ससुरा लेखिनु कथाकारको हेलचक्र्याई हो। यस्ता अङ्कगणितीय गल्तीले कथाको मूल रुप र संदेशमा खासै असर त पर्दैन तर पाठकको गाँसमा ढुंगा भने अवश्य लगाउँछ।
एउटा आख्यानकारले अर्को आख्यानकार माथि आफुलाई आरोपित गरेर आत्मपरक शैलीमा लेखिएको अर्को कथा 'सर, मलाई सेक्स मन पर्दैन' यौन व्यवहारको अतिरन्जित वर्णन हो। सत्तरी वर्षको आख्यानकार गौरव शर्मा जो यौन प्रति खुल्ला विचार राख्दछ र उसले सहयोगीको रुपमा अनुबन्ध गरेकी आफु भन्दा आधा उमेरकी रेनुका बीचको सम्बन्ध कसरि झ्यांगिदै गएर विवाहमा परिणत हुन्छ, कथाले यसलाई विस्तारमा उल्लेख गरेको छ। विस्तारको क्रममा कथाले विभिन्न भौगोलिक परिवेश र पात्रहरु समेटेको छ। यस्तै एक पात्र अन्नासँगको सम्बन्धबाट आख्यानकारले आफ्नो यौन प्रतिको उदारता अझ प्रष्ट परेका छन्। आख्यानकारको भनाइमा अन्नासँगको उनको सम्बन्ध शरीरको आवश्यकता पूर्ति भन्दा बेग्लै केही होइन। अन्नासँग भेट्नु अघि नै दुईवटा विवाहबाट आझित भएका आख्यानकारको प्रेम र विवाहसँग विश्वाश उठिसकेको हुन्छ। तर अन्ना विगतमा धेरै जनासँग सम्बन्ध रहेपनि आख्यानकारलाई प्रेम गर्थी र अर्को सम्बन्धको चाहना राख्दिनथी। आख्यानकारलाई प्रेम गर्न र सुत्नको लागि फरक फरक आइमाई उपलब्ध थिए, त्यसैले उनलाई विवाहको आवश्यकता कहिल्यै परेन। फिलिपिनो केटी नीनाको करकापमा तेस्रो विवाह गरे पनि त्यो स्थायी भएन। सत्तरी वर्ष पुगेको आख्यानकारले रेनुका सामु आफ्नो रंगिलो यौन जीवन प्रस्तुत गरेपछि रेनुकामा पनि कामुकता पलाउँछ र उसले आफुलाई सुम्पिदिन्छे। पहिलो पतिबाट असन्तुष्ट रेनुकाले आख्यानकारसँग सम्बन्ध राखे पछि पूर्णता पाएको महशुस गर्छे र यसै क्रममा गर्भवती पनि हुन्छे। लेखन नै आफ्नो जीवनको उद्देश्य ठानेको आख्यानकार अन्ततोगत्वा रेनुकासँग घरबार गरेर बस्छ र कथा सकिन्छ। वास्तवमा यो कथामा आख्यानकारको यौन जीवनको वर्णन भन्दा अरु केही छैन, कसरी एउटा सफल पुरुषले सफलता र पैसाको आडमा आइमाईलाई भोग्या ठान्दछ र त्यही अनुरुप व्यवहार गर्छ भन्ने देखाउनु नै कथाको मर्म हो।
संग्रहका अन्तिम दुई कथाहरु 'जब म्यापलका पातहरु झर्न थाल्छन' र 'रगत' दुबैले कसरी वैदेशिक संस्कृति र सुखसयलको चपेटामा परिवारहरु टुक्रिएका छन् भन्ने कटु सत्य उजागर गरेको छ। 'जब म्यापलका पातहरु झर्न थाल्छन' कथामा आफ्नो परिवारको गुमेको इज्जत फर्काउन अमेरिका भासिएकी नीलिमा लोग्नेले आफ्नै बहिनीलाई सौता भित्र्याए पछि विक्षिप्त हुन्छे र कहिल्यै नेपाल नफर्कने अठोट गर्छे। छोराछोरीको मायाले नीलिमालाई कुनै दिन नेपाल फर्काउने झिनो आश भए पनि तिनै छोराछोरी बाउ र सानीआमाको मायामा पग्ले पछि नीलिमाको समाउने र टेक्ने दुवै हाँगो भाँचिएको छ। नीलिमा न सुनिताको झैँ अमेरिकन जीन्दगीमा रमाउन सक्छे न नेपाल नै फर्किन। कथाकारले नीलिमा मार्फत् यस कथामा प्रवासी जीवनको एउटा अत्यासलाग्दो खाका कोरेका छन् जुन यथार्थसँग धेरै नजिक छ। कथाकी नीलिमा मात्र दयाकी पात्र हुन्, सधै परिस्थीतिसँग सम्झौता गरेर हिडिन् र भित्रभित्रै आफैंलाई कुड्याइन। नीलिमाको चरित्र भन्दा ठीक विपरित 'रगत'की सुरिताको चरित्र विद्रोही पाराको छ। अजितसँग बिहे भएर जर्मनी पुगेपछि शुरुका केही समय आनन्दीमा बिते पनि जब सुरिताले अजितको पहिले नै अर्को बिहे भएर बच्चा समेत भएको कुरा थाहा पाउछिन, उनमा ज्वालामुखी विस्फोट हुन्छ र उ जर्मनी चटक्क छाडेर नेपाल फर्कन्छे र आफ्नै मेहनतले समाजमा नाम इज्जत कमाउन सफल हुन्छे। त्यति मात्र होइन उसले आफ्नी छोरी कितानीलाई पनि असल शिक्षादिक्षा र व्यवहार सिकाएकी छे। यस कथामा कथाकारले विदेश पसे पछि आफुले गरेका सबै कुकृत्य ढाकछोप गरेर नेपाल गई सुकन्या बिहे गरेर स्वाभाविक जीवन बाँच्न खोज्ने लोग्ने मान्छेहरुलाई सुरिता मार्फत् कसिलो झापड लगाएका छन्। नारीको पक्षमा खुलेर वकालत गरिएको कथाको अन्त्यमा रहेको सुरिताको यो कथन "वीर्य दान दिंदैमा बाबु बन्ने आकांक्षा व्यर्थको आकांक्षा हो। कसैले आजसम्म वेश्याको गर्भबाट निक्लेको सन्तानलाई स्वीकारेका छन्? रगतलाई गलत उपमाको रुपमा प्रयोग नगर्नुहोस्" पारम्परिक पुरुष सत्ता प्रति गरिएको गर्जिलो हुंकार हो।
समग्रमा 'गन्तव्य गणबहाल' केही राम्रा र केही औसत कथाहरुको संग्रह हो। कथाहरु संरचनात्मक दृष्टिबाट खोट रहित भएपनि विषयवस्तुमा विविधता संगाल्न नसक्नु संग्रहको मुख्य कमजोरी हो। संग्रहमा प्रयोग गरिएको शिल्पविधिको कारण कथाकारले पाठकलाई बाँधिराख्न सफल त भएका छन्, यद्यपि प्रत्येक कथामा फरक पात्र, फरक परिवेश र फरक घटना भैकन पनि कुनै न कुनै रुपमा यौन र मदिराको प्रयोगले गर्दा पाठकले फरक स्वादको अनुभूति गर्न पाउदैन। लामा कथाहरुले ओगट्ने आयतन भित्र कथावस्तुको फैलावट र विविध पात्रहरुको समायोजन सँगसँगै विषयवस्तुको विविधता पनि पस्किन सके कथाकार गोविन्द गिरी प्रेरणा पक्कै पनि आफ्नो गन्तव्यमा पुग्न सफल हुनेछन्।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 पौष, 2074

लेखकका अन्य रचनाहरु