असमेली नेपाली साहित्य समालोचना - एक चर्चा उठान

- नवीन पौड्याल

१.विषय प्रवेश-
साहित्यमा सिर्जनाको विशेष महत्व हुन्छ। सिर्जना नै साहित्यको मूल आधार हो। नवनवोन्मेष कल्पनाद्वारा साहित्य सिर्जना हुन्छ। यही सिर्जनालाई प्रकाश पार्ने, जलप दिने समालोचना हो। साहित्यमा सिर्जना अघि अघि हुन्छ अनि समालोचना चाँहि त्यसको अनुगामी हुन्छ। यद्यपि दुवै एकार्काका पूरक हुन्। एउटाको अनुपस्थितिमा अर्कोको पनि अस्तित्व रहँदैन। समालोचनालाई सिर्जना चाहिन्छ औ सिर्जनालाई पनि समालोचना चाहिन्छ। कविता, कथा, उपन्यास, नाटक, निबन्ध जस्ता मूलभूत सिर्जनात्मक विधाहरूको नीरक्षीर पारख गर्ने विधा हो समालोचना। यो सिर्जनात्मक साहित्यको अनुवर्ती भए पनि यसले कृतिलाई बोधगम्य एवम् रसास्वादन गराउन सहयोग गर्नका साथै कृति र कृतिकारको मूल्याङ्कन र विश्लेषण गर्दछ। पद्धतिगत आधारमा समालोचनाको वर्गीकरण नीतिवादी, समाजशास्त्रीय, जीवनीपरक, प्रभाववादी, तुलनात्मक, प्रगतिवादी, मनोविश्लेषणवादी, शैलीवैज्ञानिक, भाषाशास्त्रीय, संरचनावादी, रूपवादी, मीथकीय, संकेतपरक आदिका रूपमा गरिएको छ। समालोचना कुनै आधार, रीति, ढाँचा, प्रणाली, विधि, प्रक्रिया, तरिका आदिका परिप्रेक्ष्यमा गरिनु पद्धति हो।
२. नेपाली साहित्यमा समालोचना-
भारतमा नेपाली समालोचनाको थालनीबारे दार्जिलिङका साहित्य गुप्त प्रधानले खोजीपत्तो लगाएअनुसार शिलाङबाट प्रकाशित हुने गोर्खासेवकको सं. १९९४ तदनुसर सन् १९३७ को अङ्कभित्र रहेको समालोचना भन्ने लेख नै पहिलो समालोचना हो। श्री प्रधानका अनुसार भारतमात्र नभएर समग्र नेपाली साहित्यकै पहिलो गद्य विधा विषयक समालोचना हो। यसका लेखकको नाम नभए पनि यसका समालोचक अवश्य नै सम्पादक मणिसिंह गुरूङ हुन्। यसमा रूपनारायण सिंहको भर्खरै प्रकाशित भ्रमर उपन्यासमाथि निकै गहनतासँग अध्ययन गरिएको छ। (प्रधान: २००८) यद्यपि ज्ञानबहादुर छेत्रीका अनुसार असमबाट पहिलो नेपाली समालोचनाको थालनी सन् १९४७ मा प्रभात पत्रिकाको अङ्कमा प्रकाशित पुष्पलाल उपाध्यायको लेख कविवर भानुभक्त हो। (छेत्री) मणिसिंह गुरूङ र उनको गोर्खा सेवक तत्कालीन असमकै अविभक्त असमभित्र पर्ने शिलाङको हुनाले छेत्रीको यो विचार स्वतः खण्डित हुन्छ। छेत्रीले पत्तो लगाएको उपाध्यायको कविवर भानुभक्त भन्ने लेख गोर्खा सेवकमा प्रकाशित समालोचना भन्ने लेखभन्दा दस वर्ष पछि पर्दछ। भारतमा नेपाली समालोचाको शुरूवात गर्ने सूर्यविक्रम ज्ञवाली हुन् भने रामकृष्ण शर्माको साहित्यिक उदय भएपछि भने निकै अघि बढ्न सक्यो। इन्द्रबहादुर राई, गणेशलाल सुब्बा, राजनारायण प्रधान, कुमार प्रधान, लक्खीदेवी सुन्दास आदि हुँदै भारतमा नैपाली समालोचनाले निकै प्रगति गरेको पाइछ।
त्यसपछि समग्र नेपाली साहित्यमा सिर्जनात्मक र समालोचना दुवै पक्षमा प्रगति भइरहेछन्। सिर्जनाको परख गर्न समालोचना पनि सक्रिय नै पाइन्छ। समसामयिक नेपाली समालोचना निकै अगाडि बढेको छ। नेपाल र भारतमा कुल मिलाएर हेर्दा समालोचनाले निकै फडको हानेको छ। नेपाल र भारतबाहेक अमेरिका र युरोपतिर पनि यसले पखेटा चाल्न थालेको छ। समयानुकूल विकसित भएका समालोचनाका विभिन्न सिद्धान्त, पद्धति र प्रणालीलाई पनि सँगसँगै आत्मसात गर्दै नेपाली समालोचना पनि निकै अगि बढेको छ।
३. प्रस्तुत लेखको उद्देश्य र सीमितता –
३.१. प्रस्तुत लेखको उद्देश्य असम क्षेत्रबाट पनि नेपाली समालोचना फस्टिएको त पाइन्छ यद्यपि तिनका बारेमा त्यति बढी मात्रामा च्रर्चा गरिएको पाइन्न। त्यसबारे आफुले जे जति अध्ययन गरियो, त्यसलाई तटस्थ भएर लेख्ने जमर्को मात्र गरिएको छ। यसमा पनि मूल्याङ्कनपरक नभएर हलुका टिप्पणी मात्र गरिएको छ।
३.२. यसमा समालोचनासँग सम्बद्ध आलोचना, मूल्याङ्कन, समीक्षा, विवेचना, विश्लेषण, अनुशीलन, समावलोकन, आदि पर्यायहरू नछुट्याएर समग्रमा रूपमा सबैलाई सालाखाला समालोचनाको रूपमा नै प्रस्तुत गरिएको छ।
३.३. यसमा समालोचनाका रूपमा मानिने केही मानदण्ड अपनाइएको छ – कृतिगत अध्ययन, साहित्येतिहास लेखन, समालोचनाका कुनै पद्धतिलाई आधार मानेर लेख्ने, साहित्यिक विवेचनात्मक सर्वेक्षण गरिने समालोचना।
३.४. प्रस्तुत लेखमा असमलगायत उत्तर-पूर्वाञ्चलका मणिपुर मेघालय आदि राज्यहरूबाट प्रकाशित पुस्तक र लेखादिका उपलब्ध नभएक हुनाले त्यत्ताको समालोनात्मक योगदानबारे सामान्य चर्चा उठान र सतही अध्ययन गर्न सकिएको छैन। यसबारे विशद् अध्ययन गर्नु बाँकी नै छ। यसमा असम केन्द्रित बनाइएको छ तथापि त्यहाँबाट प्रकाशित सबै समालोचनालाई पनि यसमा समेट्न सकिएको छैन। अझै यस पत्रबाट ओझेल भएको पनि हुनसक्छ।
४. असम-पूर्वाञ्चलतिरको नेपाली समालोचना-
भारतको पूर्वाञ्चल प्रान्त असमबाट पनि नेपाली साहित्यको विकास गर्न महत्वपूर्ण योगदान रहिआएको छ। सिर्जनात्मक साहित्यका दाँजोमा नेपाली समालोचना त्यति फस्टिएको देखिन्न। समालोचक व्यक्तित्वहरू थोरै नै देखिन्छन्। त्यतातिरबाट नेपाली समालोचनामा कलम चलाउने केही मुख्य समालोचकहरूमा स्व. डा. चन्द्रेश्वर दुबे, लीलबहादुर छेत्री, छविलाल उपाध्याय, तारापति उपाध्याय, विद्यापति दाहाल, डा शान्ति थापा, डा लक्ष्मीप्रसाद पराजुली, दुर्गाप्रसाद घिमिरे, डा भीमकान्त उपाध्याय, लोकनाथ चापागाईं, ज्ञानबहादुर छेत्री, डा खेमराज नेपाल, टेकनारायण उपाध्याय, मोहन सुवेदी, खेमानन्द मिश्र, गोपीनारायण प्रधान, घनश्याम तिम्सिना, दैवकी तिम्सिना, डा इन्दुप्रभा देवी, डा जमदग्नि उपाध्याय, लक्ष्मण अधिकारी, , कमलकान्त सेंढाइँ, आदि प्रमुख हुन्। फाट्टपुट्ट रूपमा समीक्षा-समालोचनामा कलम चलाउने अन्य केही व्यक्तिहरूमा नवसापकोटा, रणबहादुर सापकोटा छेत्री, खेमानन्द मिश्र, डा. जमदग्नि उपाध्याय, हरि गजुरेल, रूद्र बराल, देवीचरण सेँढाइँ, खडगराज गिरी, डा खगेन शर्मा, तिलक शर्मा, अविकेशर शर्मा, हेम गौतम, तीर्थ फुँएल, विलासी छेत्री, डम्बर दाहाल, रोहित गौतम, झरना भट्टराई, गायत्री नेवार इत्यादि हुन्।
असमलगायत पूर्वाञ्चल भारतबाट हालसम्म प्रकाशित नेपाली समालोचनाको पुस्तकहरूको सूचि यसप्रकार छ-
दुर्गाप्रसाद घिमिरे- कवि पुष्पलाल उपाध्याय- व्यक्तित्व र कृतित्व (२००१), साधना (२००३), शारदा (२०११)।
छविलाल उपाध्याय- लीलबहादुर छेत्री र उनको ब्रह्मपुत्रका छेउछाउ (१९९०), शाकुन्तल महाकाव्य : एक दृष्टि (२००१), देवकोटाको व्यक्तित्व तथा उनको मुनामदन (२००५), समीक्षात्मक निबन्धहरू (२०१२), उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधिमाथि एक दृष्टि(२०१२) , भूमिकै भूमिका (२०१५)।
विद्यापति दाहाल - पाश्चात्य समालोचना र प्रमुख वाद (२००४)
मोहन सुवेदी - साहित्य र समीक्षा (२००६)।
ज्ञानबहादुर छेत्री – अवलोकन (२०००), पुष्पलाल उपाध्याय (२००६), सर्जक र सिर्जना (२०१०), दुर्गासार (२०१३) नेपाली साहित्य एक झलकमा, आधा टपरा ठेटना (२०१४),।
डा. खेमराज नेपाल- साहित्य अकादमी विजेता नेपाली साहित्यकार (ज्ञानबहादुर छेत्रीसंग सहलेखन, २००३), भाषा र साहित्यका केही पक्ष (२००६), नेपाली लोकसाहित्यको रूपरेखा (२००३), केही कृति केही आकृति (२०१६)।
कमलकान्त सेँढाइ – पवन चामलिङ- व्यक्तित्व र कृतित्व।
घनश्याम तिम्सिना – विविध सृष्टि एक सृष्टि (२०१२)
कुलप्रसाद शर्मा – बटुलेका थुङ्गाहरू (२०१३)
लक्ष्मण अधिकारी - दृष्टिमा सृष्टिहरू -(२०१३)
गोमा अधिकारी – मणिपुरमा नेपाली साहित्य –एक अध्ययन (२०१५)
यीबाहेक डा भीमकान्त उपाध्याय, अविनाश श्रेष्ठ, मुक्ति बराल आदि समालोचकहरू पनि मूल रूपमा असमकै भए पनि अन्यत्र रहिआएकाले यहाँ विशेष चर्चा गरिएन।
४. असम पूर्वाञ्चलका केही प्रमुख समालोचकहरूबारे चर्चा उठान-
केही समालोचक - समीक्षकहरूका बारेमा अति संक्षेपमा प्रकाश पारिन्छ -
४.१. लीलबहादुर छेत्री – गौहाटीका एक वरिष्ठ आख्यानकार भए तापनि लीबहादुर छेत्रीले छिटपुट रूपमा समालोचनामा हात पनि हालेका छऩ्। उनका पूर्वाञ्चल भरतीय नेपाली कथा साहित्य र पत्र-पत्रिकाको इतिवृत्त (१९९७), पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन (२०००) जस्ता पुस्तकमा आंशिक रूपमा भए पनि समालोचना प्रस्तुत गरिएको छ। यो पछिल्लो पुस्तकमा छेत्रीले तुलचन आलेको मणिपुर्का लडायींका सवाइलाई भारतीय नेपाली साहित्यकै पहिलो लेख्य साहित्यका रूपमा शुरूवात् भएको कुरा उल्लेख गरेका छन्। यसैगरी उनले विभिन्न पत्रिका आदितिर दुर्वासा उपाध्याय, हरिभक्त कटुवाल, शरणार्थी उपन्यास, माया कुरी, बिक्रमवीर थापा, अर्जुन निरौला आदि कृति र कृतिकारबारे चर्चा गरेका छन्। उनको समालोचनामा ऐतिहासिक, तथ्यात्मकता र प्रभाववादिता जस्ता प्रवृत्ति देखा पर्दछ।
४.२. दुर्गाप्रसाद घिमिरे- तेजपुरका एक वरिष्ठ साहित्यकार दुर्गाप्रसाद घिमिरे एक कुशल समालोचक पनि हुन्। कवि पुष्पलाल उपाध्याय- व्यक्तित्व र कृतित्व(२००१, साधना (२००३), शारदा (२०११ )गरी तीनवटा समालोचनात्मक ग्रन्थ प्रकाशित देखिन्छन्। प्रभाववाद, विश्लेषणात्मकता जस्ता प्रवृति देखा पर्छ।
४.३. डा.लक्ष्मीप्रसाद पराजुली - सिङ्‌रीका डा लक्ष्मीप्रसाद पराजुली पनि समालोचनामा देखा परेका छन्। उनका दृष्टिपात (१९९३), उत्तरपूर्व भारतीय नेपलीसमाज र साहित्य (आंशिक समालोचना, १९९५), नेपाली कथा साहित्यमा उत्तर पूर्वीय भारतको योगदान जस्ता समालोचनात्मक कृति प्रकाशित देखिन्छ। उनले यस पछिल्लो कृतिविषयमा काठमाडौंबाट विद्यावारिधि हासिल गरेका हुन्। विश्लेषणात्मकता, शोधपरकता, प्राज्ञिकता उनको समालोचनागत प्रवृत्ति हुन।
४.३. छविलाल उपाध्याय - असमको शोणितपुर जिल्लाको ढेकियाजुलीमा एकजना सच्चा साहित्य साधक, कवि, समालोचक र सबैका आदरणीय व्यक्तित्व बस्नुहुन्छ- छविलाल उपाध्याय खतिवडा। उहाँका वर्षेनी एउटा-दुईवटा पुस्तक प्रकाशनमा आइरहन्छन्। हालसम्म उहाँका बीसवटा भन्दा बढी संख्यामा पुस्तक प्रकाशित भइसकेका छन्। तिनमा मौलिक र अनूदित छन्। मौलिकमा बढी पद्यका छन् भने गद्यमा निबन्ध र समालोचना छन्। समालोचना क्षेत्रमा मात्र पनि उनका लीलबहादुर छेत्री र उनको ब्रह्मपुत्रका छेउछाउ (१९९०), शाकुन्तल महाकाव्य : एक दृष्टि (२००१) देवकोटाको व्यक्तित्व तथा उनको मुनामदन (२००५), समीक्षात्मक निबन्धहरू (२०१२), उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधिमाथि एक दृष्टि(२०१२), , भूमिकै भूमिका (२०१५) गरी छवटा पुस्तक प्रकाशित छन्।
गत वर्ष २०१५ मा प्रकाशित भूमिकै भूमिका नामक पुस्तकमा उहाँले आफुले अन्यका किताबका निम्ति लेखेका बीसवटा जति भूमिकापरक लेखहरू समावेश छन्। यस पुस्तकमा विशेषगरी तीनवटा पक्ष परिलक्षित हुन्छन्- (क) लेखक परिचय (ख) कृतिपरिचय र (ग) समालोचना। लेखक परिचय र कृति परिचय त सामान्य रूपमा पाइन्छ भने समालोचना-परकता पनि यसमा विशेष रूपमा पाइन्छ।
४.४. विद्यापति दाहाल – विद्यापति दाहाल भने पूर्वीय र पाश्चात्य समालोचनात्मक प्रणाली-पद्धतिका जानकार समालोचक हुन। उनको पाश्चात्य समालोचना र प्रमुख वा २००४ प्रकाशित देखिन्छ। यद्यपि उनका व्यावहारिक समालोचनाको अध्ययन गर्नु बाँकी नै छ।
४.५. मोहन सुवेदी – मोहन सुवेदी पनि साहित्य र समीक्षा (२००६) पुस्तक लिएर समालोचनामा देखा परेका छन्। उनको समालोचनामा प्रगतिवादी चेतना स्पष्ट रूपमा फेला पर्दछ। उनको उक्त पुस्तकमा कविता, कथा, नाटक, अनुवाद, उत्तरआधुनिकता आदि विषयक चिन्तन, अनुवादकका रूपमा भानुभक्त आचार्य,
४.६. ज्ञानबहादुर छेत्री - नेपाली साहित्यमा असम तेजपुरका ज्ञानबहादुर छेत्री (जन्म १९५७) कुनै नौलो र अपरिचित नाम होइन। उनी समय समयमा पुस्तक र पत्र-पत्रिकातिर विभिन्न साहित्यिक सामग्री लिएर देखा पर्दछन्। उनी असमतिरबाट नेपाली साहित्यका एक प्रतिनिधि र प्रतिष्ठित साहित्यकारका रूपमा उनी परिचित छन्। पुस्तक प्रकाशनका हकमा ज्ञानबहादुर छेत्रीका हालसम्म आठवटा पुस्ताकाकार कृति हामीले पाइसकेका छौँ। तीमध्ये पाँचवटा समीक्षा-समालोचनात्मक कृतिहरू १. अवलोकन, २०००), २. नेपाली साहित्यत एभुमूकि (असमीया भाषामा, २०१०) र ३. सर्जक र सिर्जना (२०१०), ४. साहित्य अकादमी पुरस्कार विजेता नेपाली साहित्यकार (डा खेमराज नेपालसँग सहलेखन, २००२), र ५. भारतीय साहित्यका निर्माता कवि पुष्पलाल उपाध्याय (२००६), ६. दुर्गासार (२०१६) ७. आधाटपरा ठेटना (२०१४) प्रकाशित देखिन्छन्।
उनले असमीया भाषामा नेपाली लोकसाहित्यलगायत नेपाली साहित्यको सामान्य साहित्येतिहासको रूपरेखा तथा भानुभक्त आचार्य, पुष्पलाल उपाध्याय, दुर्वासा उपाध्याय, हरिभक्त कटुवाल, हरिप्रसाद गोर्खा राई, विष्णुलाल उपाध्याय, इन्द्रबहादुर राई र उनका आयामेली आन्दोलन तथा लीलालेखन, गीता उपाध्याय, लीलबहादुर छेत्री, कृष्ण धरावासीको शरणार्थी उपन्यास, कृष्णसिंह मोक्तान र के बी नेपाली जस्ता साहित्य स्रष्टाहरूका साहित्यिक परिचय, उनीहरूका कृतित्वको समीक्षा गरेका छन्।
छेत्रीका समालोचना सैद्धान्तिक, जीवन चरित्रात्मक, प्रभाववादी, निर्णयवादी, कृति र कृति दुवैको मूल्याङ्कनपरक रहेको छ। उनले कृतिभित्रका भाव, भाषा-शैली आदिमा रहेका कमी कमजोरीलाई पनि औंल्याउने गर्छन्। उनले अधिकाङ्श असमतिरका कवि, कथाकार, नाटककार, निबन्धकार, उपन्यासकार, समालोचक, अनुवादक, साहित्यिक संस्थाका संगठक, साहित्यिक पत्रकार व्यक्तित्वहरूको कृतित्व र व्यक्तित्वमा प्रकाश पारिएको छ। असममा नेपाली समालोचनाको खरेडी परेको अवस्थामा आफ्ना वरिपरिका साहित्य सर्जक व्यक्तित्वहरूलाई आफ्नो समालोचनात्मक लेखनको केन्द्रविन्दु बनाई छेत्रीले समग्र नेपाली साहित्य संसारलाई नै ठुलो गुण लाएका छन्।
४.७. डा. खेमराज नेपाल – विश्वनाथ चारालीका कवि र समालोचक डा. खेमराज नेपाल (जन्म १९५७) को केही कृति केही आकृति (२०१६), साहित्य अकादमी पुरस्कार बिजेता नेपाली साहित्यकार (२००३) जस्ता पुस्तक प्रकाशित छन्। उनी मूलतः कवि भए तापनि समालोचकको भूमिका पनि सशक्त रूपमा पालन गरेका छन्। उनको केही कृति केही आकृति पुस्तकमा लोकसाहित्य चर्चा, तुलना, साहित्यिक पत्र-पत्रिका अनवेषण र मूल्याङ्कन, कृति विश्लेषण जस्ता विशेषता देखा पर्छन्।
४.८. घनश्याम तिम्सिना – तेजपुरको दरङ कलेजका नेपालीका प्राध्यापक तिम्सिना पत्रिकातिर बेला बेलामा समालोचना लिएर देखा पर्छन्। उनको विविध सृष्टि एक दृष्टि (२०१२) नामक समालोचनात्मक पुस्तक प्रकाशित देखिन्छ। उनका समालोचना विशेष गरी पाठ्यक्रममा आधारित पाठ्यपुस्तकमा केन्द्रित रहेको सन्दर्भ ग्रन्थको रूपमा पाइन्छ।
४.९. डा. दैवकीदेवी तिम्सिना – शोणितपुर जिल्लाको सठिया कलेजमा राध्यापन गर्ने डा दैवीदेवी तिम्सिना पनि नेपाली समालोचनामा एउटा उज्ज्वल नाम हो। असमीय नेपाली कवितामाथि विशद अध्ययन गरी विद्यावारिधि हासिल गर्ने डा तिम्सिनाले विशेषगरी कविता विधामाथि नै अधिकांश समालोना लेखेकी छन्। नको समालचना शोधपरक, प्राज्ञिक र कृतिपरक विश्लेषणत्मक प्रवृत्तिको पाइन्छ।
४.१०. डा. गोमा अधिकारी – मणिपुरकी गोमा अधिकारीले हालमा गौहाटीमा रही केन्द्रीय विद्यालयमा हिन्दी शिक्षक कार्य गर्दै नेपाली साहित्यमा पनि समालोचात्मक लेखादि लेखेको पाइन्छ। उनले गोर्खाज्योति, नेती, लोहितपुत्र आदि पत्रिकामा सैद्धान्तिक आधारमा नेपाली कथा र कविताबारे लेखेकी छन्। यसका साथै उनले मणिपुरेली नेपाली साहित्यको इतिहास, सर्वेक्षण र मूल्य़ाङ्कन रहेको पुस्तक मणिपुरमा नेपाली साहित्य एक अध्ययन (२०१५) प्रकाशित छ भने भारतीय नेपालीसाहित्यको विश्लेषणात्मक अध्ययन नामक ग्रन्थ प्रकाशोन्मुख रहेको छ।
४.११. डा. शान्ति थापा – गौहाटीमा माधवदेव कलेजमा हिन्दी विभागमा प्राध्यापन गर्ने डा शान्ति थापाको छुट्टै ग्रन्थ नभए तापनि उनले सम्पादन गरेको असमेली नेपाली कथायात्राको भूमिकामा उनको समालोचकीय भूमिकामा शोधपरकता, ऐतिहासिक विकासक्रम र प्रवृत्ति निर्धारण जस्ता विशेषता पाइन्छन्। डा. थापाका लगभग दुई दर्जन जतिसमालोचनात्मक लेखादि पत्रिकाहरूमा छरिएका छन्। उनले कवि, नाटककारका बारेमा प्रवृत्ति केलाउँदै कृतिभित्र पसेर तिनको स्वर सन्धान गर्न रूचि देखाएकी छन्। शोधपरकता, इतिहासपरकता, प्रभाववादिता आदि उनको समालोचनात्मक प्रवृत्ति हुन्।
४.१२. इन्दुप्रभा देवी- गौहाटीको प्रसिद्ध बि. बरूवा कलेजमा असमीय विभागको प्राध्यापन गर्ने डा इन्दुप्रभा देवी (जन्म, गमिरी, १९६९) पनि नेपाली समालोचनामा पनि कलम चलाएकी छन्। उनका छुट्टै नेपाली समालोचनाको पुस्तकाकार कृति नभए पनि विभिन्न पत्र-पत्रिका, अभिनन्दन ग्रन्थ आदिमा लगभग् दुई दर्जन जति समीक्षापरक लेखहरू प्रकाशित देखिन्छन। तीमध्ये नेपालीसाहित्य र असमीय साहित्य तथा दुई साहित्यका बीचमा तुलनात्मक अध्ययन पनि गरेकी छन्। उनले पूर्वोत्तर भारतको नेपाली उपन्यास, नेपाली कथा साहित्यको विकासक्रम, हरिभक्त कटुवाल, लीलबहादुर क्षत्री, नव सापकोटा, भविलाल लामिछाने आदिका कवित्व-लगायत नेपालीमा असमीय साहित्य र असमीयमा नेपाली साहित्यबारेमा र दुवैबीच तुलनात्मक र परिचयात्मक समालोचना गरेकी छन्।
४.१३. तिलक शर्मा – जामुगुडीहाटको हेम बरूवा कलेजमा प्राध्यापन गर्ने तिलक शर्माले पनि असमीय नेपाली नाटकको परम्परा, प्रवृत्ति र नाट्य कृतिमाथि समालोचना-त्मक लेख लेखेका छन्। उनका लेखमा भने नाटय तत्व र संरचनाबारे प्रकाश पारिएको पाइन्छ।
५. समालोचनाका पद्धति र प्रकारका आधारमा असमीय नेपाली समालोचना—
५.१. सैद्धान्तिक समालोचना – कुनै पनि पूर्वीय वा पाश्चात्य साहित्य सिद्धान्तलाई लिएर लेखिएको सैद्धान्तिक समालोचना हो। यस किसिमको समालोचनामा विद्यापति दाहाल नेपाल, डा खेमराज नेपाल, ज्ञानबहादुर छेत्री मुख्य गरी अघि देखिन्छन्।
५.२. तुलनात्मक समालोचना - दुई वा दुईवटा भन्दा बढी भाषाको साहित्य, दुई वा भन्दा बढी कृति, एकै भाषाका दुई जना साहित्यकारबीचको कुनै एउटा पक्ष लिएर तुलना, एकै साहित्यकारको पनि अघिल्लो चरण र पछिल्लो चरणबीच कुनै पनि पक्षमा तुलनामक अध्ययन गरिएको तुलनात्मक समालोचना हो। असमतिर यस किसिमको नेपाली समालोचनामा लेख्ने अत्यन्त थोरै छन्। डा. इन्दुप्रभा देवी, डा शान्ति थापा आदिका केही लेखमा तुलनात्मकता पाइन्छ।
५.३. प्रगतिवादी समालोचना – मूल रूपमा कार्ल मार्क्सको साम्यवादी विचारधारालाई साहित्यितिक कृतिभित्रबाट खोजी निकालेर अध्ययन गर्ने, कृतिभित्र सौन्दर्य पक्ष खोजी गर्ने पद्धति हो प्रगतिवाद। समाजकको आमुल परिवर्तनमा विश्वास राख्ने, आर्थिक समानता, द्वन्द्वात्मक भौतिकवादी दर्शन, निमुखाहरूको हक-हितको पक्ष लिएर लेखिएको समालोचना पाइन्छ। असममा प्रगतिवादी समालोचना पनि यदाकदा देखिन्छ। मोहन सुवेदी, डा. जमदग्नि उपाध्याय, रूद्र बराल आदि मुख्य रूपमा देखिन्छन्।
५.४. इतिहासपरक समालोचना- कालक्रमिक रूपमा साहित्यको अध्ययन गरिने इतिहासपरक समालोचना हो। गोमा अधिकारीको मणिपुरमा नेपाली साहित्यको गतिविधि (२०१६), छविलाल उपाध्याय – उत्तर पूर्वाञ्चल भारतीय नेपाली साहित्यको गतिविधिमाथि एक दृष्टि, ज्ञानबहादुर छेत्रीद्वारा सम्पादित – असमेली नेपाली समालोचना, डा. दैवकीदेवी तिम्सिना आदिले पनि अध्ययन गरेका छन्।
५.५. मनोविश्लेषणात्मक समालोचना- विशेषगरी सिग्मण्ड फ्रायडद्वारा प्रतिपादित मनका विभिन्न सिद्धान्त र अवस्थाको विश्लेषण गरेर लेखिएको यस्तो समालोचना भारतबाट लेख्ने थोरै छन्। मानवीय मनका अचेतन अवस्थाका विभिन्न तह, स्वप्न सिद्धान्त, प्रतीकात्मक अध्ययन, यौनमनोविश्लेषण ईदम अवस्था र लिबिडोको बारेमा लेखिएका समालोचना ................ आदि देखा परेका छन्।
५.६. विधागत समालोचना- विभिन्न साहित्यिक विधाकेन्द्रित भई सैद्धान्तिक र प्रयोगात्मक समालोचना लेखिने विधापरक समलाचना हो। यता विधापरक समालोचना पनि विकसित भएको देखिन्छ। यद्यपि कथा, उपन्यासबारे बढी लेखिएका छन् भने निबन्ध, नाटक विधामा भने न्यून देखिन्छ। कथा समालोचना क्षेत्रमा डा शान्ति थापाद्वारा सम्पादित असमेली नेपाली कथायात्रा प्रकाशित छ। कविताभित्रका गजल, गीत उपविधाका समालोचना पनि देखा परेका छन्। गजल समालोचनाको क्षेत्रमा जमदग्नि उपाध्यायद्वारा सम्पादित गजल सिद्धान्त एवं विकासयात्रा (२०१६) मुख्य रूपमा यसतर्फ देखिन्छन्। निबन्ध समालोचनामा आदि मात्र देखा पर्छन् भने नाटक समालोचनामा पनि थोरै नै विकसित भएको पाइन्छ।
५.७. शैलीवैज्ञानिक समालोचना- कृतिभित्रको शैली पक्षलाई लिएर लेखिएको यस्तो समालोचना हो। कृतिको वाक्य, अर्थ, शब्द, रूप विन्यास, सङ्केत अक्षर विन्यास आदिका माध्यमबाट व्याख्या विश्लेषण गरिने शैली वैज्ञानिक समालोचना भने यता त्यति बढी नदेखि तापनि यदाकदा देखिन्छ। यसअन्तर्गत ज्ञानबहादुर छेत्री, डा. दैवकीदेवी तिम्सिना आदि थोरै देखा परेका छन्।
५.८. व्यक्तिकेन्द्री समालोचना- असमबाट व्यक्तिकेन्द्री समालोचना पनि फस्टिन लागेको छ। यहाँका विशिष्ट सर्जकहरूको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पारिएका पुस्तक निकै भएका छन्। जस्तो अविनाश श्रेष्ठद्वारा सम्पादित हरिभक्त कटुवाल स्मारक ग्रन्थ, पुष्पलाल उपाध्याय, विष्णुलाल उपाध्याय, हरिप्रसाद गोर्खा राई, लीलबहादुर छेत्री, दुर्गाप्रसाद घिमिरे, नवसापकोटा, जयन्तकृष्ण शर्मा, होमबहादुर छेत्री, गीता उपाध्याय, दुर्वासा उपाध्याय आदि प्रकाशित छन्। अभिनन्दन ग्रन्थ, कुनै पत्रिकाको अभिनन्दन विशेषाङ्क आदिको रूपमा यस्ता विशिष्ट स्रष्टाहरूको व्यक्तिकेन्द्री समालोचना फस्टिएको देखिन्छ।
५.९. कृतिकेन्द्री समालोचना – एउटै विशिष्ट कृतिमाथि समालोचना गरिएको एउटा सिङ्गै पुस्तक नै प्रकाशित हुने चलन पनि बढेर गएको देखिन्छ। यसो हुँदा त्यो कृतिको विशेष महत्त्व बढेर जान्छ। त्यस कृतिभित्र निहीत यावत् तथ्य, पक्ष र विशेषताहरूको समुचित अध्ययन हुन्छ। छविलाल उपाध्यायका दुइवटा कृति शाकुन्तल महाकाव्य एक दृष्टि (२००१) र महाकवि देवकोटाको व्यक्तित्व र मुनामदन (२००५) आदि देखा परेका छन्।
५.१०. शैक्षणिक वा प्रयोजनपरक समालोचना- पाठ्यपुस्तकको आवश्यकताबमोजिम र विद्यार्थीहरूको शैक्षिक तहअनुरूप बजार भावलाई हेरेर व्यवासायिक रूपमा लेखिने खालको समालोचना पनि देखिन्छ। असमलगायत पूर्वाञ्चलका विभिन्न विद्यालय महाविद्यालय-तिर माध्यमिक तहदेखि स्नातकीय तहसम्मका विद्यार्थीका सहयोगी वा निर्देशिका आदिका रूपमा देखा पर्छन्। यसमध्ये कुनै स्तरीय नै हुन्छन् भने कुनै हल्का-फुल्का, टिपोट मात्र पनि पाइन्छन्। यस्ता किताबलाई समालोचना ग्रन्थको रूपमा मान्यता दिन भने मिल्दैन।
५.११. लोकसहित्य अध्ययन – लोक साहित्यको अनुसन्धान, संकलन, अध्ययन गरी तयार पारी समालोचना ग्रन्थ भने असमबाट डा.खेमराज नेपालको नेपाली लोकसाहित्यको रूपरेखा र डा गोमा अधिकारीको नेपाली संस्कृति जस्ता ग्रन्थ देखा पर्छन्।
५.१२. यीबाहेक नव विकसित केही सिद्धान्त जस्तै भयवादी समालोचना आदि पनि देखा पर्दैछ। रण काफ्ले, मोहन सुवेदी यस दिशातिर उन्मुख रहेका देखिन्छन्।
६. असमीय नेपाली समालोचनाबारे संक्षिप्त रूपमा प्रवृत्तिगत अध्ययन-
६.१. असमीय नेपाली समालोचना क्षेत्रमा समालोचनामा मानिने केही मानदण्डहरू जस्तै – कृतिगत अध्ययन, साहित्येतिहास लेखन, समालोचनाका कुनै पद्धतिलाई आधार मानेर लेख्ने, साहित्यिक विवेचनात्मक र सर्वेक्षण गर्ने समालोचक त्यति देखा परेका छैनन्। अधिकाङ्श रूपमा हल्का फुल्का लेख लेख्ने, किताबको सामान्य भूमिका लेख्ने, सामान्य टिप्पणीपरक लेख लेख्ने, पाठ्यपुस्तक र निर्देशिका लेख्ने, दैनिक समाचार-पत्रतिर मात्र लेख्ने इत्यादि देखिन्छन्।
६.२. असममा व्यक्तिकेन्द्रित समालोचना पनि फस्टाएको देखिन्छ। हरिप्रसाद गोर्खा राई, लीलबहादुर छेत्री, हरिभक्त कटुवाल, दुर्गाप्रसाद घिमिरे, दुर्वासा उपाध्याय, गीता उपाध्याय, नवसापकोटा, जयन्तकृष्ण शर्मा, होमबहादुर छेत्री, आदि जस्ता सर्जकका रचनाहरूबारे छुट्टै पुस्तकाकार वा पत्रिकाको अभिनन्दन अङ्कका रूपमा प्रकाश पारिएको छ।
६.३. त्यहाँ समालोचना र अध्ययनलाई टेवा दिन राष्ट्रीय, अन्तर्राष्ट्रीय संगोष्ठीमा विभिन्न प्रस्तोताहरूले प्रस्तुत गरिएका अध्ययन पत्रहरूको संकलनका रूपमा पनि देखिन्छ। यस्ता संकलनहरू कुनै विधाविशेषमा केन्द्रीत हुनाले विधापरक, क्षेत्रीय सर्वेक्षणपरक र शोधपरक समालोचना पनि फस्टिएको देखिन्छ। मालिगाउँ प्रभा (२०१७), नेपाली संस्कृति सुधा (२०१५) आदि संगोष्ठी संगालाहरूले पनि नेपाली भाषा,साहित्य र संस्कृतिमाथि विशद् अध्ययनमा योगदान दिएका छन्।
६.४. त्यहाँका केही साहित्यिक पत्रिकाहरूले पनि कुनै अङ्कलाई समालोचना विशेषाङ्कका रूपमा पनि प्रकाशित गरेर यसलाई टेवा दिएको पाइन्छ। हाम्रो ध्वनि, विन्दु, पानस, परिषद पत्र, मुहान, आदि जस्ता पत्रिकाहरूले पनि समालोचना अङ्क वा स्मृति अङ्क वा अभिनन्दन ग्रन्थ आदि प्रकाशित गरेर समालोचनालाई अघि बढाएको देखिन्छ।
६.५. त्यहाँका केही शोधपरक साहित्यिक एकभाषिक द्विभाषिक वा बहुभाषिक जर्नलहरूको पनि प्रकाशन भएको देखिन्छ। जस्तो समकालीन साहित्य, जागृति, लोहितपुत्र इत्यादि हुन्।
६.६. असममा भारतीय नेपाली समालोचना साहित्यको साहित्येतिहास, परम्परा र प्रवृत्ति केलाएर अध्ययन गर्ने काम पनि भएको पाइन्छ। यस क्रममा ज्ञानबहादुर छेत्रीद्वारा सम्पादित पूर्वाञ्चल भारतको नेपाली समालोचना यात्रा, डा गोमा अधिकारीको मणिपुरमा नेपाली साहित्य एक अध्ययन आदि।
६.७. यहाँ कुनै एउटा कृतिमाथि परिचर्चा कार्यक्रम, संगोष्ठी, लेखकसित भेटघाट आदि पनि बेलाबखत सम्पन्न हुन्छन्। यसबाट पनि समालोचनाको फाँट बिस्तार नै भएको देखिन्छ
७. असमीय नेपाली समालोचनको प्राप्ति र सीमा-
असमीय नेपाली समालोचनाको स्थितिलाई अध्ययन गर्दा केही निम्न तथ्यहरू पाउन सकिन्छ –
७.१. समालोचनाका दुई पद्धतिहरू हुन्छन्- बाह्य र आभ्यान्तरिक। त्यहाँ देखिएका नेपाली समालोचनामा बाह्य पद्धति नै देखा पर्छ। साहित्यिक परम्परामा कृतिका स्थान निर्धारण, काल, परिवेश, कृतिकार परिचय र तिनको प्रवृत्ति, पाठको मुख्य भाव आदि पक्षलाई ध्यान राखेर लेखिएको पाइन्छ। यद्यपि कृतिभित्रकै शब्दका ध्वनि, वर्ण र शब्दप्रयोग, सङ्केत, बिम्ब, अलङ्कार, प्रतीक, बनोट र बनोट, आक्षरिक छन्द र लय, संरचनाका आन्तरिक घटकहरूबीच के कस्तो सम्बन्ध छ इत्यादि जस्ता आभ्यान्तरिक पक्ष केलाइएको पाइन्दैन।
७.२. आफ्नो परिवेश र आफुले व्यवहारिक रूपमा प्रयोग हुने असमीय भाषा र साहित्य अध्ययन गर्ने धेरै नेपाली समालोचकहरूको समालोचकीय स्तर असमीय स्तर वा पर्यायमा पुग्नसकेको छैन। त्यति विकसित साहित्यको बीचमा रहेर पनि त्यहाँको नेपाली समालोचना परम्परागत प्रभाववादी ढाँचाको मात्र देखिन्छ।
७.३. असमीय नेपाली समालोचना न पूर्वीय सिद्धान्त न पाश्चात्य सिद्धान्तमा आधारित छ। दुवैपट्टिका साहित्यिक सिद्धान्तका आधारमा कृतिको अध्ययन, मूल्याङ्कन र विश्लेषण गरिएको पाइन्न। अझ भन्नुपर्दा सर्जकहरू आफै नै समालोचक पनि बन्नुपर्ने स्थिति नि देखा परेको छ।
७.४. असमतिर प्रभाववादी प्रवृत्ति नै प्रबल रूपमा देखिन्छ। कृति पढेर त्यसबारे समालोचकलाई परेको मानसिक प्रभावलाई अधिकांश समालोचकहरूले प्रकाश पार्ने गरेको पाइन्छ। कृति कसरी बनेको छ भन्दा कृतिमा के छ भन्ने मात्र समालोचना बढी लेखिएको देखिन्छ।
७.५. यहाँका समालोचनाका कृतिको सूची हेर्दा सन्तोकजनक नदेखिनुका साथै वास्तविक समालोचकीय धर्म पनि निभाएको बढी पाइन्न। समालोचनाको नाममा व्यक्ति र कृतिको प्रशङ्सा, कृतिको गूढ वस्तु पक्षभन्दा सतही पक्षको मात्र अध्ययन, दोष केलाउने कमजोरी पक्षमाथि आँखा चिम्लिनु वा पत्तो नलाउनु, पूर्वाग्रह आदि जस्ता कुरा पनि देखा पर्छन्।
७.६. यहाँको समालोचनामा शैलीवैज्ञानिक, संकथनात्मक, संरचनात्मक, भाषिक-पराभाषिक, संकेत-वैज्ञानिक, मीथकीय, मनोविश्लेषणात्मक, नारीवादी, पर्या-आलोचनागत, संरचनावादी, प्रगतिवादी, आदिमतापरक, सांस्कृतिक इत्यादि नयाँ नयाँ समालोचनाको पक्षहरू खासै उल्लेखनीय रूपमा विकसित भएको पाइन्न।
७.७. यहाँ नारी समालोचकहरूको उपस्थिति पनि सन्तोकजनक देखिन्न।
७.८. जीवनीपरक समालोचना पनि फस्टिएको देखिन्छ। व्यक्तित्व र कृतित्व केलाउँदा सर्जकको कृतिगत अध्ययन पनि भएको पाइन्छ।
७.९. असममा शोधपरक समालोचनाले पनि त्यति फस्टिएको छैन। यद्यपि यस्ता समालोचना यदाकदा पाइए पनि शोधार्थी व्यक्तिद्वारा मात्र अघि बढाइएको छ।
७.१०. सिर्जनात्मक कृतिका अनुपातमा असमलगायत पूर्वोत्तरमा समालोचना अति न्यून छ। समग्रमा असममा नेपाली समालोचना एकप्रकारले टाक्सिएको नै देखिन्छ।
७.११. असमीय नेपाली समालोचनाको फाँटमा ज्ञानबहादुर छेत्रीले नेतृत्वको अभिभार लिएको पाइन्छ भने तिनलाई अनुशरण गरेर आउनेहरूको संख्या पनि देखिन्छ।
७.१२. यद्यपि असमीय नेपाली समालोचना आशालाग्दो स्थिति नै देखा पर्छ।
प्रस्तुत लेखमा प्रयुक्त केही सन्दर्भ ग्रन्थ-
१. ज्ञानबहदुर छेत्री, आधाटपरा ठेटना, २०१४.
२. गुप्त प्रधान, केही विषयहरू केही विशेषताहरू, २००८।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु