नियमापत्ति छ आमा मेरो

- गोपाल झापाली

वनबासको अनकन्टारमा एक्लै छोड्ने,
अनि रावणले हरेर लगे पछि फर्काउन हनुमान खटाउने
फिर्ता ल्याएर पनि सीताको सतित्व नपत्याउने
परीक्षा लिन जिउँदै आगो लगाउने र उत्र्तीणाङ्क दिने
हो, तिनै रामको चरणमा पूजा गर्ने मेरी आमा ।

सीतालाई हरण गर्ने
हरण गरेस स–सम्मान राख्ने
स्पर्श सम्म नगर्ने
तर रामको सनकमा
हनुमानको भक्तिभावमा
राज्य खरानी पार्न तयार
समाजले बनाई दिएको रावणको दानवी चरीत्र
मन भरि, मतिष्क भरि, हृदय भरि खिल बनेर गढेका छन् तिमिमा,
हो, मैले बिज्याई गर्दा त्यहि रावण भनेर आजित हुने मेरी आमा ।

कोतपर्व गरेर सिंहासन हत्याउने,
शासनका लागि परिवार रित्याउने
जंगबहादुरकै सन्तान त हुन, चन्द्रशमशेर
मेरा बाबु मरेका दिन, तिमि चितामा चढेकी हुन्थेउ,
म प्रतिको ममता खरानीमा बदलिदिन्थेउ
म भित्र बाँचेर आफु पनि खरानी भई बगरमा उड्थेउ
तिनै चन्द्रशमशेरले दिएको बोनस आयु बाँच्न पाएकी तिमि
हो, उनलाई पनि त्यहि जंगेको सन्तान भनेर राणाका खलक भन्ने मेरी आमा ।

नियमापति छ आमा तिमिसँग मेरो,
तिमिलाई भ्रमको थाङ्नामा सुताई रहने समाज प्रति चुप रहयौ
मलाई काखमा बोकेर छाउगोठमा एक्लै एक्लै चिसा रात कटायौ
भएको थोत्रो च्यादर मलाई ओढाएर, तिमि रात भर जागै रहयौ
भाइ जन्मिने बेला थियो रे, भरिएको पेटले तिमि भोकाउनै छोडेकी थियौ,
मैले उभारेको बटुकाको र बाउले उभारेको काँशे थाल मात्र पुछि रहयौ
तर आज म एक चिम्टी खुसीका लागि धोक्रो भरि पीर बोकेर दौडिरहेछु,
तिमिलाई हजुरआमा बनाउन दुनियालाई हजुर भनेर बिचरा भई रहेछु
मलाई जन्माउने अधिकार पाएकी आमा,
तिमिले आफ्नै सन्तानको भाग्य लेख्ने अधिकार किन भावि भन्ने चिजलाई दियौ ?
नियमापत्ति छ आमा तिमिसँग मेरो,
घोर आपत्ति छ मेरो ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु