सिंगापुरको रङ्गीन सम्झना

- भेषराज रिजाल

‘सिंगापुर अर्थात् लायन सिटीमा यहाँहरूलाई हार्दिक स्वागत छ ।’ आली सोलोन हाते माइकको गुञ्जनसँगै मुस्कुराइन् ।
विश्वका सत्ताइस मुलुकका मान्छेहरू बोकेको बस चाइना टाउनको छेउछाउबाट गुज्रिरहँदा उनले सबैलाई लठ्याएन्– मरिना वे, गार्डेन वे र सिंगापुर रिभर जाँदैछौँ हामी ।
सन् उन्नाईस सय उन्साठीसम्म ब्रिटिस साम्राज्य भोगेको सिंगापुरले त्रिसठ्ठीबाट गरेको रहेछ स्वशासन । पैँसठ्ठीमा स्वाधिनता भित्र्याएको सिंगापुरका पहिलो प्रधानमन्त्री रहेछन् लि क्वान यू । राष्ट्रिय झण्डाका पाँच ताराको आकांक्षाअनुरुप लोकतन्त्र, शान्ति, प्रगति, न्याय र समानताले समृद्ध रहेछ सिंगापुर । प्रचुर प्राकृतिक स्रोतसाधन नभए पनि मानव साधनकै भरमा असल नेताले सिंगारेको सिंगापुरे संघर्ष र विकासका अनेक कथा सुनेर पुलकित भइरहँदा आलीले देखाइन् गगनचुम्बी घर, बुद्ध मन्दिर र अनेक संरचनाहरू । दोस्रो विश्वयुद्धको पीडा भुलिसकेको सिंगापुरे सुन्दरतातिरै तानिएँछु म पनि ।
समुद्री किनारको मरिना वेमा पुगियो । टिकट लिएर छिरियो फूलै–फूलको शहर गार्डेन वेमा । आँखामा फुले क्लाउड फरेष्ट, प्लावर डम र गोल्डेन गार्डेन । कालोनियल गार्डेनका अनेक पत्रमा छिरिरहेँ म । अष्ट्रेलियन जोनको कंगारु ट्रिसँग रोकिएँ एकछिन । इकेलिप्टसका चिचिले रुख देखेर हलुका भयो मन । ठाडै सुकेर पत्रैपत्र भएको काँडेदार रुखमा अल्झियो नजर । मलाया गार्डेन, चाइनिज गार्डेन र इण्डियन गार्डेनमा रोकिए पयर । जति हेर्यो उति उचालिन्छ नजर । आहा, संसारका सबै फूल फुलिरहेछन् सिंगापुरमा । खुला किताब जस्तो यो एसियाली फुलबारीमा सबै जात, धर्म, वर्णका अनुहार पनि त उन्मुक्त मुस्कुराइरहेछन् ।
देखिए फूलका घरहरू । भेटिए फूलकै मूर्तिहरू । छोइए तरुना मन भएका फूलका कोपिलाहरू । फूलको संसारभित्र उभिए सपनाका घरहरू । सुन्दर घरसंसार पाएर खित्खिताइरहेथे फूलका सुकोमल अनुहारहरू । रातमा पनि चम्किरहेथे तिनका मुस्कानी पत्रहरू । म पनि मनमनै मुस्कुराएथेँ ।
थाहा पाएथेँ, रात होस् या दिन, मुस्कुराउन समयले छेक्दोरहेनछ ।
नेपालीहरूबाट प्रभावित आली मतिर फर्केर नेपालीमै बोल्छिन्, फोटो खिच्नुस् । काठमाडौँका अनेक ठाउँको नाम सम्झेकी उनको नेपाल प्रेमले द्रविभूत हुन्छु म । ‘गुरुङ जस्ती छु रे’ भन्ने चिनीयाँ मूलकी आलीको चेतनाबोध देखेर अचम्मित हुन्छु ।
भारत सिं लास्पाल मसँग खिचिन आइपुग्छन् । सम्झाएझैँ गर्छन् उनले– भारत नेपालसँगै छ नि त । श्रीलंकाली दयारत्ने पनि आइपुग्छिन् हामीसँगै ।
अजरबैजानी सबुही सोध्छन्– तिम्रो मुलुक सिंगापुर जस्तो छ ?
म लजाउँदै भन्छु– नेपालमा क्रमशः सुधार हुँदैछ ।
उनी फेरि बोल्छन्– तिम्रो मुलुकमा सगरमाथा छ, तिम्रो व्यवहार यति राम्रो छ, नेपाल अवश्य सुन्दर हुनुपर्छ ।
विश्वबन्धुत्वको एउटा कसिलो सम्बन्धमा जोडिएर नेपाली गौरव गाथा कहन्छु म उनीसँग ।
घान्द्रुकसम्म पुगेका सेल्स आइल्याण्डका गोर्गियोले सम्झिन्छन् नेपाल । बोत्स्वानाका लुकास, कम्बोडियाली सङ र कुन मुस्कुराउँछन् सद्भावले । पूर्वी टिमोरे सान्तोष नेपालीजस्तै लाग्छन् मलाई । फिलिपिनी डारगान्टिस र इग्नासियो आइपुग्छन् हातेमालो गर्न । डानियलाको गेरेण्डियन मुस्कान टाँसिनखोज्छ छातिमा । भिक्टोरियाको केन्याली हाँसोले बढाउँछ अनन्य मित्रता । माल्टाका रेने स्टिभालाको निर्भिकतासँग गाँसिन्छ आत्मियता । लाओसका क्याम्फिलाथसँग साटिएछ मायाको चिनो । पेरुबासी रजुरीसँगको चिनारी छोइएछ अन्तरमनमा । सिरिन्थोनको उज्यालो थाइमुहार झुल्किरहेछ स्मरणपटलमा । चाउ चेर याक, कोह गिम, वि ट्याङ, योङ जियमिन र सेबस्ताइनको सिंगापुरे सम्झना पनि साँचिएछ मनमा ।
लास्पालले गाउँछन्– कान्छीलाई घुमाउने काठमाडौं सहर । दयारत्नेलाई पनि थाहा छ शान्तिको नेपाली गीत ।
कसैले सोध्छन् सगरमाथाको सुन्दरता । कसैले सोध्छन् बुद्धको अमरगाथा । कसैले सोध्छन् भूकम्पको बितण्डा । माल्दिभियन, बुरुण्डीयन, नाइजेरियन, युक्रेनी, कजाकी, ओमानी आदि सबैको छ नेपालप्रति अपार सद्भाव । गौरवान्वित भएझैँ लाग्छ, पाएर अजम्बरी मायाका चिरस्मृत सम्झनाहरू । म सोच्छु, नेपाल र नेपालीलाई माया नगर्ने मान्छे को होला विश्वमा ?
एन्टी करप्सन स्टारटेजी इन सिंगापुर नामक पाँचदिने कार्यक्रममा नेपालको प्रतिनिधि भएर सन् दुईहजार सत्रको जुनको उत्तरार्धतिर सिंगापुर पुगेको थिएँ म । कम भ्रष्टाचार हुने विश्वका अग्रणी मुलुकमध्येको सिंगापुर पद्धतिमा बाँधिएर उन्नति पथमा रफ्तारसाथ कुदिरहेको रहेछ । सिंगापुरे सोच, शैली, संस्कार र व्यवहार देखेर जति प्रफुल्लित थिएँ म, उति नै नेपालको अव्यवस्था सम्झेर दुखित पनि ।
यता मुलुकको उन्नतिका लागि ठूलो पदमा पुग्दारहेछन् उता धन कमाउनका लागि । यता मुलुकको हित हुने कानुनको व्यवस्था र सोको परिपालना रहेछ उता निर्धालाई मात्र लाग्दछ कानुन । यता हरेक अनियमिततालाई भष्ट्राचार मान्दै कडा कारबाहीको व्यवस्था रहेछ उता जघन्य भष्ट्राचारमा पनि उन्मुक्ति खोजिन्छ । यता सधैँ पद्धति बसाल्ने असल नेतृत्वको राज रहेछ उता पद्धति भत्काएर फाइदा लिने जंगली राज मौलाइरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जागिरे भएर गएपछि मैले देखेको मुलुकको अवस्था सम्झेर भक्कानिन्छु । सर्वत्र खस्केर, भत्केर, भासिएर, चोइटिएर, डढेर कुरुप बनेको समाजको अनुहारले लखेटिरहेछ हरक्षण ।
म लामो सुस्केरा हाल्दछु– मुलुकको कामबाट गर्वले टाउको उठाउन पाउने दिन कहिले आउला उता ?
आउला नि कुनै दिन अवश्य । बन्ला नि नेपाल कुनै दिन समृद्ध । अलिकति पद्धतिको विकास हुन नसकेको मात्र हो । नत्र, नेपाल जस्तो सुन्दर मुलुक विश्वमा कहिँ छैन । एकटुक्रा आशा पालेर खुसी फुलाउन चाहन्छु मनमा ।
मरिना वेको आँगनमा मान्छेहरू आलिङ्गनमा आनन्दित देखिए । लाग्थ्यो, सिंगापुरका सबै मान्छे सुखी छन् । सिंगापुर पुगेका संसारका सबै मान्छे खुसी छन् । सोचेथेँ, उनीहरू म मुस्कुराएको हेर्न पर्खिबसेका हुन् । मेरो ओठमा खुसी देख्नासाथ गुलाबी खम्बामा उचालिर औधि खुसी देखियो मरिना वे । साँझ छिप्पिइसक्दा आकास छोइरहेका स्तम्भहरू चम्कन थाले । रुखहरू साउती गर्न थाले । रुखको नाच र रुखको गीत पहिलोचोटी देखेँ मैले । आकासमा जग्मगायो रातो, हरियो, निलो, गुलाबी, बैजनी आदि रङ । मभित्र जग्मगायो एउटा अद्भूत सुन्दर रङ । मान्छेको मनभित्रको अनुभूतिको रङ सबै रङभन्दा सुन्दर हुँदोरहेछ ।
मानौँ, मान्छेहरू त्यहाँ खुसीको रङको फागु खेलिरहेथे । मान्छेको नजरको सुन्दरता चम्किरहेथ्यो आकासमा । संगीतले भरिएथ्यो आकास । संगीतले भरिएथ्यो मन । मुलुक सिंगार्न सके सद्भाव राख्न संसारका सबै मान्छे ओइरिँदारहेछन् भनेर दङदास परेँ म पनि ।
कहिल्यै नबिर्सने त्यो साँझ दिनभन्दा चहकिलो उज्यालो फैलाएर सजिएछ मनमा । बसेछन् मनमा, साँघुरो क्षेत्रफलमा फैलिएको पूर्वी एसियाको विशाल मुलुक सिंगापुरको अनगिन्ति असल अभ्यास र सफलताका कथाहरू ।
अनायास गुञ्जिएथ्यो ताली । मुलुकको हितमा प्रतिबद्ध असल नेताको समर्थनमा पिटिएको जस्तो ताली । तब, सिंगापुरको रङ्गीन रातको आकास हेरेर भनेथेँ मैले– मान्छेले चाहे खुसीका अनन्त आकास थप्न सक्दोरहेछ ।
म खुसीले नाचिरहँदा आकासको एउटा कुनामा देखियो उदासी जून । मेरो जीवन आकासमा यदाकदा झुल्किने धोकेवाज जूनलाई सम्झेँ मैले ।
सन्ध्याकालीन उदासी क्षणमा अक्कासिएको चड्डासँगै आकासमा उडिरहँदा पहिलोपटक देखेथेँ त्यो धोकेबाजलाई मैले । सोचेथेँ, सिङ्गो जिन्दगी पर्खेपछि भेटिएकी जून मेरै होली । म त्यसको मायाजालमा नजिकिँदै गर्दा हामीबीच अनायास तेर्सिएथ्यो एकटुक्रा बादल । बादलको मोहनी पछ्यौरीमा लुकेर मलाई छल्दै धेरैचोटी त्यसले मेरो मायाको उपहास गरिथी । चड्डासँगै चुडिएर म धर्तीमा पछारिइसक्दा बादलको घेराबाट निस्केर विजयभावमा मुस्कुराइथी त्यो । तब, मैले त्यसलाई भनेथेँ– हेर्दिनँ तेरो चन्द्र मुहार अब, चाहन्नँ तेरो मृदु मुस्कान अब, पर्खन्नँ तेरो धोकेवाज आगमन अब, माग्दिनँ तेरो घाती माया अब ।
तर, मेरो खुसीमा विछोडको व्यथा मिसाएर मलाई दुखी बनाउन फेरि मेरै शिरमाथि झुल्किई त्यो । पलपलमा फेरिइरहने त्यसको छेपारे माया सम्झेर एक्लै हाँस्दै नजर अन्तै हटाएथेँ मैले । म स्वैरकल्पनाको दुनियाँबाट यथार्थ धरातलमा ओर्लिन चाहन्थेँ ।
आलीले फेरि डोर्‍याइन् हामीलाई । पुगियो लभपासा । उनले त्यहाँ पाइने खानाका नाम लिँदै लोभ्याउन लागिन्– चिकेन राइस, फ्राइ नुडल्स, नरिवल सुप, पिनट सस, कवाफ, फिस, चिल्ली सुप, आदि । अनुभवमिश्रित निर्देशन सुनाइन् उनले– गर्न नहुने केही छैन, विश्वमा जहाँ पनि मिल्दछ मानवीय व्यवहार । तर, कसैले अनुहार फर्काए अस्वीकृत सम्झनुस् ।
खानाको स्वाद लिइरहेका मान्छेको भीड हेर्दा लाग्थ्यो, खान नहुने केही छैन दुनियाँमा । लाग्थ्यो, यहाँ मान्छे केबल खान र मोज गर्न ओइरिएका हुन् । हामी पनि छिरेथ्यौँ रेष्टुरेन्टहरूमा र केहीबेर हराएथ्यौँ आ–आफ्नो स्वाद र सन्तुष्टिमा ।
युवाहरू खाइरहेका र बूढा मान्छेहरूले भाँडा माझिरहेको देख्दा भने नरमाइलो छिरेथ्यो मेरो मनमा । पेट कोक्याएझैँ भएथ्यो । सोधेथेँ आफैसँग– चिनीको राशमाथि रमाइरहेका चिनी कमिलाहरूको जमातमा गोबरको गन्ध भोग्ने गोबर कमिलो त होइन म ?
आकासमै पुग्ने पीङ र रिभर क्रुजमा थियो मान्छेको चहलपहल । हामीसँग भने आत्मीयझैँ छोइयो सिंगापुर नदी । नदीभरि कुदिरहेथे रङ्गीन डुङ्गाहरू । डुङ्गामा चढेर नदीका छालहरूसँग रमाउन थाल्यौँ हामी । भेटिए धमिलो पानीमा पनि चम्किने छालहरू । सुन्दरताको रङ छरिएपछि जुनसुकै चिज पनि चम्किँदोरहेछ ।
तैरिरहेको डुङ्गा हल्लिन थाल्यो । कसैले भने– डर छैन आँधी नआएसम्म । कसैले भने– नदी र समुद्रलाई छुट्याइएकोले सुनामी र आँधीले छुँदैन । मलाई भने खुसीको सुनामीले हल्लाइरहेथ्यो बेतोडले ।
चहकिलो सहरको शान्त नदीमा विचारका अनेक छाल कुद्न खोज्छन् । रङ्गीन रातका हजार पानाहरू फर्काउन थाल्छु म । पानीको मसिनो कल्कलाहटले सुस्तरी हान्दछ मलाई । म सपनाबाट बिउँझिएझैँ हुन्छु । मेरा साथीहरू भने खुसीका प्याला पिउँदै सुखको विपनामा नाच्दै रहेछन् ।
लायन पार्क आइपुग्यो । सिंहको मूर्तिको मुखबाट पानीको फोहोरा छुटिरहेथ्यो । त्यो फोहोरा मेरै शिरमाथि परेझैँ शितल अनुभूति भयो । जीवन सधैँ यस्तै सरस छोइन्छ त ? अविरल प्रवाहित फोहोरा हेरेर आफैसँग सोधेथेँ मैले ।
मरिना स्क्वाएरमा गुडिरहँदा बत्ती र रङहरूको उत्कट सजावट हेरेर मनमा अनेक आकृति बनाउँछु म । सर्लक्क परेका सफा सडक र ओसिलो मौसमका हरिया चौरहरू थपक्क बस्न खोज्छन् मनमा । सजिएका टेबल, रमाइरहेका क्यासिनो र व्यस्त सपिङ सेन्टरले भने जिस्क्याउन खोज्छन् । इच्छा र आवश्यकताअनुरुपको आफ्नो खुसीका उन्मादी मुस्कान छरेर बेखबरझैँ रहन्छु म ।
सिंगापुर बसाइका क्रममा मुस्तफा, चाइना टाउन, सोनी सप र सन्तोषा आइल्याण्ड जान सुझाव दिन्छिन् आली । जतिबेला, होटल स्टुडियो एमको अगाडि एकछिन उभिएर विदा हुनलाग्दै थियौँ हामी ।
आली भन्छिन्– मलाई पैसा चाहिँदैन, बरु इन्टरनेटमा खोजे पुग्छ ।
उनको हँसिलो अनुहार हेर्दै सोधेथेँ मैले– इन्टरनेटमा नभेटिए सधैँ सम्झिरहे हुन्छ कि हुँदैन ?
प्रतिउत्तरमा केबल मुस्कुराइथिन् उनी ।
शायद उनको अन्तर्मनले भनिरहेथ्यो– हुन्छ, किन नहुनु । जीवनपर्यन्त रहिरहोस् सिंगापुरको रङ्गीन सम्झना ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु