मानिस

- बद्रीप्रसाद सिवाकोटी

अलिकति झिनो विश्वास...,
हिंउदको सित ओडेर,
खाली आन्द्राका तार बजाउदै....,
खुला आकाशको छाना मुनि......,
न डर न त्रास..........।
अल्ला, खुदा, गड......?
खै कसले विछाएका आँखामाथि....,
म फुस्स निदाएको मानिस ।
दिनभरि सडक नापेर...,
लाखौं किलोमिटर पार गर्न बाँकी छँदै..,
ठिंङ्ग उभिएको सल्लो....,
जोरशाल बजार नपुग्दै...,
फत्याक्क गलिसकेको भरिया...।
न सुंगेर सुगन्ध छरियो उसमाथि,
न उंगेर रात भरियो भूसमाथि,
खै कसले रोपेका विचारहरु...,
म त्यही विलाएको मानिस ।
विहानै उषाको किरण..,
शान्तिको पिठ्यू भरि पोखिन लाग्दा...,
वादल तानेर लुक्ने हिमाल...,
न लजाएकी पातर आइमाई....,
बलत्कार भइरहँदा....,
न रोक्न सक्ने े लागत भएको...,
न ठोक्न सक्न तागत भएको..,
लाचार बादशाहको सालिक...,
म उस्कै छाँयाले पछ्रयाएको मानिस ।
मानिस..., मानिस..., मानिस ..?
एक्काइसौं शताब्दिको सभ्यता सँगै,
धर्तिको एक मुठी माटो खोज्दै...
पूर्खाको विर्ता सिगार्न...,
कहिले जात कहिले धर्म...,
न पहाड न मधेस...?
खै कसले हो ..? दोबाटोमा,
वेवारिसे फालेको लाश,
म उस्कै मलामी जाँदै गरेको मानिस ।
कालरात्रीमा रातो झण्डा...,
सूर्य र चन्द्र बोक्दै,
छुनै नसक्ने आगोका लप्काहरु
खाली पाइतालाले बुताउदै....,
बाबु विनाको छोरो....,
आमाको नाङ्गो आङ्ग ढाक्न,
सीमा पारी पसिना बगाउने,
तन्नेरी मै बूढो भइसकेको..,
म उस्कै अबैध्य पिता..,
सरम पचिसकेको मानिस
कहिले गोरखाको जौ बारीमा
कहिले दाङ्गको कोइलाबास..,
थर्पु होस या थेचुम्बा,
हलेसी बजारमा भेटिन सक्ने,
सक्रान्ति बजारमा गित...,
ठूली बेंसीको खेतालो होस..,
वा चुरे लेखको गोठालो ।
रत्न पार्कमा घाम तापेर बदाम छोडाउँदै,
लुटिएको अस्मितालाई खोजिरहेको मानिस ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु