मनु हुनुको अर्थ

- श्रीओम श्रेष्ठ रोदन

एक प्रकारको अन्तरद्वन्द्व छ मभित्र । के गर्दा ठीक हुन्छ र के गर्दा ठीक हुँदैन भन्ने । कहिलेकाहीं यस्तो अन्योलको भुमरीमा पर्नेगर्छु । यो एक प्रकारको मानसिक पीडा पनि हो जस्तो लाग्छ मलाई । आफूलाई मन परेको व्यक्तिको प्रशंसा गर्न पाउँदा आनन्द लाग्छ । तर मन नपरेको मान्छेको बारेमा औपचारिक्ता मात्र पनि भारी लाग्छ । हृदयले आत्मसात् गर्न नसकिएपछि खुशी हुने त कुरै भएन ।
यो मेरो मनको अदालतको निर्णयात्मक आदेश हो । यसमा कुनै शङ्का छैन । भएर पनि म आफैसँग अलमलिरहेको छु । आफूलाई जे लाग्छ त्यस्तै गर्नु ठीक कि बेठीक ? मूर्त प्रश्न पनि आफैसंग छ । मूर्त र अमूर्त जवाफ पनि आफैसँग छ जस्तो लाग्छ । तर सबै सत्य सबै सन्दर्भमा ठ्याक्कै कहाँ मिल्दो रहेछ र ? यस्तै अलमलमा मच्चिरहेको छु म ।
मनु ब्राजाकी अत्यन्तै अत्यन्तै आदरणीय नाम । नेपाली साहित्यको एउटा सम्मानित नाम । कथा र गजल क्षेत्रमा मनु विनाको परिभाषा अपूर्ण हुन्छ ।
एक प्रकारको क्षमता छ उनीमा । एक प्रकारको विशिष्टता छ उनीमा । एक प्रकारको प्रतिष्ठा छ उनीमा ।
कसैलाई उनको अनुहार मन परोस् कि नपरोस् , त्यसको कुनै अर्थ हुँदैन । मनुको शारीरिक उचाईले कतै नाप्ने काम हुँदैन । मनुको वर्ण कालो छ कि गोरो छ त्यसले कुनै अर्थ राख्दैन । मनुको दाँत छ कि छैन । मनु खोच्याएर हिँड्छ कि हिँड्दैन । मनुको हात काम्छ कि काम्दैन । मनुले चस्मा लगाउँछ कि लगाउँदैन भन्नेजस्ता तर्कले कुनै तुक राख्दैन मनु ब्राजाकीको अक्षरको शक्तिको अगाडि ।
मनुको कथामा कस्तो तागत छ ? मनुको गजलको प्रभाव कस्तो छ ? महत्वपूर्ण कुरा यही हो र हुनुपर्छ पनि यस्तै । अक्षर बुन्न जान्नेहरुको परिचय उसको स्वरुपमा हुँदैन । मनुको कथाको दम कलम र मसीमा आफै आउने होइन । मनुको गजलको शक्ति कम्प्युटरको किबोर्डमा तयार हुँदैन ।
कृत्तिम आँखाले लेखकलाई चिन्न खोज्नेहरु समाजका सामान्य जीव हुँदैन्न । चिनंँे भन्नेहरु त संसारकै असामाजिक मान्छे हुन्छन् । भन्नेहरु त मनुको कमिजमा टाँक नभएका कुरा गर्छन् । पाइँटको मोता ठूलो थियो कि सानोमा अलमलिन्छन् । लुगामा आइरन थियो कि थिएन । जुत्तामा पालिस नगरेको कति भयो । यस्ता अर्थहीन प्रश्नमा रमाउनेहरु यस्तै हिसाबकिताबमा रमाइरहेका हुन्छन् ।
मनुको टाउकोमा कति कपाल बाँकी छन् । फुलेका धेरै छन् कि फुल्न बाँकी धेरै छन् । कपालमा मेहन्दी लगाएको छ कि तेल । यस्ता निरर्थक प्रश्नहरुले मनुको सिर्जनशील व्यक्तित्वलाई न बल पु¥याउन सक्छ न कमजोर नै । न मनुलाई चिनाउन नै सक्छ ।
मनु भनेको चेतमानसिंह भण्डारी होइनन् अक्षरमा । मनु ब्राजाकी नै हुन् नेपाली साहित्यमा । हुन् मात्र होइनन् । अत्यन्तै शक्तिशाली उज्याला पनि हुन् । साहित्यको जुनसुकै गुफामा पनि मनु प्रष्ट देखिन्छन् । उच्च उचाइ छ मनुको । कथा र गजल उचालेर बनेको उनको साहित्यिक उचाइ घटाउनसक्ने सामथ्र्य आजसम्म कुनै विज्ञानले वा विद्वान्ले सकेको छैन । यो कसैले रहर गरेर कमाउने वा खर्च गरेर पाउने कुरो पनि होइन । सिर्जनाको निरन्तर साधनाले दिने एउटा सामाजिक सम्मान हो ।
यो कुनै घोष्ट राइटरले लेखिदिएको किताबको लेखकजस्तो होइन । किताबको एक कुनामा हाँसेको फोटो छापिएको जस्तो पनि होइन । रत्नपार्कको भित्तामा टाँसेको पर्चाको नम्बरमा फोन गरेर थेसिस किनेर प्रमाणपत्रमा नाम लेखेजस्तो पनि होइन । यी सबै कागजको हवाइजहाजमा चढेर अमेरिका पुगिन्छ भनेजस्तै मिथ्या हुन् ।
मनु नेपाली साहित्यको एउटा कालखण्ड हो ।
नभत्किने इतिहास हो ।
एउटा मानक हो ।
बलियो विगत हो , बर्तमान हो ।
पूर्ण सुरक्षित भविष्य हो ।
मनुको सिर्जनाको मूल्य नेपाली साहित्यले चुकाउन सक्यो कि सकेन । नेपाली समाजले त्यस बराबरको सम्मान गर्न सक्यो कि सकेन । प्रश्न यसरी उठाउनुपर्छ । यो कलम बोक्नेहरुको जिम्मेवारी हो । अक्षर पढ्नेहरुको दायित्व हो । एक जना लेखकलाई अर्को लेखकले सम्झने यसरी नै हो भन्छु । पाठकले गर्ने सम्मान र प्रोत्साहन पनि यही हो ।
स्रष्टा र राज्य दुई किनारजस्ता भएका छन् सधैँ । कहिले बन्न नसकेको तुइनमुनिको नदीजस्तो । अक्षरको आवाज बढ्दा पनि र बलियो हुँदा पनि । के गर्नु ? सरकार जुनसुकै पार्टी र विचारको भए पनि स्रष्टाको बारेमा बोल्छन् मात्रै सुन्न चाहँदैन । सुने पनि केही गर्न खोज्दैन । स्रष्टा नेताहरु नै नेतृत्व पाएपछि आफू लेखक भएको बिर्सन्छन् । उनीहरु आफ्नो कलम बिर्सेर मात्र आफ्नो आवाजले उठ्न खोज्छन् । तर जनताका दृष्टिमा सधँैं पछारिरहन्छन् । सधैँका लागि बिषम परिस्थिति छ स्रष्टाका लागि । सदाको अपेक्षा मात्रै । आज झन् बादल मडारिएको आकाशजस्तो बनेको छ साहित्य । भोलिलाई देख्ने चस्माहरु त्यति प्रष्ट छैनन् । धमिला चस्माबाट केलाई पो उज्यालो देख्न सकिन्छ र ? पावरको चस्मा लगाए पो नदेख्नेले देख्छन् । लाउँछन् खाली पदका चस्मा, कुर्सीका चस्मा । अनि के देखियोस् ।
यस्तो बेला मनुलाई कहिले नछोड्ने गरी कथाले, गजलले न्यानो हुने गरी बोकिरहेको छ । लाखौँलाख मनको न्यानो छ मनुमा । त्यसैले मनु जनकपुर,औरहीको आँगनमा होस् कि भैंसेपाटीको छानामुनि होस् । मनु नेपालमा हिंडिरहेका छन् कि अमेरिकामा कुन्जिरहेका छन् । यसले उनको सिर्जनशीलतामा कुनै अर्थ राख्दैन ।
बाहिरबाट देखेजस्तै मनु चोरऔंला र माझीऔंलाको बीचमा चुरोट च्यापेर सडकमा एक्लै फटाफट हिँडिरहेको दिन कति चुरोट सल्किए होलान् । कति वटा किनेर पिए र कति वटा खै खै गरे भन्नुकोे के मतलब । मनुले एकै दिनमा कति गिलास लडायो । कति वर्षसम्म त्यसमा बहकियो । त्यो स्वादमा कति मीठा कुरा कोकोसँग गरे । यी जनताका आँखामा गिरिसकेका नेताका भाषणजस्ता हुन् । नालायकले लायकको गीत गाएजस्ता हुन् । हुनुपर्ने चाहिँ के हो भने मनु जुनसुकै रङ्मा डुबेर रङ्गिएको भए पनि उनले जन्माएका अक्षरहरु कस्ता छन् भन्ने ठूलो हो ।
मनु ब्राजाकीसँगका केही क्षण छन् मसँग पनि । उहााँलाई अग्रज र आदरणीय लेखक भनेर सम्मान गरेकै हो र कहिले काहीं नमज्जा पनि भएकै हो । मधुपर्कमा आएपछि उनी सके गिलासलाई , नसके चुरोटलाई र केही नभए बस भाडालाई मात्र भनेर पनि टारेकै हो । उनी भनेपछि छोड्दै नछोड्ने । कतिपटक त बसभाडाको लागि भनेको थोरै रुपियाँले न्यूरोड दमकल पछाडिको सानो गल्लीभित्र पसेर स्वात्त पारेकै हो । मधुपर्कमा कथाको पाण्डुलिपिसँगै पारिश्रमिक साटेकै हो । घरमा आफू नभएको बेलामा खोज्दै आएर खर्च खोजेकै हो । यस्ता हो हरु धेरै छन् । जसको संस्मरणले सिर्जनामा कुनै औचित्य राख्दैन ।
मैले पढेको मनुलाई भेट्न उनकै गाउँमा आदरका साथ गएको थिएँ । पत्रकारसाहित्यकार साथी राजेश खनालको जन्ती बनेर २०४९ फागुनमा जाँदा । रातभरिजस्तै विवाहको साइते काममा परे पनि भोलिपल्ट उनको दैलामा पुग्दाको आनन्द । ठूलो लेखकसँग भेटेको गौरव । फोटो खिचेर अरुलाई देखाउँदाको गर्वानुभव । मलाई अहिले पनि ताजै लाग्छ । मनुको शालिन व्यक्तित्व र सानो स्वरमा मिठो बोल्ने बानीले उनीसँग जति टाढिन्छु भन्नले पनि सक्दैनन् । एक प्रकारको आत्मीयताको निकटता छ उनमा । एक प्रकारको सम्मोहनजस्तै छ मनुमा ।
मनुलाई भन्नेहरुले केके भन्लान् । त्यो ठूलो कुरो होइन । भनाइ नखाने को पो होलान् र यो संसारमा । गर्नु पर्ने नगर्ने र नगर्दा हुनेचाहिँ गरिरहने नेपाली समाजको विशेषता जस्तै बनेको छ । आफ्नो माटोलाई त्याग्नेहरु बिदेशमा पुगेर देशको मायामा खोकीरहेजस्तै घीनलाग्दो बनेको छ । मान्छेको कृत्तिमता । मानसिकताको कृत्तिमता ।
मनु नेवारीको मनुजस्तै मात्र हुँदो हो त एक जना चेतमान मात्र हुन्थे । भण्डारीहरु धेरै छन् नेपालमा । त्यसमध्येका एक जना भण्डारी मात्र हुन्थे । यसरी तौलेर उनलाई आँकलन गर्न सकिदैन मनुको । उनका भतिजा पटकपटक मन्त्री भए सम्बन्धित मन्त्रालयको पनि तर मनु एक पटक पनि जागिरे प्राज्ञ भएनन् । यो उनको अक्षरको स्वाभिमानलाई बिर्सन मिल्छ र ? मनुका भन्दा कमजोर अक्षर भएकाहरु पुरस्कारका भारीले थिचेका छन् । तर मनुले कहिले मेरो मूल्याङ्कन भएको छैन भनेर आर्तनाद गरेका छैनन् । के यो मनु हुनुको महानता होइन ? उनीसँग श्रद्धाले नझुक्ने नेपाली साहित्यमा कमै होलान् । तर उनले कसैलाई झुकाउन खोजेको देखिंदैन । धेरै नै अग्ला हुन् उनी कथाका तर उनले कसैलाई होचा देखेका छैनन् । बुझ्ने यसरी हो मनुलाई ।
मनु बेइमान छैनन् । चाहेको भए धेरै गर्न सक्थे उनले । तर उनले आफूप्रतिको इमान्दारिताको पर्खाललाई कहिले भत्काएनन् । त्यसैगरी उनले आफूलाई कमजोर हुने गरेर कहिले पाठकको विश्वासलाई गुमाएका छैनन् । मनु ब्राजाकी हुनुको अर्थ एक जना लेखक मात्र होइनन् । आफ्नोपन नगुमाउने बलिया लेखक हुन् मनु । मनु ब्राजाकी हुनुको अर्थ साहित्यलाई सम्पन्न बनाउने नाम हो ।
मनु एक व्यक्ति हुन् पहिला ,त्यसपछि मात्र साहित्यकार । साहित्यकार नभएका भए उनका गतिविधिहरु पारिवारिक रुपमा नै सीमित हुन्थे । तर साहित्यकार भएकाले उनी अक्षर मार्फत् अक्षरकर्मी र पाठ्यकर्मीहरु सम्म विस्तार भएका छन् । त्यसैले मनुको जीवन के हो भन्दा पनि उनको सिर्जना के हो भन्ने नै महत्वपूर्ण हुन्छ । व्यक्ति भएर पनि उनले एउटा सिंगो समाज बोकेका छन् । उनी आफू मात्र नभए सार्वजनिक र सामाजिक भएकाले उनीभन्दा उनले उठाएका सामाजिक विषय र उनले जन्माएका पात्रका व्यक्तित्व र व्यवहारमा ध्यान दिनुपर्ने देखिन्छ ।
यद्यपि मनु ब्राजाकीलाई लेख्दा उनका छायाँजस्तै गरेर आउने उनका व्यवहारलाई छुटाउन मिल्दैन । यही कारण अन्तरद्वन्द्व थियो ममा । मनुको बारेमा के लेख्नु ? के नलेख्नु ? त्यत्रो ठूलो साहित्यकार, हृदयले सम्मान गरेको आदरणीय दाइ, कसरी नलेख्नु ? मनले मानेन । लेखौं ,केही त्यस्ता सत्यहरु भोग्ने पात्र धेरैमध्येका म पनि एक हुँ । ती घटना नलेखेर बेइमानीको अनुभुति गर्न पनि चाहन्न म । यही धर्मसङ्कटका कारण सुविदजीलाई टारिरहेको थिएँ आठ महिनादेखि ।
लाग्यो, के लेख्ने भनेको भेटेका, देखेका, सुनेका र भोगेका मात्र हुन् र ? बोक्राहरुमा किन बहस गरिरहनु पर्छ र । गुदीमाथि पनि जान्छन् त अदालतहरु । अध्यात्मले पनि त्यही भन्छ , जे देखियो त्यही मात्र सत्य होइन । जे देखिंदैन त्यहीभित्र झन् विशाल सत्य हुनसक्छन् । जहिले पनि देखिनेभन्दा नदेखिने नै शक्तिशाली भएर प्रमाणित भएका छन् ।
त्यसैले म भन्छु ,मनु एउटा सत्य हो । मनु एउटा समाज हो, एउटा विम्व हो र एउटा प्रतिष्ठा हो । मनुलाई भन्दा मनुभित्रका सयौं मनुहरुलाई खनजोत गरेर उत्खनन् गर्न सकियो भने मनुलाई यथार्थमा बुझ्न र बुझाउन सकिन्छ भन्ने मैले बुझेको छु ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु