सान अवसानः एक दृष्टिकोण

- होम सुवेदी

यादवप्रसाद अधिकारी (२०१०) २०५० कै दशकदेखि नेपाली साहित्यमा प्रकाशनहरु लिएर देखिएका एक साधकको नाम हो जसलाई हामी ‘झाँक्रीखोले’ साहित्यिक उपनामबाट परिचित भइसकेका छौं । चारखोलाको रहर नामक कवितासङ्ग्रहबाट २०५९ सालमा उनको नेपाली साहित्यमा प्रकाशन लिएर उदय भएको हो । पौने दर्जन कृतिका रचनाकार झाँक्रीखोलेको साहित्यिक यात्रा अझ २०७० को दशकका चारै वर्षमा चार चार कृति लिएर अघि आएको देखिएकोले उनको साहित्यिक यात्राको यो समय उर्बर र सशक्त बनिरहेको छ भन्ने आधारहरु पर्याप्त देखिएका छन् । निबन्ध कथा र काव्यमा उनको दखल भए पनि उनको सामथ्र्य कवितामा नै बढी देखिन्छ । फुट्कर कविताबाट यात्रा गरेका झाँक्रीखोलेले महाकाव्यसम्म आइपुगेर यो कुरामा प्रमाण जुटाइदिएका छन् । ‘चारखोलाको रहर’बाट आरम्भ भएको प्रकाशन यात्रामा अज पन्ध्र वर्षमै ‘शान अवसान’ नामक महाकाव्य लिएर देखिनुले यो कुरा सिद्ध गर्दछ । म यहाँ उनको पछिल्लो कृति ‘शान अवसान’कै बारेमा प्रवेश गर्न चाहन्छु ।
२०७४ सालको आरम्भमा दमकको साहित्य कला सङ्गमद्वारा प्रकाशित यो कृति मेची अञ्चलका महाकविहरुका महाकाव्यहरुमा कुम जोर्ने हैसियत राख्ने प्रकृतिको छ भनेर म फेदैमा यसको एकै वाक्यमा मूल्याङ्कन गर्दै अघि बढ्न लाग्दछु ।
यस भन्दा यता पनि मेचीबाट महाकाव्यकार हरिप्रसाद नेउपानेको ‘हाम्री फुपू’ नामक महाकाव्य पनि आइसकेको छ । हाल सक्रिय झापाका महाकाव्यकारहरुमा पुरुषोत्तम सिग्देल, मित्रप्रसाद दाहाल, रघुनाथ रिमाल, आनन्द घिमिरे, कोमलप्रसाद पोखरेल, झाँक्रीखोले र हरिप्रसाद नेउपाने नै हुन् । यिनमा आनन्दप्रसाद घिमिरे मित्रप्रसाद दाहाल र रघुनाथ रिमाल एक कित्ताका हुन् भने पुरुषोत्तम सिग्देल हरिप्रसाद नेउपाने कोमलप्रसाद पोखरेल र झाँक्रीखोले अर्को कित्ताका हुन् । काव्यात्मक स्तरीयता र गरिमाका आधारमा तथा महाकाव्योचित गुण गरिमाका आधारमा हेर्ने हो भने पनि यी दुई कित्ताका महाकाव्यकारहरुमा पछिल्लो कित्ताका महाकविहरुका महाकाव्यहरु अघिल्लाको तुलनामा शक्तिशाली देखिन्छन् बलवान् र प्रभाविला देखिन्छन् । एक समीक्षकको हैसियतको अध्ययनका अधारबाट नियाल्दा पछिल्लो कित्तामा परेकाहरुकै महाकाव्यहरु गरिमामय देखिन्छन् ओजिला र काव्यात्मक शक्तिसन्तुलन भएका देखिएका छन् । यस पाटोमा रहेर अझ विशद अध्यन गर्ने हो भने ता यसका लागि सबै महाकाव्यहरुलाई अघि राखेर तुलनात्मक अध्ययन नै हुनु आवश्यक छ । अहिलेलाई यो विषयमा यति नै भनिराखौं ।
अहिले म झाँक्रीखोलेकै महाकाव्यतिर लाग्छु ।
१००० प्रति छापिएको झापाको दमकमा विमोचन गरिएको कर्ण लिम्बूले तयार पारेको आकर्षक अग्रभागको कलात्मक आवरण पृष्ठ रहेको २५० मूल्य निर्धारण गरिएको ‘शान अवसान’ महाकाव्यमा महाकवि मोदनाथ प्रश्रितद्वारा भूमिका लेखिएको छ । त्यसपछि साहित्य कला सङ्गमको प्रकाशकीय छ । अनि लेखक्यौली छ । त्यसपछि महाकाव्यको सर्गसर्गहरुको कथावस्तुको सङ्केत स्वरुप निर्धारित शीर्षक उपशीर्षकहरुसमेतलाइ जनाउ दिने गरी तयार गरिएका शीर्षकहरुसहित महाकाव्यका सर्गहरुको विषयसूची छ । मङ्लाचरणबाट यसको आरम्भ हुन्छ र यसको कलेवर फैलन थाल्छ । निकै लामो मान्न सकिने यसको कलेबर छ । २७४ पृष्ठमा यसको फैलावट छ । २८ सर्गमा यसको आयतन फैलेर समापन भन्ने शीर्षक रचनाबाट ‘शान अवसान’ महाकाव्यको अवसान हुन्छ ।
मेचीदेखि पूर्व्तिर भारतीय भूमिमा बसेका वा भारतबाहिर भुटान, बर्मा लगायत अन्य मुलुकमा समेत बसेका एवम् गोर्खालीका रुपमा चिनिने नेपालीहरुको प्रतिनिधि कथा छ यस महाकाव्यमा । आफ्नै बाहुबलले आवाद गरेर बसेका भूमिबाट विदेशीको दर्जा पाएर खेदाउमा परेर आफ्नै पितापुर्खाहरुको मुलुकमा उल्टै शरणार्थीका रुपमा आएर वस्न विवश भएकाहरु खास गरी भुटानीको कथाव्यथा यस महाकाव्यभित्र छ । आफ्ना पितापुर्खाको देशका शरणार्थी हुनु पर्दाको भुक्तमानले आहत मुरारि नामक पात्र कथाको केन्द्रीय पात्र हो । ऊ एकमात्र पात्रको प्रमुखता यसमा छ । उसकै परिधिमा महाकाव्यको कथावस्तु परिभ्रमित छ ।
नेपालमा आएर बसेको मुरारि नामक पात्र यस महाकाव्यको सानो लहरो जस्तो माध्यम पात्र मात्र हो । मुरारिको माध्यबाट नेपाल र छिमेकतिर बसेका नेपालीहरुको आर्थिक राजनीतिक र सांस्कृतिक अवस्थाको पहरो नै तानेका छन् । लहरो तानेर पहरो गर्जिएको छ । परम्परागत रुपमा महाकाव्यमा हुने तपसिलहरुका आधारमा हेर्दा यो अलग प्रकृतिको संरचना भएको काव्य देखिनेछ र कतिले यसलाई परम्परागत ढाँचामै हेरेर महाकाव्य नै हैन भन्न पनि बेर नलाउलान् । तर यो कलम यति खेर किटानीका साथ के भनिरहेको छ भने यो महाकाव्यको कोटीको निख्खरो र तिख्खरो निख्खरो र सग्लो कृति हो ।
मङ्गलाचरणहरु, सर्गसर्गको विभाजन, सर्गान्तमा कथाका सूचनात्मकता, अनि अग्र सर्गको सूचनात्मकता, छन्द वितरण प्रकृतिको चित्रण मानव र मानवजीवनजगत्का नानाथरि उहापोह आदिको चित्रण गरेका आधारमा पनि यो काव्य महाकाव्योचित छ महाकाव्यको कोटीमा छ । यसमा दुविधा गर्ने काम छैन । यो सन्दर्भ म कोट्याउन चाहन्न । बरु यसको काव्यात्मकताका बारेमा केही कुरा प्रकाश पार्नतिर लाग्दछु ।
कविको सद्कर्म काव्य हो । उहिले सबै विधामा कलम चलाउनेलाई कवि भनिए पनि अहिले कवि भनेको खास गरी कविताको कर्ममा लागेको वा कविता रचना गर्नेलाई कवि भनिन्छ । कविताका अनेक रुपहरु छन् । आकार रुप स्वभाव धर्म आदिबाट कविता वितरित हुँदै र विभाजित गरिंदै आएको छ । कविताकै एक रुप हो महाकाव्य पनि । महाकाव्य भनेको काव्यको पनि महान् रुप हो । काव्यको औसत रुपभन्दा विभिन्न आधारबाट उच्च रुपको काव्यिक रचना नै महाकाव्य हो । महत् काव्य नै महाकाव्य हो । त्यसमा यो यो कुराको खाँचो पर्छ त्यो यस्तो यस्तो हुनु पर्छ भनेर सीमाङ्कन गर्ने काम नै महाकाव्यको सिद्धान्तको कुरा भयो । अब आजका महाकाव्यहरुमा उनै पुराना प्राइबेट लिमिटेड कसी लगाएर मूल्याङ्कन गरिनु हुन्न । यस काव्यलाई पनि उही कसीमा राखेर हेरिनु हुन्न । यसलाई आजको परिवर्तित सन्दर्भको दृष्टिकोणबाट हेरिनु पर्ने देखिन्छ । तिनमध्ये कुनै एक रस प्रमुख हुनु पर्ने राजा महाराजाको नायकत्वमा कथा हुनु पर्ने लगायतका तपसिलहरुलाई अबका कविहरुले पालना गरिरहनु भनेको आजका समाजबाट विमुख हुनु हो । यसैले आजका कविहरु आजको अवस्थासँग कुनै न कुनै रुपमा गाँसिएका देखिन्छन् । यस आधारमा झाँक्रीखोले पनि आजको नेपालमा साइनो राखेर आफूले टेकेकै भूमिबाट कथावस्तु टिपेर अनि आफ्नै आँखाले देखेका कुरा टपक्क समाएर कथा उचालेर काव्य बनाउनमा रिपु छन् । साथै उनी आजको नेपाल र आजकै नेपालका छिमेकीहरु नेपालको समाज संस्कार र नेपालको राजनीतिका साथै आजकै जीवनशैली जीवन भोगाइहरुमा जोडिएर महाकाव्य लेख्ने महाकवि हुन् । यसमा कतै दुविधा छैन । एक पात्रकेन्द्रीयतामा रचिएको यो महाकाव्य सायद यही नै पहिलो हुनु पर्छ नेपाली महाकाव्यको इतिहासमा । बहुपात्रीयता यसमा छैन । नायकप्रधान नायिका रहित रहेर पनि अरु धेरै कुरामा शास्त्रीयताका नजिक छ । पुराना सिद्धान्तका सबै कुराको फेहरिस्तहरु यसमा यथातथ्य रुपमा नभए पनि काव्यको महत् पक्ष भने यसमा गम्भीर रुपमा बहन भएको छ ।
यसमा काव्योचित गुणका हिसाबले ऋणात्मकता देखिन्न । धनात्मकता मात्र देखिन्छ । कतिपय काव्यहरु सिलोकले भरिएका र कविता कम भएका पनि पाइन्छन् । तर यो त्यस्तो हैन । यसमा कविताको रसमयता हरेक पङ्क्ति पङ्क्तिहरुमा पाइन्छ । सरमय भावमय र प्राञ्जल चित्र यसमा उपलब्ध हुन्छ । नेपाली शब्दहरु यसमा चमचमाएका छन् । यदाकदा केही कसरमसर देखिए पनि बडो सुमधुर रुपमा छन्दहरु प्रबाहशील भएका छन् । कविता लालिमायुक्त र सुकोमल छ । लालित्ययुक्त पदविन्यास छ । व्युत्पत्ति र अभ्यास भन्दा पनि कविको प्रातिभ शक्ति नै आभाषित भएको छ ।
विषयवस्तुका रुपमा हेर्दा यो काव्य नेपालको अहिलेको समाजको सम्पूर्णतालाई दर्साउने हो । नेपालको शान अहिले अवसानको अवस्थामा छ । यसै कुरालाई अघि राखेर कविले यस काव्यको नामाकरण गरेको अनुभव पनि हुनु र विषयवस्तुले पनि मेरो बुझाइमा यही मर्मतिर सङ्केत गरेको छ ।
यसलाई प्रगतिवादी ढाँचा र दृष्टिमाथि अडेको रचनाका रुपमा पनि लिन सकिएला । अनि आलोचनात्मक विधानबाट तयार गरिएके तथा नेपालको अहिलेको समग्र पक्षको आन्द्राभुँडी केलाउने छिन्किने काम गरेको महाकाव्यको रुपमा पनि लिन सकिएला ।
यसबाहेक पनि यस काव्यका कुरा धेरै छन् । बरु ‘शान अवसान’ काव्यका केही श्लोकहरु उद्धृत गर्दै म यस भनाइलाई यही अवसान दिने पक्षमा छु ।
नेपाली मूलका विभिन्न थर हुन् पर्देश नाघ्दै गए
के हो देश र राष्ट्रभक्ति नबुझी मुग्लानवासी भए
वर्मा चीन सिलाङ भारत भरी फैलेर बढ्दै गए
अस्थायी पर वासमा दिन बिते नाता बिराना भए ।। १÷४२

आजै सिन्दुर खोसिएछ वनिता मारिन्छ लोग्ने कतै
नानी रुन्छ अनाथ बाल टुहरो हत्या बढेको जतै
चल्छन् काज क्रिया दिनानुदिनका अन्त्येष्टि को गन्छ र
बार्दैछन् कवि देशमा छ किरिया बारेर के हुन्छ र ? ११÷५०

त्यस्ताले पहिचान राष्ट्र र धुरी माटो कहाँ पाउला
जन्मेकै घरबाट बाहिर सरे न्यानो कहाँ आउला
पेन्टागन्स्थित व्यक्ति हो मुलुकमा खै बास तिम्रा सरी
भेट्लान् के निजपुत्रले घरधुरी संघर्ष यात्रा भरी ।। १२÷७१

डाँडा वारि झमक्क साँझ नपरी झुल्किन्न पारी रवि
मैलो भेल समुद्र वादलविना सङ्लिन्न गङ्गाछवि
हुन्नन् जून पवित्र राहु नभए नक्षत्रको के भर ?
सुक्तै जान्छ मसी कलङ् युगको देखेर के हुन्छ र ?११÷८९

उद्योगी सिप छैन यो मुलुकमा मेलो न मानो भयो
अर्काको करिया बनेर जिउँदै व्यक्तित्व डुब्दै गयो
सामन्ती मुठीमा कुचुक्क जनता खुम्चिन्छ सुम्पी श्रम
प्रौढा पौरख छैन देश छ जहाँ बन्दो छ वृद्धाश्रम ।।१२÷७२

स्वतन्त्रको जग भाँडिएको
निरङ्कुशी शासन लादिएको
सत्ता उसैको गुणगान गाई
नाचेर बस्थ्यो नगरा बजाई ।। १८÷२१
समाप्त






देशभक्तिः
—होम सुवेदी

हामी देश विकासको चरणमा धेरै पछौटे भयौं
अर्काको घरमा गएर उसका धेरै भरौटे भयौं
हाम्रा पूर्वजका बनेर नमुना यो देशमै बढ्नु छ
टेक्तै पौरख पाइला सगरको माथा छिटै चढ्नु छ ।।१।।

गैंती झम्पल हात हात सबले बोकी यतै लौ जुटौं
हामी देश र देशभक्तजनको सम्मानमा लौ उठौं
यौटा साँघु बनाई उच्च युगको यात्रा छिटै गर्नु छ
बाँझै छन् सब खेत बारी गहिरो जोतेर क्यै छर्नु छ ।।२।।

मैले अम्मरसिंहका पदहरू पछ्याउनै पाइनँ
जानाजान हुँदै गए त्रुटिहरू सच्याउनै पाइनँ
चाहन्थें अझ उच्च नागरिकका उत्कृष्टताका दिन
मैले आत्मीय भाव यो मुलुकमा बिच्छ्याउनै पाइनँ ।।३।।

हाम्रा हात वलिष्ट छन् र अझ छन् हाम्रा कडा पाखुरा
हाम्रा पाउ हिंडेर नाघ्न सजिलै सक्छन् उचा टाकुरा
उब्जाऊँ यस देशकै जमिनमा ऊर्जा हजारौं गुना
यस्तो आत्मीय भावको सृजन होस् कोही नहोस् पाहुना ।।४।।

यो वाचा मुटुमा लिएर गहिरो खोलो अझै तर्नु छ
हाम्रो जन्म यतै भयो अनि बढ्यौं यो देशमै मर्नु छ
खाल्टा छन् अझ सम्म यो मुलुकमा खाल्टाहरू भर्नु छ
आस्था मूल्य र मान्यता जति सबै यो देशमै छर्नु छ ।।५।।

मैले फूल बनेर उम्रनु प¥यो डाँडा र पाखातिर
मैले श्वेद बनेर बग्नु छ अझै यो देशका खातिर ।।
मैले अमृत साथ ओर्लन अझै बाँकी छ छाँगातिर
मैले फुल्न अझै छ शेष रुखका नौलाख हाँगातिर ।।६।।

समाप्त
भद्रपुर झापा नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु