बेलायतमा भानुभक्तलाई सम्झँदा

- विजय सापकोटा

उत्पात छ गर्मी । खलखली पसिना बगेर लगाएको लुगा जिउमै चिपिक्क टाँसिएको छ । हातमा च्यापेको पानीको बोतल समेत यति तातेको छ कि तिर्खालागे पनि मुखैमा नलैजाऊँ जस्तो ।
बेलायतमा यस्तो गर्मी । सन्चार माध्यमहरू पछिल्ला दिनका उच्च तापमान इतिहासमा यति वर्षदेखिको सबैभन्दा उच्च भनेर दैनिकजस्तो आँकडा निकाल्न थालेका छन् । बढ्दो जलवायु परिवर्तनको असर हो कि के हो, सोच्दा यस्तो लाग्छ, कुनै दिन पृथ्वी नै तातेर पट्ट फुट्ला जस्तो ।
यस्तो गर्मीको एउटा आइतबारको मध्यान्ह हामी भने हुइकिँदै छौँ मोटरवेमा । आकाश पूरै नीलो छ र खन्याइरहेछ उष्णता एकाहोरो जुन कारको छत छेडेर हामी माथि बर्सिरहेछ । झ्याल खोल्दा तातो हावा र तातो पिचको रापले एकैपटक हान्छ अनुहारमा । वरिपरिको हरियो पनि अघिपछिजस्तो शीतलु लाग्दैन, त्यो आफैँमा ओइलाएर मलिन र म्लान्त छ निरन्तरको ताप सहन गर्न नसकेर ।
खासमा यात्रा हो लण्डनको वाटफोर्डबाट रेडिंगतिरको । भानु जयन्तीको अवसरमा ग्रेटर रेडिङ सोसाइटी तथा साहित्य संगमले संयुक्त आयोजना गरेको साहित्यिक कार्यक्रममा जाँदै गरेका हामी । यद्यपि भानु जयन्तीको दिन आउन अझै महिना दिनजस्तो बाँकी छ । तर विदेशमा सबै कुराको चाँजोपाँजो मिलाएर साहित्यिक कार्यक्रम गर्नु निकै कठिन काम हो । त्यसैले पनि यस्तो भएको होला भन्ठानेको छु । आदरणीय साहित्यकार कृष्ण बजगाईं दाजुको मायालु करकरले डोहो¥याएको छ मलाई पनि । खासमा औपचारिक कार्यक्रमहरूबाट टाढै हुन मनलाग्छ । तिनमा देखाइने सनातन कर्मकाण्ड र मञ्चमा अतिथिका अनेक पदावली भिराइएकाहरूको अनावश्यक मपाइँत्व अनि मञ्चमा चढ्न नपाएकाहरूको अँध्यारो अनुहार यी सबै असहज र असजिला लाग्छन् मलाई । भलै कतिपय कार्यक्रमका पछाडि तिनको एउटा असल उद्देश्य पनि हुन्छ, तर धेरैजसोचाहिँ गर्नका लागि गरिएका कार्यक्रम हुन्छन् जसको औचित्य कर्मकाण्ड जति पनि हुँदैन ।
बेलायतको पुग न पुग ७ वर्षको बसाइमा यो मेरो तेस्रो कार्यक्रम हो । यी सबै कार्यक्रममा मलाई धकेल्नेचाहिँ कृष्ण बजगाईं दाजु नै हुनुहुन्छ । दाजुसँग अरूलाई उत्प्रेरणा दिन सक्ने, आफूसँग असहमत हुनेलाई फुल्याउने र जिद्दी गर्नेलाई बसाउने गजबको विनम्र कला छ । उहाँको यही स्वभावसँग मेरो संकोची र हठी स्वभावले जहिले पनि हार खान्छ । परिणाम, म दाजुको पछिपछि लागेको छु ।
यात्रामा हामी दाजु भाइबाहेक आदरणीय कथाकार भाउजू सन्जू बजगाइँ पनि हुनुहुन्छ । कथा लेखनमा सक्रिय । बजगाईं दम्पत्तिको भाषा साहित्य प्रेम पनि बडो आदरयोग्य छ । बेलायतको व्यस्त दैनन्दिनीलाई झेल्दै निरन्तर साहित्य क्षेत्रमा क्रियाशील हुन यो जोडीले कसरी समयलाई व्यवस्थापन गर्छ अनौठो लाग्ने मात्रै होइन कहिलेकाहीँ त इष्र्या पनि लाग्छ । यस्ता आदरणीयहरूको स्नेह पाउँदा खुसी लाग्छ ।
यात्राको अर्को पात्र छ भतिज सुयेश । बजगाईं दम्पत्तिको कान्छो छोरा । अलिकति अगाडि गएपछि नेपालबाट घुम्न आएका पूर्व प्रशासक पुण्यप्रसाद लुइँटेलसँग पहिलोचोटि परिचय हुन्छ । मेरो गृहजिल्ला काभ्रेमा जनमत संग्रहताका सिडियो भएर काम गरेर लुइँटेलजीसँग जिल्लाको पुरानो राजनीतिका केही पात्र र राजनीतिक घटनाहरूका बारेमा गफगाफ पनि हुन्छ । रमाइलै लाग्छ । यद्यपि तात्कालीन घटनालाई हेर्ने लुइँटेलजीको आफ्नै दृष्टिकोण छ, मेरो आफ्नै । तर आफ्नो असहमतिलाई व्यक्त गरिहाल्न मलाई मन पनि लाग्दैन । किनभने त्यसो गर्नु त्यो रमाइलो यात्रालाई बोझिल बनाउनु मात्रै हुन्थ्यो । मैले लुइँटेलजीका कुरामा फरक दृष्टिकोणको अपेक्षा राख्ने धृष्टता पनि गरिन् । त्यो अस्वभाविक पनि थिएन ।
त्यसो त यात्रा त्यतिधेरै लामो पनि थिएन । झण्डै सवा घन्टाको मात्रै भएपनि उच्च उष्णताले निकै लामो अनुभूत भइरहेको थियो । हाम्रो कुराकानी पनि कृष्ण दाजुले कार कुदाउनु भएको सडकजस्तै कहिले कता कहिले कता डोहोरिइरहेको छ । यो खण्डित कुराकानीको क्रम व्यक्ति र समाज हुँदै राजनीति, साहित्यदेखि अन्तर्राष्ट्रिय विषयवस्तुमा समेत छरिएको छ । सायद संसारका हरेक विषयवस्तुमाथि गफ गर्नसक्नु हामी नेपालीको साझा क्षमता र पहिचान पनि हो । प्रायः हामी नेपालीसँग सङ्कलित ज्ञानको भण्डार यति बृहत्त हुन्छ कि हामी जुनसुकै क्षेत्र, विषय र घटनासँग सम्बन्धित रहेर आफ्ना तर्क, धारणा र विचारलाई मज्जाले छताछुल्ल बनाउनसक्छौँ र आनन्द लिन्छौँ । कति त आफूलाई धेरै कुरा थाहा भएको ‘विद्वान्’ पनि महसुस गर्छौं होला । तर यो चुबुर्को ज्ञानले फाइदाभन्दा बढीचाहिँ घाटा नै पु¥याइरहेको छ ।
यात्रामा छलफलको मज्जा यही हो, जेजस्ता वा जतिसुकै कुरामा हामीले आफ्नो अधकल्चो ज्ञान छरे पनि, अनेक किसिमका व्यक्ति र प्रवृत्तिसँग साक्षात्कार गरेपछि तिनलाई संश्लेषण र विश्लेषण गर्नसक्ने क्षमता भयो भनेचाहिँ शायद त्यसले मनमा केही सार्थक विचारहरूलाई पनि जन्माउनसक्छ ।गफ गर्नजान्नुको फाइदाचाहिँ के छ भने यसले यात्रालाई पट्याइलाग्दो हुनबाट जोगाउँछ । जेहोस्, सायद बोल्ने कुरा अथवा वातावरण नपाएर चुपचाप सुयेश र बोल्ने कुरा भए पनि चूप बसिरहनुभएकी सन्जू भाउजूलाई बेवास्ता गर्दै हामी तीनचाहिँ अनेकथरी गफका गुड्डी हाँकिरहेका थियौँ र सबैभन्दा बढीचाहिँ हामी लुइँटेलज्यूका अनुभवहरूलाई उत्साहित भएर सुनिरहेका थियौँ ।
कति उपयोगी त कति निरर्थक गफका फाँकाहरू मार्नुको आनन्दमा कतिबेला रेडिंग पुगिएछ, पत्तै पाइएन । मोटरवेलाई छाडेर बस्ती अनि बजार क्षेत्रभित्र पस्दै जान थालेपछि हाम्रा सबै किसिमका गफहरूका बिटो मारिए । टाउनहलभित्रको पार्किङमा लगेर दाजुले कार रोक्नुभएपछि निस्कँदा मेरो सर्ट एक पाखो पूरै भिजेको थियो पसिनाले । अनुहार त पाकेर न रातो न कालो रंगमा परिवर्तन भइसकेको थियो ।
बाहिरको गर्मीले हालत बनाएका हामीलाई हलभित्रको शीतलताले राहत देला कि भन्ने थियो । तर हल त झन् हप्प पो रहेछ, तन्दूरजस्तो । ठूलो हलमा ५÷७ जना मात्रै हुनुहुन्थ्यो, जो कार्यक्रमको व्यवस्थापनमा जुटिरहनुभएको थियो । निर्धारित समयभन्दा हामी ढिलै आइपुगेका थियौँ, तैपनि कार्यक्रम सुरु हुने अवस्था कम्तिमा एक घण्टालाई पर सरेको थियो । यो खासै नौलो कुरा पनि थिएन, हामी यसमा अभ्यस्त भइसकेका छौँ । त्यसैले यताउता गरेर समय बिताउनुको कुनै विकल्प पनि थिएन ।
कार्यक्रमहरूतिर नगए पनि बेलायतमा कम्तिमा पनि महिनाको दुईवटा साहित्यिक कार्यक्रम हुने गरेको सुन्छु । दर्जनभन्दा बढी साहित्यिक सङ्घसंस्था सक्रिय भएको पाइन्छ । अघिल्ला दुई कार्यक्रममा चिनजान गरेका आधारमा डा= रूपक श्रेष्ठ, दुर्गा पोखरेललाई मात्रै मैले चिनेको थिएँ । बाँकी केही अनुहारहरू जसलाई मैले अघिल्ला कार्यक्रममा देखेको मात्रै थिएँ, बोलचाल गर्न पाएको थिइन, विनोद अधिकारी र अर्को एकजना उद्घोषक पनि देखेकै अनुहार थिए खालि नबोलेको । तर चिने पनि नचिने पनि विदेशमा नेपाली नेपालीको बीचमा हुँदा नेपालमै छु जस्तो अनुभव भइरहन्छ । बोले पनि नबोले पनि नेपालीको बीचमा अर्कै खालको स्वतन्त्र महसुस हुन्छ, कुनै धक, डरविनाको ।
बिस्तारै जमघट बढ्नथाल्यो । चिनारु त लगभग कोही थपिएनन्, अचिनारु अनुहार नै ज्यादा थिए । तैपनि खै किन हो सबै पूर्वपरिचित जस्तो महसुस भने भइरहेको थियो । कार्यक्रम पनि विधिवत् सुरु भयो । कार्यक्रमहरूमा जान त मन लाग्छ, तर कार्यक्रमहरूमा देखाइने सनातन कर्मकाण्डचाहिँ मेरा लागि सबैभन्दा दिक्दारिलो र पट्यारलाग्दो कुरा लाग्छ । स्वभाविक हो, यो कार्यक्रम पनि उही सनातन परम्पराबाट मुक्त थिएन । अनेक विशेषण र उपमाधारी अतिथि महोदयहरूको आसन ग्रहण एवम् अन्य औपचारिकताको सनातन परम्पराको निरन्तरता पनि यहाँ भइरहेकै थियो । एउटा फरकचाहिँ के थियो भने अतिथि महोदयहरूलाई माथिल्लो आसनमा राखेर स्रोताहरूचाहिँ तिनका रैती जसरी तिनका विद्वता र पुरुषार्थका कथा सुन्नुपर्ने बाध्यात्मकारी अवस्था भने त्यहाँ थिएन । त्योचाहिँ मेरा लागि सुखद थियो । वास्तवमा अनावश्यक आतिथ्य आसन ग्रहण र अतिथि महोदयका तामझामले कार्यक्रमको गरिमा र महइभ्वलाई घटाउने गर्दछ । हुँदानहुँदाका विशेषणकारी फुँदोहरू भिराइएको अतिथिले आफ्नो उपमाको गरिमालाई कायम राख्नका निम्ति लम्बेचौडे भाषणबाजीले मुख्य कार्यक्रम नै प्रायःजसो ओझेलमा पारिदिन्छ । अझ अतिथिको आसनको लालसा राखेर त्यसको सौभाग्य नपाएकाहरूको कुण्ठा अझै बेग्लै हुन्छ, त्यस्तै अतिथिको बिल्ला लगाइदिएर दुईचार विद्वत्वाणी व्यक्त नपाउनेको व्यथा र आक्रोशको कुरै नगरुँ । त्यसैले कार्यक्रमलाई प्रचलित शब्दावली अनुसार ‘सभ्य एवम् भव्य’ बनाउनका लागि अतिथिमुक्त बनाउने हो कि … … हरेक यस्ता कार्यक्रमहरूमा जाँदा र बस्दा मलाई जहिले पनि यो महसुस हुन्छ ।
यद्यपि यो कार्यक्रम अनावश्यक पट्याइलाग्दा बकबक सुन्नुपर्ने बाध्यता थिएन । उद्घोषकले निर्धारण गरिदिएको समयावधिभित्र बोल्नेहरूले आफ्नो कुरा राखिसक्नुपथ्र्यो । यो व्यवस्था प्रतियोगी र अप्रतियोगी कविहरूका हकमा पनि लागू हुन्थ्यो । उद्घोषकले पटकपटक वाचकहरूलाई सम्बोधन नगरिदिनका लागि अनुरोध गरिरहेकै हुन्थे । तर मन न हो, निर्देशिकालाई मिच्दै कतिपयले सम्बोधन गरिहाल्थे । अझ कुनैकुनै कविले त आफ्नो कविताको रचनागर्भका बारेमा ‘टुच्च’ दिन भ्याइहाल्थे ।
कविता बाचनका बीचबीचमा अरू उपकार्यक्रमहरू पनि जोडिन्छन् । नेपालदेखि आएकी कथाकार इन्दिरा दीक्षितको कथासङ्ग्रहको विमोचनदेखि त्यसको बारेमा चर्चाको कार्यक्रम पनि मिसिएको छ । सँगै छ, डा= रूपक श्रेष्ठले कवि भानुभक्तका बारेमा दिएको रोचक एवम् जानकारीमूलक व्याख्यान र बासु शर्माको बेलायती नेपाली साहित्यसम्बन्धी चर्चा ।
रमाइलो लाग्छ, केटाकेटीदेखि पाको उमेरका समेत एउटै मञ्चमा उभिएर उत्साहपूर्वक कविता वाचन गर्न तम्सिएको देख्दा । विशेषगरी यतैका रैथानेजस्ता भइसकेका केटाकेटीले यहीँ नेपाली पढ्न लेख्न सिकेर कविता लेख्ने कोसिस गरेको आनन्दिलो कुरा थियो । अप्ठ्यारोसित नेपाली शब्द उच्चारण गर्ने अङ्ग्रेजी मिश्रित तिनका लवज मायालाग्दा मात्रै होइन सह्रानीय पनि थिए । विशेषगरी त्यतिबेला मलाई तिनका अभिभावकलाई सलाम गर्न मनलाग्यो जसले आफ्ना सन्तानलाई आफ्नो भाषाको कम्तिमा पनि सामान्य जानकारी हुनुपर्ने जरुरतलाई सम्झिए ।
यो देख्दै गर्दा मेरो मनमा अनेक कुरा खेले । आजको विश्वमा मानिसहरू एक कुनादेखि अर्को कुनासम्म छरिनु एकठाउँबाट अर्को ठाउँमा गएर किला गाड्नु अब अस्वभाविक रहेन । राष्ट्रवादका रूपमा यसलाई जेजस्तो रूपमा अथ्र्याए पनि यो मानिसको गतिशील र यात्री स्वभावको उपज पनि हो भन्ठान्छु म । यद्यपि हामी बाँचेको युगमा हाम्रो समाज अझ देशकै आर्थिक, राजनीतिक एवम् सामाजिक कारणहरूले ‘देश छोडी भाग्नेहरू’को संख्या दिनप्रतिदिन डरलाग्दो गरी बढ्दो छ । हाम्रा लागि ‘विदेश’ मानिसको घुमन्ते गतिशील रहरभन्दा पनि बढी बाध्यता बनेको छ । स्वभावतः मान्छे आफ्नो जीवनमा सुविधा र सुखको खोजी गर्छ, आफ्नो भविष्यको सुनिश्चतता निर्माण गर्न लागिपर्छ र कतिपय अवस्थामा विद्यमान जीवनमा केही परिवर्तन पनि खोज्दछ । यी सबै किसिमका इच्छा, आवश्यकता एवम् चाहनाहरूको पखेटा हालेर ऊ दूरदेशतिर उड्छ । फरक परिस्थितिको सामना गर्दै उतै गुँड लगाउँछ । तर नयाँ ठाउँमा उसको आफ्नो परिचय सजिलै बन्दैन, उसले पूर्णतः नयाँ संस्कृतिलाई वरण गर्न पनि सक्दैन न त पुरानो संस्कृतिलाई उही रूपमा बोकेर हिँड्न नै सक्छ । यसैले उसले नयाँ संस्कृतिको निर्माण गर्नुपर्ने हुन्छ ताकि ऊ बदलिएको समाज परिस्थितिमा पनि सहजरूपमा स्वीकृत होस् र जन्मजात् पाएको संस्कृतिका केही न केही अंशहरूलाई पनि आफूसँगै बोकेर हिँड्न सकोस् । जीवन निर्वाहका दैनन्दिनीका साथै आफू अभ्यस्त हुँदै आएका यस्ता सांस्कृतिकचर्याहरूलाई निरन्तरता दिने इच्छा वा चाहनाका उपज नै हुन् यस्ता कार्यक्रम पनि । आफ्ना सांस्कृतिक आस्था, विश्वास एवम् आदतहरूका तुष्टिका खातिर मान्छेले यस्ता यावत् क्रियाकलापहरू गर्दछ । यस्तो गर्नु जरुरी पनि छ । यसले नयाँ र आफू अल्पमतमा परेको समाजमा लघुताभास हुनबाट जोगाउँदछ ।
कतिपय अभिभावकले आफ्नो भाषा आफ्ना सन्तानहरूलाई बाँड्न र सिकाउन लागेको पनि देखेको छु । नेपाली भाषा सम्बन्धी कक्षाहरू पनि ठाउँ ठाउँमा सञ्चालनमा आएको सुन्दा खुसी लाग्छ । कम्तिमा पनि ‘मेरा छोराछोरीले नेपाली बोल्नै जान्दैनन्’ भनेर गर्व गर्ने बाबुआमाको जमात बढ्दै गएको अवस्थामा भाषासाहित्य सम्बन्धी यस्ता क्रियाकलापहरूले निकै सकारात्मक प्रभाव पार्दछन् । मलाई त नेपाली मात्रै होइन नेपालका सबै भाषाका यस्ता कक्षाहरू सञ्चालन भइदिउन् जस्तो लाग्छ । आफ्ना सन्तानलाई कम्तिमा पनि आफ्नो मातृभाषाको आधारभूत ज्ञान समेत दिन नरुचाउने, नभ्याउने अथवा आवश्यक नठान्ने अभिभावकहरूको यो ‘गल्ती’ लाई यहाँ भोलि कुनै न कुनै पुस्ताले महसुस गर्ने नै छ ! अल्पमतको भाषा, कलासाहित्य एवम् संस्कृतिमाथिको बहुमतको आक्रमण कति नमीठो हुन्छ– वर्तमानको नेपाली समाजलाई हेर्दा थाहा हुन्छ ।
अनेक कुराहरू मनमा खेलिरहेका छन् । सोच्दै जाँदा मनमा यो पनि आयो – यहाँ कविता पढ्ने वयस्क कविहरूमध्ये कतिले आफ्ना छोराछोरीलाई आफ्नो मातृभाषामा सामान्य लेखपढ गर्न उत्प्रेरित गरेका होलान् ? सोच्दैजाँदा आफैँले भेटेका ती अभिभावकहरूलाई सम्झिएँ– जो यहीँ जन्मिए, हुर्किएका आफ्ना बच्चाहरूले अङ्ग्रेजी भाषा खरर्र बोल्न सक्छन् भन्ने कुरामा गर्व गर्छन् । यो मनोविज्ञानका पछाडि हाम्रो मानसिकताको कति टिठलाग्दो चित्र टाँगिएको छ, अनुमानमात्रै लगाउनेहरू पनि निकै कम देखेको छु मैले ।
खैर, छन्द बेछन्दका कविताहरू पढिँदैछन् । कवितामा जम्मै उतैका विषय छन् । उही हिमाल पहाड र लालीगुराँसका कुरा, गौतम बुद्धका कुरा, नेपाल बिग्रिएका कुरा, नेताहरू भ्रष्ट्राचारी भएका कुरा । आफू जन्मे हुर्किएको देश बिग्रँदै गएकोमा चिन्तासम्म त ठिकै हो तर आफ्नो अवस्था स्वदेशमा राम्रो हुँदाहुँदै पनि विदेश भागेकाहरूले ‘म नभएर देश बिग्रियो’ भन्ने आशयका साहित्य लेखेकोचाहिँ मलाई ढोँगजस्तो मात्रै लाग्छ । अनि विदेशको उदाहरण दिँदै तुलना गरेको पनि पटक्कै चित्त बुझ्दैन । यदि विदेशको विकास र उन्नतिको अवस्थाबाट प्रभावित भएको भए, नेपालको स्तर त्यही हिसाबले बढेको देख्न चाहनेहरू किन फर्किएर देश सेवामा लाग्दैनन् त ? मलाई यो स्तरको आफूलाई अति बौद्धिक, सर्वज्ञाता बनेर उपदेश दिनेहरू सबैभन्दा ठूला ढोँगी लाग्छन् र विशेषगरी कवितामा यस्तो खालको विद्धता त अति भद्दा देखिन्छ । पढिएका कवितामा यहाँ नेपालीले भोग्नुपरेको जीवनको जटिलता, सांस्कृतिक, सामाजिक, मनोवैज्ञानिक सङ्कट आदि पटक्कै छैनन् । आफू बाँचेको युग, उभिएको धरती र त्यसको यथार्थलाई नछोइकन लेखिएको कविता कविता कम शब्दको पहाड ज्यादा देखिन्छ । आफू बाँचे हुर्किएको धरती र यसको यथार्थभन्दा यति पर भिन्नको परिवेशमा आएर पनि कविहरूले उही पुरानै कच्चा पदार्थमात्रै किन भेटेका हुन् अचम्म लाग्छ । भन्न त कतिपय ‘कथित डायस्पोरिक विद्वान्’ हरूले यसमा पनि नोस्तालजिया भेट्छन् क्यारे ! तर मेरो विचारमा यो त सीधा रूपमा सिर्जनात्मक लेखनको विकास नभएको अवस्थामात्रै हो ।
त्यसो त म उल्लिखित आग्रह बोकेर कार्यक्रममा बसेको होइन । आफ्ना वैचारिक र कतिपय व्यक्तिगत आग्रहहरूभन्दा भिन्नै रहेर अझ भनूँ निरपेक्ष भएर म कार्यक्रमको आस्वादन गरिरहेकै थिएँ । किनकि विदेशमा यस्ता कार्यक्रमहरू आयोजना हुनु, मान्छेले आफ्नै भाषामा आफ्ना भावनाहरूलाई पोख्ने प्रयास गर्नुमात्रैले पनि आफैँमा निकै ठूलो अर्थ राख्दछ । तर उस्तै किसिमका र कार्यक्रमका लागि कार्यक्रमभन्दा पनि तिनको सार्थक र सकारात्मक प्रभावको पनि खोजीगर्न सके अझै सुनमा सुगन्ध हुने थियो कि ।
कार्यक्रमको आस्वादन त भइरहेकै छ । समय घर्कँदै जाँदा भोकको ब्यारोमिटर पनि क्रमशः उँभो सरिरहेछ । त्यसो त आयोजकहरूले भित्रै मःम किनेर खान पाइने जानकारी पटक पटक दिएका छन् । तर मःमःको व्यवस्थापनमा केही गडबड भइरहेको छ, मःम भनेको समयमा आइरहेको छैन । हलभित्र टाउकैमाथिबाट घाम छिरिरहेछ जसले गर्दा वातावरण गुम्फिइरहेको छ । सहभागीहरू तर्रतरी पसिना काटेर कविता भन्ने र सुन्नेमा आनन्द लिइरहेका छन् भने कोहीचाहिँ मोबाइलमै व्यस्त छन् । मसँग भने सुनाउनका निम्ति कविता नभएको कारणले पालो कुरिरहनुपर्ने बाध्यता छैन । त्यसैले घरि यता घरि उता गर्न पूर्ण स्वतन्त्र छु । स्वतन्त्र छु के भनूँ, छाडा छु । घरि पानी पिउने निहुँमा उठिरहन्छु । घरिचाहिँ ट्वाइलेट जाने बाहनामा मःम आए नआएको चियो गर्न पनि भ्याइरहेकै हुन्छु । अन्ततः प्रतिक्षाको घडी समाप्त हुन्छ, पेटपूजनको व्यवस्था हुन्छ । गजब त यहाँ पनि भाइ हुनुको फाइदा लुटिन्छ ! सन्जू भाउजूको सौजन्यमा तातो मीठो मःम मज्जाले डफ्याइन्छ ।
यहाँ रमाइलो त त्यतिबेला हुन्छ, जतिबेला कार्यक्रम अवधिभर घरि छट्पटाइरहेको त घरि चाख मान्दै गरेको सुयेशले एकजना कविले कविता पढिरहेको देखाएर अङ्ग्रेजीमा सोध्छ–‘अङ्कल त्यो मान्छे रिसाइरहेको कि रोइरहेको <’
सुरुमा त हाँसो लाग्छ । विचरा कविजी बडो भावुक भएर हाउभाउका साथ कविता पढिरहेका छन्, केटोलाई चाहिँ उनको भावभङ्गी अनौठो लागेछ । के भन्ने < अलमलमा परेँ । कसै कसैले कविता यसरी पनि वाचन गर्छन् भनेर सम्झाएँ । उसले के बुझ्यो उही जानोस् । तर मलाई भने यो कुराले पुरानो घटना याद दिलायो ।
एकपटक एउटा विद्यालयस्तरीय जिल्लाव्यापी प्रतियोगितामा निर्णायकका रूपमा म पनि थिएँ । प्रतियोगितामा सहभागीमध्ये एउटा विद्यालयका प्रतियोगीले यति भावुकतासाथ कि लगभग रोएकै हालतमा कविता वाचन गरेका थिए । तर कविताको सामान्य स्वभाव पनि नभेटिने त्यो कविता विषयवस्तुका हिसाबले समेत त्यतिविधि भावुक हुनुपर्ने खालको पनि थिएन । ती सहभागीको वाचन शैली देखेर पूरै हल स्तब्ध थियो र सुन्नेहरू यति प्रभावित थिए कि धेरैलाई तिनै प्रतियोगीले पहिलो पुरस्कार जित्नेमा ढुक्क थिए । तर त्यो पुरस्कार जित्ने किसिमको सिर्जना थिएन ।
न त्यो कलात्मक हिसाबले अरू कतिपय कविताभन्दा श्रेष्ठ थियो न त कविताको विषयवस्तु र वाचनशैलीका बीचमा कुनै तादात्म्यता नै । त्यसैले हामी निर्णायकका दृष्टिमा त्यो उत्कृष्ट जचेन, जुन कुरालाई पछि निर्णय प्रस्तुत गर्दा मैले प्रस्ट्याएँ पनि । ती प्रतियोगीका शिक्षक रहेछन् एउटा कविता सङ्ग्रह प्रकाशित गरिसकेका महोदय । कार्यक्रम सकिएपछि ती मसँग यति गजबले झोक्किएर हिँडे कि त्यसपछि त बाटोमा भेट्दासमेत बोल्न छाडे । अहिले सुयेशको कुराले मलाई तिनको रातोपिरो अनुहारको झल्को आयो ।
खैर, जेजस्तो भए पनि विदेशमा यस्ता जमघटले अपनत्वको अनुभूति गराउँदा रहेछन् । मेरानिम्ति त यो अनुभव नयाँ नयाँ नै थियो । यस्ता कार्यक्रमले मानिसहरूमा भाषा र साहित्यप्रतिको थोरै भए पनि अनुराग जगाउँदछन्, माहौल निर्माण गर्दछन् । त्यसो त भानुभक्तको आदिकवित्वका बारेमा मानिसहरूका फरक फरक विचारहरू छन् । भानुभक्त तत्कालीन समयका ठूला कवि भए पनि उनीभन्दा अगाडि पनि राम्रा कविहरूको उपस्थिति रहेको इतिहास फेला पारिसकेपछि उनलाई आदिकविको पदवि दिन नहुने भन्नेहरूको संख्या पनि अधिक छँदैछ । एकाथरी मानिसहरू भानुभक्तलाई सामाजिक– सांस्कृतिक एकताका माध्यमसमेत मानेर श्रद्धा गर्छन् भने अर्काथरी भानुभक्तलाई पूरातनवादी र खस नेपालीहरूका मात्रै कवि भनेर आलोचना गर्नेहरू पनि छन् । यी बहसका अनेक पाटाहरू पनि समयक्रममा चल्दै जालान् । तर पछिल्लो समयमा नेपाली समाजमा निकै विवादित बनाइएका भानुभक्त आचार्यको नाममा निरपेक्ष हिसाबले कार्यक्रममा सहभागी भइयो, मानिसहरूका काँचा, परिपक्व अनुभूतिहरू सुनियो । भाषाप्रेम र देश प्रेमका अभिव्यक्तिहरू पनि सुनियो । कार्यक्रमको अन्ततिर कवि राजदूत दुबसु क्षेत्रीबाट नेपाली कविताको इतिहासको सारगर्भित विश्लेषण पनि सुनियो । कवि राजदूतको भाषणकला त बडो ओजिलो रहेछ नै सँगसँगै भानुभक्तका अघि र पछिका कतिपय कविका कवितांशलाई समेत मुखाग्र भन्न सक्ने उनको स्मरण शक्ति पनि ईष्र्या लाग्दो थियो नै ।
बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु