कमरेडको अन्तर्वार्ता

- कृष्ण बजगाईं

पत्रकारः दौरासुरुवाल र ढाका टोपी किन नलगाउनु भएको कमरेड ?
कमरेडः लेनिनले कहिल्यै दौरासुरुवाल र ढाका टोपी लगाएको देख्नु भा’छ ?
पत्रकारः दशैको टिका र तिहारको भाइटिका किन लगाउनु हुन्न ?
कमरेडः माओले टीका लगाएको थाहा पाउनु भा’छ ?
पत्रकारः धार्मिक र सांस्कृतिक चाडपर्व चाहीँ किन मनाउनु हुन्न ?
कमरेडः धर्म भनेको अफिम हो भनेर माक्र्सले लेखेको पढनु भएको छैन ?
धेरै पहिले कमरेडको उक्त अन्तर्वार्ता लिने पत्रकार सम्पादक भइसकेका थिए । उनी अचानक एकदिन आफ्नो कार्यकक्षमा बेहोश भएर ढले । कुर्सीबाट सम्पादक ढलेको देख्नासाथ सहकर्मीहरु दौडेर आए ।
‘कमरेडद्धारा पारिवारिक टीका ग्रहण’, ‘कम्युनिष्ट पार्टीका अध्यक्षद्धारा मन्दिरमा बोकाको बलि’, ‘कम्युनिष्ट पार्टीमा विद्रोह, झैझगडा र अशान्ति बढेकाले पार्टी कार्यालयमै स्वस्ति शान्ति पूजा’... । विभिन्न रिपोर्टरले पठाएका समाचारका ती प्रिन्टकपी यत्रतत्र छरिएको देखेर सहकर्मीहरु मूर्तिवत् भए ।
बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु