खुसीको दिन

- पुण्य खरेल

“हत् ! यस्तो कोठामा पनि बस्ने हो ? भर्खर गाउँबाट आएकाले तिमीलाई त थाहा नै छैन । क्याहो त्यो गङ्गेलाई यादै नभएको ? यस्तो ठाउँमा गुजारा चल्छ ? वहाँ सर्नू ! मैले खोजिदिएको छु डेरा !”
अम्बिकाले पनि सोचिन् “ठिकै होला । यहाँ साँगुरो छ । अलिक फराक ठाउँ पाए राम्रो हुने थियो ।”
तर बोल्न भने सकिनन् । हाकिमको उपस्थितिमा उनी पुरै जेठाजुको सामू परे झैं हुन्थिन् । उनी हाकिमबाट पन्छिन खोज्थिन् तर उनी जता लुके पनि हाकिम चाहिं उनी भए छेउ नै आउँथ्यो र एक थोक न एक थोक अर्ती उपदेश गथ्र्यो । आफ्नो श्रीमानको अनुपस्थितिमा पराया लोग्नेको उपस्थितिले उनको सास थुन्थ्यो । सास फेर्न घरि उनी बाहिर जान्थिन्, घरि भित्र ।
अर्को दिन पनि आएर भन्यो– “लु ! मैले डेराको कुारकानी गरिदिएको छु । आजै सर्नू ! चर्पी पनि सजिलो छ, पानी पनि नजिकै छ । अफिस पनि नजिक पर्छ ! भरे नै सर्नू ! खोइ गङ्गे ? भरे गङ्गे आएपछि मकहाँ पठाउनू ! म त्यसलाई सरि हाल् भन्छु ।”
उनी एकै शब्द बोलिनन् । सुरुसुरुमा उसले भलै चिताएको जस्तो लागे पनि अहिले दिक्क लाग्न थालेको थियो । चिया खान माग्ने निहुँमा घरि ऊ भान्सा कोठाभित्रै पस्थ्यो । उनले अप्ठ्यारो लागेर बाहिर निस्कँदा पछिपछि बाहिरै निस्कन्थ्यो । यस्तो चालाले उनलाई हैरान पारेको थियो । अझै आज त उसले मुखैले भन्यो– “मलाई त नारी जातिप्रति खुब श्रद्धा लाग्छ । आफ्नै जस्तो लाग्छ । दुःख गरेको देख्ता नमिठो लाग्छ, छिटो पर सर्नू ! मलाई केही मद्दत गर्न नजिक होओस् !”
उनका पेटमा छेपारो त पसेकै थियो, तर हाकिमले गङ्गेलाई विवश पारेछ । सुकवार बिहानै पिउनले भाडाकुँडा लुगाफाटो ओसा¥यो । लोग्नेले सुटकेस झोलातोला झुण्ड्यायो । अम्बिकाले पनि छोरीलाई काखीमा च्यापिन् र छोरालाई डो¥याएर हाकिमले भनेकै डेरातिर लुरुलुरु गइन् ।
एक हप्ताभित्रमा हाकिम उनका कोठामा चौध चोटी आयो । सकभर गङ्गे नभएकै मौका पारेर आयो । अम्बिकाले त्यस हाकिमको करतुत थोरबहुत बुझिन्, त्यसैले आफ्नो थैलीको मुख बलियो गर्ने अर्कालाई चोर नलगाउने ठानिन्, तैपनि बेलुका आफ्नो श्रीमानसँग मुख खोलिन्– “तपाईंको पो हाकिम हो ! मेरो को हो र त्यो ? फेरि आएर त्यस्तै कुरा बोलेछ भने चैं म सहन्न है ! मैले भन्दिएकी छु !”
“हेर ! घरबाट आउँदा पनि अनेकन विवाद र झगडा प¥यो । भाइले पनि औंला ठड्यायो । बाबुआमाले पनि तिमीलाई लिएर हिंड्दा छोरै होइन जतिकै गरे ... अलिक सोच्नु पर्छ ।”
“के सोच्नु ? म त सोझा बाबुआमाका कुरा सुनेकी, सोझो गरीबनी खाएकी मान्छे ! आफ्नो जीउ–ज्यानभन्दा प्यारो त केही हुँदैन ... मैले त आफ्नो ज्यान तपाईंलाई सुम्पिएको ठानेकी छु, त्यति हो ।”
“हो कि त्यो त ! तर नाथे खर्दारको जागिर ! हाकिमसँग टेक गरेर कसरी सकिन्छ र ? कति कुरा सहनु पनि पर्छ । जागिर गैगयो भने कसरी फर्किनु फेरि भोलि नै त्यही घरतिर ? फेरि भोलि नै सरुवा ग¥यो भने पनि कता हाँडा र चिण्डा बोकेर हिंड्नु ? कति शत्रु कति मित्रु !”
“के नामर्द कुरा ग¥या ? त्यही तपाईंको हाकिमका कुरा मान्नु, त्यसलाई सुम्सुम्याउनु भनेको तपाईंले ? तपाईंका जागिरका लागि मैले ...? कि के ? मलाई चाहिं भोलि नै विदा दिनुहोस् ! म यो सहन्न । एक सहन्न, दुई ... तीन सहन्न !”
“कस्तो निहुँ खोज्ने कुरा गरेकी नि फेरि ! तिम्रो इज्जतको ख्याल मलाई चाहिं छैन भन्ने बुझ्यौ कि क्या हो ? म आफैं तिमीलाई त्यस्तो ... तिमीले के शङ्का गरेकी ? दुई–दुईटा छोराछोरी भए, अझै हाम्रो चिनजान हुन बाँकी नै छ र ! अलिकति त पुर्खाको रगत छ नि यी दुब्ला पाखुरामा । तर सस्याना कुरामा जोगिएर आफू पनि जोगिऊँ र जागिर पनि जोगाउँ भन्नेसम्म कुरा गरेको नि !”
गङ्गे अफिस गयो । आज सुक्रवारको दिन । तीन बजे नै फर्किन्छ भनेर अम्बिकाले पर्खिन् । छोरालाई बोर्डिङ पठाएकी छन् । जागिरे सभ्यताले छोरालाई बोर्डिङ पठाउने भइन् उनी पनि । सानो नानी निदाएको छ । मनबाट हाकिमको भूत हटाउनै सक्तिनन् । उनले कति कोसिस गरिन् त्यो भूतलाई रछ्यानमा फ्याँक्ने, तर जति कोसिस गरे पनि त्यो भूतले आफ्नै छाया झैं पछ्याएको छ छ ।
बार बज्न पाएकै थिएन । हाकिम त फेरि सिंडी उक्लिंदै छ । लोग्नेको जागिर बचाउन उनले रिसको साँपलाई अलिकति दूध खुवाएर भुल्याइन्, अलिक मथ्थर पारिन् । हाकिम सरासर उनको कोठामा पस्यो । उनी जुरुक्क उठिन् र ठाउँ सरिन् । हाकिम आएर बिछ्यौनैमा बस्यो । आँखा र चालढाल त उसको सारै राम्रो थिएन । उनले धेरै प्रयत्नले धैर्य थामिन् । हाकिमले भन्यो– “किन रातोरातो मुख पारेको ? एक ग्लास चिया दिन पनि यस्तो महँगो ? पैसा छैन भने लु !” उसले एउटा हात्तीको नक्सा भएको नोट अम्बिकापट्टि लम्कायो ।
“राख्नोस् तपाईंको पैसा !” चियासम्म खुवाउन चाहिं जागिर नभए पनि सक्छौं । अलिलि त हिङ बाँधेकै टालो हौं हामी पनि” भन्दै अम्बिका भान्साकोठातिर गइन् । हाकिम पनि भान्साकोठातिरै पस्यो । त्यतिबेला नै बाहिर कोही बोलेकोले बाहिर निस्कियो । फेरि एकै छिनमा भित्रै पस्यो । उसले अम्बिकालाई भन्यो– “अम्बिका ! तिमीलाई केही आपत्ति भए मलाई भन्नू, तर म आउँदा मुख चाहिं न बिगार्नू है ! मन पर्दैन भने म आउँदिन ! तर मलाई चाहि. घरको सम्झना आइरहन्छ । श्रीमतीको, घरको नियास्रो मेटाउन आइरहन मनपर्छ । मेरी श्रीमती पनि तिमी जस्तै ! ... अनुहार रिसाएको जस्तो गरे पनि भित्रकी चाहिं दयालु ।”
“... .... ....” दारा किटिन् अम्बिकाले ।
“अम्बिका ! म एउटा कुरा भन्छु ल ! भोलि बिहान म आउँछु । आठदेखि नौ बजेभित्र । तिमीसँग प्राइबेट कुरा छ । बरु म तिमीलाई राम्रो, सुहाउने सारी भए पनि किनी दिउँला ! हो कि ? गङ्गेलाई त्यतिबेला तरकारी किन्न हाट पठाउनू ल ! तिमीलाई पनि म मद्दत गर्छु, तिमीले मलाई पनि मद्दत गर ल !”
“... ....... ....” अम्बिकाले यो पनि खपिन् ।
हाकिम गयो । अम्बिका मानौं चण्डी बनिन् । गङ्गे आउनासाथ झगडा हुने प¥यो । गङ्गेको सल्लाहले नै आएको हो कि त्यो ? भन्ने शङ्का पनि उनको मनमा उठ्यो । ‘स्वास्नी हाकिमकहाँ पठाएर प्रमोशन गराउँछन् अरे केही कर्मचारीहरू’ भन्ने कुरा पनि सुनेकी थिइन् । उनलाई उखर्माउलो भयो । हिजोका गङ्गेका निम्जा कुराले पनि उनलाई बढी इख्यायो । गङ्गे आउन्जेल धैर्यसाथ पर्खिन पनि उनलाई कठिन भयो । ढिलोढिलो गरेर भए पनि प्रतीक्षित समय आयो । थकित अनुहार लाएर गङ्गे आयो । दन्त्यकथामा श्रृङ्गारको निहुँमा जङ्गिने शीशीर बसन्तकी सौतेनी आमाझैं अम्बिका पनि आगो भएकी थिइन् ।
“हाकिमलाई यता पठाएर के जाँच गर्न लाग्नुभएको थियो तपाईं ? तपाईंलाई मेरो दाममा बढुवा चाहिएको हो ?”
“तिमीले भन्न खोजेको चाहिं के हो ? छिचोलेर भन न ! खानासाना बनाउन ओर्न मद्दत होला भनेको त केको निहुँ मात्र झिक्छ्यौ । आइपुग्न पाएकै छैन !”
“के नबुझेको जस्तो ग¥या नि ? त्यो तपाईंहरूको साँढे छ नि साँढे ! त्यसलाई अन्तै पठाउनू नि ! अन्त ठाउँ पाइएन ?”
“हाम्रो हाकिम यता आउनुभएको थियो ? प्रष्ट भन न ! त्यो आज पनि यता आएको थियो भने म अहिले गएर त्यसलाई दुई टुक्रा पार्छु । त्यो स्साले ! कसकसका छोरीलाई जागिर खुवाउने भनेर ... दुनियाँका छोरी बिगारेर कस्तो बिजेती ... भन त ! आज आएको थियो त्यो यता ?” गएर शिरानीमा राखेको उसको सिरूपाते खुकुरी झिक्छ र दापबाट निकाल्छ ।
अम्बिका उसलाई समाउँछे– “भैगो ! अहिले कतै जानु पर्दैन । यो तुजुक पनि देखाउनु पर्दैन । नारीमा ताकत छ भने देखाउनू ! त्योे भोलि यहीं आउँछ । भोलि बिहान आउँछु भनेको छ । कस्तो रण्डो ! आफ्ना मुनिका कर्मचारीका डेराडेरा धाउने । लोग्ने मान्छे नभएका बेलामा बिस्तरा, भान्सा कोठामा आफ्नै घर–जहान झैं पस्छ । सक्नु हुन्छ भने मलाई मद्दत गर्नू, नत्र भने भोलि बिहान म एक्लै त्यसलाई ठिक गर्छु ...”
भोलिपल्ट नौ बज्न पाएकै थिएन– “हाकिमको हात च्याट्टै छिनाएको छ अरे ! अम्बिका भन्ने उसकै कार्यालयको खर्दारकी स्वास्नीले खुकुरीले छिनाइ अरे त्यस राँगालाई ! ... बल्ल मर्दका फेला परेछ त्यो राँगो ...” यो हल्ला स्यालको हुइँया भएर क्षणभरमै त्यो सानो शहरभरि फैलियो । मानौं, कुनै हल्लाको आँधी आएको हो । हाटको दिन परेकोले पनि हल्लालाई मल लाग्यो ।
कसैले डाक्नु बोलाउनु परेन । आइमाईहरूको छिचोली नसक्नुको भीड जम्मा भैहाल्यो चोकमा । “अम्बिकालाई पुलिसले पक्रेको छ अरे !” भन्ने हल्लाले त आइमाईहरूको संयमलाई हाँकै दिए जतिकै भयो । त्यति ठुलो र फराक ठाउँ त होइन त्यो, तर पनि हाट जानेले हाट बिर्से, किनमेल छाडे, भान्सामा हुनेले डाडु पन्यू थन्क्याए । मेलापात माया मारे । डढोस् तर्कारी या उम्लियोस् दूध, चुलाहरू निर्जन भए । चोक आवाद भयो । हेर्दाहेर्दै महिलाहरूको जुलुस सुरु भयो । यस्तो लाग्थ्यो, मानौं अन्यायले र पापले गाग्रो भरिएको थियो । पापले बल्ल धुरीबाट साइरन बजाएको थाहा हुँदै थियो । अघिल्ला दिनसम्म त्यस हाकिमको मनपरीको बिरुद्ध पोल्टामा आगो बोकेकाहरू आज त्यो आगो ओकल्न, आफूआफू त्यो आगो निकाल्न भरमग्दुर लागेका थिए । महिलाहरूको जुलुस प्रहरी कार्यालयतिर लाग्यो ।
प्रहरीका हाकिमलाई पुरुषहरूको दबाब छेक्न सजिलो हुन्थ्यो, महिलाहरूको छेक्न गारो भयो । हाकिम महँगो अपराधमा परे । “म काठमाडौंको सिडिओ भएको भए ! त्यस आन्दोलनमा भुटिदिनेथें तीन–चार हजार साले आन्दोलनकारीलाई ! अनि आफैं आन्दोलन तैं चुप मै चुप !” भन्ने हाकिमले हात काटिमागेर पनि छुटकारा नपाउने छाँट देखियो । उसका गोलीहरू कुन कुना पसे ? गोलीहरूलाई पनि नैतिक बल चाहिन्छ कि झैं देखियो । ब्यान्डेज गरेका हातसँग हाकिमलाई कालो मोसो र जुत्ताको मालामा बजार परिक्रमा गराए महिलाहरूले । अर्कातिर अम्बिकालाई अविर र मालामा जयजयकार गरियो । धेरै पुरुषहरूले पनि सहयोग गरे, तर पनि जुन अभूतपूर्व कार्य भयो, त्यो नारी इज्जतको प्रमोसन थियो । दुई–एक अस्मिताको मूल्यमा भौतिक सुख किन्न पल्केका नैतिकताका हत्यारा महिलाहरू दुला पसे । “मोसो उनीहरूलाई पनि घस्नु पर्छ !” भन्ने आवाज पनि ठुलै थियो, तर भागेर र दैलो ठोकेर उनीहरू यो पल्ट जोगिए ।
हाकिमलाई भीडबाट छुटाएर प्रहरीले सुरक्षा ग¥यो । गङ्गा र अम्बिका डेरामा पुगे ।
अर्को दिन । हिजो र आजको दुई समयको बीचमा आएको आश्चर्यचकित भिन्नताले गङ्गा र अम्बिकालाई असन्तुलित बनाएको थियो । ती दुईमा भएको त्यो घटनाभन्दा अगाडिको शङ्कायुक्त, विवादयुक्त स्थिति पखालिएको थियो । अम्बिका प्रसन्न थिई । गङ्गा किंकर्तव्यविमूढ थियो । जागिरको सिंगौरोमा धुल्याहा लागेकै हो कि त भन्ने आशङ्कामा ऊ अँध्यारो थियो । भोलिप्रति शङ्का ग्रस्त देखिन्थ्यो ऊ । तर अम्बिका विपरित ध्रुवमा थिई, ढुक्क थिई ।
“किन अँध्यारो हुनुभएको तपाईं ? यत्रा मानिसहरूले स्याबासी दिए ! तपाईंलाई चाहिने कुरा त्यही स्यावासी होइन ?” अम्बिकाले कुरा उठाई ।
“स्यावासीले तिम्रो नाङ्गो आङ ढाक्छ र ? छोराको बोर्डिङ चल्ला र ? जागिर रहन्छ कि जान्छ ठेगान खोइ ?” व्यथा बोल्यो गङ्गा ।
“मेरो आङ त अब नाङ्गो हुँदैहुँदैन । लुगाले मात्र ढाक्छ र मान्छेको नाङ्गोपन ? त्यस किच्चकले मलाई मलमलका लुगामा पनि नाङ्गो पार्ने प्रयत्न गरेथ्यो, तर सकेन । कोहीकोही मान्छे मूल्यवान लुगा लगाए पनि नाङ्गै हुन्छन् । कोही बिना लुगाफाटो पनि जरझुट्ट हुन्छन् । सुर्ताउनु पर्दैन तपाईंले रत्तिभर पनि । म भएँ ! ... लु त हेरौं ! कसरी जान्छ तपाईंको जागिर ? त्यसमाथि भएन जागिरै नभए पनि हाम्रा पितापुर्खाले राम्ररी निर्वाह गरेकै हुन् नि !”
सावित्री जस्ती देखिई अम्बिका । उसले अझै भनी– “मलाई त आजसम्म यस्तो रमाइलो दिन आएकै थिएन । मलाई कसैले सबैभन्दा खुसीको दिनको वारेमा सोधेमा यही दिन सबैभन्दा खुसीको दिन भन्ने छु । लङ्गडो ठानेकी थिएँ मैले आइमाईलाई, तर मलाई थाहा भयो, हामी पनि सक्ता रहेछौं अन्यायको बिरुद्धमा लडाइँ गर्न । इज्जतका निम्ति लडाईंमा उत्रिने मान्छेको भीड देखेर म त अत्यन्त खुसी भएकी छु ...”
(प्रिय पाठकहरू ! कथाको यथार्थ टुङ्गियो । कथाकारको नाताले मलाई करेली नलागेको कलम प्राप्त भए, म हाकिमको प्रमोसन र गङ्गेलाई निलम्बन गरिएको कुरा पनि यहाँ पुछ«े पारेर ल्याउँथें । कथालाई किन घटना विवरण जस्तो पार्ने भनेर मैले मास्तिरै कथा टुङ्ग्याइसकेको छु ।)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु