एकान्त कुनाबाट नहेर्नु

- मणिका शर्मा

फराकिलो आॅगनबाट हेर्यौ भनें
भेट्छौं वास्तविक स्वरूप मेरो।
स्वरुप अलिक बद्लिएको
भावनात्मकता निख्रिएको
सपाट
तिक्ष्ण
खरो

दर्हो भएकी छु म।

मबाट माथि उठ्न सकेकी थिइनॅ

तिमी र तिम्रो परिधीभीत्र
अपार आनन्दको भ्रम पालेर
कोनी कसरी बाॅचेकी थिएछु!
तिमी
मेरो देह अॅगालेर विभोर थियौ
म आमा बनेर आल्हादित थिएँ
जुन कुरालाई तिमीले प्रेम भन्यौ
म त्यसभन्दा अझ धेरै
मिठास यो साइनोको खोज्थेॅ।
तिमी र म
बस
यती थियो जीवन।
तिमी स्पर्ष गर्थ्यौ
म छातीभित्रको मुटु
माया
भावना
समर्पण
बेपनाह पोखीदिन्थें।
लाग्थ्यो यती नै हो
यही नै हो पराकाष्ठा हाम्रो मायाको।
एकान्त र शान्तिबाट उठेर हेर मलाई
आज भ्रमहरू स्पस्टिएर
सपाट
स्पस्ट
प्राञ्जल
दर्हो
भ्रमहीन
भएकी छु म ।
तिमीबाट अलग्ग
जीउनु परेदेखि
जुन आदर्श प्रेमको खोलमा
आफुलाई खोज्न भुलेकी थिएँ
पुनः स्वतखनन् शुरू गरेकीछु
अब बजारले दिएको कुनै परिभाषा
मेरो चिन्हारी हुनेछैन।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु