तुलसी घिमिरे ‘कश्यप’काे ‘हजूरबाको रेडियो’

- युवा बराल ‘अनन्त’

आजको समय गतिविधि र समाजलाई देख्न र लेख्न सक्ने एक सशक्त युवा हस्ताक्षर हुन कवि तुलसी घिमिरे ‘कश्यप’ । उनको साहित्यिक पृष्ठभूमि गाउँ हो । उनको पहिलो कृति हो ‘साइनो’ नामक कविता सङ्ग्रह जो 2015 मा प्रकाशित भैसकेको छ । नेपाली साहित्य समाजमा आफ्नो पहिलो कविता सङ्ग्रहबाटै दह्रिलो साइनो गाँसिसकेका कवि कश्यप’को यो दोश्रो कृति ‘हजूरबाको रेडियो’ बाल कविता सङ्ग्रह आज हामी माझ सार्वजनिक भैरहेको छ । हजूरबाको रेडियो नितान्त साना साना बाल बालिकाहरुको मानसिक तहलाई ध्यानमा राखेर लेखिएको बाल साहित्यिक कविता कृति हो ।


यस सङ्ग्रहमा सङ्ग्रहित उनका बाल कविताहरु सहज, सुललित, सरल, सुगम, पठनीय साथै ग्रहणीय छन् । भर्खरै साऊँ अक्षर सिक्दै गरेका बाल विद्यार्थीहरुको निम्ति उपयुक्त अनि बोधगम्य बनेको पनि छ । पठन पाठन गर्न सजिलो होस भन्न खातिर एकदमै सरल शब्दको प्रयोग घरेर कविताहरु तयार पारिएका छ्न् । प्राय कविताहरु लय छन्द मिलेका गेयात्मक छन् भने कुनै ठाउँ गाउँ खाने कथा पनि समावेश गरेर रोचक एवं ज्ञानवर्धक बनाउने कोशिश सम्म गरिएको छ ।

उदाहरणार्थ-

चोरले चोर्न नसक्ने यो/

बोक्न भारी नहुने//

राजा पुजिने देशमा मात्र/

उसलाई संसारले पुज्ने != के हो ?

उत्तरमा ‘ज्ञान’ भनेर बताइएको पनि छ ।

उसरी नै अन्य सरल कविताहरुको माध्यमबाट हाम्रो राज्य सिक्किमको गुणगान, स्वच्छता सम्बन्धि जानकारी, बोट विरुवा रोपन, घाम, पानी, माटो, पशु प्राणी, उद्भिद् आदिको महत्वलाई बुझाउँदै रचिएका कविताका पदहरुले नैतिक ज्ञान प्रदान गर्न पनि सदैव अग्रसर देखिन्छन् ।



कवि तुलसी घिमिरे ‘कश्यप’ को यो बाल कविता सङ्ग्रहलाई ‘हजूरबाको रेडियो’ भनेर नामाङ्करण गरियो । सरस्वती माताको वन्दनाबाट शुरु भएको उक्त कविता कृतिको नाम ‘हजूरबाको रेडियो’ यसै सङ्ग्रहभित्रको एउटा कविताबाट उद्घृत गरिएको हो । आज हामी माझबाट धेरै कुरा लोप भएर गैसकेका छन् । हामीले जान्दा हाम्रा हजुरबाहरुले कहीं कतै कसै कसैले रेडियो घरमा राखेर समाचार सुन्ने गर्थे, धार्मिक कार्यक्रम, गीत तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु श्रवन गरेर संसार बुझ्ने गर्थे । आज आएर ती पुराना रेडियो, टु इन वान रेडियो टेप्रिकर्ड, ट्रान्जिस्टर मासिएर गएको छ । अब हामी माझ ती उपकरणहरुको झिनो सम्झना मात्र छ । रेडियो हाम्रो सम्पत्ति बनेन अब । त्यो हजूरबाको जमानाको चीज थियो । त्यसैले त्यो रेडियो हजूरबाको बन्यो । तर त्यो रेडियोले त्यो जमानामा समाचार प्रसारण गर्दथ्यो, समय बताउँथ्यो, मनोरञ्जन गराउँथ्यो । गीत, सङ्गीत अनि ज्ञान विज्ञानका कुराहरु सुनाउँथ्यो । त्यसको एउटा छुट्टै महत्व थियो । अब सबै सकियो । टेलिविजियनले डल्लै निल्यो त्यो रेडियोलाई । अनि विस्तारै टेलिभिजियनलाई मोबाइलले अतिक्रमण गर्यो । ऐले हाम्रो जमानामा हाम्रो हातमा थ्रीजी फोरजी नेट्वर्क र एन्ड्रोइड मोबाइल छ । तर यहाँ कवि आजका बाल बालिकालाई ती पुराना समयका रेडियो चिन्हाउन चाहन्छन् । अनि मलाई लाग्छ उनको प्रयास समय सापेक्षित अनि प्रयोजनीय छ ।

रेडियो यदि कतै बज्दैछ भने त्यो पक्कै कुनै वृद्ध हजूरबाको छेउमा बज्दैछ… अथवा त्यो रेडियोको स्वामी कुनै सेतै फुलेका कुप्रो परेक या आँखा धमिलो देख्ने हजूरबा रहेका हुनेछन् । त्यो युगानुकूल र समय सापेक्षित रहेन अब । तर त्यसले हाम्रो समृद्ध विगतलाई दर्शाउँछ । हाम्रो वितेको समयलाई एकपल्ट याद गर्ने सुयोग प्रदान गराउँछ । हाम्रो धरातल बझाउँछ यसले ।


म खोज्दैछु सही फ्रिक्वेन्सी… ट्युन गर्दैछु, लु भटियो… लौ त सुन्नुहोस हजूरबाको रेडियोबाट यो कवितांश…

हजूरबाको रेडियो

सानो सानो राम्रो

बिहान धार्मिक कार्यबाट

आँखा खोल्छ हाम्रो…

राम्रा राम्रा चाख लाग्दा

कुरा सुन्न पाउँछौं

हजूरबाको रेडियोले गर्दा

समय थाहा पाउँछौं ॥



हाम्रो राज्य सिक्किमबाट नेपाली साहित्य जगतमा बाल साहित्यमा कलम चलाउने सर्जकहरु एकदमै थोरै मात्रामा पाउँछौं । साहित्य अकादमीले वर्षेनी प्रदान गरिने बाल साहित्य अकादमी पुरस्कार बाल साहित्यकारहरुलाई प्रेरणा तथा प्रोत्साहन हेतु प्रदान गर्दै आएता पनि यस क्षेत्रमा जागरुक भएर काम गर्ने न्युन छन् भन्न सकिन्छ । साहित्यका अन्य विद्यामा भन्दा बाल साहित्य क्षेत्रमा थोरै सृजनधर्मीले काम गरेका छन् जो एक चिन्तनीय विषय हो । यस क्षेत्रलाई यसरी बाँझो राख्न हुन्न भन्ने मेरो पनि भनाई छ । सिक्किमबाट निरन्तर रुपमा ‘बाल दर्पण’ नामक बाल साहित्यिक पत्रिका सम्पादक श्री भीम प्रधानको एकल प्रयासमा प्रकाशित भैरहेता पनि मेरो अध्ययनमा सिक्किमका बाल साहित्यकार र कृतिहरु निम्न तवरले प्राप्त छ्न् :-

1. श्री भीम प्रधान – बाल कोसेली ( दुईवटा बाल कविता सङ्ग्रह र बाल दर्पण साहित्यिक पत्रिका ( 95 अङ्कसम्म)

2. डा शान्ति छेत्री- हाम्रो फूलबारी (कविता सङ्ग्रह)

3. श्री शङ्करदेव ढकाल – बाल सुधा सागर (बाल कथा सङ्ग्रह)

4. श्रीमती मीना सुब्बा – फूलबारी ( बाल कविता सङ्ग्रह)

5. श्री थमन नौवाग – मनुष्यत्व ( बाल एकाङ्की सङ्ग्रह)

6. श्री टिका ढुङ्गेल – भारतीय नेपाली बाल साहित्यिक पुस्तक पत्रिकामाथि समिक्षात्मक दृष्टिकोण ( समीक्षा)

7. श्री टि एन तिवारी – कविता सङ्ग्रह

8. श्री तुलसी घिमिरे ‘कश्यप’- हजूरबाको रेडियो ( बाल कविता सङ्ग्रह ) ।



यस अतिरिक्त अन्य बाल साहित्यकारहरु पनि होलान जो ओझलमा परिरहेका छन् तर हाम्रो ध्यानमा आजसम्म भने केवल उपर्युक्त आठ जना बाल साहित्यका सर्जक साहित्यकारहरु देख्न र सुन्न पाइराखेका छौं जसको कलमबाट बाल साहित्यको खेती भैराखेको छ । यी साहित्यिकहरु माझबाट श्री शङ्करदेव ढकालले सन् 2016 मा र डा शान्ति छेत्रीले सन् 2017 मा बाल साहित्य अकादमी पुरस्कार प्राप्त गरिसकेका छन् । सन् 2010 देखि शुरु भएको बाल साहित्य अकादमी पुरस्कारद्वारा नेपाली भाषा साहित्यमा कलम चलाउने भारतभरिका जम्मा आठजना साहित्यकारहरु विभूषित भैसकेका छ्न् । ती गौरवशाली व्यक्तित्वहरुको नाम यसप्रकारले छन् :-

1. श्री नैनसिंह योञ्जन -2010

2. श्रीमती स्नेहलता राई -2011

3. श्री शिशुपाल शर्मा- 2012

4. श्री भोटु प्रधान-2013

5. श्रीमती मुन्नी साप्कोटा-2014

6. श्री मुक्ति उपाध्याय बराल- 2015

7. श्री शङ्करदेव ढकाल-2016

8. डा शान्ति छेत्री -2017 ।





लाग्छ, कवि तुलसी घिमिरेको बाल कविता रचना गर्नुको मूल उद्देश्य ती ससाना बालबालिकाका मन मश्तिष्कमा भाषा साहित्यको विजारोपन गरी साहित्यिक माहौल सृजना गराउनु हो । हो आजको समय एकदमै द्रुत गतिमा दौड़िरहेको छ । हाम्रा नानीहरु पनि त्यसैको पछि पछि कुद्न वाध्य छन् । सञ्चार माध्यम, समाजिक सञ्जाल, कमप्युटर, मोबायल, इन्टर्नेट आदिको युगमा हाम्रा बालबालिकाहरु प्राथमिक स्तर र उपयुक्त ज्ञानार्जनबाट विमुख हुँदैगरेको अवस्था छ । समाजिक मुल्यका कुरा, नैतिक आचरणका विषय, आदर, सत्कार, मान सम्मान, इज्जत , आदि विषयमा यिनीहरुको चासो रहेन अब । धर्म-संस्कारका कुराहरु वाहियात ठहरिन्छन् । यस्तो अवस्थामा हाम्रो कर्तव्य भनेको ती अराजक तत्वलाई वसीकरण गरेर हाम्रा आउँदो पिंढीलाई सही मार्ग तर्फ डोहोर्याउनु हो । त्यसको मूल जड़ भनेको भाषा साहित्य नै हो ।

यस उद्देश्यमा लागिपरेका युवा कवि कश्यपलाई यसपाली दुईवटा भिन्न भिन्न रुपमा हामी देख्न र बुझ्न सक्छौं । पहिलो उनको मौलिक सृजना- यो ‘हजूरबाको रेडियो’ कविता सङ्ग्रह । दोश्रो, उनको ‘संस्कृत वर्णमाल’ नानीहरु कै निम्ति भनेर तयार पारिएको प्राथमिक तहसम्मलाई पठन पाठन गराउन हेतु प्रकाशित पाठ्य समाग्री । यी दुवै कृति बाल उपयोगि छन् । तसर्थ कवि तुलसी घिमिरे ‘कश्यप’लाई एक कुशल बाल साहित्यकार भनेर नि:शङ्कोच किटान गर्न सकिन्छ । उनको भनाई अनुसार पाठशालामा संस्कृत पाठ पढ़ाउन केही असुविधाको अनुभव संस्कृत शिक्षकहरुले गरिरहेका छन् प्राथमिक पाठ्य पुस्तकको अभावले । हो त्यही अभावलाई केही हदसम्म निवारण गर्ने हेतुले तयार पारिएको उक्त पुस्तिकालाई मानव संशाधन विभागले पाठ्य पुस्तकको रुपमा अनुमोदन गरेर पाठशालाहरुमा पठन पाठन गराउन अनुमति दिए उनको यो प्रयास सफल बन्ने थियो ।



हिँड़ने मान्छे नै लड़छ । काम गर्ने कै गल्ति पनि भटिन्छ । तर चलमलाइरहने वस्तुले कहीं न कहीं कसै न कसैको ध्यान केन्द्रित गराउँछ नै अवश्य । कसैको ध्यानमा आउनु आफु चलायमान हुनुको सार्थकता हो । काम गरिरहनु, गरिरहनु अनि गरिरहनु । कवि भाईलाई अशेष आशिर्वाद मेरो ।

काव्य संरचनामा कहीं कतै चुकेता पनि यो नितान्त व्यक्तिगत खिप्तिमा गरिने सृजनात्मक कार्य भएकोले कसैले त्यसमाथि अतिक्रमण गर्नु उचित ठहरिन्न । काव्य सृजनामा स्तरीयता बढ़ेर जावोस । निरन्तरता कायम रहोस । कविलाई यसक्षण धेरै धेरै वधाई अनि शुभकामना चढ़ाएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु