भारी

- प्रज्ञा ढुंगाना

आमा हिजो पनि रुन्थिन्,
सासु रिझाउन नसककेर।
आमा आज पनि रुन्छिन्,
बुहारी फकाउन नसकेर।
भोली त झन् खै के,
भक्कानिन्छिन् त्यसै सम्हालिन नसकेर।

छ दशक बित्यो यसै सुसाएको
अब त सुस्ताउन पाँउछु कि बाबु?
जवाफ रेडी छ लौरो बन्नुपर्ने छोराको।
जवाफ रेडी छ छाता बन्नुपर्ने बुहारीको।
'कसले के गर्नु भन्या छ त!'
उत्तर छैन उनीसंग
हुन पनि हो
उनैलाई पीर छ,घर फोहोर भएको।
उनैलाई पीर छ,तरकारीको भाउ बढेको।
उनैलाई पीर छ,करेसाको फुल ओइलाएको।
उनैलाई चाहिएको छ सम्बन्ध।
उनैलाई चाहिएको छ समाज।
उनैलाई चाहिएको छ संस्कार।
......

धर्ती बन्न सिकेकी र सिकाइएकी उनलाई
साँच्चै थाहा छैन, फेमिनिस्ट नाराहरु।
साँच्चै थाहा छैन ,मन्दिरजस्तो घरमा पनि क्रान्ति हुन्छ भन्ने।
साँच्चै थाहा छैन, भातका सिता गनेर खानेका 'माई बडी माई चोइस्' का अवधारणा..
र त
निहत्था घुर्की सहन्छिन् एक पनिउ भात धेरै पस्किदे'को निहुँमा।
निहत्था घुर्की सहन्छिन् बिहानैै भजन गाएर ब्युझा'को निहुँमा।

अौंलामा गन्न पुग्छ होला ,
आँफैले चुलो नबालि खाएका छाकहरु।
अौंलामा गन्न पुग्छ होला,
आफ्नै लागी बिताएका साझहरु।
अहिलेसम्म बाँचेको जिन्दगीले गधा बन्न सिकायो सायद,
र त रहर गर्दैछिन् उठ्नै नसक्ने भारी बोक्न।


तेहि भारीले थिचेर पुर्णविराम नलागोस् जिन्दगी,
अचेल मन पनि उनै आमाको भारी जस्तै गर्हौ हुन्छ।

काठमाण्डौ

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु