कृष्ण बजगाईँको लघुकथाकारिताः एक चर्चा

- विजय सापकोटा

कृष्ण बजगाईँ डायस्पोरामा रहेर नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर सक्रिय रहेका छन् । डायस्पोराको व्यस्त दैन्दिनीका माझमा पनि नेपाली साहित्यका बहुआयामिक विधामा कलम चलाउने बजगाईँको सक्रियता अत्यन्तै प्रशंसनीय छ । साहित्य सिर्जनका अलावा साहित्यिक पत्रकारिता एवम् विभिन्न साहित्यिक गतिविधिहरुमा पनि सक्रिय बजगाईँ लोकप्रिय वेभ साहित्यिक पत्रिका समकालीन साहित्य डट कमका सम्पादक प्रकाशक पनि हुन् । बजगाईँका यन्त्रवत् (२००९ सन्), रोडम्याप (२०१०) र कवच (२०१७) गरी तीन लघुकथासंग्रह, हिउँको तन्ना (हाइकु संग्रह, सन् २००९), स्रष्टा र डिजिटल वार्ता (२०१०, अन्तर्वार्ता संग्रह), कमरेड भाउजू (२०१५ कथा संग्रह) एवम् युरेसियाको स्पर्श (२०१७) नियात्रा संग्रह गरी आधा दर्जन भन्दा बढी पुस्तककृति प्रकाशित भइसकेका छन् भने यिनीद्वारा सम्पादित पुस्तक एवम् पत्रपत्रिकाको सूची पनि लामै छ । विभिन्न विधामा सक्रिय देखिएपनि बजगाईँ कथाकार एवम् नियात्राकारका रुपमा बढी लोकप्रिय देखिन्छन् । यस लेखमा साहित्यकार कृष्ण बजगाईँको लघुकथाकारिताको सामान्य चर्चा गर्ने प्रयत्न गरिएको छ ।

विषय या वस्तुक्षेत्र
वस्तु लघुकथाको आत्मा हो । लघुकथाकारले आफ्नो कथाको विषयवस्तुको छनौट, त्यसको प्रस्तुतीकरणमा गरेको मेहनत या प्रयासमा नै लघुकथाको प्रभावकारिता निर्भर गर्दछ । लघुत्तम आयाममा जीवन र जगत्को विशिष्ट पक्षलाई प्रकाशित गर्नु लघुकथाको मूल मर्म भएकाले लघुकथाकारको विषय क्षेत्र ब्यापक र बृहत्त हुँदा हुँदै पनि यसका केही सीमाहरु छन् । किनभने यसले आख्यानका अरु कतिपय विधामा जस्तो जीवनको समग्र त के कुनै एउटा अंशलाई पनि बिस्तृतरुपमा प्रस्तुत गर्न सक्दैन, यसमा त जीवन र जगत्को कुनै एक विशिष्ट, मार्मिक वा पृथक् पक्ष या सत्यको उद्घाटन गरिएको हुन्छ । यसर्थमा विषयवस्तुको छनौटमा लघुकथाकारको सचेतता देखिएको हुनुपर्छ ।
नेपाली लघुकथा लेखनको समकालीन परम्परालाई हेर्दा अधिकांशतः लघुकथाकारहरुले आफू बाँचेकै जीवन र जगत्बाट आफ्ना लघुकथाको विषयवस्तु टिपेको पाइन्छ । बाटो बिराएको राजनीतिले निम्त्याएका बिकार र बिडम्बना अनि तिनले समाजका हरेक तह र क्षेत्रमा सिर्जना गरेका समस्याहरुकै सेरोफेरोमा लघुकथाहरु उनिएका पाइन्छन् । त्यस्तै सर्वस्वीकृत मूल्य र मान्यताहरुको स्खलन, ह्रासोन्मुख मानवीय भावना र व्यवहार पनि नेपाली लघुकथाको अर्को मुख्य विषयवस्तु बनेको देखिन्छ ।
लघुकथा लेखनपूर्व विषयवस्तुको छनौटमा गम्भिर ध्यान पु¥याउनु किन जरुरी छ भने लघुकथाका कतिपय लेखन प्रविधिगत सीमितताहरुका कारण सबै विषयवस्तुलाई यसको संरचनामा ढाल्न नसकिने पनि हुन सक्दछ । वस्तुको उपयुक्र्त छनौट र प्रस्तुतिका अभावमा यो नीति कथा, बोध कथा या सूक्तिकथामा परिणत हुने ठूलो खतरा रहन्छ । किनभने समसामयिक साहित्यमा लघुकथाले उल्लिखत विधाको भन्दा फरक किसिमको लक्ष्य राखेको हुन्छ ।
यस सन्दर्भमा कृष्ण बजगाईँका लघुकथाको विषय क्षेत्र पनि समसामयिक जीवन नै देखिन्छ । यिनका अधिकांश लघुकथा राजनीति र यससँग अन्तरसम्बन्धित विभिन्न विषय र सन्दर्भहरुकै सेरोफेरोमा बुनिएका छन् । दशकौँदेखि बिग्रिएको राजनीतिका विभिन्न अनुहार, प्रवृत्ति र क्रियाकलापहरु उनका लघुकथामा टिपिएका छन् । भ्रष्ट, अनुत्तरदायी, गैरजिम्मेवार, अनैतिक, क्षमताहीन एवम् उत्साहविहीन राजनीतिक नेतृत्व र उसका यस्तै गलत विचार र व्यवहारहरुद्वारा दीक्षित कार्यकर्ताहरु, गलत राजनीतिले पक्षपोषण गरेका एवम् बिसङ्गतिको चरम नमूना बनेका प्रशासन संयन्त्र र विभिन्न जनप्रदायक संस्थाहरु, का साथमा यी सबैको चपेटामा परेर पिल्सिएका साधारण मानिसको विवश जिन्दगीका अँध्यारा पाटाहरुलाई बजगाईँका लघुकथामा पढ्न पाइन्छ । जनघाती, राष्ट्रघाती, घूसखोरी, अनादर्श, आडम्बरी, बहुरुपी, भ्रष्ट, अनैतिक आदि जस्ता अनेकौँ नकारात्मक छविमात्रै बनाएको नेपाली राजनीति र यससँग सम्बन्धित सर्वविदित चरित्र र सन्दर्भहरुलाई लघुकथामा उनिएतापनि प्रस्तुतिका कारणले तिनमा नवीनता भेट्न सकिन्छ । सारांशमा विषयवस्तुगत हिसाबले कृष्ण बजगाईँका लघुकथाको केन्द्रीय विषय राजनीति नै बनेको छ ।
राजनीतिक विषयवस्तुबाहेक मानवीय जीवनका विभिन्न पाटोहरुलाई उधिन्नु कृष्ण बजगाईँको रुचि हो । समकालीन जीवन यन्त्र र प्रविधिको विकासले निकै गुणस्तरीय, सहज र सुविधाजनक देखिए पनि यसले मानिसको पैदा गरेका जटिलतालाई लघुकथामार्फत् प्रस्तुत गर्न उनी रुचाउँदछन् । उनका लघुकथामा आधुनिक जीवनको यान्त्रिकताका साथमा मानवीय सम्बन्धका अँध्यारा उज्याला पक्षहरु पनि पुनरावृत्ति भइरहेको पाइन्छ । वैयक्तिक विभिन्नता र तिनले सम्बन्धमा पार्ने प्रभाव, आशत्तिः पनि उनका लघुकथामा आएका छन् । मानिसका तनावपूर्ण र द्वन्द्वपूर्ण सम्बन्धहरु, यिनीहरुबीचका उतार चढाव, विश्वास अविश्वासलाई बजागाईँले आफ्ना लघुकथाहरुमा पर्याप्त स्थान दिएका छन् । त्यसैगरी मानिसमा बढ्दै गइरहेको मूल्यहीनता, अमानवीयता एवम् स्वार्थी प्रवृत्तिहरुले निम्त्याएका वा निम्त्याउनसक्ने सन्दर्भहरु पनि उनका लघुकथामा प्रभावशाली रुपमा आएका छन् । घर व्यवहार र जीवन शैलीका साधारण दिनचर्याभित्रका अदेख एवम् अकल्पित कतिपय जटिलताहरु पनि यिनका लघुकथामा उद्घाटित भएका पाइन्छन् । व्यक्तिका भौतिक या शारीरिक र मानसिक सुख, मोह, लोभ या प्राप्तिसित गाँसिएका यस्ता पक्षहरुका नकारात्मक परिणामलाई औँल्याउन उनी सिपालु छन् । यसरी विषयवस्तु छनौट गर्ने क्रममा बजगाईँले सबलभन्दा दुर्बल, सङ्गतभन्दा बिसङ्गत या राम्राभन्दा नराम्रा पक्षहरुलाई बढी रुचाएको पाइन्छ । समग्रमा भन्दा समकालीन मानव जीवनका संवेग, घात–प्रतिघात, विश्वास–अविश्वास, अकल्पनीय परिणाम, घृणा, माया, द्वेष, कलह आदि पक्षहरु लघुकथाकार बजगाईँले लघुकथामा प्रस्तुत गरेका छन् ।
यस्तै गरी राजनीतिक बाहेक समाजका विभिन्न व्यवसायिक पाटोहरुका विकृति, बिसङ्गतिहरु पनि बजगाईँका लघुकथामा आएका छन् । भ्रष्ट कर्मचारीतन्त्र भित्रका अँध्यारा र गलत पाटोहरुका साथमा न्यायक्षेत्र, कला, साहित्य, पत्रकारिता आदिजस्ता समाजका अन्य क्षेत्रसित सम्बन्धित पक्षका बिडम्बनाहरुलाई पनि उनले लघुकथाको विषयवस्तु बनाएका छन् । यी क्षेत्रका चाकडीचाप्लुसी, ढिलासुस्ती, असक्षमता, स्तरहीनता, अनैतिकता, सुविधाभोगी, मूल्यहीनता आदि जस्ता नकारात्मक पाटोहरुलाई उजागर गर्नुे किसिमका वस्तु छनौटमा बजगाईँको रुचि देखिन्छ । यसैगरी संकीर्ण र विकृतियुक्त धर्म, संस्कार एवम् विश्वासहरुका दुर्बल पाटोहरुलाई पनि बजगाईँका लघुकथामा प्रस्तुत गरिएका छन् । प्रकृति र यसले मानिसको जीवनमा पारेका सजिला असजिला पक्षहरुको मार्मिक चित्रण उनका लघुकथामा भएको पाइन्छ । बजगाईँको लघुकथामा प्रखररुपमा आएको अर्को विषय नेपालमा चुलिँदै गइरहेको विकासे राजनीति र यसका भ्रष्ट, आडम्बरी र नक्कली अनुहारको चिरफार गर्नु पनि हो । चाहे मानव अधिकार होस्, या नारी अधिकार अथवा अन्य विभिन्न विकासका नाउँहरुमा वर्खायाममा च्याउ उम्रेसरी खोलिएका विभिन्न गैरसरकारी विकासे र अधिकारवादी संस्थाहरुको देखाउने र गर्ने व्यवहारबीचको भिन्नता यिनका लघुकथामा घतलाग्दो गरी आएका हुन्छन् । यी संस्था मात्रै होइन यिनमा आबद्ध मानिसहरुका विचार र जीवनव्यवहारबीचका भिन्नताहरुलाई बजगाईँ निकै चोटिलो पाराले प्रस्तुत गर्दछन् ।
यसरी विषयवस्तुका दृष्टिले कृष्ण बजगाईँले आफ्ना लघुकथामा युगीन जीवन र जगत्का अँध्यारा र नकारात्मक पक्षहरुलाई प्रस्तुत गर्न रुचाएको देखिन्छ । राजनीति, समाज, संस्कृति, प्रकृति, यान्त्रिीकीकरण आदि विविध विषयहरुका संगतपूर्णभन्दा असंगत, व्यवस्थितभन्दा अव्यवस्थित पाटोहरुलाई उजागर गरेपनि यिनका लघुकथामा कुण्ठा र निराशाभन्दा बढी तीव्र व्यंग्य भेटिन्छ । सामयिक जीवनका तमाम कुरुपलाई निर्मम किसिमको व्यंग्य प्रहार गर्नु, आलोचना या टिप्पणी गर्नुका पछिल्तिरको रहस्य के देखिन्छ भने बजगाईँ यस्ता असंगतिहरुप्रति असहमत छन् । समाजका विभिन्न गलत पाटोहरुप्रतिको रोष, असन्तुष्टि वा आक्रोश पोख्नकै लागि कृष्ण बजगाईँ लघुकथा लेख्छन् कि क्या हो भन्न सक्ने ठाउँ पनि उनले प्रशस्तै छाडिदिएका छन् किनकि उनका लघुकथाको मूल स्वर नै यही देखिन्छ ।
प्रस्तुति
लघुकथाको प्रभावकारिता यसको प्रस्तुतिमा भरपर्दछ । प्रविधिगत हिसाबले यो लघुविधा हुँदै हो, जसको सीमाबद्धताले यसलाई निकै संवेदनशील बनाउँदछ । उठान गरिएको कथानकलाई सीमित आयाममा एउटा प्रभावोत्पादक उत्कर्षसम्म पु¥याउनु निश्चय पनि सजिलो कुरा छैन । लघुकथाको प्रस्तुतीकरण कस्तो हुने भन्ने कुरा कथानक वा वस्तुमा निर्भर रहने कुरा हो । कथानक र चरित्रलाई उत्कर्षमा पु¥याउनका लागि लघुकथाकारका प्रस्तुतीकरणको आफ्नै शैली र प्रविधि हुन सक्छन् । वर्णनात्मक, संवादात्मक या चामत्कारिक जुनसुकै पद्दतिमा लघुकथालाई प्रस्तुत गरे पनि लघुकथाको बनोट र बुनोटमा छरितोपन देखिनै पर्दछ । सूत्रात्मक र सांकेतिक किसिमको भाषाको प्रयोग लघुकथाका निम्ति अनिवार्य जस्तै हो तर त्यसमा बोधगम्यता र लयप्रवाह हुनु जरुरी छ । लघुकथामा कथानकको उत्कर्षमा पाठकले ग्रहण गर्ने चमत्कारिक र विश्वसनीय निष्कर्षमा यो कति प्रभावशाली रचना हो भन्ने कुराको निक्र्यौल हुनजान्छ । त्यसैले लघुकथाको शैली भनेकै लाक्षणिकतामा सम्प्रेषणीयता हो ।
लघुकथामा चरित्रको उपस्थिति सीमित र नियन्त्रित हुन्छ । चरित्रको प्रयोग प्रत्यक्ष, अप्रत्यक्ष या सांकेतिक जुनसुकै रुपमा भएपनि कथानकको विशेषता अनुसार तिनको उपर्युक्त विकास हुनु जरुरी छ । चरित्रको गतिमै कथानकको गति निर्भर गर्दछ र यी दुवैलाई उद्देश्यअनुरुप हिँडाउने काम भाषाशैलीले गर्दछ । कथानकको विविधता र आवश्यकताअनुसार नै बजगाईँका लघुकथाका चरित्रहरु कतै घटना र सन्दर्भसित गाँसिएर त कतै लुप्त वा सांकेतिकरुपमा आउँदछन् । मानवेत्तर चरित्रहरुको प्रयोगमा पनि उनी रुचि राख्दछन् । कुकुर, बाँदर, बाघ,भ्यागुता, स्याल आदि प्राणीहरुका साथमा निर्जीव वस्तुहरु जस्तै जुत्ता, बन्दुक, गोली, यन्त्रमानव आदिलाई समेत चरित्रको रुप दिई तिनबाट मानवीय गलत प्रवृत्ति र व्यवहारको भण्डाफोर गर्ने काम गरिएको छ ।
कृष्ण बजगाईँले आफ्ना लघुकथालाई विविधतापूर्वक प्रस्तुत गरेका छन् । आफ्नो छनौटको विषयवस्तुलाई आख्यानीकरण गर्ने क्रममा वस्तु अनुसारकै पृथक् पृथक् किसिमको शैली अपनाउने प्रयत्न उनले गरेको देखिन्छ । कथानकको विकास गर्ने क्रममा कतै वर्णनात्मक, कतै संकेतात्मक त कतै संवादात्मक शैलीलाई उनले अँगालेका भए पनि ज्यादाजसो लघुकथामा वर्णनात्मकताकै बाहुल्यता पाइन्छ । तर वर्णनात्मकता पनि बिम्बात्मक र प्रतीकात्मक भाषाको प्रयोगमा पनि ध्यान दिइएको पाइन्छ । यिनको भाषा प्रयोगमा सूत्रात्मकता र लाक्षणिकता पनि प्रचूररुपमा पाउन सकिन्छ । व्यंग्यात्मकतामा भने कृष्ण बजगाईँको विशेष रुचि र दखल देखिन्छ । कतिपय लघुकथामा लोककथात्मक शैलीलाई समेत अँगालिएको छ । तर अतिकाल्पनिकता र स्वैरकल्पनाको प्रयोग भने बजगाईँका लघुकथामा कमै पाइन्छ ।
लघुकथाले भाषाशिल्पमा सहज, प्रवाहमय एवम् बोधगम्यताको अपेक्षा गर्दछ । पारदर्शीता, प्रासंगिकता सँगसँगै गतिशीलता लघुकथाको सबल बुनोटमा अत्यावश्यक हुन्छन् । सानो आयाममा अभिव्यक्त गर्न खोजेको परिवेश, लघुकथाको पठनको अन्त्यमा पाठकको अनुभूति र विचारको तहमा विजुलीको झड्काजस्तो प्रभाव तत्कालै दिनुपर्ने भएकाले यसको भाषामा सांकेतिकता र सम्प्रेषणीयता दुवै हुनुपर्दछ । कृष्ण बजगाईँका प्रायजसो लघुकथा यसमा सफल देखिन्छन् । लघुकथाको उत्कर्षमा उनले प्रस्तुत गर्ने सटिक भाषाले लघुकथालाई प्रभावशाली र मार्मिक बनाउँदछन् । यसरी हेर्दा बनोट र बुनोटको हिसाबले बजगाईँ सफल लघुकथाकार हुन् । उनका प्राय लघुकथाले शीर्षकदेखि नै कथानक र चरित्रका साथमा पाठकलाई पनि एउटा प्रभावशाली, चोटिलो उत्कर्षसम्म पुर्याउँदछन् । उदाहरणका लागि उनको ‘आत्महत्या’ लघुकथालाई लिन सकिन्छ ः
‘यसपटक त म उधारो दिनै सक्दिन । पहिलेकै उधारो तिर्न बाँकी छ ।’ पसलेले रिसाउँदै भन्यो ।
‘हैन हजुर, यो अन्तिम उधारो हो । भरदिन रित्तो पेट, खान एक गेडो अन्न छैन, रातभर उडुस र उपियाँले सुत्न दिँदैनन् । उपाय त निकाल्नै प¥यो ।’ उसले हात जोडेर बिन्ती गरी ।
पसलेले पुरानो उधारो चुक्ता हुने आशामा विषालु किटनाशक औषधी उधारोमै दियो । ऊ औषधी बोकेर डेरातिर लागी ।
भोलिपल्ट कसैको आत्महत्याको खबर टोल छिमेकमा तुरुन्तै आगोझैँ सल्किहाल्यो । मानिसको भीड सागरझैँ बढेर आयो । एउटी असहाय गरिब महिला र उनका दुई सन्तानको सामूहिक आत्महत्याले सबैको मन रुवायो । भीडका सबैले दुःख व्यक्त गरे ।
‘सहिदका परिवारले खान नपाएका कारण आत्महत्या गर्नुप¥यो । सरकारलाई लाज लाग्नुपर्ने हो ।’ विपक्षी पार्टीका एक कार्यकर्ताले आक्रोश पोखे ।
‘खान नपाएर त होइन होला । नत्र म सरकारलाई भनेर व्यवस्था मिलाई दिन्थेँ ।’ सत्तापक्षका कार्यकर्ताले आफ्नो पहुँचको व्याख्या गरे ।
‘दुई निर्दोष बच्चाको के अपराध थियो र आफूसँगै मारी । पाल्न नसक्नेले जन्माउनु हुँदैनथियो ।’ भीडका एकजनाले दर्शन छाँटे ।
भीडका प्रत्येक मानिसका आआफ्ना तर्क र विचार जे भए पनि सामूहिक आत्महत्याप्रति सबैले दुःख प्रकट गरिरहेका थिए । त्यस भीडमा सबैभन्दा बढी दुःखी देखिन्थ्यो उही पसले, आफ्नो उधारो डुबेकोमा ।
कृष्ण बजगार्इँका कतिपय लघुकथा लोककथात्मक शैलीमा बुनिएका छन् । वर्तमानकै सेरोफेरोलाई प्रस्तुत गर्न कतिपय लोककथा या नीतिकथाका प्रचलित प्रसंगहरुलाई अगाडि सारिएको छ । यस्ता लघुकथाहरु प्रस्तुततिका हिसाबले रोचक हुन्छन् र तिनले लघुकथाको अन्त्यमा व्यंग्यात्मक प्रभाव दिने गर्दछन् । ‘सोम शर्माको सपना’, ‘घुम्ने कुर्सी’, ‘जादुगरी झण्डा’, ‘वरदान’, ‘पोसाकविहीन राजा’, ‘तीन बाँँदर’ आदि लघुकथामा कतिपयमा प्रचलित आहान या कथ्यलाई टेकेर युगजीवनप्रति कटाक्ष गरिएको छ भने कतिपयमा लोककथाको कथ्य शैली प्रस्तुत गर्दै वर्तमानकै चित्र उतारिएको छ ।
कतिपय लघुकथामा पृथक् शैलीको प्रयोग पनि गरेका छन् कृष्ण बजगाईँले । झट्ट हेर्दा समाचार टिप्पणी जस्तो देखिने यस्ता लघुकथाले युगीन बिडम्बनालाई मार्मिकरुपमा प्रस्तुत गरेको देखिन्छ । आख्यानहीन लाग्ने किसिमका सूत्रात्मक विषयसन्दर्भहरुलाई टिपोट गरी ती बीचको तुलनामा मर्मभेदी निष्कर्ष निकाल्ने यस्ता लघुकथामा ‘समाचार’, ‘आरक्षण’, ‘को हो’ आदि उल्लेख्य छन् ।
समग्रमा कृष्ण बजगाईँको लघुकथा लेखनगत विशेषतालाई यसरी सूत्रबद्ध गर्न सकिन्छ ः
१. कृष्ण बजगाईँका लघुकथा वर्णनात्मक हुँदाहुँदै संक्षिप्त, सांकेतिक, लाक्षणिक एवम् सूत्रात्मक छन् ।
२. कृष्ण बजगाईँको लघुकथाको भाषाशैली विविधतामय छ । नाटकीय, सूक्तिमय, प्रतीकात्मक, संकेतात्मक आदि पृथक् पृथक् शैलीमा उनका लघुकथा उनिएका पाइन्छन् ।
३. व्यंग्यात्मकता कृष्ण बजगाईँका लघुकथाको साझा प्रवृत्ति हो । उनी प्रस्तुतिमा चोटिलो र मार्मिक व्यंग्यात्मक शैलीका माध्यमले आफ्ना लघुकथालाई रोचक र प्रभावशाली बनाउन सक्षम छन् ।
४. कृष्ण बजगाईँका लघुकथा बोधगम्य र सहजसम्प्रेषणीय छन् ।
५. कृष्ण बजगाईँका कतिपय लघुकथा प्रयोगधर्मी किसिमका छन् ।
६. लघुकथा संरचनाका प्रचलित मान्यताका आधारमा कृष्ण बजगाईँका लघुकथा सबल र सफल छन् ।

विचार
लेखकीय विचार या दृष्टिकोणले लघुकथामा निकै महत्वपूर्ण भूमिका खेल्दछ । आकारगत कारणले पनि यसले पाठकको अनुभूति या विचारको तहमा तीव्र प्रभाव पार्दछ । त्यसकारण यो भन्न सकिन्छ कि लेखकीय दृष्टिकोण या विचारको परिपाक लघुकथाको अर्को महत्वपूर्ण प्रविधि हो ।
कृष्ण बजगाईँ सामाजिक उत्तरदायित्व बोध भएका कथाकार हुन् । उनका लघुकथामा सामाजिक सरोकारका कुराहरुको उठान भएको हुन्छ । गतिहीन, दिशाहीन, नैतिकहीन एवम् अनुत्तरदायी राजनीतिकको विरोध गरिएका उनका अधिकांश लघुकथामा मूल्य, सिद्धान्त र आस्थाको राजनीतिको अपेक्षा गरिएको हुन्छ । उनका कतिपय लघुकथामा अराजक, हिंस्रक एवम् बिखण्डनवादी राजनीतिप्रति कडा असहमति प्रकट गर्दै निस्वार्थी, जनउत्तरदायी प्रजातान्त्रिक र प्रगतिशील राजनीतिको पक्षधरता देख्न पाइन्छ । बजगाईँका बढीजसो लघुकथामा वर्तमान नेपाली राजनीतिका नकारात्मक पक्षहरुमाथि तीव्र आलोचना र व्यंग्य देख्न पाइन्छ । गलत राजनीति र त्यसले निम्त्याएको परिणामकै आसपासमा रहेर लेखिएका लघुकथाहरुको बहुलता देख्दा कृष्ण बजगाईँ गलत राजनीतिप्रति रोष, आक्रोश वा असन्तुष्टि पोख्नकै लागि लघुकथा लेख्छन् कि क्या हो भन्ने आधार पनि उनले छाडिदिएका छन् ।
राजनीतिपछि कृष्ण बजगाईँको सरोकार सामाजिक सांस्कृतिक समस्याहरुको सेरोफेरोमा चल्दछ । गलत सामाजिक, सांस्कृतिक प्रचलन, पद्दति, भ्रष्टता एवम् नैतिकहीनतालाई प्रस्तुत गर्दै समकालीन समाजका कतिपय दूर्गति र दूर्बलताहरुलाई कटाक्ष गर्नु उनको लघुकथा लेखनको अर्को उद्देश्य हो । बजगाईँ जात, धर्म या सम्प्रदायको कट्टरताप्रति असहमति व्यक्त गर्दै धर्मअन्धताको विरोध र पर्दाफास गर्दछन् ।
कृष्ण बजगाईँ मानवतावादी दृष्टिकोण राख्दछन् । उनका लघुकथामा मानवीय मूल्य, मान्यता र व्यवहारहरुको स्खलनप्रति चिन्ता जाहेर भएको हुन्छ । अपहेलित, दबाइएका एवम् पछाडि पारिएकाहरुप्रति सहानुभूति उनका लघुकथामा पाउन सकिन्छ । कृष्ण बजगाईँका लघुकथामा नारी समस्या र संवेदनासित जोडिएका सामाजिक, सांस्कृतिक एवम् मनोवैज्ञानिक किसिमका समस्याहरु आएका छन् । ‘परिवर्तन’, ‘आदेश’, ‘लोग्नेको जात’, ‘कलर म्याचिङ’, ‘कला’, ‘पुरुष अङ्ग’, ‘परिवर्तन’ आदि जस्ता लघुकथाहरु महिला र तीसँग सम्बन्धित विभिन्न पक्षहरुसित जोडिएर आएका छन् । पछाडि पारिएको महिला वर्गप्रति सहानुभूति र सम्मान व्यक्त गर्ने बजगाईँ नारी अधिकारलाई कमाउने भाँडो बनाउनेहरु प्रति निर्मम त छन् नै सँगसँगै यससितै गाँसिएर आएका कतिपय सामाजिक सांस्कृतिक विकृति एवम् बिसङ्गतिको पनि आलोचना गर्दछन् । नारी शोषणका विविध रुपहरुलाई बजगाईँले लघुकथामा प्रस्तुत गरेका छन् । लैङ्कि विभेद संस्कारका रुपमा स्वभाविक र सामान्य बनेको मात्रै होइन, यसको जरा अत्यन्तै जब्बररुपमा गाडिएको कुरालाई उनले सचेततापूर्वक अभिव्यक्त गरेको पाइन्छ । ‘शत्रु–१’ लघुकथा यसको सबैभन्दा राम्रो उदाहरण हो ।
छरिता र सुन्दर जिउडाल भएका नारीहरुका नाप नक्सा नारी पुरुष दुवैका लागि चासोको विषय भयो ।
टेलिभिजनमा आउने विज्ञापनले उचाइ बढाउ भन्यो । युवतीहरुले पेन्सिल हिल लगाएर उचाइ मात्र बढाएनन्, सुन्दरताको उचाइ बढाइदिए ।
कम्मर र पेटको बोसो घटाऊ भन्यो । युवतीहरुले त्यो घटाएर नितम्बमा थपे ।
पुरुषहरुका आँखाले वक्षस्थलको साइज बढाऊ भन्यो । युवतीहरुले साइज मात्र बढाएनन् अलिकति भए पनि देखाएरै हिँड्न थाले ।
सुन्दर, आकर्षक भएर अफिस आउनू भने हाकिमहरुले । कसैले लुगाको लम्बाइ घटाए, कसैले भी सेप र यू सेप बढाए ।
गला र ओठको प्राकृतिक लाली थरिथरिका रंग पोतेर छोपे । कसैले आँखी भौँ काटेर कालो पोते.......।
उमेर नपुगेका चिचिलाहरु आफू युवती देखिन रंगरेगन र शृंगारपटार गरेर हिँड्न थाले । बूढी भइसकेका आइमाईहरु तरुनी देखिन हर उपाय लगाएर आफ्नै शरीरलाई दुःखै दिएर पनि सुन्दरी भई छाड्ने होडबाजीमा लागे ।
नारीहरुको सौन्दर्यप्रतिको यस्तो मोह र मेहेनत देखेर अल्छी पुरुषहरुलाई ईष्र्या लाग्न थाल्यो । बजारमा सुन्दरीहरु देखेर एक पुरुषवादी कुर्लिँदै थिए, नारीका शत्रु नारी नै हुन्छन् भन्थे । त्यतिमात्रै होइन आफ्नै शरीरका पनि शत्रु हुँदा रहेछन् । कति सास्ती दिन सकेका आफ्नै शरीरलाई ।
कृष्ण बजगाईँका कथामा दार्शनिकता पनि पाइन्छ । यान्त्रिकताको विरोध, मानवता वा मानवीय गुणहरुको ह्रासप्रतिको चिन्ता उनका लघुकथामा पाइन्छ । मानिसमा बढ्दै गइरहेको अतिभौतिकवादी मोह, लालच र स्वार्थले निम्त्याएको अमानवीयता, निर्दयीता एवम् अनैतिकताप्रतिको असन्तुष्टि उनका यस्ता कथामा पाउन सकिन्छ । भौतिक जीवनको क्षणभंगूरतालाई अगाडि सार्दै यस्ता तमम् अहम् र लोभलालचको औचित्यहीनतालाई उनले असाध्यै मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । ‘इष्र्या’, ‘विमार’, ‘अहम्’, ‘भोग’, ‘शब्दहरुको मृत्यु’ आदि जस्ता लघुकथाहरुले उनको यो विचारलाई प्रतिनिधित्व गरेका छन् ।

वास्तवमा लघुकथाको विषयसन्दर्भ वा क्षेत्र जुनसुकै भएपनि यसले समकालीकतालाई प्रतिनिधित्व गरेको हुन्छ । लघुकथाको उद्देश्य नै विविध प्रस्तुतीकरणमा पाठकको तात्कालीक चेतना, विचार र संवेदनाको तहलाई स्पर्श गर्नु, सुम्सुम्याउनु अनि चिमोट्नु समेत हो । यसर्थमा लघुकथाकारको सिर्जनात्मक सामथ्र्य र कलासित अन्तर्घुलित भएर आउने विचार पक्षले लघुकथाको वास्तविक मूल्य निर्धारण गर्दछ भन्न सकिन्छ । लघुकथामा अन्य विधामा जस्तो विचार पक्ष विस्तृतामा नआई पूर्णतः सांकेतिक र प्रतीकात्मकरुपमा आएको हुन्छ । अरु विधामा जस्तो लेखकीय वैचारिकता विस्तृत र प्रत्यक्षरुपमा हावी भयो भने त्यो लघुकथा नबनी टिप्पणीजस्तो मात्रै बन्न पुग्दछ । त्यसैले लेखकीय विचार लघुकथाको वस्तु र चरित्रसँग अन्तर्घुलित भएर सांकेतिकरुपमा मात्रै आउनुपर्दछ , किनभने लघुकथाको वास्तविक शक्ति या सामथ्र्य व्यंग्य या गाम्भीर्यतामा भन्दा पनि सांकेतिक या बिम्बप्रतीकात्मक अर्थप्रधानतामा हुन्छ । केही गौण कमजोरीका बाबजूद कृष्ण बजगाईँका लघुकथामा यो गुण पाउन सकिन्छ ।

निष्कर्ष
नेपाली लघुकथा लेखनको परम्परा त्यतिधेरै समृद्ध नभएपनि यसले छुट्टै विधाको रुपमा आफ्नो स्थान बनाइसकेको छ । मानिसको व्यस्तता बढ्दै जाँदा लघुकथाको लोकप्रियता पनि बढ्दै गइरहेको छ । पत्रपत्रिकाका साथै कृतिका रुपमा समेत लघुकथा लेखन प्रकाशन पनि बढ्दै गइरहेको छ । लघुकथाका बारेमा व्यवस्थित अध्ययन अनुसन्धानहरु पनि हुन थालेका छन् । यो लघुकथा मात्रै होइन सिङ्गै नेपाली साहित्यका लागि अत्यन्तै सकारात्मक कुरा हो ।
तर नेपाली लघुकथा लेखनका समकालीन प्रवृत्तिहरुलाई हेर्दा यसका कतिपय सीमा र कमजोरीहरु देखिन्छन्, जसले यसको विधागत विकास र समृद्धिमा निकै नकारात्मक प्रभाव पारिरहेको देखिन्छ । विशेषगरी विषयवस्तुको छनौट र यसको प्रस्तुतिगत सन्दर्भमा यो देखिन्छ । अधिकांश नेपाली लघुकथाका विषयवस्तुमा सबै लेखकमा वर्तमान राजनीति र यसले सिर्जना गरेका सन्दर्भहरु आएको देखिन्छ । उही घटना सन्दर्भ, उही प्रसंग अनि उस्तै किसिमका चरित्रहरुको बारम्बार पुनरावृत्ति हुने रोगबाट लघुकथा पूर्णतः ग्रसित छ । अझ यिनलाई प्रस्तुत गर्ने शैलीमा समेत प्रायःमा एकरुपता पाइन्छ । यसरी विषयवस्तु, चरित्र एवम् प्रस्तुतिमा समेत पृथक्ता नभेटिँदा सबैका लघुकथा उस्तै देखिने समस्या देखिन्छ । अझ कतिपयले त तत्कालीन समयमा चर्चामा आएका कतिपय घटनाहरुलाई नै पनि टिपेर लघुकथाको स्वरुप दिएको पनि पाइन्छ । लघुकथाको वस्तुचयन जुन सन्दर्भ, घटना वा पात्र विशेषबाट टिपिए पनि सामान्यतया यसले समकालीनताकै प्रतिनिधित्व गर्दछ । तर नेपाली लघुकथामा समसामयिकता र तात्कालीकताको अर्थ नबुझेर ठूलो समस्या पैदा भइरहेको छ । कतिपय लघुकथाकारले तत्कालै घटेका समाचार जस्ता घटना जसले केही समयसम्म पनि कुनै किसिमको प्रभाव राख्न सक्दैनन् तिनलाई टिपेर समसामयिक भनेको पाइन्छ । तर धेरै लेखकको असचेतता हो या अज्ञान धेरैले समकालीनताको अर्थलाई तात्कालीकतासित जोडेर अथ्र्याएको पाइन्छ र लघुकथाका नाममा समाचार, टिप्पणी या चुट्किला लेखेको देखिन्छ । तत्कालीन समयमा घटेका घटनाको प्रभावस्वरुप प्रस्तुत गरिएका विचारविहीन लेखनलाई समसामयिक भन्न सुहाउँदैन । समसामयिकताको अर्थ लेख्ने बित्तिकै त्यसको उपादेहिता सकिनु पटक्कै होइन । विषयवस्तुको सही र सचेततापूर्वक छनौट नगर्नुको परिणाम हो यो । सामयिक जीवनका विविध घटना, सन्दर्भ वा चरित्रहरुका कतिपय विशिष्टताको प्रस्तुति नै लघुकथा त हो, तर कतिपय अवस्थामा नेपाली लघुकथाले लघुकथाको वास्तविक विधागत उद्देश्य या स्वभावलाई भुलेको पाइन्छ । आकार या आयामगत हिसाबले सानो भएकाले जसले पनि सजिलै लेख्न सक्ने र कुनै घटनासन्दर्भलाई सुरु गरेर एउटा टुंगोमा पु¥याइदिएपछि लघुकथा बन्ने बुझाइले गर्दा यो विधाको गुणात्मकतालाई निकै असर गरिरहेको यथार्थ छ ।
प्रविधिगतरुपमा पनि धेरै लेखकहरुमा एकरुपता पाइन्छ, जसका कारण स्रष्टागत वैशिष्ट्य स्थापित हुन सकिरहेको छैन । उस्तै किसिमको शैली, उही किसिमका बिम्बप्रतीकहरुको पुनरावृत्ति मात्रै नभई उही मिथकहरुको पुनरोक्तिले गर्दा यस विधाको सिर्जनात्मक पक्ष पनि निकै कमजोर बन्दै गइरहेको छ ।
यी र यस्ता कतिपय कमजोरीका बाबजूद पनि नेपाली लघुकथाले कृष्ण बजगाईँ जस्ता मेहेनती कथाकार मार्फत् आफ्नो विधागत समृद्धि हासिल गर्दै गइरहेको छ । यद्यपि बजगाईँ आफैँ पनि नेपाली समकालीन लघुकथाका कतिपय दुर्बलताहरुबाट मुक्त या अलग भने छैनन् । उनका कतिपय लघुकथाहरु माथि उल्लिखित प्रवृत्तिबाट ग्रसित पनि छन् । तर समग्रमा भने उनका लघुकथाहरुले नेपाल लघुकथाको भण्डारलाई अझै समृद्ध बनाउने काममा महत्वपूर्ण योगदान पुर्याएका छन् भन्नेमा अत्युक्ति नहोला । प्रयोगशील उत्साह, शैलीगत विविधता एवम् निरन्तर लेखनका कारण कृष्ण बजगाईँ समकालीन नेपाली लघुकथामा छुटाउन नहुने नाम बनिसकेका छन् ।

लन्डन, बेलायत

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु