त्यो दशैँ

- भूधरा उपाध्याय

आमा वुवाका हामी पाँच सन्तान मध्ये दुई दिदीको बिहे भइसकेको थियो। दाइ पनि पढ्न भनेर अमेरिकातिर जानु भएको थियो। आमावुवासँग हामी दुई दिदी बहिनी मात्र थियौँ। दिदी मभन्दा तीन बर्ष जेठी भए पनि पढाइमा मभन्दा एक कक्षा मात्र माथि थिइन्। दिदी कक्षा पाँचमा पढ्थिन्, म चार कक्षामा पढ्थेँ।

म बुबाकी प्यारी थिएँ। उहाँले मलाई बोकी बोकी हिड्नु हुन्थ्यो। ' कति चेपारो पारेको ? अब कान्छी तरुनी भइसकी।' बुबाले मलाई बोकेको देखेर आमा यसै भन्ने गर्नु हुन्थ्यो। 'दस बर्ष त पुगेकी छैन। केको तरुनी हुनु नि !' बुबाले जवाफ दिनु हुन्थ्यो। म भने दङ्ग पर्दै बुबासँग चपक्कै टाँसिएर बस्थेँ।

दिदी र म पनि खुव मिल्थ्यौँ। हामी दुवैजनाका साथी एउटै थिए। हामी दुवैसँगै खेल्थ्यौँ, सँगै स्कुल जान्थ्यौँ। एकपल्ट दिदी साह्रै बिरामी भइन्। उनी डाको छोडेर रुन्थिन्। केही पनि खान मान्दिन थिइन् । बुबाले काखमा राखेर फकाउँदै खुवाउनु हुन्थ्यो। करिव एक महिनापछि दिदी उठेर बस्न थालिन् तर बुबाको काख भने छोड्दै छोडिनन्। दिदी बिरामी परेदेखि नै मैले बुबाको काखमा बस्न पाएकी थिइन। म पर बसेर दिदी र बुबालाई हेरिरहन्थेँ। दिदी कहिले बुबाको काखबाट उठ्लिन् अनि म गएर बसौँ झैँ लाग्थ्यो।

दिदी बिरामी परेदेखि नै मैले आमालाई काम सघाउनु परेको थियो, जुन काम बिरामी हुनुभन्दा पहिले दिदीले गर्थिन्। अब त दिदी निकै तन्दुरुस्त भइसकेकी थिइन् तर घरमा उनलाई बुबाआमाले काम अह्राउनुहुन्नथ्यो। मलाई भने यो गर् कान्छी उ गर् कान्छी भन्ने गर्नुहुन्थ्यो। पहिले पहिले त कान्छी भन्दा पनि माया गरेर भनेजस्तो राम्रो लाग्थ्यो तर अब मलाई त्यो कान्छी सम्बोधनले पनि कता कता च्वास्स घोच्न थालेको थियो। म यो घरको छोरी कान्छी नभएर काम गर्ने कान्छी बनेको महसुस गर्थेँ।

दशैँ नजिकिदै थियो। हाम्रो स्कुल घटस्थापनादेखि नै बिदा भयो। बिदापछि घर, आँगन, बाटो सबैतिर सफा गर्न थाल्थ्यौँ। सधैँ दिदी र म मिलेर रमाउँदै काम गर्थ्यौँ तर यसपाली दिदीले केही काम गरिनन्। घरका सारा लुगा आमा र मैले धुन थाल्यौँ । म घरी लुगामा साबुन लाउथेँ, घरी लुगालाई मुङ्ग्रोले कुट्न थाल्थेँ।

अब बजार जाने बेला आयो। त्यस समयमा दशैँमा मात्र नयाँ लुगा किन्ने चलन थियो। अहिलेको जस्तो बनिबनाउ लुगा पनि पाइदैनथ्यो। थानका कपडा किनेर सिउनु पर्थ्यो। बुबा आमा दिदी र म लुगा किन्न बजार गयौँ। हामी कपडा छान्न थाल्यौँ। जुन हेर्यो त्यही राम्रो कुन छान्नु र? हामी अल्मलिएको देखेर पसलेले ' लु तिमीहरु यहाँ बस, म लुगा देखाउँछु अनि छान्नु' भन्दै चकटी हामीतिर सारिदियो। हामी त्यसैमा बस्यौँ। उसले एक एक गर्दै कपडा देखाउन थाल्यो। एउटा कपडा झिक्दै उसले 'तिमीलाई यो खुब सुहाउँछ ।' भन्यो। मलाई साच्चिकै त्यो कपडा मन पर्यो। मैले त्यो कपडाको एकतिर फेर समातेर बसिरहेँ। पसलेले त्यसपछि पनि धेरै कपडा देखायो। उसले अरु कपडा देखाउञ्जेल मैले त आफूले समातेको लुगाको चुनैचुना हालेको जामा सिलाएर फर्रफर्र पार्दै साथीहरुसँग हिडेको पनि कल्पना गर्न भ्याइसकेकी थिएँ।

'लौ तिमीहरु के हेरिराखेका? एक एकवटा कपडा छान।' बुबाले भन्नु भयो।
मैले हातले समाएको कपडा देखाउँदै भनेँ - 'मलाई यो।'
पसलेले अरु कपडा पन्साउँदै मैले समातेको कपडाको थान माथि राखिदियो। यसको जामा साह्रै राम्रो हुन्छ भन्दै फिजायो। म खुसीले नाच्नै मात्र लागेकी थिएँ , दिदीले-'तँ अर्को रोज् मलाई यो कपडा मन पर्यो।'- मैले रोजेको कपडा समाउँदै भनिन्। 'नाईँ मैले पहिली रोजेको' भन्दै कपडालाई अङ्गालो भरि च्यापेँ। 'कान्छीले त्यो छानी, तँ अर्को छान्न'-बुबाले मेरो बचाउ गर्नु भयो। ' नाईँ म यही लाउँछु'- दिदीले जिद्दी गरिन्।

म डाको छोडेर रोएँ। पसले मलाई फकाउन थाल्यो। उता दिदी पनि रुन थालिसकेकी रहिछन्। हामीलाई फकाउन पसले र बुबालाई हम्मे हम्मे पर्यो । दुवैजनाले एउटै कपडाको उस्तै जामा सिलाएर लाउनु नि त।'- पसलेले हामी दुवैलाई हेर्दै भने। ' नाईँ म उस्तै लुगा लाउदिन।'- दिदीले तुरुन्तै जवाफ दिइन्। त्यति बेलै आमाले निर्णायकको भूमिका निभाउदै भन्नुभयो -'यो कपडा ठूलीलाई दिनु। कान्छी ! तँ अर्को छान्।'
मैले नाईँ भन्दै खुट्टा बजारेँ। फेरि आमा कड्किनु भयो -' भर्खर बिरामी भएर उठेकी छ दिदी, तैले त्यत्ति मान्न हुदैन? पसलभरि कपडै कपडा छ। सबै त राम्रा छन्।'
आमाका कुरा सुनेर म स्तब्ध भएँ। रुन छोडेर दिदीलाई पुलुक्क हेरेँ। 'तँ अर्को रोज है' दिदीले भनिन्। मलाई दिदीको माया लाग्यो। मन नलागी नलागी मैले अर्को कपडा रोजेँ।

रातभरि सपनामा आफूले पहिली छानेकै कपडाको जामा लगाएको देखेँ। जामा लगाएर एेना हेरेँ, आफूलाई परी झैँ सुन्दर देखेँ। साथीहरु मेरो लुगा हेर्दै मेरै प्रशंसा गरिरहेका थिए। म दङ्ग पर्दै जामाको फेर समाउँदै घुमेँ। म जति जोड्ले घुम्थेँ मेरो जामा पनि त्यति नै फररररर हुन्थ्यो।

भोलिपल्ट बुबाले नै हामीलाई दर्जीकोमा लानु भयो। दर्जी र उनकी स्वास्नीले एक एक गर्दै हामी सबैको जिउको नाप लिए। दर्जीकी स्वास्नीले मेरो जिउ नाप्दै गर्दा खुसुक्क मैले भनेँ -
'मेरो जामा पहिले सिलाइ दिनु ल काकी ।'
दिदीले सुनिहालिछन्। 'अँ! उसकै मात्र पहिले सिलाइ दिनु हाम्रो चाँहि नसिलाइ दिनु।'- दिदी च्याँठ्ठिदै बोलिन्।

अष्टमीको बेलुका बुबाले हामी सबैको लुगा लिएर आउनु भयो। 'सबैले लाएर हेर, फेरि ठिक भएन भने बनाउन लानु पर्छ'- बुबाले भन्नुभयो। आमा आफ्नो चोलो लाउन थाल्नु भयो भने दिदी र म आ- आफ्ना जामा । दिदीलाई त्यो जामाले साह्रै सुहायो। मलाई भने आफ्नो जामामा आँखै लागेन। जतिबेलै दिदीले लगाएको जामा मात्र हेरिरहेँ। दिदी फुर्लुङ् फुर्लुङ् उफ्रिदा जामाको छेऊ पनि उफ्रन्थ्यो। त्यो उफ्रिएको जामाको छेऊ देख्दा मेरो मन ईर्ष्याले छटपटियो। आफ्नो जामामा के नपुगेको नपुगेको लागिरह्यो। अब टिकाको दिन लाउनु पर्छ नयाँ लुगा, अहिले खोलेर राख भन्दै आमाले नयाँ चोलो पट्याउनु भयो। मैले डराउँदै सकेसम्म नरम स्वर बनाएर दिदीतिर हेर्दै भने -'एकपल्ट तिम्रो जामा मलाई लाउन देऊ न ल!'
-'नाई किन दिउँ ? आफ्नो पनि छ त नयाँ त्यही ला'न।' दिदीले कडा आवाजमा भनिन्।
-'अब लाउनु पर्दैन, राख आ-आफ्ना टुङ्गामा ।' आमाले अह्राउनु भयो। मैले तुरुन्तै जामा‌ खोलेँ तर दिदी भने त्यही जामा लगाएर धेरैबेर नाचिरहिन्।

मेरो मन खुसी थिएन। केही गरे पनि त्यो जामा दिमागबाट हटेन। दिदीको अनुहारमा त्यो जामा लगाउँदा देखिएको चमकले मेरो दिमाग भने घुमिरहेको थियो। एकछिन लाउन दिएको भए हुन्थ्यो नि! कसैले नभाको। मैले रोजेको कपडा त थियो त्यो। मेरो मनमा यस्तै कुराहरु खेलिरहे।
भोलिपल्ट बिहानदेखि नै हामी व्यस्त रह्यौँ। आमा बुबाले घरी यो ले घरी त्यो ले भनेर अह्राइ रहनु भयो। घरमा खसी काटियो। हामी सबै मासुको परिकार पकाउन लाग्यौँ। म भने घरी आमालाई सघाउन पुग्थेँ घरी बुबालाई सघाउन। यसो दिदीलाई हेरेँ ऊ पनि के के गर्दै थिइन्। म लुसुक्क कोठातिर लागेँ। दिदीको नयाँ जामा झिकेर आफूले लगाएँ। दिदी मभन्दा ठूली भएकोले जामा पनि मेरो जिउभन्दा ठूलै थियो तर त्यसको परवाह मलाई थिएन। एेना हेर्दै मुस्कुराएँ। जामाको छेऊ समाएर जोडले घुमे। जामा त फरररर भयो। म हाँस्दै फेरि घुमेँ, फेरि घुमेँ, निकैबेर घुमी नै रहेँ। मेरो मन चङ्गा भयो। मेरो खुसीको सिमै रहेन।

कान्छी! ए कान्छी!! तलबाट आमाले बोलाएको आवाज आयो। म हत्तपत्त जामालाई ठेगान लाएर आमा भए ठाउँमा गएँ। रग्ती र भुटुवा तयार भइसकेछ। बुबा र खसी काट्न सघाउन आएका माल्दाईले खान थालिसक्नु भएछ। मलाई पनि प्लेटमा आमाले रग्ती र भुटुवा दिनु भयो। स्वादिष्ट परिकार खाँदै थिएँ तर मन त्यै जामामा टक्क अडिएको थियो। त्यो जामा लागाउँदा आफ्नो खुलेको अनुहार सम्झेर कतिपल्ट आफै एक्लै मुस्कुराएँ। प्रफुल्लित मनको कुनामा फेरि ईर्ष्याको बादल ढाकियो। त्यति बेलै आमाले हरर बाफ उडाउँदै अर्को थरी मासुको परिकार ल्याएर बुबाको अगाडि राखिदिनु भयो। मेरो प्लेटमा‌ त्यो परिकार थिएन। म लुसुक्क बुबाको छेऊमा गएँ। बुबातिर आफ्नो प्लेट बढाएँ। 'यो त तिमीहरुले खान हुदैन।' - माल्दाईले मतिर हेर्दै बोले।मैले बुबालाई टुलुटुलु हेरिरहेँ। ' नानी ! यो मासुको परिकार चाहिँ छोरी मान्छेले खानुहुन्न।'- बुबाको जबाफले म छक्क परेँ र ती मासुका टुक्रालाई टुलुटुलु हेरिरहेँ।

ठूलोबुबाको छोरी मासु लिन भनेर आएकी थिइन्। मेरी दिदी मासु खाँदै ऊसँग आफ्नो जामाको खूव प्रशंसा गर्दै थिइन्। मैले सुनिहालेँ । उनी भन्दै थिइन् कि 'मेरोजस्तो जामा त यो दशैँमा कसैले पनि सिएको छैन। कान्छीको भन्दा त मेरो कैयौँ गुना राम्रो छ। भोलि मेरो जामा देखेर लोभ गर्ने होइन नि?' मलाई ईष्याले खपिनसक्नु भयो। टिकाको दिन दिदीले त्यो जामा लाएको हेर्न सक्ने तागत ममा रहेन। के गरौँ न कसो गरौँ भएँ। मलाई एकछिन् पनि लाउन नदिएको होइन? म पनि उसलाई त्यो लुगा लाउन दिन्न तर गर्ने के?

मनमा यस्ता भावनाहरु आउँदै थिए। झट्ट उठेर लुगा राखेको ठाउँमा गएँ। दिदीको जामा निकालेँ। रिसले एकपल्ट दाह्रा किटेँ। यताउति हेरेँ। भित्तामा सानो एेना झुण्ड्याएको एउटा काँटी देखेँ। दिदीको जामा त्यसैमा अड्काएर जोडले तानेँ। च्यारात्त च्यात्तिएको आवाज आयो। हेरेँ अलिकति च्यात्तिएको थियो। फेरि जामालाई पट्याएर सोही ठाउँमा जस्ताको त्यस्तै राखिदिएँ। मेरो ईर्ष्याले भरिएको मन बल्ल शान्त भयो। सबैजना आ-आफ्ना काममा लागिरहेका थिए। कसैले पनि मेरो बदमासी थाहा पाएका थिएनन्। म ढुक्क भएर बसेँ।

टिका लाउने बेलामा हामी सबै नयाँ लुगा लाउन थाल्यौँ। म फटाफट लुगा लाएर आमाको छेऊमा गएँ। आमाले नयाँ साडीको चुना मिलाएर समाउन लाउनु भयो। म आमाको सारी समाएर टुक्रुक्क बसेको मात्र थिएँ दिदी जोडले चिच्याइन् -'मेरो जामा ! मेरो जामा!!'
' के भयो? किन चिच्याउँछे यो?'- आमाले हपार्दै सोध्नु भयो। दिदी डाको छोडेर रोइन्। हामी सबै त्यतैतिर लाग्यौँ। दिदीले नयाँ जामा‌ लगाइ राखेकी थिइन्।'के भयो?' - दिदीलाई हेर्दै बुबाले सोध्नु भयो।
-'मेरो जामा...!' च्यात्तिएको देखाउँदै दिदी बोलिन्।
-'अस्ति लाउँदा केही भा'को थिएन त।' छेऊमा जाँदै बुबाले भन्नु भयो।
-'फुर्किएर फुरुक् फुरुक् नाच्दै थिई। काहाँ चोकेमा उनी छ। हेर अब सिउन पनि मिल्दैन।'आमाले चुक्चुकाउँदै भन्नुभयो।
आमाले मतिर पुलुक्क हेर्नु भयो। मेरो सातोपुत्लो उड्यो। डरले लगभग काँप्न शुरु गरिसकेकी थिएँ। मेरो अनुहार कालो निलो भयो। बुबाको पिटाइ नराम्ररी पर्ने भयो भन्ने सोच्न भ्याइ सकेकी थिएँ तर बुबाले केही भन्नु भएन। धन्न प्रभु! आजको दशा टर्यो। म मनमनै यति धेरै डराएँ कि लगभग मेरा खुट्टा टेकिनै छोडेका थिए। म थचक्क भुईमा बसेँ। दिदी चाहिँ रोइनै रहेकी थिइन्।

-'जामा खोलेर दे त, म दर्जीकोमा सिलाएर ल्याउँछु।' बुबाले भन्नु भयो।
दिदीले जामा खोलेर दिइन्। मैले कसैले थाहा नपाउने गरी लामो सास फेरेँ। आमा र म लुगा लाएर तयार थियौँ टिका थाप्न। मलाई टिका लाउन हतार भएको थियो तर दिदीको नयाँ जामा नआएसम्म त टिका लाउने कुरै भएन। बिस्तारै टिकाको साइत टर्दै गयो। बुबा हातमा जामा बोकेर आउनु भयो।
-' दर्जीले केहीभन्दा‌ नि मेसिन चलाउन मानेन। यत्रो चाडवाडको दिन पनि म मेसिन चलाएर बसुँ? उल्टै मलाई नै प्रश्न गर्यो। दर्जीकी स्वास्नीले सियोले सिलाइदिएकी छ। अहिलेलाई काम चल्छ रे। लु छिटो लगाएर आइज।टिकाको साइत पनि गुज्री सक्यो।' बुबाले दिदीलाई जामा दिदै भन्नु भयो।
दिदी जामा लाएर त आइन् तर आँखामा आँसु टिल्पिलाई रहेका थिए। टिका लाउञ्जेल ती आँसु आँखा मै रह्रे। खाना खानेबेलामा हिक्क हिक्क सुरु भइसकेको थियो। त्यो फाटेको लुगा लाएर दिदी मामाघर नजाने भइन्। आमा, बुबा र मैले पालैपालो फकायौँ तर मानिनन्। मैले मेरो जामा फुकालेर दिदीलाई लाउन दिएँ। उनले खुरुक्कै‌ मेरो नयाँ जामा लाइन्। ऊ मभन्दा अलिक मोटी भएकोले त्यो जामा उनको जिउमा‌ कसिए पनि लाउन सकिने नै भयो। आमाले मलाई धोएर राखेको पुरानो लुगा झिकेर दिनुभयो। मैले आमाले दिएको लुगा लगाएर मामाघर गएँ।

बाटोमा पनि दिदीको अनुहार उज्यालो भएन। म घरी दौडिएर आमा‌बुबाको अघि लाग्थेँ भने घरी दिदीसँग कुरा गर्न पछि बस्थेँ। बाटोमा जाँदै आमा‌ले बुबालाई भन्नु भयो -'यो कान्छीको मन त साह्रै ठूलो पो रहेछ। पहिले आफूले छानेको कपडा दिदीलाई दिई फेरि दिदीको लुगा फाट्यो भनेर आफूले लगाइ राखेको आफ्नो नयाँ जामा नै खोलेर लाउन दिई। दशैँको दिनमा पुरानो लुगा लाउनु पर्दा पनि खुसी नै देखिन्छे।'आमाको कुरा सुनेर म झनै दङ्ग परेँ तर कसलाई थाहा थियो र? मलाई त्यो जामाको मोहले यति बिध्न क्रुर बनाइ दिएको थियो भनेर।

बुबाले मलाई पुलुक्क हेर्नु भयो। मेरा आँखा निमेष भरको लागि उहाँसँग जुधे। 'तिमीहरु यो छोटो बाटो जाँदै गर। कान्छी र म दोकान हुदै आउँछौँ।' - बुबाले भन्नु भयो।
'अहिले किन दोकान जानु पर्यो नि, खुरुक्क घरतिर नगएर?
उता माइतमा आमा बुबा हामी आउने बाटो हेरेर बस्नु भएको होला।'- आमाले बुबातिर हेर्दै भन्नुभयो।'
- 'तिमीहरु जाँदै गर न। हिँड् कान्छी मसँग ।' म बुबाको हात समातेर अघि बढेँ। दोकानमा पुगेर बुबाले मेरोलागि एकजोर हात्तीछाप चप्पल किनिदिनु भयो। 'नानी तैँले आज दिदीलाई गरेको माया देखेर म ज्यादै खुसी भएँ त्यसैले तँलाई यो चप्पल स्याबासी स्वरुप किनिदिएको हुँ।'- बुबाले मेरो टाउको मुसार्दै भन्नुभयो। मेरो मनमा च्वास्स केही भयो तर म बुबाको हात समातेर हात्तिछाप चप्पल फिटिर् फिटिर् पड्काउँदै हिडिरहेँ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु